शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : नेपालको कूटनीति

‘सरकार गठन हुँदा नै वैदेशिक हस्तक्षेप हुन्छ’

सरकारले छिमेकी देशसँग सम्बन्ध बिगारिसकेको छ : डा. मृगेन्द्रबहादुर कार्की
मङ्गलबार, ०६ फागुन २०८१, ०९ : ३२
मङ्गलबार, ०६ फागुन २०८१

वर्तमान सरकारको सम्बन्ध कुनै पनि देशसँग राम्रो छैन भन्ने सार्वजनिक टिप्पणी हुन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो उपस्थिति देखाउन सकिरहेका छैनन् । भारतसँग यसरी सम्बन्ध बिग्रिएको छ कि चाहेर पनि उनी त्यहाँ जान सकिरहेका छैनन् । 

भारतसँगको सीमा विवाद, ईपीजी प्रतिवेदनलगायत सन्धि सम्झौता जस्ताको त्यस्तै छन् । हमासको कब्जामा रहेका विपिन जोशीलाई नेपाल फर्काउन पनि सरकारले सकिरहेको छैन । सार्कमा पनि उही हालत छ । 

यस्ता थुप्रै अन्तर्राष्ट्रिय सम्बन्धका कुराहरू छन्, जसलाई प्रधानमन्त्रीले सुल्झाउन सकिरहेका छैनन् । शक्तिशाली सरकार भएर पनि कूटनीतिक मामिलामा किन चुकिरहेको छ ? यिनै विषयमा रहेर त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास) कार्यकारी निर्देशक डा. मृगेन्द्रबहादुर कार्कीसँग रातोपाटीका लागि गरिएको कुराकानीको सम्पादित अंश । 

  • वर्तमान सरकारको वैदेशिक सम्बन्धलाई कसरी हेरिरहनुभएको छ ?

–कुनै पनि देशको समृद्धि र विकासको कुरा उसको विदेश नीति तथा सम्बन्धमा भर पर्छ । परराष्ट्र सम्बन्धकै कारण वैदेशिक सहयोगहरू हुन्छन् । उद्योग, व्यापार पनि त्यसैमा भर पर्छन् । अरू देशसँग जति राम्रो सम्बन्ध हुन्छ, त्यति नै वैदेशिक लगानी आउँछ । 

नेपाल विकासशील मुलुक हुँदा बढी सहयोग र लगानी चाहिन्छ । तर, त्यसमा नेपाल चुकेको छ । नेपाल सार्वभौम सत्तासम्पन्न देश हो, कसैको अधीनमा कहिले बसेन । तर, त्यसको मतलब अरू देशसँग सम्बन्ध नराम्रो होस् भन्ने त होइन नि । 

सम्झनलायक कुनै पनि देशसँग नेपालको राम्रो सम्बन्ध छैन । नजिकका दुई ठुला छिमेकीसँग राम्रो सम्बन्ध बनाउन सकेको छैन भने टाढाका देशहरूसँग त्यतिकै गाह्रो छ । वर्तमान सरकारले छिमेकी देशसँग सम्बन्ध बिगारिसकेको छ । सबैसँग कूटनीतिक सम्बन्ध खलबलाइसकेको छ । 

  • यस्तो हुनुको कारण ?

–मुख्य कुरा त सरकार गठन हुँदा नै वैदेशिक हस्तक्षेप हुन्छ । सरकार बन्न लाग्दा नै यो सरकार कुन देशले बनाएको हो भन्नेबाट कुरा सुरु हुन्छ । 

ओलीको नेतृत्वमा सरकार गठन भएको ६ महिना बढी भइसक्यो । यस अवधिमा कूटनीतिक क्षेत्रमा खासै महत्त्वपूर्ण काम गर्न उहाँले सक्नुभएको छैन ।

प्रधानमन्त्रीदेखि मन्त्री बनाउनसम्म वैदेशिक हस्तक्षेप हुन्छ । अनि यस्ता प्रधानमन्त्रीले काम गर्छन् भन्ने कसरी विश्वास गर्ने ? अहिलेको सरकार पनि अरूले बनाइदिएको हो । जसले सरकार बनाएको छ, त्यसको इसारामा सबै काम भइरहेको छ । त्यही भएर अरू देशसँग राम्रो सम्बन्ध छैन । कूटनीतिक सम्बन्ध बिग्रिँदै गइरहेको छ । 

  • यस्तो शक्तिशाली सरकारको कूटनीतिक सम्बन्ध पनि बिग्रेको छ र ?

–ओलीको नेतृत्वमा सरकार गठन भएको ६ महिना बढी भइसक्यो । यस अवधिमा कूटनीतिक क्षेत्रमा खासै महत्त्वपूर्ण काम गर्न उहाँले सक्नुभएको छैन । पहिल्यैदेखि विवादित बीआरआई सम्झौता गराउनुभयो, त्यसमा पनि एकमत छैन । 

भारत र अमेरिकालाई चिढ्याएर उहाँले बीआरआईमा सम्झौता गर्नुभयो । सम्झौता हुनुपर्छ, त्यो आवश्यक पनि हो तर, त्यसले देशलाई दीर्घकालीन असर के पार्छ ? कूटनीतिक क्षेत्रमा कस्तो प्रभाव पार्छ भन्ने कुरामा ख्याल गर्नुपर्थ्यो, त्यो देखिएको छैन । 

भारतसँग आफ्नो सम्बन्ध बिग्रेको उहाँलाई थाहै छैन । चीनसँग पनि सम्बन्ध राम्रो बनाउनुपर्छ, तर चीनसँग मात्र सम्बन्ध बनाएर अरूसँग बिगारेर केही प्राप्त हुँदैन । यो कुरामा सरकारले ख्याल गर्नुपर्थ्यो । 

  • भारतसँग सम्बन्ध बिग्रिँदा नेपालको कूटनीतिक अन्य देशसँग पनि खराब हुन्छ भनिन्छ, खास के हो ?

–हो, भारत हाम्रो सबैभन्दा नजिकको छिमेकी देश हो । भारतसँग राम्रो सम्बन्ध रह्यो भने सब ठिकठाक रहन्छ । यो कुरा आजको मात्र होइन, जहिले पनि यस्तै देखिएको छ । राजा महेन्द्र र त्रिभुवनको पालामा भारतसँगको सम्बन्धलाई केलाउनुस् धेरै छर्लङ्ग हुन्छ । त्यसपछि पनि विभिन्न सरकारका कूटनीतिले धेरै कुरा प्रस्ट पारेको छ । भारतसँग नेपालको कूटनीतिक मात्र होइन, हरेक कुराको सम्बन्ध छ । 

नेपालका प्रधानमन्त्रीले पहिलो भ्रमण भारतबाटै गर्ने परम्परा थियो । तर, अहिलेका प्रधानमन्त्रीले हालसम्म भारत भ्रमण गर्न सक्नुभएन । यो उहाँको कूटनीतिक असफलता हो । कुनै पनि देशका राष्ट्र प्रमुखले तपाईँको देशको भ्रमण गर्ने चाहना राखे त्यो देशले अवश्य स्वागत गर्छ । तर, ओलीले पटक–पटक भारत भ्रमणको इच्छा देखाए पनि हुन सकिरहेको छैन । यो निकै गम्भीर कुरा हो । भारतसँग यसरी कहिल्यै सम्बन्ध बिग्रिएको थिए । 

भारतले नमानेपछि उसलाई चिढ्याउन ओलीले चीन भ्रमण गर्नुभयो । भारतले नचाहँदा नचाहँदै चीनसँग बीरआईमा सम्झौता गर्नुभयो । यो भनेको चीन देखाएर अरूलाई चिढ्याउनेबाहेक अरू केही होइन । भारतसँग सम्बन्ध सुधार्नुको साटो ओली बिगार्नतिर लाग्नुभयो । सरकारले यसलाई हल्का रूपमा लिइरहेको छ । 

  • प्रधानमन्त्री ओलीको यो मात्र होइन, पछिल्ला कार्यकाल पनि भारतसँग राम्रो सम्बन्ध थिएन नि, किन ?

–ओलीमा राष्ट्रवादको भूत सवार छ । नेपालमा एउटा मनोविज्ञान के छ भने, भारतलाई जति विरोध गरिन्छ त्यति नै राष्ट्रवादी भइन्छ । भारतलाई गाली गरेर राष्ट्रवादी बन्ने थुप्रै छन् नेपालमा । त्यसको फाइदा ओलीले पनि उठाइरहनु भएको छ । कालापानी, लिपुलेकलाई लिएर प्रधानमन्त्री ओलीले जे गर्नुभयो, त्यो कूटनीतिक क्षेत्रका लागि ठुलो मिस्टेक मान्न सकिन्छ । 

कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो भू–भाग हो, त्यो फिर्ता आउनुपर्छ । नक्सामै राखेर, संविधान संशोधन गरेर आउँदैन । वार्ता र संवादमार्फत ल्याउनुपर्छ । भारत र चीनबिचजस्तो दुस्मनी भारत र नेपालबिच छैन । भारत र चीनबिचले सीमा विवाद वार्ताबाट समाधान गरे । तर, नेपालले किन सकेन ? जबकि, चीन र भारतबिचको सम्झौतालाई प्रधानमन्त्री ओलीले स्वागत गर्नुभएको छ । 

भारतसँग नेपालका कुनचाहिँ कम्युनिस्ट नेताको राम्रो सम्बन्ध छ ? नेपालमा पनि ठुल्ठुला कम्युनिस्ट नेताहरूको जन्म भयो, तर भारतसँग कसैको राम्रो सम्बन्ध देखिएन । त्यसको एउटै कारण हो, राष्ट्रवाद । 

सीमा विवाद समाधान गर्न नसक्नु प्रधानमन्त्री ओलीको यो कूटनीतिक असफल होइन र ? कुनै भूमिकाका लागि विवाद छ भने त्यो समाधान नहुञ्जेल चलाइँदैन, यो जहाँ पनि हुन्छ । तर ओलीले त्यस्तो गर्न सक्नुभएन । अब त्यही चुच्चै नक्सालाई रुपैयाँमा राख्ने भन्नुभएको छ । त्यति मात्रै होइन, प्रधानमन्त्री ओलीले भारतको सिम्बोलमाथि नै प्रहार गर्नुभएको छ । 

  • यसले प्रधानमन्त्री ओलीलाई व्यक्तिगत वा पार्टी अथवा सरकारलाई के फाइदा छ त ?

–नेपालमा भारतप्रति जुन सोचाइ छ, त्यसको फाइदा उहाँले उठाइरहनुभएको छ । भारतसँग सम्बन्धलाई राष्ट्रवादीसँग जोडेर उहाँले हेर्नुभएको छ । भारतलाई गाली गरेर व्यक्तिगत वा पार्टीगत रूपमा ओलीलाई फाइदा भएको होला, तर देशलाई कहिल्यै फाइदा हुँदैन । दुई चार वटा भोट बढी आउन सक्छ । पार्टी ठुलो हुन सक्छ तर, अन्ततः देशलाई यसले फाइदा हुँदैन । 

  • भारतसँग ओलीको यो खालको सम्बन्ध बिग्रिनुको कारण के हुन सक्छ ? 

–कम्युनिस्ट तथा वामपन्थीहरूमा राष्ट्रवादी अलि बढी नै हुन्छ । उनीहरूले कुनै न कुनै रूपमा आफूलाई राष्ट्रवादी देखाएका हुन्छन् । देशभक्ति, देशप्रेम अलि बढी नै देखाएका हुन्छन् । 

भारतसँग नेपालका कुनचाहिँ कम्युनिस्ट नेताको राम्रो सम्बन्ध छ ? नेपालमा पनि ठुल्ठुला कम्युनिस्ट नेताहरूको जन्म भयो, तर भारतसँग कसैको राम्रो सम्बन्ध देखिएन । त्यसको एउटै कारण हो, राष्ट्रवाद । 

ओलीमा पनि त्यही समस्या छ । प्रधानमन्त्री भएर भारतको विरोध गर्नुहुन्छ र त्यही गतिमा अगाडि बढिरहनुहुन्छ । कुनै पनि प्रधानमन्त्रीका लागि यो कूटनीतिक सफलता होइन । 

प्रधानमन्त्री ओली बोल्नुहुन्छ धेरै, गर्नुहुन्छ कम । धेरै बोलेका कारण बेलाबेला विवादमा पनि आइरहनुहुन्छ । उहाँले बोल्न छोड्दिनुभयो भने धेरै समस्याको आफै समाधान हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप