सभामुख र रास्वपा सांसदबिच जुहारी : विज्ञहरू भन्छन्, 'डिलिङमा समस्या'

काठमाडौं । १८ माघदेखि सुरु भएको प्रतिनिधिसभाको पाँचौ अधिवेशनको आजसहित नवौँ बैठकमा आउँदा धेरै जुहारी सभामुख देवराज घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदबीच परिरहेको छ ।
रास्वपा सांसदहरूले सभामुख घिमिरेले संसद् सञ्चालनका क्रममा प्रश्न उठाइरहेका छन् । सभामुख घिमिरे र उनको सचिवालयले भने संसद्मा प्रतिनिधित्व गर्ने दलहरूबीचको सहमतिमा हुने संसद्को कार्यसूचीमा बखेडा झिक्ने काम रास्वपा सांसदहरूबाट भइरहेको आशयका अभिव्यक्ति दिइरहेका छन् ।
दुई पक्षबीच भएका घटना
पहिलो स् माघ १८ मा अधिवेशन सुरु भएको दिनमै सभामुख घिमिरेले सहकारी ठगी प्रकरणमा मुछिएका पार्टी सभापति तथा सांसद रवि लामिछानेलाई निलम्बन गर्ने सभामुखको निर्णयप्रति आपत्ति जनाउन मागेको समय उपलब्ध नगराएको भन्दै रास्वपा सांसदहरूले १५ मिनेट प्रतिनिधिसभा बैठक बैठक बहिष्कार गरे । सभामुख घिमिरेले संसद् अधिवेशन सुरू भएको जानकारी दिएलगत्तै रास्वपाका सांसदहरूले उठेर विरोध जनाए । बैठकमा सबै दलका सांसदहरूले बोल्ने कार्यसूची रहेको भन्दै सुरुमा बोल्न समय नदिने बताएपछि रास्वपाका सांसदहरूले उठेर विरोध जनाए पनि बहिष्कारबीच घिमिरेले बैठकलाई निरन्तरता दिए । त्यसपछि १५ मिनेटका लागि प्रतिनिधिसभा बहिष्कार गरेर रास्वपा सांसदहरू बाहिरिए । १५ मिनेटपछि उनीहरू त्यही बैठकमा भित्रिए ।
दोस्रो स् २८ माघमा बसेको प्रतिनिधिसभा बैठकमा सांसद सोविता गौतमले ‘आकस्मिक समय’ माग्दा उनले राख्न खोजेको विषय आकस्मिक नहुने भन्दै सभामुखले घिमिरेले समय उपलब्ध गराएनन् । गौतमले माघ २७ गते पारित भएको विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे बोल्न ‘आकस्मिक समय’ मागे पनि घिमिरेले विधेयक पारित भइसकेको विषय आकस्मिक हुन नसक्ने बताए । तर, गौतमले भने प्रक्रिया बिग्रिएको भन्दै बोल्न समय मागे पनि त्यो समय पाइनन् ।
तेस्रो स् सोमबार रास्वपा सांसद सुमना श्रेष्ठले ‘आकस्मिक समय’मा बोल्न मागेको समय सभामुख घिमिरेले उपलब्ध नगराएको भन्दै एक्लै बैठक बहिष्कार गरिन् । श्रेष्ठले समय माग्ने र सभामुखले उपलब्ध नगराउने विषयमा केहीबेर दोहोरो भनाभनसमेत चल्यो । तर, श्रेष्ठलाई बोल्न समय नदिएर एमालेकी सांसद सम्झना थपलियालाई बोल्न दिइयो । त्यसबेलासम्म श्रेष्ठ उभिरहिन् । थपलिया बोलिसकेपछि घिमिरेले बैठकलाई ‘शून्य समय’तिर लगे । त्यसपछि श्रेष्ठ संसद् बहिष्कार गरेर बानेश्वरबाट बाहिरिन् ।
श्रेष्ठले बाहिरिएपछि भारतको उडिसाबाट नेपाली विद्यार्थीले पठाएको ‘अडियो’ सन्देश र सभामुख घिमिरेले ‘आकस्मिक समय’ माग्दा बोलेको भिडियो एक्समा राख्दै लेखिन्, ‘यो अडियो सुनाएर सभामुखलाई संसद्मा यसबारे आवाज उठाउँभन्दा समय दिनुभएन । यो त आकस्मिक नै भएन भन्नुभो । ‘संसद्मा आकस्मिक समय दिइयो– प्रधानमन्त्रीलाई कसरी प्रश्न सोध्ने भन्ने कक्षा सञ्चालन लिनमा । हामी सांसदलाई झोले किन भनियो भन्ने गुनासो सुन्नलाई ।’ हाम्रा विद्यार्थी विदेशमा मारिँदा र अनाहकमा सयौंले दुःख पाउँदा त्यो कुरा संसद्मा प्रवेश नपाउने, तर मेरा नेतालाई किन यस्ता प्रश्न गरिस् भन्ने कुराचाहिँ आकस्मिकमा रहने हो भने जसले झोले भने, सही भने ।’
यी घटनाबारे सभामुख घिमिरेको सचिवालय पनि प्रतिक्रिया दिन पछि परेको छैन । सभामुखको सचिवालयको तर्फबाट मंगलबार बिहान प्रेस सल्लाहकार शेखर अधिकारीले रास्वपा सांसदद्वय सुमना श्रेष्ठ र सोविता गौतमको एगोसेन्ट्रिजमबारे शीर्षकमा आकस्मिक विषय उठाउने नै हुँदा उपसभामुखले चेयर गरेको बेला सभामुखलाई विषय बुझाएर राख्न सकिने भएमा पनि, मिडिया, सोसल मिडियाबाट प्रेसर क्रिएट गर्न खोजेको आरोप लगाउँदै प्रतिक्रिया दिए । अधिकारीले लेखेका छन्, ‘संसदीय प्रक्रियाभन्दा बाहिर गएर, मिडिया, सोसल मिडियाबाट प्रेसर क्रिएट गर्न खोजिएको छ ।’ अधिकारीले सभामुखले अबका दिन पनि हाम्रा अभ्यास, कानुन, नियमावलीको व्यवस्था र दलीय समझदारीलाई नै हेर्ने बताएका छन् ।
त्यसपछि रास्वपा सांसदद्वय श्रेष्ठ र गौतमको मंगलबारको बैठकमा प्रतिक्रिया दिए । आजको बैठकमा शून्य समयमा बोल्न श्रेष्ठले नाम टिपाएकी थिइन् । सभामुख घिमिरेले उनलाई बोल्नका लागि बोलाए । तीन पटकसम्म घिमिरेले बोलाउँदा पनि सांसद श्रेष्ठले प्रतिक्रिया नजनाएपछि घिमिरेले एमाले सांसद सुहाङ नेम्वाङलाई बोल्न समय दिए ।
आज रेडक्रसको भ्रष्टाचारबारे बोल्दा सांसद गौतमले समय मागेको र नदिएको विषय सभामुखको सचिवालयले सामाजिक सञ्जालमा नलेखेको भए हुने भन्दै बोलेकी थिइन् ।
सभामुख घिमिरेको सदन सञ्चालन धेरैलाई चित्त बुझेको छैन । संसदीय अभ्यासमा लामो समय काम नगरेकाले घिमिरे बेला बेलामा चिप्लिने गरेको धेरैले तर्क गरेका छन् ।
वरिष्ठ अधिवक्ता तथा नेपाली कांग्रेसका पूर्वराष्ट्रियसभा संसदीय दलका नेता राधेश्याम अधिकारीले सदन सञ्चालन गर्दा सभामुखले न्यायिक मन प्रयोग गरी, अगाडि बढ्दा उपयुक्त हुने बताउँछन् ।
‘हामीले सदन सञ्चालनका लागि सभामुखलाई धेरै बलियो बनाएका छौँ । सभामुखलाई बलियो नबनाई सदन पनि चल्दैन । तर, सदन सञ्चालनमा सभामुखले ‘जुडिसियल माइन्ड’ (न्यायिक मन) प्रयोग गर्नुपर्छ,’ वरिष्ठ अधिवक्ता अधिकारीले रातोपाटीसँग भने, ‘कुन बेला दिने, कुन बेला नदिने, बुन बेला दिँदा उचित हुन्छ भन्ने घटनाक्रममा विचार पुर्याउनुपर्छ । त्यसमा विवेक पुर्याउने, नपुर्याउने सभामुखको कुरा हो । केहीमा दुवैतर्फ मानवीय कमजोरी पनि हुन सक्छन् ।’
लामो समय संघीय संसद् सचिवालयमा काम गरी सचिवबाट अवकाश भएका सोमबहादुर थापा भने सांसद र दलहरूबीच ‘डिलिङ’मा समस्या देखिँदा यस्तो भएको हुन सक्ने बताउँछन् ।
‘कहिले दलहरूको त्रुटि हुन्छ । कहिले सभामुखको पनि कमजोरी हुन्छ । मुख्यगरी ‘डिलिङ’मा समस्या भएको हुनसक्छ,’ संसद सचिवालयका पूर्वसचिव थापाले रातोपाटीसँग भने, ‘सकभर सभामुखले सबै सांसदहरू (सत्तापक्ष, विपक्ष) लाई समान व्यवहार गर्न सक्नुपर्छ । समान व्यवहार नहुँदा समस्या देखिन सक्छ ।’
उनले सदन सञ्चालनमा समाभुखको रूलिङ चल्ने भए पनि समान व्यवहार गरेर अघि बढ्न सकेमा सदन सञ्चालनमा देखिने समस्या कम हुन सक्ने बताए । कहिलेकाहीँ भने मानवीय कमजोरीका कारण पनि समस्या हुन सक्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : पाथीभरा क्षेत्र फेरि अशान्तदेखि सशस्त्रका तीन एसएसपी डीआइजी बढुवाका लागि सिफारिससम्म
-
रिंकु सदा मृत्यु प्रकरण : बलात्कार र मिलापत्र आरोपमा ८ जनामाथि मुद्दा
-
सशस्त्रका ३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
-
ट्रम्प ‘विश्वको सम्राट’ बन्न चाहनुहुन्छ : राष्ट्रपति लुला
-
धोविखोलामा लगातार गाडी खसेपछि प्रहरीको अस्थायी जुक्ति
-
गिल र शमीको प्रदर्शनमा भारतको विजयी सुरुवात