काठमाडौँ । फिल्म 'फेरि रेशम फिलिली'को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमबिच सार्वजनिक फिल्मको ३ मिनेट ७ सेकेण्डको ट्रेलरमा
अमेरिकाको भिसा लागेको रेशम र उसको भिसासँग जोडिएका विभिन्न पात्रको सपना, चाहना र स्वार्थ समेटिएको छ ।
ट्रेलर हेर्दा झण्डै १० वर्ष अगाडि रिलिज भएको फिल्म रेशम फिलिली झैँ यसले कमेडीको तड्का दिने देखिन्छ । फिल्मले त्यति बेला हरिया पात्रलाई लोकप्रिय बनाएझैँ यसपटक मेक्सम गौडेललेको हाजमोला चरित्र दर्शकका लागि फ्रेस अफर हुने अनुमान लगाउन सकिन्छ ।
हरियाको रेशमलाई समस्यामा पारिरहने पुरानो शैलीले यसपटक पनि दर्शकलाई पेट मिचिमिचि हसाउने सम्भावना ट्रेलरले दिएको छ । समग्रमा ट्रेलरले हलसम्म दर्शकलाई सजिलै आकर्षित गर्ने देखाएको छ । फिल्म निरोज महर्जनले निर्देशन गरेका हुन् ।
फिल्ममा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रवीन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको अभिनय छ ।
सुसन प्रजापतिको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन फिल्ममा छ ।
सिनेमा आर्ट्स र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको फिल्ममा रौनक विक्रम कँडेल निर्माता, सुरज बम ठकुरी कार्यकारी निर्माता र एनि थापा सह निर्माता हुन् । फिल्मलाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।
प्रतिक्रिया