शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय
अपडेट

केआईआईटीमा विद्यार्थीहरूको हडताल जारी, कलेजमा फर्किन ८ बुँदे सर्त

मङ्गलबार, ०६ फागुन २०८१, ११ : ४९
मङ्गलबार, ०६ फागुन २०८१

काठमाडौँ । भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा विद्यार्थीहरूले हडताल जारी राखेका छन् ।

 नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणपछि विद्यार्थीहरूले आजपनि प्रदर्शन तथा हडताल गरेका हुन् । 

त्यहाँ अध्ययनरत एक नेपाली विद्यार्थीका अनुसार विद्यार्थीहरूले आज कलेजमै विरोध प्रदर्शन गरेका हुन् । नेपाली विद्यार्थीको मृत्यु प्रकरणपछि कलेज प्रशासनबाट भएको नेपाली विद्यार्थी दुर्व्यवहारमा भारतीय विद्यार्थीहरूले अग्रपंक्ति खटिएर आन्दोलन गर्न थालेका हुन् । 

केआईआईटीका अधिकारीहरूको व्यवहारका कारण नेपाली विद्यार्थी त्रसित बन्न पुगेको भन्दै भारतको सत्तारुढ भारतीय जनता पार्टी समर्थित विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद्को नेतृत्वमा आन्दोलन थालिएको हो । केआईआईटीका कारण लज्जास्पद घटना भएको बताउँदै विद्यार्थीहरूले विरोध प्रदर्शनलाई निरन्तरता दिएका हुन् । 

केआईआईटीका अधिकारीहरूले आन्दोलनरत विद्यार्थीहरूलाई कन्भिन्स गर्न खोजिरहेका छन् । तर, उनीहरूले दोषीमाथि कारबाही हुनुपर्ने, नेपाली विद्यार्थीलाई कलेजबाट निकालेर घर पठाउनेहरूमाथि अनुसन्धान गरेर कारबाही गरिनुपर्ने लगायतका माग राखेर आन्दोलन गर्दै आएका हुन् । 

केआईआईटीले नेपाली विद्यार्थीहरूलाई हिजो नै कलेज फर्किन अनुरोध गरेको थियो । उक्त घटनापछि विद्यार्थीको सुरक्षाका लागि सुरक्षित स्थानतर्फ जान अनुरोध गरिएको बताउँदै आएको केआईआईटीले सोमबार राति अर्को विज्ञप्ति जारी गर्दै कलेजमा फर्केर पठनपाठनमा सहभागी हुन अनुरोध गरेको थियो । 

फर्किनका लागि विद्यार्थीहरूले भने विभिन्न सर्तहरू राखेका छन् । भारतीय पक्षबाट असुरक्षित महसुस भएको बताएका नेपाली विद्यार्थीहरूले पुनः होस्टेल फर्केर पठनपाठनमा सहभागिता जनाउनका लागि आठ बुँदे सर्तहरू राखेका हुन् । 

घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दा भारतीय पक्षबाट कुटपिट र दुर्व्यवहार भोग्नु परेको र न्याय सुनिश्चित गरेर घटनामा संलग्न दोषीहरूलाई कानुनअनुसार कारबाही गरिनुपर्ने माग आफूहरुको रहेको एक नेपाली विद्यार्थीले बताए । 

त्यस्तै होस्टल वार्डेन र केआईआईटीका अधिकारीहरूले प्रहरी आउनुअघि नै पीडितको शव आफ्नो नियन्त्रणमा लिई उचित प्रक्रिया उल्लङ्घन गरेकाले उनीहरूमाथि समेत अनुसन्धान हुनुपर्ने माग राखेका छन् । 

त्यस्तै पीडितको गुनासो बेवास्ता गर्नेहरूमाथि कारबाही हुनुपर्ने समेत माग गरेका छन् । नेपालको राष्ट्रिय छविमा हमला गर्ने शिक्षकहरूलाई निलम्बन गर्नुपर्ने, छात्रावासभित्र नेपालको राष्ट्रिय बजेटलाई कलेजको खर्चसँग तुलना गर्ने होस्टल वार्डेन र होस्टेल डाइरेक्टरलाई समेत कारबाही गर्नुपर्ने माग गरेका छन् । 

विद्यार्थीहरूमाथि आक्रमणको आदेश दिने उच्च अधिकारीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने र केआईआईटीको सीसीटीभी फुटेज सार्वजनिक गरिनुपर्ने समेत माग गरेका छन् । 

फेब्रुअरी १७ तारिख बिहान ८ बजेपछि भएको घटनाको सीसीटीभी फुटेज प्रहरीले प्राप्त गर्नुपर्ने समेत माग गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप