शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

पार्टी एकताको प्रयासमा समाजवादी मोर्चा सम्बद्ध दल

जनकपुरमा वृहत्त सभा गर्ने निर्णय
बुधबार, ०७ फागुन २०८१, ११ : ००
बुधबार, ०७ फागुन २०८१

काठमाडौँ । विपक्षी चार दलीय समाजवादी मोर्चा वडा तहसम्म विस्तार गरी पार्टी एकताको आधार बनाउने नेताहरूले दाबी गरेका छन् । माघ २ गते नेकपा(एकीकृत समाजवादी)को कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले वैचारिक, सैद्धान्तिक पक्षमा समान धारणा बनाएर पार्टी एकता गर्ने विषयमा शीर्ष नेताहरू एकमत देखिएका थिए । 

विचार र एजेन्डाको आधारमा पार्टी एकता गर्न माओवादीबाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन सक्रिय छन् । एकीकृत समाजवादीबाट पूर्वमहासचिव डा.बेदुराम भुसाल र वरिष्ठ नेता प्रमेश हमाल रहेका छन् । नेकपाबाट प्रवक्ता खड्कबहादुर विश्वकर्मा र नेसपाबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ सक्रिय छन् ।

नेपाल समाजवादी पार्टी(नेसपा)का महासचिव रमेशप्रसाद यादवले  वैशाख १० गते नेकपा स्थापना दिवसका अवसरमा एकताको घोषणाका लागि प्रयास भइरहेको बताए । 

‘विचार र एजेन्डाको आधारमा पार्टी एकता गर्ने  गरी अगाडि बढी राखेका छौँ । माओवादीसँग एकता गर्न हाम्रो पार्टी र विप्लवजीको पार्टीभित्र कुनै समस्या छैन । नेकपा स्थापना दिवसको अवसरमा एकता गर्नेगरी घोषणा हुन पनि सक्छ’, उनले भने, ‘माधवजीलाई पनि मनाएर एकता गर्ने गरी माओवादीबाट देव र वर्षमानजी सक्रिय हुनुभएको छ । माधवजीको पार्टीबाट प्रमेश र बेदुरामजी सक्रिय हुनुहुन्छ । माधवजीको धारणा माओवादी युग समाप्त भएकाले एउटै समाजवादी केन्द्र बनाएर जाऊँ भन्ने मत छ । वैचारिक, राजनीतिक पार्टीको कार्यदिशामा सहमत भए चार दलबिचमै एकता हुन्छ ।’

माओवादी र एकीकृत समाजवादीका चार जना नेताहरूबिच पछिल्लो पटक विभिन्न चरणमा छलफल भइरहेको दुवै पार्टीका नेताहरूले जिकिर गरेका छन् ।

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण लामो समय मोर्चाको गतिविधि निष्क्रिय रहेकोमा अन्य घटकहरूले असन्तुष्टि पोखेका थिए । यहीबिचमा माघ २ मा बसेको बैठकले विगतको कमजोरीबारे गम्भीर समीक्षा गरी मोर्चाको गतिविधिलाई वडा तहसम्म विस्तार गरेर एकताको आधार बनाउने सहमति भएको नेताहरूले  जिकिर गरेका छन् । मोर्चाले माघ १५ गते काठमाडौँमा विचार सभा समेत गरेका थियो । 

  • जनकपुरमा वृहत्त सभा गर्ने

मोर्चाले यसअघि नै  मधेसमा वृहत्त आमसभा निर्णय गरेको  थियो । अहिले त्यसकै तयारीका लागि मोर्चाका नेताहरू मधेसमा केन्द्रित रहेका छन् । फागुन २ गते बसेको प्रदेशस्तरी चार दलको बैठकले प्रत्येक दलबाट तीन–तीन जना गरी १२ जनाको कार्यदल बनाएको छ । 

जसअनुसार चैत ९ गते जनपुरमा वृहत्त आमसभा गर्न केन्द्रीय नेतासमक्ष प्रस्ताव  यादवले जानकारी दिए । यादवका अनुसार मधेसका ८ जिल्लाबाट दुई–दुई जना गरी ६४ जनाको छुट्टै कार्यदल बनाइएको बताए । आमसभामा २० हजार मान्छेको भेला गराउने यादवले दाबी गरे ।

‘हाम्रो पार्टीका अध्यक्ष महिन्द्रजीको अध्यक्षतामा फागुन २ गते प्रदेशस्तरीय बैठक बसेको थियो । चार दलबाट तीन–तीन जनाको कार्यदल बनेको छ । प्रत्येक जिल्लामा दुई दुई जना गरी ६४ जना कार्यदल बनाउने तयारी भएको छ । १२ जना कार्यदलमध्येबाट  ४ जनाको सचिवालय बनाउने छौँ । सभामा २० हजार मान्छे भेला गराउने छौँ’, उनले भने ।

यादवका अनुसार बारा र पर्सा विप्लव नेतृत्वको नेकपालाई परेको छ । नेसपालाई रौतहट र सर्लाही दिएको छ । माओवादी केन्द्रलाई महोत्तरी र धनुषा तथा एकीकृत समाजवादीलाई सप्तरी र सिरहा जिल्ला दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप