बुधबार, ०७ फागुन २०८१
ताजा लोकप्रिय
समाचार

सुनसरीको कोशी गाउँपालिकामा देखियो बर्डफ्लु

मङ्गलबार, ०६ फागुन २०८१, १९ : ३९
मङ्गलबार, ०६ फागुन २०८१

विराटनगर । सुनसरीको कोशी गाउँपालिकाका एक कृषि फर्ममा बर्डफ्लु  रोग फैलिएको पुष्टि भएको छ । हाँस पालन गरिएको कोशी गाउँपालिका ६ तुम्याहीस्थित सप्तकोशी कृषि फर्ममा बर्डफ्लु पुष्टि भएको छ । 

बर्डफ्लु पुष्टि भएसँगै सो कृषि फर्मलाई केन्द्र मानेर चारकिल्लाभित्रको क्षेत्रमा रोग नियन्त्रणको कार्य अगाडि बनाउन पशुपक्षी मन्त्रालयले मंगलबार पत्राचार गरेको छ । ‘प्रस्तुत विषयमा नेपाल सरकार माननीय मन्त्रीस्तरको मिति २०८१।११।०६ को निर्णय अनुसार बर्डफ्लु  नियन्त्रण नियमावली २०७८ को नियम ८ (३) बमोजिम तपसिल बमोजिम उल्लेख भएअनुसार चार किल्लाभित्रको क्षेत्रमा रोग नियन्त्रण कार्य सञ्चालन गर्न आवश्यक समन्वय, सहजीकरणका लागि अनुरोध छ,’ उक्त पत्रमा भनिएको छ । 

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका कार्यालय प्रमुख डा. मनोजकुमार महतोले बर्डफ्लु भेटिएको पुष्टि गरे । ‘फर्ममा अण्डा पार्ने ५ सयवटा ठुला हाँस रहेछ । ४५० वटा डेढ महिनाको बच्चा हाँस थियो । आजसम्म ठुलो २५० वटा मरिसक्यो । सानो २ सय ५० वटा मरिसक्यो,’ उनले भने । 

उनका अनुसार सो क्षेत्र शिल गरिएको छ । ‘मन्त्रालयले निर्णय गरिसकेको हुनाले हामी अब भोलि त्यहाँ पुगेर बाँकी रहेका हाँस तथा कुखुरा डिस्पोज गर्छौं,’ महताले भने । 

बर्डफ्लु  नियन्त्रण नियमावलीमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बर्डफ्लु नियन्त्रण समिति रहने व्यवस्था छ । उक्त समितिको बैठक बसेर सबै सर्तकर्ता अपनाउने उनले बताए । डिस्पोज गर्नका लागि काठमाडौँको विज्ञ टोली पनि आउने उनले बताए । त्यसपछि अन्य वरिपरिका फर्महरुमा पनि नमुना सङ्कलन गरेर परीक्षण गरिने उनको भनाइ छ । 

माघको अन्तिम सातातिर उक्त फर्ममा धमाधम हाँस मर्न थालेका थिए । तर, बर्डफ्लु भएको आशङ्का गरिएको थिएन । ‘सो फर्ममा केही दिनअगाडिदेखि नै हाँस मर्न थालेको रहेछ । फर्म सञ्चालकले मर्न थालेको तीन, चार दिन पछि मात्रै अस्पताल ल्याउनु भयो । स्थानीय प्राविधिकले उपचार गरेपनि नियन्त्रण नभएपछि अस्पताल ल्याएर आउनु भएको रहेछ । त्यसको चेकजाँच गर्दा पनि सुरुमा बर्डफ्लु देखिएन । तर, रोग नियन्त्रण नभएपछि पिसिआर गरेर नमुना काठमाडौँ पठाइएको थियो,’ महतोले भने । केन्द्रीय पशुपक्षी रोग परीक्षण प्रयोगशालामा चेकजाँच गरिएको हो । 

उनका अनुसार गत फागुन २ गते नमुना परीक्षण गरिएको थियो । उक्त नमुना परीक्षणको क्रममा बर्डफ्लु पुष्टि भएको थियो । हाँसमा सुरुमै लक्षण नदेखिने र एकैपटक मर्ने खालको हुने महतो बताउँछन् । ‘संक्रमित हाँस कुखुराको बथानमा पठायो भने संक्रमणको दर भने तीव्र हुन्छ । उक्त फर्ममा एक दर्जनबढी कुखुरा पनि थियो । अहिले २–४ वटा मात्रै छन्,’ उनले भने । उनका अनुसार अण्डा पारिराखेको हाँसले अहिले अण्डा दिन छोडेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप