बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

नेपाल-क्यानडा सम्बन्धको ६० औँ वर्षगाँठ, दिगो विकासमा सहयोग विस्तार गर्ने घोषणा

मङ्गलबार, ०६ फागुन २०८१, १५ : ०८
मङ्गलबार, ०६ फागुन २०८१

काठमाडौं । नेपाल र क्यानेडाले आफ्नो कूटनीतिक सम्बन्धको ६० औं वर्षगाँठ मनाइरहेका बेला क्यानेडेली दूतावासले नेपालको दिगो विकासमा क्यानेडाको समर्थन कायमै रहने जनाएको छ ।  

सोमबार आयोजित विशेष समारोहमा क्यानेडेली दूतावासका प्रथम सेक्रेटेरी इयान राइट्सले यस्तो प्रतिबद्धता जनाएका हुन् । नेपालमा लैङ्गिक समानता, दिगो विकास, समावेशी आर्थिक वृद्धिलगायत विषयमा क्यानेडाले गर्दै आएको सहयोगबारे पनि कार्यक्रममा जानकारी दिइएको थियो ।

क्यानेडियन फन्ड फर लोकल इनिसियटिभ्स् कार्यक्रममार्फत क्यानेडाले नेपालमा विभिन्न परियोजना सञ्चालन गर्दै आएको छ । कार्यक्रम व्यवस्थापक  जसविन्दर कौरले कार्यक्रमले नेपालको सीमान्तकृत र किनाराकृत समुदायलाई सहयोग गर्ने लक्ष्य राखेको बताइन् । उनले आगामी मार्चमा नयाँ प्रस्ताव आह्वान गरिने घोषणा पनि गरिन् । 

यस कार्यक्रमले पछिल्लो समय हासिल गरेका सफलताबारे पनि उनले जानकारी दिएकी थिइन् । जसअन्तर्गत फेयर ट्रेड ग्रुप नेपालले १४५ जना कफी किसान र १०० जना महिला हस्तकला व्यवसायीलाई दिगो हस्तकला र उद्यमशीलताको तालिम प्रदान गरेको छ ।

त्यस्तै, हस्पिटल एण्ड रिह्याबिलिटेसन सेन्टर फर डिसएबल्ड चिल्ड्रेनले २५० जना अपांगता भएका बालबालिकालाई स्वास्थ्य शिविर, शल्यक्रिया तथा सहायक उपकरणहरू प्रदान गरेको छ भने ३ सय समुदाय सदस्यलाई अपांगता व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिएको छ ।

माइती नेपालले धनुषा जिल्लामा बालविवाहमा १०५ कमी ल्याउन सफल भएको छ । ४० जना महिलालाई जीवन उपयोगी सीप तालिम प्रदान गर्ने तथा ३० जना महिला तथा बालबालिकालाई लैंगिक हिंसाबाट जोगाउने काम पनि सफलतामुलक सम्पन्न भएको छ । 

त्यस्तै, मिडिया एड्भोकेसी ग्रुपले ८१ जना महिला पत्रकारलाई राजनीतिक रिपोर्टिङबारे प्रशिक्षण दिएको थियो । दृष्टीविहीन महिलाको क्षेत्रमा काम गर्ने प्रयत्न नेपाल, अपांगता भएका यौनिक अल्पसंख्यकहरुको संस्था (रेन्बो डिसएबिलिटी नेपाल), सीमान्तकृत समुदायका लागि काम गर्ने साथलगायत विभिन्न सामाजिक संस्थालाई क्यानेडियन फन्ड फर लोकल इनिसियटिभ्सले सहयोग गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?