साउदीमा युक्रेन युद्धबारे रुस–अमेरिका वार्ता, के–के छन् प्राथमिकता ?

युक्रेनमा जारी युद्ध अन्त्य गर्ने उद्देश्यसहित रुस–अमेरिकाका उच्चस्तरीय प्रतिनिधिहरू साउदी अरबमा छलफल गर्ने सुरसारमा छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच भएको ९० मिनेट लामो फोन वार्तापछि उक्त मामिलामा छलफल हुने तय भएको हो । यसको सुरुवात फेब्रुअरी १९ बाट साउदी अरबको राजधानी रियादमा हुँदैछ । आउनुस् वार्ताबारे केही आधारभूत विषय बुझौँ ।
- को–को सहभागी हुँदैछन् छलफलमा ?
रुस र अमेरिका दुवै मुलुकले आफ्ना उच्च तहका कूटनीतिज्ञ र सरकारी अधिकारीहरू रियाद पठाइसकेका छन् । रुसी पक्षको अगुवाइ विदेशमन्त्री सर्गेई लाभ्रोव तथा पुटिनलाई वैदेशिक मामलामा सहयोग गरिरहेका मुख्य व्यक्ति युरी उशाकोभले गर्दैछन् ।
उता अमेरिकी पक्षको नेतृत्व विदेशमन्त्री मार्को रुबियोले गर्दैछन् । उनीसँगै ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ज तथा मध्यपूर्वकाका लागि अमेरिकी विशेष दूत स्टिभ विट्कोफ पनि सहभागी हुनेछन् । यस छलफलमा युक्रेन र युरोपेली संघका कोही पनि कूटनीतिज्ञ सहभागी नहुने बताइएको छ ।
रुस र युक्रेनका लागि ट्रम्पका विशेष दूत केथ केल्लोग भने यो छलफलमा हुने छैनन् । यसलाई धेरै पश्चिमा समाचार माध्यमले आश्चर्यजनक घटनाका रूपमा उल्लेख गरिरहेका छन् ।
- रुसको लक्ष
रुसी विदेशमन्त्री लाभ्रोवका अनुसार उनको टोलीको साउदी यात्रा मूलतः अमेरिकी पक्षको कुरा गम्भीरतासाथ सुन्नमा तथा द्विपक्षीय छलफललाई पुनः सुचारु बनाउनमा केन्द्रित हुनेछ । पछिल्लो तीन वर्षयता यस्तो छलफल हुन सकेको थिएन ।
क्रेमलिनका प्रवक्ता दमित्री पेस्कोभका अनुसार छलफल ’अमेरिका र रुसको जटिल सम्बन्धलाई सुल्झाउने’ दिशामा केन्द्रित हुनेछ । साथै ‘युक्रेन मामिलामा सम्भावित सम्झौताको तयारीमा’ पनि छलफल हुनेछ । यसले ट्रम्प र पुटिनबिचको शिखर बैठकको आधार तयार गर्नेछ ।
मस्कोले आफू अस्थायी युद्धविरामको पक्षमा नरहेको कुरामा बैठक अगावै भनि सकेको छ । सन् २०१४मा युक्रेनमा भएको पश्चिमा समर्थित सैन्य ‘कु’ पछि भड्किएको परिस्थितिलाई विस्तृत र स्थायी समाधानमा पुर्याउनेमा उसको जोड हुनेछ । यसले मात्र युक्रेन संकटको मूल कारणको हल गर्ने उसको धारणा छ ।
कुनै प्रकारको सम्झौता हुने अवस्थामा रुसका केही न्यूनतम सर्तहरू छन् । जसमा युक्रेनले तटस्थता स्विकार्नु पर्ने, युक्रेनको असैन्यकरण हुनुपर्ने र नाजीमुक्त बनाइनुपर्ने तथा युद्धको हालको अवस्थामा कब्जामा रहेका भूभागको आधारमा सीमा कायम हुनुपर्ने जस्ता विषय पर्छन् ।
साथै जितिएको भूमिको कुनै पनि हिस्सा युक्रेनलाई दिन सक्ने सम्भावनालाई लाभरोवले सोझै खारेज गरेका छन् ।
- अमेरिकी अडान
गत शनिबार रुसी विदेशमन्त्री लाभ्रोवसँग टेलिफोनमा कुराकानी गरेका अमेरिकी विदेशमन्त्री मार्को रुवियोले यो छलफलले रुस–अमेरिकाबिच संवाद सुचारु गर्ने लक्ष्य राखेको बताएका छन् ।
रुससँगको छलफलमा कुन–कुन शिर्षकमा वार्ता हुन्छ भन्नेबारे उनले अहिलेसम्म केही बताएका छैनन् । युक्रेन द्वन्द्वको मामिला तथा रुसमाथिको अमेरिकी नाकाबन्दि हट्ने–नहट्नेबारे पनि उनले थप केही खुलाएका छैनन् । उनका अनुसार ट्रम्प–पुटिन फोनवार्ताले मात्रै युक्रेन युद्धजस्तो ‘जटिल युद्धको समाधान’ दिन सक्दैन, यसका लागि थप छलफल आवश्यक हुन्छ ।
पुटिनसँगको फोनवार्ता लगत्तै ट्रम्पले युक्रेनले नेटोको सदस्यता पाउनु व्यवहारिक नहुने बताएका थिए । साथै उनले गएको एक दशकमा रुसले जितेको भूभाग युक्रेनले फिर्ता पाउने सम्भावना पनि न्यून रहेको बताएका थिए ।
साथै उनले अघिल्लो वर्ष नै आफ्नो नियमित कार्यकाल सकिएका तथा रुसले ‘अवैधानिक’ घोषणा गरेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा ताजा निर्वाचन गराउनु पर्ने तर्फ पनि संकेत गरेका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने रियादमा हुने वार्तामा आफूलाई नबोलाइएको पुष्टि यसअघि नै गरिसकेका छन् । साथै उनले ‘युक्रेन बेगर युक्रेनको बारेमा’ हुने कुनै पनि वार्तालाई युक्रेनले ‘खारेज’ गर्ने कुरामा जोड दिएका छन् ।
रुसी तथा अमेरिकी अधिकारी जस्तै उनी पनि साउदी अरेबिया जान चाहन्छन् । तर, उनको सम्भावित आगमन आधिकारिक रूपमा घोषित बैठकसँग प्रत्यक्ष रूपमा जोडिएको भने छैन ।
अमेरिकाले पनि मंगलबारको वार्तामा युरोपेली संघका लागि ठाउँ नहुने संकेत गरेको छ । जसले गर्दा युक्रेन संकट मामिलामा युरोपेलीलाई आफ्नो अडानको बेवास्ता हुने त्रास बढेको छ ।
यी तमाम घटनाक्रमबिच अमेरिकी कूटनीतिज्ञ केलगले युरोपेलीलाई सहभागी नगराउनुको अर्थ ‘उनीहरूको चासोलाई बेवास्ता गरिएको’ अर्थमा बुझ्न नहुने बताउँदै युरोपेली संघका नेताहरूलाई आश्वस्त रहन आग्रह गरेका छन् । उनले युक्रेनलाई वार्ताबाट बहिष्कार नगर्ने कुरामा पनि थप जोड दिएका छन् ।
वार्ता र विवादको जारी अवस्थामा फ्रान्सेली राष्ट्रपति इम्यानुयल म्याक्रोनले हिजो सोमबार पेरिसमा विभिन्न नेताहरूको आपत्कालीन बैठक बोलाए । जसको मुख्य एजेन्डा नै युक्रेन तथा ‘युरोपमा सुरक्षा चुनौती’ बारे केन्द्रित हुने भनिएको छ ।
वासिङ्टन पोस्टले उल्लेख गरे अनुसार बैठकमा जर्मनी, बेलायत, इटाली, पोल्याण्ड, स्पेन, नेदरल्याण्ड्स र डेनमार्कका नेताहरू सहभागी हुनेछन् । साथै युरोपेली संघका वरिष्ठ अधिकारीहरू तथा नेटोका प्रमुख मार्क रुट पनि उपस्थिति हुने अनुमान गरिएको छ ।
बैठकमा युक्रेनलाई निरन्तर सहायता र सुरक्षा ग्यारेन्टीबारे छलफल गरिने बताइएको छ । यस अघि नै बेलायतका प्रधानमन्त्री केयर स्टारमरले उनको देशले ‘आवश्यक परेमा’ युक्रेनमा सेना पठाउन तयार रहेको बताइसकेका छन् ।
यस्तो परिस्थितिबिच साउदीमा हुन लागेको रुस–अमेरिका वार्ताले के परिणाम निकाल्छ हेर्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्प ‘विश्वको सम्राट’ बन्न चाहनुहुन्छ : राष्ट्रपति लुला
-
धोविखोलामा लगातार गाडी खसेपछि प्रहरीको अस्थायी जुक्ति
-
गिल र शमीको प्रदर्शनमा भारतको विजयी सुरुवात
-
१० बजे १० समाचार : नेपालमा युरोपियन जहाज ल्याउन रोकदेखि पाथीभरा क्षेत्रमा फेरि तनावसम्म
-
स्थानीय पहिचान प्रवर्द्धन गर्न फागुन १० देखि स्वयम्भू महोत्सव
-
अमरेश सिंहको कार्यक्रममा सहभागी भएको भन्दै मन्त्री रायसँग सोधियो स्पष्टीकरण