सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय
उद्घाटन खेल

च्याम्पियन्स ट्रफी : घरेलु मैदानमा पाकिस्तानलाई बलियो न्युजिल्यान्डको चुनौती

बुधबार, ०७ फागुन २०८१, ०८ : ४५
बुधबार, ०७ फागुन २०८१

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको नवौँ संस्करणको उद्घाटन खेल बुधबार आयोजक पाकिस्तान र न्युजिल्यान्डबिच खेलिने छ । उद्घाटन खेल कराँचीस्थित नेसनल स्टेडियममा नेपाली समयअनुसार दिउँसो १४ः४५ बजे सुरु हुनेछ । 

आईसीसीद्वारा घोषित पछिल्लो पुरुष एकदिवसीय टोली वरीयतामा न्युजिल्यान्डभन्दा पाकिस्तान अगाडि छ । पाकिस्तान वरीयताको तेस्रो स्थानमा रहँदा न्युजिल्यान्ड भने चौथोमा छ । 

पाकिस्तान र न्युजिल्यान्ड सन् १९९८ मा सम्पन्न च्याम्पियन्स ट्रफीको पहिलो संस्करणदेखि नै प्रतियोगितामा सहभागी हुँदै आएका छन् । यी दुवै टोलीले हालसम्म एक–एक पटक च्याम्पियन्स ट्रफीको उपाधि पनि चुमेका छन् ।

न्युजिल्यान्डले सन् २००० मा सम्पन्न दोस्रो संस्करणको उपाधि जितेको थियो । पाकिस्तान भने च्याम्पियन्स ट्रफीको साविक विजेता टोली हो । पाकिस्तानले सन् २०१७ मा आयोजित आठौँ संस्करणको उपाधि चुमेको थियो । 

यसका अतिरिक्त, न्युजिल्यान्ड एकपटक फाइनलमा पुगेर पराजित भएको छ । सन् २००९ मा सम्पन्न च्याम्पियन्स ट्रफीको फाइनल खेलमा न्युजिल्यान्डको टोली छिमेकी प्रतिद्वन्द्वी अस्ट्रेलियासँग पराजित भएको थियो । 

पाकिस्तान र न्युजिल्यान्डबिच हालसम्म कुल एक सय १८ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको छ । इतिहासलाई हेर्दा न्युजिल्यान्डभन्दा पाकिस्तान केही बलियो देखिन्छ । हालसम्म पाकिस्तानले ६१ खेलमा न्युजिल्यान्डलाई हराएको छ ।

न्युजिल्यान्डले भने  ५३ खेलमा पाकिस्तानलाई पराजयको स्वाद चखाएको छ । यी दुई टोलीबिचको तीन खेल अनिर्णित रुपमा र एक खेल बराबरीमा सकिएको छ । घरेलु मैदानमा खेलिएको ३१ खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई हराएको छ ।

पाकिस्तानले भने घरेलु मैदानमा खेलिएको २२ खेलमा न्युजिल्यान्डलाई पराजित गरेको छ । विपक्षीको घरेलु मैदानमा पाकिस्तानले १५ र न्युजिल्यान्डले आठ खेल जितेका छन् । ‘न्यूट्रल भेन्यू’ मा पाकिस्तानले २४ र न्युजिल्यान्डले १४ खेल जितेका छन् । 

यी दुई टोलीबिच खेलिएको पछिल्लो पाँच एकदिवसीय खेलमध्ये तीन खेलमा न्युजिल्यान्ड र दुई खेलमा पाकिस्तान विजयी भएका छन् । पछिल्लो दुई खेलमा भने लगातार न्युजिल्यान्डले पाकिस्तानलाई पराजित गरेको छ ।  

पछिल्लो समय यी दुबै टोली लयमा छन् । च्याम्पियन्स ट्रफीअघि पाकिस्तानमै त्रिकोणात्मक एकदिवसीय शृंखला खेलिएको थियो । उक्त शृङ्खलामा त्रिकोणात्मक शृङ्खलामा तेस्रो टोलीको रुपमा दक्षिण अफ्रिकाको सहभागिता रहेको थियो ।

त्यो शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्दै न्युजिल्यान्ड र पाकिस्तान फाइनलमा पुगेका थिए । प्रतियोगिताको फाइनलमा न्युजिल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हराउँदै उपाधि चुमेको थियो । उक्त शृङ्खलामा पाकिस्तानले एक पटक र न्युजिल्यान्डले दुईपटक तीन सयभन्दा बढी रन बनाएका थिए । 

शृङ्खलामा सर्वाधिक कुल स्कोर बनाउने टोली पाकिस्तान थियो । दक्षिण अफ्रिकाविरुद्धको खेलमा दक्षिण अफ्रिकाले दिएको तीन सय ५३ रनको लक्ष्य पाकिस्तानले ४९ ओभरमा केवल चार विकेट गुमाएर तीन सय ५५ रन बनाउँदै पुरा गरेको थियो ।

न्युजिल्यान्डले पनि पाकिस्तानविरुद्ध ६ विकेट गुमाएर तीन सय ३० रन र दक्षिण अफ्रिकाविरुद्ध चार विकेट गुमाएर तीन सय आठ रन बनाएको थियो । ती दुबै खेलमा किविज टोलीले जित पनि हासिल गरेको थियो । 

उक्त शृङ्खलामा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा न्युजिल्यान्डका केन विलियम्सन दोस्रो स्थानमा थिए । उनले तीन पालीमा कुल दुई सय २५ रन बनाएका थिए । यस क्रममा उनले एक शतक र एक अर्धशतक पनि प्रहार गरेका थिए ।

सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पाकिस्तानका आघा सलमान तेस्रो स्थानमा थिए । उनले तीन पालीमा कुल दुई सय १९ रन बनाएका थिए । यस क्रममा आघा सलमानले एक शतक पनि प्रहार गरेका थिए । 

यसैगरी, उक्त शृङ्खलामा सर्वाधिक विकेट लिने बलरको सूचिमा न्युजिल्यान्डका विलियम ओ’रुर्क पहिलो र पाकिस्तान साहिन शाह अफरिदी दोस्रो स्थानमा रहेका थिए । यी दुबै बलरले शृङ्खलामा ६–६ विकेट लिएका थिए । न्युजिल्यान्डका म्याट हेनरी, माइकल ब्रासवेल र मिचेल सान्टनरले पनि पाँच–पाँच विकेट हात पारेका थिए । 

आईसीसी च्याम्पियन्स ट्रफीका लागि घोषित पाकिस्तानी टोलीमा मोहम्मद रिजवान (कप्तान), सलमान अली आघा (उपकप्तान), साहिन शाह अफरिदी, अबरार अहमद, फाहिम असरफ, बाबर आजम, कमरन घुलम, मोहम्मद हसनैन, उस्मान खान, ह्यारिस रउफ, खुसदिल शाह, नसिम शाह, साउद सकिल, तैयब ताहिर र फाखर जामन रहेका छन् । पाकिस्तानी टोलीका प्रशिक्षक अकिब जावेद हुन् ।

यसैगरी, न्युजिल्यान्डको टोलीमा मिचेल सान्टनर (कप्तान), माइकल ब्रासवेल, मार्क चापम्यान, डेभोन कनवे, ज्याकब डफी, म्याट हेनरी, कायल जामिसन, टम लाथम, ड्यारन मिचेल (उपकप्तान), विलियम ओ’रुर्क, ग्लेन फिलिप्स, रचिन रविन्द्र, नाथन स्मिथ, केन विलियम्सन र विल योङ रहेका छन् । लोकी फर्गुसन भने अन्तिम समयमा टोलीबाट बाहिरिएका थिए । न्युजिल्यान्डका प्रशिक्षक गेरी स्टेड हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप