शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : मधेस प्रदेशको स्वास्थ्य क्षेत्र

‘स्वास्थ्य क्षेत्र बिस्तारै मजबुत हुँदै गइरहेको छ’

सरकारी अस्पतालमा राम्रो उपचार हुँदैन भन्ने हाम्रो बुझाइ गलत छ : स्वास्थ्यमन्त्री शत्रुधनप्रसाद सिंह
बुधबार, ०७ फागुन २०८१, ०९ : ३६
बुधबार, ०७ फागुन २०८१

मधेस प्रदेशमा स्वास्थ्यका विभिन्न सूचकाङ्क कमजोर देखिन्छन् । यद्यपि, प्रदेश सरकारले ती सूचकाङ्क सुधारमा चासो दिएको देखिँदैन । प्रदेश सरकार अन्तर्गत स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षका लागि तर्जुमा गरेका योजना र बजेटको अवस्था हेर्ने हो भने तिनले प्रदेशमा विद्यमान स्वास्थ्य समस्या समाधानमा खासै भूमिका निर्वाह गर्ने देखिँदैन ।

यस विषयमा मधेस प्रदेशका स्वास्थ्यमन्त्री शत्रुधनप्रसाद सिंहसँग रातोपाटीका लागि अलि असगर देवानले कुराकानी गरेका छन् । प्रस्तुत छ, मन्त्री सिंहसँग गरिएको कुराकानीको सम्पादित अंश–

  • विभिन्न तथ्याङ्कले मधेस प्रदेशमा स्वास्थ्य अवस्था गम्भीर देखाइरहेको छ, तर तपाईँहरूले अधिकांश बजेट टुक्राटुक्रामा राख्नु भएको छ । यसले परिणाम दिन्छ त ?

स्वास्थ्य क्षेत्र कसरी मजबुत हुन्छ, कसरी राम्रो अवस्था बन्न सक्छ भन्ने आधारमा हामीले यो वर्षको आफ्ना योजना ल्याएका छौँ । अर्थात् कसरी राम्रोसँग संघीयताको मर्म अनुसार सरकारी अस्पतालमा उपचार हुन्छ, सेवाग्राहीको मर्मलाई मध्यनजर गरेर हामीले आफ्ना योजना तथा बजेटहरू ल्याएका छौँ ।

विभिन्न खालका नयाँनयाँ देखापर्ने रोगहरूलाई मध्यनजर गरी यो वर्षको बजेट ल्याइएको छ । जुनकारण जनताले सरल हिसाबले सेवा पाउन सक्नेछन् । त्यसमा आधारित हाम्रो बजेट छ ।

  • स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्ने कार्यक्रम के–के छन् बजेटमा ?

हाम्रा सबै बजेट जनमुखी नै छन् । बजेटमा राखिएका विषय स्पेसल नै छन् । विषयका आधारमा भन्ने नै हो भने यो वर्ष हामीले त्यस्ता धेरै योजना ल्याएका छौँ, जुन स्पेसल नै छन् । खास गरेर प्रादेशिक अस्पताल, आयुर्वेदिक अस्पतालसहितका योजनाहरू हाम्रो महत्त्वपूर्ण योजना हुन् ।

जनताप्रति उत्तरदायी हिसाबले हामी काम गरिरहेका छौँ । यसले गर्दा जनताका स्वास्थ्य सम्बन्धी सामान्यदेखि विशिष्ट समस्याको उपचार प्रादेशिक अस्पतालहरूमा भइरहेका छन् । त्यसकारण यो सबै हाम्रोलागि स्पेसल योजना नै हो ।

  • जनताको भावना अनुसार बजेट ल्याएको भन्दै हुनुहुन्छ तर बजेटमा धेरैजसो शीर्षक भौतिक निर्माणतिर टुक्रे योजनामा छन् नि, किन होला ?

यसको पछाडि त्यस्तो केही कारण छैन । तर सबै बजेट टुक्रे योजनामा छ भन्ने होइन । पाँच वटा ठाउँमा विशेष सुविधा सम्पन्न अस्पताल बनाउन लागेका छौँ । जस्तै क्यान्सर, मुटु रोग, मिर्गौलासहितका रोगलाई मध्यनजर गरेर हामीले मधेस प्रदेशमा विशेष सुविधा सम्पन्न अस्पताल बनाउन लागेका छौँ । २ ठाउँमा ट्रमा सेन्टर बनाउन लागेका छौँ ।

एमबीबीएसको पढाइ पहिलो पटक हाम्रो प्रदेशमा सुरु भएको छ । योबाहेक धेरै नयाँनयाँ काम भइरहेका छन् । तर कुरा के हो भने स्वास्थ्य मन्त्रालयका बजेट टुक्रे नै हुन्छन् । एकै ठाउँमा मात्र बजेट खर्च गर्ने भन्ने हुँदैन ।

  • प्रदेशमा सर्ने र नसर्ने रोगको अवस्था भयावह छ । त्यसका लागि प्रदेश सरकारले रेडबुकमा बजेट राखेको देखिँदैन, के कारणले होला ?

गम्भीर रोगहरू लक्षित स्वास्थ्य कार्यालयहरूमा बजेट गएको छ । विभिन्न रोगहरूका लागि गुरुयोजना बनाएर हामीले पठाएका छौँ । त्यसको त बेग्लै गुरुयोजना नै छ ।

तर बुझ्नुपर्ने कुरा के हो भने स्वास्थ्य भन्ने बित्तिकै स्वास्थ्य कार्यालय कस्ता छन् ? जहाँ उपचारका लागि बिरामीहरू आउने गर्दछन्, उनीहरूलाई स्वास्थ्योपचारको व्यवस्था हुनुपर्छ । त्यहाँ हरेक समस्याको उपचार गर्ने व्यवस्था हुनुपर्छ । हो, यस्तो निकायमा पहिला बजेट जानुपर्छ । हामीले पनि अहिले त्यही कारणले स्वास्थ्य कार्यालयहरूमा बजेट बढी राखेका छौँ ।

किनभने भौतिक संरचना बलियो भएन भने हाम्रो सेवा गुणस्तरीय हुँदैन, त्यसकारण अहिले हामी भौतिक संरचनाको निर्माणसँगै यस्ता गम्भीर रोगहरू न्यूनीकरणका लागि जनचेतना जगाइरहेका छौँ । खोपहरूको व्यवस्था गरिएका छन् । साथै घरदैलो मुख्यमन्त्री स्वास्थ्य शिविर योजना ल्याएका छौँ । तपाईंले भने अनुसार नै प्रदेशमा देखिएका दश वटा गम्भीर रोगहरूको न्यूनीकरणका लागि नै हामीले यो योजना ल्याएका छौँ । साथै नसर्ने रोगहरूको न्यूनीकरणका लागि स्वास्थ्य बीमा कार्यक्रम, निःशुल्क चेकजाँचको व्यवस्था गरिएको छ ।

  • प्रदेशका जनताको स्वास्थ्य सूचकाङ्क निकै कमजोर छ । यस्ता समस्यालाई अनुसन्धान गरेर सुधार गर्न नसकिनुको कारण के होला ?

होइन, यसको पछाडि अरू केही कारण होइन । मेरो विचारमा सरकारको स्थायित्व नै मुख्य कुरा हो । सरकार अस्थिर हुँदा धेरै योजनाहरू तुहिने गरेको छ । जस्तै, मैले ल्याएको योजनाको महत्त्व अर्को सरकार बन्दा त्यसले नबुझ्न सक्छ, जुनकारण सरकार फेरिँदा ती योजना पनि फेरिन्छन् ।

बजेट बनाउने बेलामा हामीले धेरै सोचविचार गरेर योजना बनाएका हुन्छौँ । धेरै विज्ञसँग परामर्श गरिएको हुन्छ, तर त्यसको दुई दिनमा सरकार परिवर्तनको खेल भइहाल्छ । जुनकारण धेरै परामर्श गरेर ल्याएका योजना पनि तुहिएर जान्छ । हो, यही हो ठुलो कारण । जसले गर्दा जनताको स्वास्थ्यलाई मध्यनजर गरेर अपेक्षाकृत योजनाहरू ल्याउन सकिँदैन । एउटा सरकारले ल्याएको योजनाको महत्त्व अर्को सरकारले बुझ्न नसक्दा त्यसलाई निरन्तरता दिँदैन र त्यस्ता योजनाले प्रतिफल दिन पाउँदैनन् ।

  • सरकार परिवर्तन हुँदा स्वास्थ्य क्षेत्रमा कस्तो असर पर्छ ?

यसको असर धेरै पर्छ, परिरहेको पनि छ । किनभने वर्षमा ३/४ वटा सरकार परिवर्तन हुनाले हामीलाई धेरै कुरामा असर पारेको छ ।

सरकार परिवर्तनले विकासदेखि, स्वास्थ्य क्षेत्रसहित सबै क्षेत्रमा असर पारेको हुन्छ । किनभने हामीले एउटा उद्देश्यले योजना बनाएका हुन्छौँ, एउटा उद्देश्यका लागि परामर्श गरेका हुन्छौँ । कुन रोगलाई कसरी कम गर्ने भनेर सल्लाह लिएका हुन्छौँ । तर अस्थिर हुँदा त्यो सबै पूरा हुने अवस्था आउँदो रहेनछ, जसकारण जनतालाई नोक्सानी भइरहेको छ ।

  • मधेस प्रदेशमा स्वास्थ्य क्षेत्रका जनशक्तिको अवस्था कस्तो छ ?

हाम्रो ‘मेनपावर’ दक्ष छन् । उनीहरूमा कुनै त्रुटि छैन । तर फरक कहाँ छ भने हाम्रो सोचाइ र बुझाइ नै गलत छ । सरकारी अस्पतालमा राम्रो उपचार हुँदैन भन्ने हाम्रो सोचाइ र बुझाइ गलत छ ।

जस्तै, म आफैँ विश्वास गरेर प्रादेशिक अस्पतालमा गएर उपचार गराएँ, ठिक पनि भएँ । यसको अर्थ के हो भने मलाई आफ्नो जनशक्तिमाथि विश्वास थियो, तर सर्वसाधारण जनताको भने सरकारी अस्पतालमा विश्वास नै हुँदैन ।

जनताले सहुलियतमा उपचार पाउन् भनेर सरकारी अस्पताल खोलिएको हो । यी अस्पताल जनताको सेवाका लागि हो । त्यसैले सबैभन्दा पहिला सरकारी अस्पतालमाथि विश्वास गर्नुपर्छ । हाम्रा स्वास्थ्य सम्बन्धी सामग्रीहरू पनि गुणस्तरीय छन् । केही ठाउँमा भने अलिकति समस्या छ । तैपनि त्यसलाई सुधार गरेर हामी अगाडि बढिरहेका छौँ ।

  • वार्षिक कति बजेट भयो भने प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा छलाङ मार्न सक्छ ?

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कुल बजेटको १० प्रतिशत बजेट स्वास्थ्य मन्त्रालयमा राख्नुपर्छ भन्ने छ । तर हाम्रो देश वा प्रदेशमा त्यति बजेट राखिँदैन । जुनकारणले हामीले चाहे अनुसारको उपलब्धि प्राप्त गर्न कठिनाइ भइरहेको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बजेट भयो भने हामीले धेरै कुरामा छलाङ मार्न सक्छौँ ।

  • एउटा विभागीय मन्त्रीका रूपमा भन्नुपर्दा तपाईंले प्रदेशमा स्वास्थ्यको अवस्था कस्तो पाउनुभएको छ ?

प्रदेशको स्वास्थ्यको अवस्थामा सुधार भइरहेको छ । जहाँजहाँ समस्या छन्, त्यहाँ क्रमिक रूपमा प्रगति भइरहेको छ तर जनताले विश्वास गर्नुपर्‍यो । यदि काहीँ समस्या छ भने उजुरी हाल्नु पर्‍यो । उजुरी पेटिका राखिएको हुन्छ, त्यहाँ एउटा पनि उजुरी हालिएको हुँदैन । आखिर किन ? वास्तवमा समस्या छ भने जनताले पनि आफ्नो दायित्व निर्वाह गरेर भएका गुनासाहरू उजुरी पेटिकामा त हाल्नुपर्‍यो नि । अनि न सबैले सोचे अनुसारको स्वास्थ्य क्षेत्र मजबुत हुँदै जान्छ । जेसुकै भए पनि पहिलाभन्दा अहिले मधेसको स्वास्थ्य अवस्था मजबुत हुँदै गइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप