शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय
राजनीति

निष्क्रिय बन्यो ८ दलीय मधेसी मोर्चा, गतिविधि शून्य

मङ्गलबार, ०६ फागुन २०८१, १५ : ५६
मङ्गलबार, ०६ फागुन २०८१

काठमाडौँ  । मधेसकेन्द्रित दलहरूले गठन गरेको आठदलीय मोर्चा पूर्णता नपाउँदै निष्क्रिय भएको छ । सरकारले ल्याएको अध्यादेशपछि मधेसी मोर्चामा रहेका दलहरू आ-आफ्नो ढंगले त्यसमा संलग्न भएपछि मोर्चा निष्क्रिय भएको हो । 

गत माघ २१ गते रेशम चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको कार्यालयमा यसको बैठक बसेको थियो । त्यो बैठकपछि हालसम्म कुनै बैठक बसेको छैन । मोर्चा गठन गर्न संयोजनको भूमिका खेलेका जनता प्रगतिशील पार्टीका अध्यक्ष ह्रदयश त्रिपाठीले मोर्चाको प्रक्रिया सकारात्मक रहेको बताएका छन् । 

उक्त पार्टीका उपाध्यक्ष डा.शिवजी यादवले मोर्चाका नेताहरू आआफ्नो कार्यमा व्यस्त भएका यसको बैठक नबसेको बताए । 'हामी चाँडै बैठक बसेर अगाडि बढ्छौं,’ उनले भने ।

मोर्चाको विभिन्न बैठकले दुईटा कार्यदल पनि गठन गरेको थियो । आठ वटै दलबाट एक/एक जना राखेर एउटा कार्यदल गठन गरिएको सो कार्यदलले मोर्चा गठन तथा समन्वयका लागि काम गर्ने बताइएको छ । त्यस्तै मोर्चाको आचारसंहिता तथा मापदण्ड बनाउन तीन सदस्य कार्यदल गठन गरेको थियो । तर, अहिले ती दुईटै कार्यदलले भने काम गरेका छैनन् । 

कार्यदलका सदस्य एवं जनता समाजवादी पार्टी नेपालका प्रवक्ता मनीष सुमनले अहिले प्रक्रियामै रहेकाले मोर्चा नबनेको र गतिविधि नदेखिएको बताए । मोर्चा बनाउन दुईटा कार्यदल गठन गरिएको छ, सो कार्यदलले आन्तरिक रूपमा काम गरिरहेको उनले दाबी गरे । 'केही दिनमै संयुक्त बैठक बसेर एउटा निर्णयमा पुग्छौँ,' उनले भने । 

सरकारले ल्याएको अध्यादेशको विषयमा भने सबै दलले आफ्ना धारणा बाहिर ल्याएकाले सामूहिक धारणा नआएको उनको भनाइ थियो ।  

त्रिपाठीका अनुसार अध्यादेशको व्यवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै मोर्चाको महत्वपूर्ण अंग जसपा नेपाल र लोसपा नेपालले देशव्यापी सकारात्मक सन्देश प्रवाह गरेको छ 
उनले आज एक विज्ञप्ति जारी गरी सार्वजनिक जग्गा, वनक्षेत्र, बुट्यान, हाट, हाटघाट, गौचर, बजार, राष्ट्रिय निकुञ्ज वा आरक्ष, मध्यवर्ती क्षेत्रको जग्गा, चुरे क्षेत्रको संरक्षण गर्न जसपा नेपाल र लोसपाको निर्णयले महत्वपूर्ण भूमिका खेल्ने निश्चित रहेको उल्लेख गरेका छन् ।

आठ दलीय मोर्चा कुनै पार्टी विशेषविरुद्ध नभई सदैव देश र जनताको पक्षमा रहने विश्वास व्यक्त गर्दै उनले शिशु अवस्थामा रहेको सो मोर्चा आगामी दिनमा थप एकताबद्ध भई थप प्रभावशाली हुने दाबी गरेका छन् । 

उनले मोर्चाको प्रक्रियाप्रति जनता प्रगतिशील पार्टी नेपाल सकारात्मक रहेको पनि बताएका छन् ।

मधेसको अधिकार तथा पहिचानका लागि साझा एजेन्डामा संघर्ष गर्न उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, डा.सीके राउत नेतृत्वको जनमत पार्टी, रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, वृषेशचन्द्र लालको तराई मधेस लोकतान्त्रिक पार्टी र ह्रदयश त्रिपाठीको जनता प्रगतिशित पार्टी नेपाल सम्मिलित मोर्चा बनेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप