बिहीबार, ०८ फागुन २०८१
ताजा लोकप्रिय

नेपालको शिक्षा प्रणालीप्रति के भन्छन् उपकुलपतिहरू ?

मङ्गलबार, ०६ फागुन २०८१, १२ : ०६
मङ्गलबार, ०६ फागुन २०८१

सुर्खेत । कर्णाली उत्सव : कुडा कर्णालीको छैटौँ संस्करणको पहिलो दिन सोमबार उच्च शिक्षा, अनुसन्धान र विकास थिममा केन्द्रित थियो । बहसमा  मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा ध्रुवकुमार गौतम, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल र नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्रा डा शिलु मानन्धर बर्जाचार्य सहभागी थिए ।

सहजकर्ता पत्रकार तुला अधिकारीले संवादको सुरुवातमै सोधे– हामीले के पढ्यौँ, के पढायौँ ?

उपकुलपति प्रा.डा गौतमले मध्यपश्चिम विश्वविद्यालयले सञ्चालन गरेका कार्यक्रमको फेहरिस्त सुनाए । उनका अनुसार मध्यपश्चिम विश्वविद्यालयले पीएचडी कार्यक्रम, कृषि क्याम्पस, बाली विज्ञान, इन्जिनियरिङ, हाइड्रो र आइसीटीका कार्यक्रम सञ्चालन गरेको छ ।

कानुनमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले ल क्याम्पस सञ्चालनमा रहेको, नीति निर्माण तहमा सहयोग गर्न नीति ल्याब खोलिएको चर्चासमेत उनले गरे ।

परम्परागत ज्ञान, सिपको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरणका लागि कर्णाली ज्ञान केन्द्र सञ्चालनमा रहेको गौतमले बताए । ‘विद्यार्थीहरूलाई रोजगारीमा जोड्ने खालको शिक्षा दिनुपर्छ । अहिले पनि हाम्रा विद्यार्थी अब्बल बन्दै गएका छन्,’ उनले भने, ‘अर्को अर्थमा भन्ने हो भने विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी हामी उत्पादन गरिरहेका छौँ । कर्णालीका विद्यार्थीलाई अवसरै अवसर छन् ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले जुम्ला जस्तो ग्रामीण र विकट क्षेत्रमा मेडिकल शिक्षाको पढाइ विश्वमै बिरलै हुने बताए । प्रतिष्ठानलाई औपचारिक मेडिकल शिक्षामा मात्र सीमित नगरी स्वास्थ्य प्राविधिक क्षेत्रमा अनुसन्धान र ज्ञान हस्तान्तरणसम्बन्धी कार्यक्रम सञ्चालनको योजना बनाएको उनको भनाइ थियो ।

‘कर्णाली क्षेत्र हाई भ्याल्यु मेडिसिन प्लान्ट मानिन्छ । दुःखको कुरा, यहाँको जडीबुटी कौडीको भाउमा निर्यात भइ महँगो औषधि भएर छिर्छ,’ उनले भने, ‘अब हामीले कर्णालीको जडीबुटीको कर्णालीमै अनुसन्धान, प्रशोधन गरी औषधि कारखाना खोल्न सक्नुपर्छ ।’

रावलले यसका लागि स्कूल अफ फार्मेसी, हाइ भ्याल्यु मेडिसिन रिसर्च सेन्टर खोल्ने कार्ययोजना सुनाए । नेपालमा चिकित्सा शिक्षा पढाइ हुने पर्याप्त कलेज भए पनि सीमित कोटाका कारण विद्यार्थीहरू विदेश गइरहेको उनको भनाइ थियो ।

डा रावलले भने, ‘चिकित्सा क्षेत्र ठुलो डिस्कोर्समा छ, धेरै विद्यार्थी ठुलो पैसा खर्च गरेर बाहिर गएका छन् । नेपालका मेडिकल कलेजले पढाउन सक्छन् तर कोटा छैन । पढाइको अवसर नेपाली विद्यार्थीले पाउन् । बरु रोजगारीका लागि विश्वका जुनसुकै कुना जान सकुन् ।’

नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्रा डा शिलु मानन्धर बज्राचार्यले सैद्धान्तिकसँगै व्यवहारिक शिक्षालाई जोड दिनुपर्ने बताइन् । ‘कुनै पनि विद्यार्थी दीक्षित भइसकेपछि सम्बन्धित विषयमा सिप, ज्ञानले दक्ष हुनुप¥यो, तबमात्र बजारमा रोजगारी पाउने सम्भावना रहन्छ,’ उनले भनिन्, ‘सकारात्मक सोच राखेर शिक्षाका कार्यक्रम विकासमा जोड दिनुपर्छ ।’

कर्णालीका विद्यार्थीका लागि उच्च शिक्षाको पर्याप्त अवसर रहेको उनले बताइन् ।  

नेपालका विश्वविद्यालय बेरोजगार उत्पादन गर्ने कारखानाका रूपमा आलोचित छन् नि ? भन्ने सहजकर्ताको प्रश्नमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति गौतमको जवाफ थियो– ‘विश्वविद्यालयले पढाउने हो, सिप ज्ञान दिने हो, जागिरको ग्यारेन्टी दिन सक्दैन । जागिर बजारले दिने हो, बजारमा प्रतिस्पर्धी बन्ने हो । राज्यले रोजगारीको अवसर सिर्जना गर्ने हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप