वायु र ध्वनि प्रदूषणको मारमा काठमाडौँका विद्यालय

काठमाडौँ । काठमाडौँको पुरानो बानेश्वरस्थित मुख्य सडकछेउमै छ, रत्नराज्य माध्यमिक विद्यालय । २५ सयको हाराहारीमा विद्यार्थी दैनिक ८ घण्टा त्यही विद्यालयमा बिताउँछन् । उनीहरू बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म विद्यालयमै रहन्छन् ।
दिनभर विद्यालयमा रहँदा उनीहरूले सडकमा गुड्ने गाडीको चर्को आवाज नसुनेको क्षण हुँदैन । त्यतिमात्र नभएर ती गाडीको चर्को हर्नले पठनपाठनमा समस्या आउँछ । अत्यधिक सवारी चाप हुने उक्त क्षेत्रमा ध्वनि प्रदूषण मात्रै नभई वायु प्रदूषणसमेत अत्यधिक हुन्छ । हरेक दिन विद्यालयमा सरसफाइ त गरिन्छ तर, एकैछिनमा धुलाले कक्षाकोठाहरू फोहोर भइहाल्छन् । विद्यालयका प्रधानाध्यापक रामाशीष यादवका अनुसार सडकछेउमा हुँदा ध्वनि र वायु दुवै प्रदूषण अत्यधिक हुन्छ ।
जुन दिन सडक सरसफाइ गरिएको छ, त्यो दिन धुलो कम उड्छ । सवारी साधन कम गुडेको दिन ध्वनि प्रदूषणसमेत कम हुन्छ । महानगरपालिकाले हरेक दिन सरसफाइ भने गर्दै आएको छ ।
प्रधानाध्यापक यादवले बालबालिकाहरूमा श्वासप्रश्वाससम्बन्धी समस्या रहेको बताए । ‘त्यो के कारणले भएको हो भन्ने अवस्था छैन । सानोभन्दा पनि ठुला बच्चाहरूमा त्यस्तो खालको समस्या देखिन्छ,’ उनले भने ।
विद्यालयमा नर्सको व्यवस्था गरिएको छ । श्वासप्रश्वाससम्बन्धी समस्या भएका बालबालिकाको विद्यालयमै स्वास्थ्य जाँच गरिन्छ । कतिपय बच्चालाई अस्पताल नै लैजानुपर्ने अवस्था आउने गरेको उनले बताए ।
अहिले महानगरले वायु प्रदूषण र ध्वनि प्रदूषण जाँच गर्न एउटा यन्त्र राखेको छ । उक्त यन्त्रबाट प्रदूषणको अवस्था थाहा हुने उनको भनाइ छ ।
रानीपोखरी नजिकै रहेको दरबार हाईस्कुलमा त्योभन्दा बढी समस्या छ । तीनतर्फ सडक रहेको उक्त विद्यालयले वायु र ध्वनि प्रदूषण दुवैको सामना गर्नुपरेको छ ।
विद्यालयका प्रधानाध्यापक शारदा कुमारी पौडेलले वायु र ध्वनि प्रदूषणको एकदमै समस्या रहेको बताइन् । ‘झ्याल ढोका बन्द गर्यो भने गुम्म परेर बोलेको सुनिँदैन । बन्द गरिएन भने ध्वनि र वायु दुवैको प्रदूषण हुन्छ,’ उनले भनिन् ।
कक्षाकोठाभित्र अझ बढी प्रदूषण हुने गरेको उनको भनाइ छ । वायु प्रदूषण अत्यधिक हुने गरे पनि त्यसले बालबालिकामा असर गरेको भन्ने नदेखिएको पौडेलले बताइन् । ‘तर, त्यसको मारमा हामी परेका छौँ जस्तो लागेको छ,’ उनले भनिन् ।
काठमाडौँ उपत्यकाभित्र सडकछेउछाउ रहेका विद्यालयहरू वायु र ध्वनि प्रदूषणको मारमा पर्ने गरेका छन् । काठमाडौँ इलेक्ट्रिक भेहिकल एलायन्स (केभा) ले प्रकाशन गरेको ‘नेपालमा वायु प्रदूषण समस्या र समाधान’ अध्ययन अनुसार काठमाडौँ उपत्यका प्राकृतिक र मानवीय कारणले वायु प्रदूषणको प्रभाव अन्य सहरको तुलनामा बढी हुने गरेको छ ।
कचौराजस्तो भौगोलिक भू–बनोटले उपत्यकाभित्र जम्मा भएको प्रदूषित वायुलाई हावाले सजिलै बाहिर लान सक्दैन । जाडोयाममा त यो समस्या झन् जटिल हुन्छ । किनभने, जाडोयाममा राति र बिहानीपख उत्यकाको सहतनेर चिसो हावाको एक तह बन्छ, जसलाई तातो हावाको अर्को तहले ढकनीले जस्तै छोपेर राखेको हुन्छ । यसलाई वैज्ञानिक भाषामा इन्भर्सन ‘टेम्प्रेचर इन्भर्सन’ भनिन्छ । यसले गर्दा जाडोयाममा प्रदूषकहरू जमिनको सतहनजिक नै बसिरहन्छन् र वायु प्रदूषण अत्यधिक मात्रामा बढ्छ ।
वायु प्रदूषण बढी हुनुको अर्को कारण काठमाडौँको उचाइलाई समेत लिने गरिएको छ । १३०० मिटरदेखि १३५० मिटरसम्मको उचाइमा अवस्थित काठमाडौँ उपत्यकामा गाडीहरूले अन्य कम उचाइ भएका ठाउँभन्दा साधारणतयाः बढी धुवाँ फाल्ने गर्छन् । काठमाडौँको मौसमले पनि वायु प्रदूषण बढाउन सहयोग पुर्याइरहेको उक्त अध्ययनमा उल्लेख छ ।
काठमाडौँको तीनकुने शान्तिनगर नजिकै रहेको सिद्धेश्वर माविले त धुलो धुवाँ मात्र नभई नदीको दुर्गन्धसमेत सहनुपरेको छ । विद्यालयका प्रधानाध्यापक प्रभाकर न्यौपाने भन्छन्, ‘नियमित गाडी आवतजावत गर्ने भएकाले धेरै ध्वनि प्रदूषण हुन्छ । गाडीको आवाज अचेल अलि कम हुन्छ । धुलोधुवाँको समस्या एकदमै बढी छ । गर्मीमा निकै बढी हुन्छ । खोला किनारबाट निकै गन्ध आउँछ ।’
तीनकुने पुलमुनि काठमाडौँ महानगरपालिकाले फोहोर जम्मा गर्छ र त्यहाँबाट छानेर अन्यत्र लगिने गरिएको छ । फोहोर फाल्ने ठाउँबाट ५ सय मिटर नजिकै उक्त विद्यालय छ । जसले गर्दा त्यसको दुर्गन्ध सीधै विद्यालयमा आउने प्रधानाध्यापक न्यौपानेले बताए । उनी आफैँ पनि श्वासप्रश्वासको समस्याबाट पीडित छन् । लामो समयदेखि यसै विद्यालयमा रहँदा यस्तो समस्या आएको हो कि भन्ने उनलाई शंका छ ।
त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन माध्यमिक विद्यालय पनि बागमती नदी किनारमा छ । मुख्य सडकबाट केही मिटरको दूरीमा रहेको विद्यालयमा ध्वनि र वायु प्रदूषण ले त्यति धेरै असर त गरेको छैन । तर, बागमतीमा दुर्गन्ध बढ्दा भने त्यसले असर गर्ने गरेको छ । विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले प्रदूषणबाट बच्न अग्लो पर्खाल नै लगाउनुपरेको बताए ।
स्वास्थ्य अनुसन्धान परिषद्ले गत वर्ष गरेको अध्ययनले विश्वनिकेतनलाई पनि वायु प्रदूषणले असर पार्ने क्षेत्रमा राखेको थियो ।
महाराजगञ्जस्थित शिवपुरीमा रहेको शिवपुरी माध्यमिक विद्यालयसमेत सडक छेवैमा छ । जहाँ ध्वनि र वायु प्रदूषण दुवै हुन्छ । जसका कारण नयाँ विद्यार्थी सडकमा गुड्ने गाडीको कोलाहलका कारण निकै अप्ठ्यारोमा पर्ने गरेका प्रधानाध्यापक प्रकाश सुवेदीले बताए ।
करिब १ हजार ५ सय विद्यार्थी अध्ययन गर्ने उक्त विद्यालयले प्रदूषण न्यूनीकरणका लागि सामान्य उपाय अवलम्बन गरेको छ, तर त्यसले खासै काम भने गरेको देखिँदैन । ‘ध्वनि प्रदूषण न्यूनीकरण गर्न ड्राइभस्लो भनिरहेका छौँ । हर्न बनाउन पनि निषेध गरेका छौँ । तर, कतिपयले ठुलो आवाजमा बजाउँछन्,’ सुवेदीले भने ।
ललितपुरको पुल्चोकमा रहेको मदनस्मारक माविले भने चारैतिर वृक्षारोपण गरेको छ । सडकछेउछाउ भए पनि वृक्षारोपण गरेकाले वायु र ध्वनि प्रदूषणले त्यति धेरै असर नगरेको प्रधानाध्यापक गोविन्द पौडेलले बताए ।
‘विद्यालय त सडकछेउमै छ । तर, ध्वनि र वायु प्रदूषणको त्यस्तो असर परेको छैन । हाम्रो चारैतिर बोटविरुवा छन् । भवन पनि त्यही प्रकारका छन्,’ प्रधानाध्यापक पौडेलले बताए ।
प्रभात मावि, नमुना मच्छिन्द्र मावि, श्रीकृष्ण मावि, हरिसिद्धि मावि पनि सडकछेउमै छन् । ती विद्यालयहरूले समेत प्रदूषणको मार खेप्दै आएका छन् ।
गौशालामा रहेको पशुपति मित्र माविमा पनि सडकछेउमै छ । केही समय अगाडि महानगरले भाडा प्रयोजनका लागि लगाइएका ४८ वटा सटर भत्काएको थियो । जीर्ण अवस्थामा रहेका ती सटरहरू भत्काएपछि सडक र विद्यालयभित्रको दूरी नजिक हुन पुग्यो ।
उक्त विद्यालयका प्रधानाध्यापक चन्द्रकान्त पण्डितले सटरहरू भत्काएपछि विद्यालयभित्रको गतिविधि बाहिरैबाट नियाल्न सकिने भएको बताए । सटर हुँदा धुलो र धुवाँ कम आउने गरेको थियो । तर, अहिले धुलो र ध्वनि प्रदूषणले धेरै असर गरिरहेको उनको भनाइ थियो । महानगरपालिकाले हालै वायु प्रदूषण मापनयन्त्र राखेको छ । उक्त मापनयन्त्रबाट केही समयपछि मात्रै वायु प्रदूषणको अवस्थाबारे थाहा हुने उनले बताए । विद्यालयमा हालसम्म के–कस्ता असर परेका छन् भन्ने विषयमा कहीँ कतैबाट अध्ययन भने नभएको उनको भनाइ छ ।
बाफलमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयसमेत सडकछेउमै छ । ४ हजार ८ सय विद्यार्थी अध्ययनरत उक्त विद्यालय मुख्य सडकभन्दा भित्र भएकाले त्यति धेरै असर भने गरेको छैन ।
विद्यालयकी प्रधानाध्यापक विष्णु घिमिरे रिमालले कस्तो ठाउँमा विद्यालय बनाउन हुने ? ध्वनि र वायु प्रदूषण न्यूनीकरणका लागि के कस्ता काम गर्नुपर्ने ? भन्ने कुरा राज्यको नीतिभित्रै पर्ने बताइन् ।
‘हाम्रो विद्यालय सडकछेउमै छ । मुख्य सडकभन्दा अलिकति भित्र भए पनि सडकछेउमै हो । ध्वनि र वायु प्रदूषणबाट बच्न हामीले नै त्यस्तै खालको संरचना बनाएका छौँ । तर, विद्यालयका लागि कस्तो मापदण्ड बनाउने भन्ने कुरा राज्यको कुरा हो,’ उनले भनिन् ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्यांकअनुसार काठमाडौँ, ललितपुर र भक्तपुरमा दुई हजार २ सय ५६ विद्यालय छन् । जसमा ७ लाख ३३ हजार २ सय ५७ विद्यार्थी अध्ययनरत छन् । सबैभन्दा बढी काठमाडौँमा ५ लाख ८ हजार ४ सय ५५ विद्यार्थी, ललितपुरमा एक लाख ३८ हजार ५ सय ५३ र भक्तपुरमा ८६ हजार २ सय ४९ विद्यार्थी अध्ययनरत छन् ।
शिक्षा नियमावलीले विद्यालय सञ्चालन तथा खोल्न विभिन्न मापदण्ड तय गरेको छ । सोही आधारमा स्थानीय तहहरूले समेत मापदण्ड बनाएका छन् ।
शिक्षा नियमावली, २०५९ को नियम ४ मा विद्यालय खोल्न आवश्यक पूर्वाधारको व्यवस्था गरेको छ । जसअनुसार अनुसूची ३ मा अध्यापन गराइने कक्षाकोठामा हावाको प्रवाह, प्रकाशको व्यवस्थाको साथै स्वास्थ्य हुनुपर्ने भन्ने छ । त्यस्तै विद्यालयको हाता कम्पाउन्डले घेरिएको हुनुपर्नेलगायत मापदण्ड छन् । तर, काठमाडौँ उपत्यकाभित्रका विद्यालयहरूले नै मापदण्डको पालना गर्न नसकेको देखिन्छ ।
बाहिरबाट धुलो तथा गाडीहरूको चर्को आवाजले पठनपाठनमा समस्या हुने भनेर झ्याल ढोका बन्द गर्ने गरेका छन् । जसले गर्दा कक्षाकोठामा हावा प्रवाह हुन सक्दैन । त्यस्तै प्रकाशको व्यवस्थासमेत राम्रो हुन सक्दैन ।
- वार्षिक ४८ हजार ५०० नेपालीको मृत्यु
हेल्थ इफेक्ट इन्स्टिच्युट एवम् हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएसन नामक संस्थाले युनिसेफसँगको सहकार्यमा ‘स्टेट अफ ग्लोबल एयर–२०२४’ नामक रिपोर्ट सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनमा सन् २०२१ मा विश्वमा वायु प्रदूषणका कारण ८१ लाख मानिसको मृत्यु भएको तथ्य छ । सन् २०१९ मा करिब ७२ लाख मानिसको मृत्यु भएको उसले जनाएको छ ।
वायु प्रदूषणका कारण नेपालमा सन् २०२१ मा ४८ हजार ५०० मानिसको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।
काठमाडौँमा मात्रै वर्षमा पाँच हजार बढीको मृत्यु वायु प्रदूषणबाट हुने गरेको तथ्यांक छ । काठमाडौँमा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ८ गुणा बढी वायु प्रदूषण छ ।
सन् २०१९ को प्रतिवेदनमा यो संख्या ४२ हजार एक सय थियो । विश्वभरि उच्च रक्क्तचापपछि वायु प्रदूषण नै मानव स्वास्थ्यमा जोखिम बढाउने तत्त्व भएको प्रतिवेदनमा उल्लेख छ । वायु प्रदूषणको उच्च जोखिममा सबैभन्दा धेरै दक्षिण एसियाली र अफ्रिकी मुलुक रहेका छन् ।
नेपालमा मृत्युको मुख्य कारण वायु प्रदूषणको भूमिकामध्ये ६६ प्रतिशत दीर्घकालीन फोक्सोको रोग, ३४ प्रतिशत मुटुको रोग, ३७ प्रतिशत मस्तिष्कघात, ४७ प्रतिशत तल्लो श्वासप्रश्वास प्रणालीको सङ्क्रमण, २२ प्रतिशत नवजात शिशुको रहेको छ ।
सन् २०१७ मा वातावरण विभागको तथ्यांकअनुसार काठमाडौँ उपत्यकाको वायुको गुणस्तर नेपाल सरकारले तोकेको वायुको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड विपरीत रहेको पाइएको थियो । सन् २०१७ मा रत्नपार्कमा ३ सय १८ दिनको तथ्यांक विश्लेषण गर्दा १ सय १९ दिन पीएम २.५ को मात्रा मापदण्डभन्दा बढी रहेको पाइएको थियो ।
वायु प्रदूषण बढेपछि सरकारले ‘काठमाडौँ उपत्यकाको वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६’ स्वीकृत गरेको थियो ।
विभिन्न स्रोतबाट हुने वायु प्रदूषणलाई रोकथाम तथा नियन्त्रण गर्न काठमाडौँ उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना तर्जुमा गरी सम्बन्धित सरोकारावाला निकायहरूबाट कार्यान्वयन गराउने भन्दै कार्ययोजना बनेको थियो ।
- परिषद्को अध्ययन
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौँका दुई वटा विद्यालयमा गत वर्ष अध्ययन गरेको थियो । कुन क्षेत्रमा वायु प्रदूषण बढी हुन्छ ? कुन क्षेत्रमा हुँदा बढी असर पर्छ भन्ने विषयमा विश्वनिकेतन मावि र कामना इन्टरनेसनलमा अनुसन्धान गरेको थियो ।
परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डाक्टर मेघनाथ धिमालले एउटा बच्चा एक हप्तासम्म उसको घुमफिरमा के कस्तो असर पर्छ भन्ने विषयमा अध्ययन गरिएको बताए । ‘स्कुल आउने, जाने, खेल्ने अवस्थामा सबैभन्दा बढी नजिक कसरी हुन्छ भन्ने विषयमा अध्ययन गरेका थियौँ । अध्ययनका क्रममा धेरै ठाउँमा प्रदूषण नै देखायो,’ धिमालले भने । अध्ययनको विस्तृत विवरण तयार भइरहेकाले अहिले नै सबै कुरा भन्न नसकिने उनको भनाइ छ ।
- काठमाडौँका १६ ठाउँमा यन्त्र जडान
काठमाडौँ महानगरपालिकाले वायु मापनका लागि विभिन्न १६ ठाउँमा यन्त्र राखेको छ । १९ ठाउँमा राख्ने योजना भए पनि हाल १६ ठाउँमा राखिएको हो । तीमध्ये केही भने विद्यालयमा समेत राखिएको महानगरको वातावरण विभागकी निमित्त विभागीय प्रमुख सरिता राईले बताइन् ।
खुला रूपमा आगो बाल्नु हुँदैन भन्ने सचेतना फैलाउने कार्यक्रम गर्न लागिएको उनले बताइन् । खुला रूपमा आगो बाल्दा कस्तो असर गर्छ ? त्यसले पार्ने प्रभाव लगायतका विषयमा विद्यार्थीहरूलाई जानकारी दिने कार्यक्रम गर्न लागिएको उनले बताइन् ।
शिक्षा विभागका अधिकृत केशव ज्ञवालीले विद्यार्थीहरूबाट गठन गरिएका क्लबमार्फत पर्यावरण हरियाली बनाउने, फोहोरमैला व्यवस्थापन गर्नेलगायत कार्य गर्दै आएको बताए ।
- बालबालिकामा श्वासप्रश्वास समस्या बढ्दो : बाल रोग विशेषज्ञ
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल बाल रोग विभागीय प्रमुख प्राडा सुधा बस्नेतले पछिल्लो समय श्वाशप्रस्वाससम्बन्धी बिरामी बढेको बताइन् । तथ्यांक नभए पनि अनुभवका आधारमा उनले बताइन् । ‘निमोनियाबाहेक एक्ज्माजस्तै रोग भएका बच्चाहरू धेरै आउँछन् । दम नभए पनि त्यो हो कि भनेर उपचार गर्नुपर्ने अवस्था छ,’ उनले भनिन्, ‘रुघाखोकी लागे पनि स्वाँस्वाँ बढी हुने । हेरेको भरमा भन्नुपर्दा स्वासप्रश्वासका बिरामी बढी देखिएका हुन् । तर, यसमा तथ्यांक भने छैन । त्यसका लागि वायु प्रदूषणले ठुलो भूमिका खेल्छ । प्रदूषणले यो मात्रा बढाउने भन्ने हुन्छ ।’
दम हुँदा लामो समयसम्म खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, कसैलाई धेरै हाछ्युँ आउने गर्दछ । यस्तो खालको समस्या धेरै लामोसम्म देखियो भने त्यसले अन्य रोगहरू लाग्ने, शरीरमा अक्सिजनको मात्रा कम हुने, फोक्सोलाई असर गर्ने गरेको बस्नेतको भनाइ छ ।
सन् २००८ मा उनकै नेतृत्वमा ७/८ वटा स्कुलमा अध्ययन गरिएको थियो । अध्ययनको क्रममा ८ प्रतिशत बालबालिकामा एक्ज्माको समस्या देखाएको उनको भनाइ छ । अहिले अध्ययन गर्ने हो भने त्यो प्रतिशत बढ्ने उनको अनुमान छ ।
यस्तो खालको समस्याबाट बच्चाहरूलाई मास्क लगाइदिनुपर्ने उनले सुझाव दिइन्
- न्यूनीकरणका लागि काम भइरहेको छ : वातावरण विभाग
वातावरण विभागले वायु प्रदूषण न्यूनीकरणका लागि विभिन्न काम भइरहेको जनाएको छ । विभागका सूचना अधिकारी दीपक ज्ञवालीले वायु प्रदूषण न्यूनीकरणका लागि सबै सरोकारवाला निकायबिच समन्वय गरेर काम भइरहेको बताए ।
‘हाम्रो सीधा समन्वयचाहिँ छैन । कानुनहरूमा कुन काम कसले गर्ने भनेर छुट्याएको हुन्छ । त्यहीअनुसार काम गर्ने हो,’ उनले भने । विद्यालयमा कस्तो खालको असर गरेको भन्ने विषयमा अध्ययन नगरिएपछि वायु प्रदूषणका कारण सबै क्षेत्रमा समस्या भइरहेको बताए ।
वायु प्रदूषणको राष्ट्रिय मापदण्ड छ । उक्त मापदण्डअनुसार दैनिक ४० पीपीएमभन्दा बढी वायु हुन नहुने भन्ने छ ।
प्रदूषणले के असर गर्छ ? अथवा यसको न्यूनिकरण कसरी गर्ने भन्ने विषयमा पाठ्यक्रम विकास गर्ने, शिक्षक निर्देशिकाहरू बनाउने यी कुराहरू शिक्षा मन्त्रालयअन्तर्गत भएकाले त्यहीँबाट काम भइरहेको उनले बताए । यी विषय विद्यालय तहको पाठ्यक्रममा समावेश गरिएको र सचेतना फैलाउने हिसाबले काम भइरहेको उनको भनाइ थियो ।
वातावरण संरक्षण ऐन, २०७६ भित्र रहेर काम गर्दै आएको उनको भनाइ छ । विभागले वायु प्रदूषणको अवस्था के छ भनेर मासिक रूपमा हेर्दै आएको छ ।
- समन्वय आवश्यक :
हाल वायु प्रदूषणका क्षेत्रमा काम गर्दै आएका यूएसआईडीमा क्लिन एयरमा काम गर्दै आएका सुभेन्द्र श्रेष्ठले यो एउटाको मात्रै विषय नभएको बताए । सबैको समन्वय आवश्यकता रहेको र पर्याप्त मात्रामा जनचेतना हुनुपर्ने त्यति हुन नसकेको उनले बताए ।
काठमाडौँमा सवारी साधनको चाप अत्यधिक रहेकाले सडक क्षेउमा भएका विद्यालयहरूमा अत्यन्तै जोखिम रहेको उनको भनाइ थियो ।
सन् २०२३ गरिएको अध्ययनले विद्यालय लाग्ने ९० प्रतिशत दिन प्रदूषणमय नै रहेको उनको भनाइ छ । न्यूनीकरणका लागि ठोस कामहरू नभएको उनको भनाइ छ । वायु र ध्वनि प्रदूषणबाट बच्न विद्यालयको निश्चित क्षेत्र तोकेर वातावरणीय दृष्टिकोणले गर्न नहुने कामहरूमा रोक लगाउनुपर्ने उनले बताए ।
नेपालको संविधानले नै स्वच्छ हावामा बाच्न पाउनुपर्ने हकको व्यवस्था गरेको छ । नेपालको संविधानको धारा ३० ले ‘स्वस्थ र स्वच्छ हावा’ नागरिकको मौलिक हकको रुपमा व्यवस्था गरेको हो । तर, हरेक नेपालीले स्वच्छ हावामा बाँच्न पाउने हकको उपभोग गर्न पाएका छैनन् ।
यस्ता खालका समस्याबाट बच्न विद्यालय स्वयम्ले समेत केही काम गर्नुपर्ने उनले सुझाव दिए । जाडो समयमा विद्यार्थीहरूलाई घरबाट विद्यालय जाँदा र विद्यालयबाट घर जाँदा बालबालिकाहरूलाई मास्क लगाउन सकियो भने धेरै कम गर्न सकिने उनको भनाइ थियो ।
- प्रदूषण घटाउनु नै समाधान :
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सिनियर डिभिजनल केमिस्ट शंकरप्रसाद पौडेलले जहाँसम्म वायु फैलिन्छ त्यहाँसम्मका सबै क्षेत्रमा असर गर्ने गरेको बताए । वातावरण विभागमा समेत रहेका काम गरेका पौडेलले त्यसको समाधान भनेको प्रदूषण घटाउनु मात्रै रहेको बताए ।
प्रदूषणका विभिन्न स्रोतहरू हुने उनको भनाइ छ । सवारी प्रदूषणका साथै तराईका क्षेत्रमा उद्योगधन्दाबाट समेत प्रदूषण हुने गरेको बताए ।
प्रदूषण बाहिर र कोठाभित्र गरेर दुई क्षेत्रबाट हुने गरेको उनको भनाइ छ । तथ्यांक हेर्दा बाहिरभन्दा कोठा वा भवनभित्रका प्रदूषणबाट मृत्युको संख्या बढी रहेको बताए ।
हिउँदमा काठमाडौँ उपत्यकाबाट हावाको गति एकदमै कम हुन्छ । त्यस्तै चैत वैशाख महिनामा डढेलोका बढी प्रकोप हुन्छ । नेपालमा बन जंगलमा डढेलो लाग्छ । भने भारत, पाकिस्तानलगायत क्षेत्रमा कृषि बाली भित्र्याइसकेपछि बाँकी रहेको भागमा आगो लगाउने गर्छन् । जसले गर्दा वायु प्रदूषण एकदमै बढी हुने गरेको पौडेलले बताए ।
वायु प्रदूषण मापन गर्नका लागि वातावरण विभागले देशभर २७ वटा क्षेत्रमा यन्त्र जडान गरेको छ । तीमध्ये एउटा हिमाली क्षेत्रमा राखिएको छ । जसले वायु प्रदूषणका कारण हिउँ कसरी पग्लिन्छ भन्ने विषयमा अध्ययन गर्छ । तीबाहेक २६ वटा यन्त्रहरूले वायु प्रदूषणको अवस्थाबारे जानकारी दिने विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिंकु सदा मृत्यु प्रकरण : बलात्कार र मिलापत्र आरोपमा ८ जनामाथि मुद्दा
-
सशस्त्रका ३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
-
ट्रम्प ‘विश्वको सम्राट’ बन्न चाहनुहुन्छ : राष्ट्रपति लुला
-
धोविखोलामा लगातार गाडी खसेपछि प्रहरीको अस्थायी जुक्ति
-
गिल र शमीको प्रदर्शनमा भारतको विजयी सुरुवात
-
१० बजे १० समाचार : नेपालमा युरोपियन जहाज ल्याउन रोकदेखि पाथीभरा क्षेत्रमा फेरि तनावसम्म