शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय
२००७ सालको प्रजातान्त्रिक आन्दोलन

जब त्रिभुवन भारतीय दूतावास छिरे...

मोहन शमशेरले भनेका थिए– नेपालका केही कुपुत्रहरू कुबाटोमा लागे
बुधबार, ०७ फागुन २०८१, १० : ००
बुधबार, ०७ फागुन २०८१

विराटनगर । २००७ साल कार्तिक २१ गते बिहान करिब ९ः५५ बजेको समयमा तत्कालीन राजा त्रिभुवन वीर विक्रम शाह आफ्ना परिवारका अधिकांश सदस्य लिएर नेपालस्थित भारतीय दूतावास छिरे । राजा त्रिभुवनको उद्देश्य राणा सरकारलाई थाहा थिएन ।

राजा त्रिभुवनले राणा सरकारलाई सिकार खेल्न जाने भनेर झुक्याएका थिए । सिकार खेल्न जाने भनेर दूतावास छिरेको राणाहरूले जब थाहा पाए, उनीहरू किंकर्तव्यबिमुढ भए । उनीहरूको दिमाग हल्लियो । विचलित भएका सत्ताधारी राणाहरूले आफ्ना आसेपासेहरूसँग विभिन्न तर्क–वितर्कमा छलफल र सल्लाह गर्न थाले । सल्लाहले कुनै निष्कर्ष निकाल्न सकेन ।

राणाहरूलाई लाग्यो– राजा त्रिभुवनको दृढ संकल्पमा कुनै परिवर्तन ल्याउन अब सकिँदैन । राणाहरूले आफूहरू असफल भएको ठाने ।

२००७ साल कार्तिक २२ गतेका दिन तत्कालीन राणा सरकारले राजा त्रिभुवनलाई पदच्यूत गरी उनको स्थानमा युवराजाधिराज महेन्द्र वीर विक्रम शाहका माइला छोरा ज्ञानेन्द्र वीर विक्रम शाहलाई दिउँसो २ः४५ बजेको समयमा राज्यरोहण गराइ नेपालको राजा घोषणा गरे । यस बेला ज्ञानेन्द्र शाहको उमेर ४ वर्षको थियो । त्यसबेला राणा प्रधानमन्त्री मोहनशमशेरले जारी गरेको वक्तव्य यस्तो थियो–

२००७ साल कार्तिक २२ गते ।

हिजो बिहान करिब ९ः४४ को समयमा भूतपूर्व श्री ५ महाराजधिराज त्रिभुवन वीर विक्रम शाह मौसुफका २ बडा महारानीहरू, श्री ५ युवराजधिराज, श्री ५ माहिला–कान्छा शाहज्यादाहरू र उहाँका महारानीहरू, श्री ५ युवराजाधिराजका जेठा शाहज्यादासहित सिकारमा सवारी हुने बहानाले हिन्द दूतावासमा सवारी भए । सो खबर श्री ३ महाराजमा जाहेर भएपछि र हिन्द राजदूतबाट पनि सो खबरको समर्थन आएकोले मौसुफबाट श्री मेजर जनरल अर्जुन शमशेर र मेजर जनरल विजय शमशेरलाई सो दूतावासमा पठाइबक्सी मौसुफ महाराजधिराजको दर्शन गरी उहाँबाट के मुरादले विदेशी दूतावासमा सवारी भएको हो भनी बिन्ती गर्न पठाइबक्सियो । तर, जनरल साहबहरूलाई दर्शन बक्सेनछ । साँझको समयमा दर्शन बक्सिन्छ कि भनी फेरि हिन्द राजदूतद्वारा मौसुफ महाराजधिराजमा श्री ३ महाराजबाट बिन्ती पारिबक्सँदा पनि भेट गर्न इन्कार गरिबक्सिएछ । तसर्थ यस्तो समस्यापूर्ण अवस्था पर्न आएकोले श्री ३ महाराजबाट यस विषयमा परामर्श गरिबक्सनलाई आज बिहान ७ बजे सिंहदरबारमा भारदारी र संसदका उपस्थित सदस्यहरूलाई बोलाइबक्सी सबै कुरा सुनाइबक्सियो । सो सभामा कोहीकोही सदस्यले ‘यस्तो देशद्रोही र राष्ट्रको बेइज्जत गर्ने वंशलाई गद्दीबाट बहिष्कार गर्नुपर्छ’ भन्ने राय पनि प्रकट गरेका थिए । तर, श्री ३ महाराजबाट परम्परादेखि मानिआएको वंशलाई खारेज गर्न मनासिव हुँदैन । फेरि नाबालक शाहज्यादाहरूलाई त परिणामको बोधै नहुनाले पहिले श्री ५ युवराजधिराजको साथै हिन्द दूतावासमा सवारी भएका जेठा शाहज्यादा बक्सिन्छ कि भनी मौसुफ महाराजधिराजमा अनुरोध गरौँ, नबक्सेको खण्डमा उहाँका भाइ माहिला शाहजादालाई नै गद्दीमा चढाउनु उचित होला भन्ने हुकुम बक्सेकोमा सबैको एक राय भयो । त्यसपछि सो सभाले एकमत गरी श्री ३ महाराजका हजुरमा निम्न लिखित राय प्रकट गरी चढाएँ ।

उक्त रायमा पञ्चायत सभाका २५८ जनाले हस्ताक्षरसमेत गरेका थिए । त्यसपछि सोही दिनको २ बजेर ४५ मिनेटमा ज्ञानेन्द्रलाई राज्याभिषेक गराइयो । त्यसको केही दिनपछि उनै ज्ञानेन्द्रको नाममा मोहर रुपैयाँ (टक) समेत चलनचल्तीमा आएको थियो । नेपालको राणा शासनद्वारा स्थापित ज्ञानेन्द्र शाह २००७ साल कार्तिक २२ गतेदेखि फागुन ४ गतेसम्म नेपालको राजगद्दीमा बसेका थिए ।

राजा दिल्लीतिर गएको र उनको ठाउँमा नाबालक ज्ञानेन्द्रलाई राजा बनाएपछि जनतामा आक्रोशको ज्वाला झनै दन्कियो । फलस्वरुप नेपालमा नेपाली कांग्रेसको नामबाट सशस्त्र क्रान्ति सुरु भयो । यस जनक्रान्तिको मूल लक्ष्य थियो, ‘नेपालको एकतन्त्रीय राणा शासनलाई खत्तम पार्नु र आफ्ना राजा त्रिभुवनलाई स्वदेश फिर्ता गराउनु ।’

ज्ञानेन्द्रलाई राज्याभिषेक गराएको केही दिनपछि कार्तिक २६ गते त्रिभुवन सपरिवार दिल्ली जाने खबर भारतीय रेडियोले प्रसारण गरेको थियो । राजा त्रिभुवन गौचर हवाई मैदानबाट दिल्ली जाने भन्ने खबर फैलिएपछि विमानस्थल पुग्नु अगाडि नै विशाल संख्यामा मानिसहरू विमानस्थलमा जम्मा भए । त्रिभुवनको गौचर पुग्नासाथ त्यहाँ एकत्रित विशाल जनसमूहद्वारा राणाशासन विरुद्ध मुर्दावादको नारा लागेको थियो ।

राजा दिल्लीतिर गएको र उनको ठाउँमा नाबालक ज्ञानेन्द्रलाई राजा बनाएपछि जनतामा आक्रोशको ज्वाला झनै दन्कियो । फलस्वरुप नेपालमा नेपाली कांग्रेसको नामबाट सशस्त्र क्रान्ति सुरु भयो । यस जनक्रान्तिको मूल लक्ष्य थियो, ‘नेपालको एकतन्त्रीय राणा शासनलाई खत्तम पार्नु र आफ्ना राजा त्रिभुवनलाई स्वदेश फिर्ता गराउनु ।’

तर यस क्रान्तिलाई डा. डिल्लीरमण रेग्मीलगायतले भने विरोध गरे । रेग्मीको गुट सशस्त्र क्रान्तिमा भाग लिएन । २००७ साल कार्तिक २४ गते बेलुका हिमालयन एयरवेज कम्पनीको हवाईजहाजबाट नेपाल चार भञ्ज्याङभित्र राणा सरकार विरोधी पर्चा छरियो । सोही हवाईजहाजबाट कार्तिक २७ गते चिसापानी गढी, विराटनगर, धनकुटा, वीरगञ्ज आदि स्थानमा पनि पर्चा छरियो । कार्तिक २४ गते राति १२ बजे क्रान्तिकारीहरूले वीरगञ्जमा हमला गरी त्यहाँको सरकारी खजानामा रहेको ३५ लाख रुपैयाँ लिए र त्यो रुपैयाँ दिल्ली पुग्यो । यस हमलामा नेपाली सैनिकको गोलीबाट श्री थिरबम मल्लको मृत्यु भयो । त्यहाँका बडाहाकिम शोमशमशेर र अन्य केही कर्मचारीहरूलाई केही क्रान्तिकारीहरूले पक्राउ गरी भारतीय सिमानाभित्र लगे । भारत सरकारले बडाहाकिमलाई कार्तिक २६ गते उनीहरूबाट मुक्त गरायो ।

कार्तिक २६ गते मध्यराततिर क्रान्तिकारीहरूले भारतीय सिमाना जोगवनीबाट विराटनगरमा हमला गरे । यस घटनामा नेपाल सरकारतर्फका दुई जना मर्नुको साथै पाँच जना घाइते भए । यहाँ दुवैतर्फबाट निकै गोली चल्यो । यसैप्रकार क्रमशः भैरहवा, परासी, नेपालगञ्ज आदि स्थानमा क्रान्तिकारीहरूले सशस्त्र आक्रमण गरे । वीरगञ्जबाट लुटेर दिल्ली लगेको ३५ लाख रुपैयाँ नेपाल सरकारको हो भनी नेपाल सरकारले भारतलाई जनायो । मंसिर १ गते प्रधानमन्त्री मोहनशमशेरले यस विषयमा एउटा वक्तव्य दिँदै आक्रोश व्यक्त गरे । उक्त आक्रोश यस्तो थियोः

‘नेपालका केही कुपुत्रहरू कुबाटोमा लागेका देख्दा हामीलाई ठुलो अफसोच लागेको छ । अहिले नेपालमा क्रान्तिको कुनै कारण छैन । नेपाल सरकारको सुप्रबन्धमा दुनियाँ सुखशान्तिपूर्वक नै थिए । हामीबाट आवश्यक उन्नति गर्न पनि बाँकी राखिबक्सेका छैनौँ । पञ्चायत संसद् खडा भइसकेका छन् । यसरी फेद र टुप्पो हामीबाट बनाइबक्सेका छौँ । बाँकी शरीरलाई तिमीहरू सबै प्रजाले भर्नुपर्दछ । लुटेराहरूको दमन चाँडै नै भइसक्नेछ । यस कुरामा सन्देह मान्नुपर्दैन । नेपाल देशविरुद्ध छोटा असन्तुष्ट र द्रोही राणाहरूले कुबाटोमा लगाइ भड्काएका नेपालीहरू विरुद्ध केही कडा कारबाही गुर्नपर्‍यो भन्ने कुरामा मात्र मलाई अफसोच छ । यस बिचमा तिमीहरूले आत्तिनेचाहिँ कारण छैन । लुटेराहरू र जानेर वा नजानेर उनको मद्दत हुन सक्ने, कालो बजार गर्ने, अन्न थुप्य्राउने, क्विसलिङ र जयचन्द्र जस्ता बन्ने, देशद्रोही र आतंककारी खबर फैलाउनेका प्रति अत्यन्त कडा कारबाही गर्नमा हामीबाट चुकिबक्सनेछैनौँ । हाम्रा प्यारा प्रजाहरूले चिन्तित हुने काम छैन । नेपालको संकटमा हामीलाई सहायता दिनुपर्छ । श्री पशुपतिनाथको कृपाले यो कष्टबाट हामी चाँडै नै पार हुनेछौँ । हाम्रो प्यारो मातृभूमिमा चाँडै नै सुखशान्ति पुनः स्थापित हुनेछ ।’

तर यस भनाइले त्यस समयमा फैलिएको क्रान्तिप्रति कुनै असर पर्न सकेन । यसको मुख्य कारण राजा परिवारसहित विदेशिनु र यसको साथै नेपालमा घटेको सशस्त्र क्रान्तिको प्रचारमा भारतीय पत्रपत्रिकाहरूको ठुलो सहयोग थियो ।

वीरगञ्जको आक्रमणपछि क्रान्तिकारीहरूमाथि दमनका निमित्त भनी राजधानीबाट लेफ्टिनेन्ट जनरल एकराज शमशेरको मातहतमा सशस्त्र फौज खटियो । यसै प्रकार विराटनगरका निमित्त पनि पठाइयो । जो कोशीवारीसम्ममा नै सीमित रह्यो । मंसिर ४ गते गौरीगंजतर्फबाट झापामा, मंसिर १६ गते उदयपुर गढी र पाल्पामा, पुस १२ गते तेह्रथुममा र यसपछि क्रमशः इलाम, कोइलाबास डोटीमा हुँदै पुस १७ गते ताप्लेजुङ र पुस २२ गते ओखलढुंगामा आक्रमण भएको समाचार प्रकाशित भयो ।

सशस्त्र क्रान्ति बढ्दै जाँदा राजा त्रिभुवन दिल्लीमा भएको केही दिनपछि सम्झौता वार्ताको लागि तत्कालीन राणा सरकारले प.क.ज. केशरशमशेर जबरा र मे.ज. विजय शमशेर सहित आफ्ना २ जना प्रतिनिधिलाई दिल्लीमा पठायो र सम्झौताको वार्ता सुरु भयो । पहिलो वार्तामा सहमति हुन नसकेपछि राणा सरकारका प्रतिनिधिहरू काठमाडौँ फर्किए ।

सशस्त्र आन्दोलनको विषयमा भारतमा रहेका राजा त्रिभुवनले पुस ७ गते एक वक्तव्य दिए । जहाँ ‘... नेपालले शान्ति र सुरक्षा गराउँदै समयका साथ सबै सामाजिक, राजनीतिक र आर्थिक प्रगतिका निमित्त कदम बढाउने आवश्यकता छ । त्यो कार्य सम्पादन गर्न जनताले राजकाजमा सहयोग गर्नु र मुलुकको शासनमा दुनियाँले छानेका सदस्यहरूको समावेश हुनु आवश्यक छ । मेरो सरकार र जनताले मिलेर नेपालको स्वतन्त्रतालाई सुरक्षित गराई राष्ट्रको अभ्युदय प्रगतिशील ढंगले गरी राजनीतिक कुशलताको परिचय दिनेछन् भन्ने मलाई आशा छ । नेपाल स्वतन्त्र र समृद्धशाली होस् भन्ने मेरो एकमात्र शुभेच्छा छ ।’

सशस्त्र क्रान्ति बढ्दै जाँदा राजा त्रिभुवन दिल्लीमा भएको केही दिनपछि सम्झौता वार्ताको लागि तत्कालीन राणा सरकारले प.क.ज. केशरशमशेर जबरा र मे.ज. विजय शमशेर सहित आफ्ना २ जना प्रतिनिधिलाई दिल्लीमा पठायो र सम्झौताको वार्ता सुरु भयो । पहिलो वार्तामा सहमति हुन नसकेपछि राणा सरकारका प्रतिनिधिहरू काठमाडौँ फर्किए । त्यसपछि फेरि मेजर जनरल विजय शमशेरलाई नै राणा सरकारका तर्फबाट दिल्लीमा सम्झौता वार्ता गर्न पठाइयो ।

यस पटकको वार्ता सफलतापूर्वक सम्पन्न भयो र त्यसै वार्ताको आधारमा तत्कालीन नेपालका प्रधानमन्त्री मोहन शमशेरद्वारा २००७ साल पुस २४ गते आमचुनावद्वारा खडा गरेको एक वैधानिक सभा शीघ्र खडा गर्ने,  मन्त्रीमण्डलमा १४ सदस्य हुने, जसमा ७ जना लोकमतको प्रतिनिधित्वको आधारमा हुने, वैधानिक सभाले नै नयाँ विधान बनाउने लगायतको विषय समेटेर वक्तव्य जारी गरे । भारतमा रहेका राजा त्रिभुवनले उक्त घोषणाको स्वागत गर्दै शान्तिपूर्वक राजनीतिक सुधारको कामलाई सबैले एक पवित्र कर्तव्य सम्झनुपर्ने र प्रजाको हित नै आफ्नो पनि सरोकार रहेको बताए । 

२००७ साल फागुन ४ गते राजा त्रिभुवन परिवारसहित विशेष वायुयानबाट काठमाडौँ आए । हवाई अड्डामा लाखौँ मानिस उत्रिएका थिए । राजा त्रिभुवनलाई स्वागत गर्नेहरूको हुल गौचर हवाईअड्डादेखि राजदरबारको ढोकासम्म पर्ने सडकको दुवै किनारामा खचाखच थियो ।

प्रधानमन्त्री मोहन शमशेरले आफ्नो घोषणा अनुसार नै माघ ४ गते राजनीतिक कैदीहरू छोड्ने घोषणा गरे । माघ १ गते मौलिक हकसम्बन्धी नयाँ व्यवस्था लागु भयो । ज्ञानेन्द्र शाहको नाममा टक छाप्न रोकियो । पुस २८ गतेदेखि राजा त्रिभुवनकै नाममा मोहर छापिन सुरु भयो । त्रिभुवनलाई नै महाराजधिराज लेख्न थालियो । नेपालको जनक्रान्तिले तीव्र रूप लिँदै गयो । यसबिचमा राणा–कांग्रेसको बिच दिल्लीमा आपसी सम्झौता भयो । २००७ साल माघ १ गते कांग्रेसका अध्यक्ष मातृकाप्रसाद कोइरालाले युद्धविरामको घोषणा गरे ।

२००७ साल फागुन ४ गते राजा त्रिभुवन परिवारसहित विशेष वायुयानबाट काठमाडौँ आए । हवाई अड्डामा लाखौँ मानिस उत्रिएका थिए । राजा त्रिभुवनलाई स्वागत गर्नेहरूको हुल गौचर हवाईअड्डादेखि राजदरबारको ढोकासम्म पर्ने सडकको दुवै किनारामा खचाखच थियो ।

२००७ फागुन ७ गतेका दिन मोहन शमशेरको प्रधानमन्त्रीत्वमा राणा–कांग्रेसको संयुक्त मन्त्रीमण्डल बन्यो । राजा त्रिभुवनले विशेष सम्बोधन गरे । उक्त सम्बोधन यस्तो थियो :

“.... वर्तमान समयमा श्री ३ महाराज मोहनशमशेर जङ्गबहादुर राणाले हाम्रो तर्फबाट औं हाम्रो नाममा यो राज्यको शासन चलाइ आएको हो,

औं हाम्रा प्रजाको शासन अब उप्रान्त निजहरूले निर्वाचन गरेको एक वैधानिक सभाले तर्जुमा गरेको गणतन्त्रात्मक विधानको अनुसार होओस् भन्ने अहिले हाम्रो इच्छा र निर्णय भएकोले, ... हामीबाट यो घोषणाद्वारा हामीलाई हाम्रो कार्यको सम्पादनमा मद्दत गर्न हाम्रा अति विश्वासपात्र र प्रिय श्री ३ महाराज मोहनशमशेर जंगबहादुर राणा हाम्रो प्राइमिनिष्टर र परराष्ट्रमन्त्री, (२) श्री मिनिष्टर बबरशमशेर जंगबहादुर राणा रक्षामन्त्री, (३) श्री विशेश्वरप्रसाद कोइराला गृहमन्त्री, (४) श्री सुवर्णशमशेर अर्थमन्त्री, (५) श्री चुडाराज शमशेर वन विभागका मन्त्री, (६) श्री गणेशमान सिंह उद्योग वाणिज्य मन्त्री, (७) श्री नृपजंग राणा शिक्षामन्त्री, (८) श्री भद्रकाली मिश्र यातायातमन्त्री, (९) यज्ञबहादुर बस्न्यात स्वास्थ्य, स्वायत्त शासनमन्त्री, (१०) श्री भरतमणि शर्मा खाद्य र कृषिमन्त्री समेत अरु मन्त्रीहरू सम्मिलित भएको एक मन्त्रीमण्डल गठन र नियुक्त गरिबक्सेका छौँ ।”

राजाको यही सम्बोधनबाट नेपालमा प्रजातन्त्र स्थापना भयो ।

मुक्ति सेनाले गरेको विराटनगर कब्जा !

२००७ सालको क्रान्तिमा मुक्ति सेनाले पूर्वमा ताप्लेजुङदेखि पश्चिममा धुलिखेलसम्ममात्र आफ्नो नियन्त्रण स्थापित गरेको होइन, नेपाली कांग्रेसको नियन्त्रणमा संगठित गरिएको मुक्ति सेनाले वीरगञ्ज, उदयपुरलगायतका केही ठाउँहरूमा कब्जा गरे पनि पछि राणा सैनिकहरूले पुनः आफ्नो नियन्त्रणमा लिन सफल भएकोले सिङ्गो नेपाली कांग्रेसको सशस्त्र क्रान्तिमा धक्का लाग्ने परिस्थिति थियो । त्यही समयमा भोजपुर र धनकुटाको मुक्ति सेनाले निकटका मोर्चाहरूमा आफ्नो सहयोग पुर्‍याउनु पर्ने आवश्यकता महसुस गर्‍यो । मुक्ति सेनाले विराटनगर, धनकुटा, उदयपुर, महोत्तरीलगायतका ठाउँहरूमा मुक्ति सेना पठाएर मद्दत गरेका थिए । यो मद्दत ती ठाउँहरूमाथि मुक्ति सेनाको नियन्त्रण कायम गर्न ज्यादै नै उपयोगी साबित भएका थिए ।

२००७ साल कार्तिक २६ गते राजा त्रिभुवन सपरिवार दिल्लीका लागि प्रस्थान गर्नासाथ नेपाली कांग्रेसको मुक्तिसेनाले त्यसको भोलिपल्ट कार्तिक २७ गते विराटनगरमाथि हमला गरेको थियो । सर्वप्रथम मालकचहरी र वनजाँचलाई घेरामा हालियो र जेलमाथि कब्जा गरियो । त्यहाँ एकैछिन दुवैतर्फ गोली चल्यो । जसमा नेपाली कांग्रेसका तुलरामको मृत्यु भयो र गेहन्द्रहरि शर्माको खुट्टामा गोली लाग्यो । राणा सरकारको राष्ट्रिय फौजका पनि दुई जवानको ज्यान गयो ।

आक्रमण गर्न जाँदा मुक्तिसेनाका २५ सैनिकहरू थिए । तिनीहरूसँग चार वटा स्टेनगन, चार रिभल्वर र केही हाते बममात्रै थिए । मुक्तिसेनाका साथमा शिवजङ्ग राणा, विश्वबन्धु थापा, केशवप्रसाद कोइराला, गेहेन्द्र शर्मा, डाक्टर कुलदीप झा थिए । पहिलो आक्रमणमै ६ वटा ३०३ राइफल, एघार वटा हेनरी मार्टिन राइफल मुक्ति सेनाले कब्जा गरेको थियो । यसको तीन दिनपछि नै विराटनगरका लागि धनकुटाबाट राणा फौजको थप मद्दत आयो ।

विराटनगरको आक्रमण सफल हुन नसकेपछि मुक्ति सेना पूर्वी झापातिर आक्रमणमा लाग्यो । बाटोमा मुक्ति सेनाले रंगेलीमा आक्रमण गर्‍यो । त्यहाँबाट पनि तीन वटा हेनरी राइफल र गोलीगठ्ठाहरू मुक्तिसेनाले कब्जा गर्‍यो । ठाउँठाउँमा आमसभा गर्दै यो दल सिक्टीसम्म पुग्यो । दुई दिनसम्म हिँडेर मुक्ति सेना झापा पुग्यो । झापामा राणाका राष्ट्रिय सेनासँग लडाइँ गरेर मुक्ति सेना फर्केर पुनः विराटनगर आयो ।

डिसेम्बर १० तारिखमा मुक्ति सेनाले कडा आक्रमण सुरु गर्‍यो । पहिलो दिनको आक्रमणमा कांग्रेसका बलबहादुरको मृत्यु भयो । एक जना मुक्ति सेना हातमा बोकेको बम पड्केर घाइते भए । विराटनगरमा राणा फौजको ठुलो समूह रहेकाले त्यसमाथि विजय पाउन मुक्तिसेनालाई कठिन थियो । यसैले आवश्यक हतियार संकलन र सैनिक संगठनको प्रयत्न मुक्तिसेनाको फारबिसगञ्जस्थित शिविरबाट भएको थियो ।

पूर्वाञ्चलको मुख्य केन्द्रको रुपमा रहेको विराटनगर क्रान्तियोद्धाहरू मातृकाप्रसाद कोइराला, बीपी कोइरालालगायत अन्य कोइरालाको निवास क्षेत्रसमेत भएकोले मुक्ति सेना र स्वयं राणा शासकहरूका लागि प्रतिष्ठाको सवाल थियो । त्यसैले विराटनगरमाथि सशक्त आक्रमण गर्न विशेश्वरप्रसाद कोइरालाले सुवर्णशमशेरलाई तार पठाई वीरगञ्जमा खटिएको फौजलाई विराटनगर पठाउन अनुरोध गरेका थिए । सोही मुताविक ११२ जना योद्धासहित ज्ञानबहादुर याक्थुम्बा फारबिसगन्ज शिविरमा पुगे । यसरी नै मुख्य कमाण्डर विराटनगर पुगेर क्रान्तिको तयारीमा जुटे ।

मुक्ति सेनाको मनोबल बढाउन र नेपाली जनताहरूमा उत्साह जगाउन जोगबनीस्थित कटनमिल्सको गेष्टहाउसमा नेपाल प्रजातन्त्र रेडियोको स्थापना गरिएको थियो । काठमाडौँसम्म राम्रोसँग सुन्न सकिने यो रेडियोको समाचार प्रसारण तारणीप्रसाद कोइरालाद्वारा थिए भने क्रान्तिकारी गीतहरू गाएर रानुदेवी अधिकारी र शान्ति मास्केले आफ्नो क्रान्तिकारी छविलाई प्रस्तुत गरेका थिए ।

विराटनगरमा त्यस बेला उत्तमविक्रम राणा बडाहाकिम थिए । उनलाई नेपाली कांग्रेसले बारम्बार आत्मसमर्पण गर्न भन्दा पनि नमानेकाले मुक्तिसेनाका लागि ठुलो चुनौती उपस्थिति थियो । तर, उनले आफ्नो फौजलाई जोगवनी मिल्स एरियालगायत बाहिरी भागबाट झिकाएर बडाहाकिम निवास क्षेत्रमा कडा सुरक्षा प्रबन्ध गरेकोले विराटनगर जुटमिल र कटनमिल आदि ठाउँहरू मुक्ति सेनाले नियन्त्रणमा लिएको थियो । पछि जोगवनी (रानी सिकहाही) स्थित जुटमिलमा फत्तेबहादुर नेपालीले दुई तोप तयार पारेका थिए । यी तोपहरू सहिदद्वय तेजबहादुर क्षत्री र दलबहादुर थापाको नामबाट प्रयोगमा ल्याइएको थियो । सोही ठाउँमा विराटनगर कब्जाका लागि फत्तेबहादुर नेपालीको नेतृत्वमा गौरमणि आसामी, पन्चानन्द दास र श्याम नारायणजस्ता दक्ष कालिगढहरूद्वारा एक क्याटरपिलर ट्याङ्करलाई ट्याङ्कमा परिणत गरिएको थियो । यो ट्याक्टर विराटनगरका ईश्वरलाल धाडेवासँग मागिएको थियो ।

मुक्ति सेनाको मनोबल बढाउन र नेपाली जनताहरूमा उत्साह जगाउन जोगबनीस्थित कटनमिल्सको गेष्टहाउसमा नेपाल प्रजातन्त्र रेडियोको स्थापना गरिएको थियो । काठमाडौँसम्म राम्रोसँग सुन्न सकिने यो रेडियोको समाचार प्रसारण तारणीप्रसाद कोइरालाद्वारा थिए भने क्रान्तिकारी गीतहरू गाएर रानुदेवी अधिकारी र शान्ति मास्केले आफ्नो क्रान्तिकारी छविलाई प्रस्तुत गरेका थिए ।

जोगवनी र फरबिसगन्ज क्षेत्रमा मुक्ति सेनाले व्यापक रूपमा तयारी गरिरहेकै अवस्थामा भोजपुरका क्रान्तियोद्धाहरूले विराटनगर कब्जाका लागि एउटा फौज पठाएका थिए । पुसको पहिलो हप्तामा किताबसिंह राई र वीरबहादुर राईको नेतृत्वमा पठाइएको यो फौजमा रहेका सिपाहीहरूको संख्या ९० जना थियो । यस फौजमा तालिमप्राप्त भूतपूर्व सैनिकहरूको संख्या अत्यधिक रहेकाले विराटनगर कब्जाको क्रममा यसले आफ्नो सौर्यलाई प्रदर्शन गर्न सकेको थियो ।

मुक्ति सेनाद्वारा विराटनगरमाथि नियन्त्रण स्थापित हुनु नेपाली कांग्रेसका लागि विजयको सुखद् अनुभूतिको विषय थियो । भोजपुर कब्जा भएको १४ दिन पछाडि मात्र विराटनगर कब्जा भएको भएता पनि अब पछिल्लो अभियानसम्म विराटनगर र भोजपुर दुवैले सहयोगात्मक भावना लिएर राणा अवशेष समाप्त गर्न प्रयत्नमा लागे ।

पूर्णसिंहले यस प्रकार विराटनगर आक्रमणका लागि मुक्ति सेनालाई पूर्णरुपले सक्षम र सुदृढ बनाइसकेपछि तोप तथा ट्याङ्करको मद्दतबाट आक्रमण सुरु गरिएको थियो । यस आक्रमणमा कलकत्ताबाट आएका तारापद चटर्जी, वारिन डेद्वारा जोगबनीमा निर्माण गरिएका बमहरूसमेत प्रयोगका लागि लगिएको थियो । भोजपुरबाट गएको फौजले पनि बडाहाकिम निवासलाई चारैतर्फबाट घेरी आक्रमणमा सक्रिय भूमिका निभाएको थियो । आखिरीमा २ दिनसम्म लगातारको घेराबन्दी र आक्रमणपछि मुक्ति सेनाको सामु बडाहाकिमले २००७ साल पुस ८ गते आत्मसर्मण गरे । उनलाई ज्ञानबहादुर याक्थुम्बाले सिद्ध्याउने सोच बनाएका थिए । तर पूर्णसिंह ठाकुर र विशेश्वरप्रसाद कोइरालाको प्रयासबाट उनी बाँचे ।

पछि बडाहाकिम र उनका छोरालाई भाग्ने अवसर दिइयो । तर, मुक्तिसेनाको एक जवानले भाग्दाभाग्दै गोली प्रहार गरेकोले बडाहाकिमका छोरा सुदर्शनविक्रम राणाको मृत्यु भयो । मुक्ति सेनाको तर्फका १० जनाको मृत्यु भएको कतिपय पुस्तकमा उल्लेख छ । कतिपयमा भने १ जनाको मात्रै मृत्यु भएको उल्लेख छ ।

मुक्ति सेनाद्वारा विराटनगरमाथि नियन्त्रण स्थापित हुनु नेपाली कांग्रेसका लागि विजयको सुखद् अनुभूतिको विषय थियो । भोजपुर कब्जा भएको १४ दिन पछाडि मात्र विराटनगर कब्जा भएको भएता पनि अब पछिल्लो अभियानसम्म विराटनगर र भोजपुर दुवैले सहयोगात्मक भावना लिएर राणा अवशेष समाप्त गर्न प्रयत्नमा लागे ।

यथार्थमा यो अभियानको सफलताको एक प्रमुख कारण भोजपुुरको मुक्ति सेनाद्वारा विराटनगर विजयअगावै भोजपुर दिङ्ला, खोटाङ, चैनपुर र तेह्रथुममा पाएको सफलताले उत्पन्न गरेको हौसला र भोजपुरबाट पठाइएको मुक्तिसेनाले खेलेको भूमिका महत्त्वपूर्ण थियो भने विराटनगरमा भएका आक्रमण र युद्धले प्रजातन्त्र स्थापनाको लागि बल पुर्‍याएको थियो ।

सन्दर्भ सामग्री :

१) ग्रीष्मबहादुर देवकोटाद्वारा लिखित पुस्तक ‘नेपालको राजनीतिक दर्पण’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप