शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : नेपालको कूटनीति

‘प्रधानमन्त्री ओली अन्तर्राष्ट्रिय सम्बन्ध बनाउन असफल हुनुभयो’

अन्तर्राष्ट्रिय तथा कूटनीतिक सम्बन्धमा सम्हालिएर बोल्नुहुन्न : डा. प्रमोद जयसवाल
मङ्गलबार, ०६ फागुन २०८१, ०९ : २२
मङ्गलबार, ०६ फागुन २०८१

पछिल्लो समय नेपालको अन्तर्राष्ट्रिय सम्बन्धबारे विभिन्न टीकाटिप्पणीहरू भइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा यो झन् खलबलिएको बताइन्छ । 

प्रधानमन्त्रीमा केपी शर्मा नियुक्त भएको ६ महिनाभन्दा बढी भइसक्यो, तर हालसम्म चीनबाहेक उच्चस्तरीय भ्रमण हुनसकेको छैन । भारत भ्रमणका लागि प्रयास भए पनि त्यो सम्भव भइरहेको छैन । 

समग्रमा वर्तमान सरकार कूटनीतिक रूपमा सफल नभएको गुनासो भइरहेको छ । यस्तो किन ? कूटनीतिक सम्बन्धमा नेपाल कहाँ चुक्यो, कहाँ कहाँ बिग्रेको छ सम्बन्धलगायत विषयमा इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एन्ड एगेन्जमेन्टका अनुसन्धान निर्देशक डा. प्रमोद जयसवाल जो अन्तर्राष्ट्रिय मामिला र दक्षिण एसियामा करिब दुई दर्जन पुस्तकहरू प्रकाशित गरेका छन् । नेपाल तथा चीनका विभिन्न विश्वविद्यालयमा अन्तर्राष्ट्रिय मामिलासम्बन्धी अध्यापन गराउँदै आएका जयवालसँग रातोपाटीका लागि गरिएको कुराकानी । 

  • तपाईंले भारत, चीन र अमेरिकाबारे विभिन्न अध्ययन अनुसन्धान गर्नुभएको छ, नेपालको वर्तमान सरकारको अन्तर्राष्ट्रिय सम्बन्धलाई कसरी बुझ्नुभएको छ ?

–केपी शर्मा ओलीले तीन वटै कार्यकालमा अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलनमा राख्न सक्नुभएन । संविधान निर्माण भएपछि ओलीका कारण नेपालमाथि नाकाबन्दीसम्मको अवस्था आयो । अर्को पटक प्रधानमन्त्री भएपछि चुच्चे नक्साको प्रकरण आयो । अहिले बीआरआईजस्ता कुराहरू आएका छन् । अर्थात् ओली प्रधानमन्त्री बनेपछि अन्तर्राष्ट्रिय सम्बन्धहरू खलबलिए । अहिले नै भारतले प्रधानमन्त्री ओलीलाई भ्रमणका लागि निमन्त्रणा दिइरहेको छैन । किनकि, कहीँ न कहीँ भारतको चित्तदुखाइ छ । भारतले नबोलाएका कारण ओली पनि मन दुखाएर बस्नुभएको छ । अर्थात् नेपाल–भारतबिच चिसोपन छ भने कुरा स्पष्ट देखिएको छ । 

  • ओली सरकारले चीन भ्रमणमा गरेका बीआरआर्ई कार्यान्वयन सम्झौतालाई ठुलै सफलताको रूपमा लिएको छ । यसलाई अन्तर्राष्ट्रिय सम्बन्धका रूपमा सफलता मान्न सकिन्छ कि सकिँदैन ?

–चीनसँग जुन सम्झौता भयो, त्यो एकदमै महत्त्वपूर्ण छ, त्यसमा सफल भएको नै मान्न सकिन्छ । सन् २०१७ देखिको विवादको ब्रेकडाउन भएको छ, यो खुसीको कुरा हो । तर, त्यसमा रिमार्केबल कुरा केही पनि छैन । त्यसलाई कसरी कार्यान्वयन गर्ने त्यसमा सरकार नै कन्फ्युजनमा छ । 

सम्झौता पत्रमा हस्ताक्षर गरेर आएपछि ओलीले एउटा कुरा भन्नुहुन्थ्यो भने परराष्ट्रमन्त्री अर्को कुरा । ओलीले ऋण र अनुदान दुवै हो भन्नुभयो भने परराष्ट्रमन्त्री डा.आरजु राणाले ऋण भए पनि त्यो कार्यान्वयनमा आउँदैन, अनुदान मात्र कार्यान्वयनमा आउने भन्नुभयो । 

अर्को कुरा सत्ता साझेदार दल नेपाली कांग्रेसको चीन नीति एमालेभन्दा नितान्त फरक छ । चीनसँग कांग्रेस क्लोज जान सक्दैन र एमाले चीनतिर तान्न खोज्छ । यो कुरा चीनलाई पनि थाहा छ ।

फागुन ४ गते ओमनमा भारतका विदेशमन्त्री एस.जयशंकरसँगको भेटमा पनि आरजुले बीआरआईको विषयमा त्यही कुरा राख्नुभयो । अर्थात् बीआरआई सम्झौतामा पनि सरकारभित्र एकमत छैन । त्यसले त्यो साइन भए पनि त्यो सफलता होइनजस्तो लाग्छ । भारतलाई देखाउन ओलीले चीनसँग बीआरआई फ्रेमवर्कमा सम्झौता गर्नुभयो तर, कार्यान्वयन त्यति सजिलो छैन । अमेरिकाले पनि नेपाललाई आफ्नो ‘वेल विसर्स’को लिस्टमा राखेको छैन । अमेरिकामा सरकार परिवर्तन भएको छ । त्यो सरकारले विदेशलाई दिँदै आएको सहयोग कटौती गरेको छ । अबको दिनमा अमेरिकाले भारत, रुस, युक्रेन, चीनलगायतमा फोकस गर्छ, तर नेपाल प्राथमिकतामा छैन । आउने अनुदानमा कटौती, अमेरिकाको प्राथमिकतामा नपर्ने, यस्तो अवस्थामा भारतसँग राम्रो सम्बन्ध नहुनु, चीनसँग पनि खुलेर जान नसक्नुमा नेपाल सरकार अन्तर्राष्ट्रिय मामिलामा असफल नै हो मान्न सकिन्छ । 

अर्को कुरा सत्ता साझेदार दल नेपाली कांग्रेसको चीन नीति एमालेभन्दा नितान्त फरक छ । चीनसँग कांग्रेस क्लोज जान सक्दैन र एमाले चीनतिर तान्न खोज्छ । यो कुरा चीनलाई पनि थाहा छ । ओलीले चीनलाई पनि राम्रोसँग डेलिभर गर्न सक्नुहुन्न । किनभने, नेपाली कांग्रेसको चीनसँग राम्रो सम्बन्ध छैन । त्यही कारण चीनबाट कुनै ठुलो लगानी आउने सम्भावना छैन । 

वर्तमान सरकारको भारत, चीन, अमेरिकासँग मात्र होइन, अरू देशसँग पनि राम्रो कनेक्सन छैन । ओलीले सार्कको कुरा बारम्बार उठाइरहनु भएको छ । तर, कुनै उपलब्धि छैन । बिम्स्टेकमा पनि नेपालले खासै आफ्नो भूमिका देखाउन सकेको छैन । आसियानका देशहरू बैंकक, सिगांपुर, मलेसिया, कम्बोडियालगायतसँग कुनै इगेन्जमेन्ट छैन । गल्फ देशहरूसँग पनि खासै रिमार्केबल छैन । विपिन जोशीबारे पनि खासै आश्वासन आएको छैन । त्यसैले अन्तर्राष्ट्रिय कुरामा तत्काल कतैबाट कुनै आशाको किरण देखिएको छैन । 

  • प्रधानमन्त्री केपी शर्मा ओलीसँग यस्तो किन हुन्छ ? कारण के हो ?

–सबैभन्दा पहिले कुनै पनि सरकारले विदेश नीतिलाई सही ढंगले अगाडि बढाउन सत्ता सहयोगीसँग मिलेर एउटा कमन धारणा बनाउनुपर्छ । अनि मात्र अन्तर्राष्ट्रिय रूपमा सफल हुन्छ । अहिलेको वर्तमान सरकारसँग विदेश नीतिबारे कमन धारणा छँदै छैन । त्यसलाई गर्दा अगाडि बढ्न सकिरहेको छैन । भारतसँग कांग्रेस कन्फर्टेबल होला, एमाले छैन, चीनसँग एमाले कन्फर्टेबल होला, कांग्रेस छैन । अमेरिकासँग कांग्रेसको होला, तर अमेरिकाले एमालेसँग इगेन्ज हुन नचाहेको होला । यस्तो स्थितिमा सरकारलाई अन्तर्राष्ट्रिय सम्बन्ध बढाउन गाह्रो हुन्छ । ओलीको सबभन्दा ठुलो कमजोरी आफ्नो कोलिसन पार्टनरलाई सर्ट टर्मका लागि राख्नु हो । केही समय एउटासँग गठबन्धन बनाएर फेरि अर्को दलको साथमा जानु । यस्तोमा अन्तर्राष्ट्रिय शक्तिहरूले पूरा विश्वास गरेको देखिँदैन । ओली विदेश नीतिमा कहिल्यै चिन्तित रहनुभएन । डोमेस्टिक पोल्टिक्समा नै अल्झिनुभयो । अन्तर्राष्ट्रिय सम्बन्ध कसरी बनाउने, विदेश नीतिलाई बलियो कसरी बनाउनेजस्ता कुरामा उहाँको कहिल्यै ध्यान गएन । परराष्ट्र मन्त्रालय कांग्रेस पार्टीको भएका कारण पनि प्रधानमन्त्रीलाई समस्या भएको हुन सक्छ । 

  • तपाईंले भनेझैँ जब ओली प्रधानमन्त्री बन्नुहुन्छ, अन्तर्राष्ट्रिय सम्बन्धहरू किन खलबलिन्छन् ? यो समस्या ओलीमा मात्र छ कि अरूमा पनि ?

–प्रधानमन्त्री ओली फरक नेचरको हुनुहुन्छ भन्ने कुरा मिडियामा आइराखेकै छ । पार्टीमा पनि उहाँको शैलीबारे टिप्पणी हुने गरेको छ । उहाँ धेरै र कडा बोल्नुहुन्छ । अन्तर्राष्ट्रिय तथा कूटनीतिक सम्बन्धमा सम्हालिएर बोल्नुहुन्न । कूटनीतिक सम्बन्ध कति संवेदनशील हुन्छ भने कुरा ओलीलाई थाह नभएको कुरा पनि होइन । 

पहिला चीनलाई देखाएर केही गर्दा भारतलाई लाग्थ्यो, केही गरिएन भने नेपालको झुकाव चीनतिर जान्छ, चीनको इन्फुलेन्स नेपालमा बढ्छ । त्यसका लागि बेलाबेलामा ओलीको कुरा मान्ने गर्थ्यो ।

उहाँ परराष्ट्रमन्त्री पनि भइसक्नुभएको मान्छे हो । भारतसँग जहिले पनि उहाँको सम्बन्ध चिसिएकै हुन्छ । सन् २०१५ मा भारतसँग सम्बन्ध नराम्रो गरी बिग्रियो । अहिले १० वर्ष भयो । यो १० वर्षमा कुनै सुधार आएन । मैले ओली भारतपरस्त हुनुपर्छ भन्न खोजेको होइन, तर नेपालको पक्षमा काम गराउन भारतलाई रिझाएर काम लिनुपर्छ । यसमा उहाँ चुक्नु भएको छ । नेपालको हितमा भारतलाई ल्याउन नसक्नु ओलीको असफलता हो । उहाँले चीनसँग पनि उदारतापूर्वक सम्बन्ध बनाउन सक्नुभएन । भारतलाई देखाइदिने गरी मात्र चीनसँग सम्बन्ध बनाउनुभएको हो । त्यही कारण चीनसँगको सम्बन्धमा पनि असफल भएको हो । चीनलाई देखाएर भारतलाई ब्यालेन्स गर्न असम्भव छ । किनभने नेपालको भूगोलले दिँदैन । 

नर्थतिर ढोका छ, यता (भारत) तीनतिर खुला छ । हाम्रो इन्गेजमेन्ट जहिल्यै खुलातिर हुन्छ । ५० वर्षको कुरा छोडिदियौँ, १०० वर्षमा पनि भारतको तुलना चीनसँग गर्न सकिँदैन । नेपालको लागि चीन धेरै टाढा छ । तर, प्रधानमन्त्री ओलीले जहिल्यै चीनलाई देखाएर भारतसँग बार्गेनिङ गरिरहनुहुन्छ । अब त्यो सम्भव छैन । भारतले पनि प्रधानमन्त्री ओलीको कुरा बुझिसकेको छ । उहाँले चीनलाई जति देखाए पनि भारतले केही गर्नेवाला छैन । 

पहिला चीनलाई देखाएर केही गर्दा भारतलाई लाग्थ्यो, केही गरिएन भने नेपालको झुकाव चीनतिर जान्छ, चीनको इन्फुलेन्स नेपालमा बढ्छ । त्यसका लागि बेलाबेलामा ओलीको कुरा मान्ने गर्थ्यो । तर, अहिले ओलीको कुनै बार्गेनिङ काम लाग्दैन भन्ने कुरा यो ६ महिनामा पुष्टि भइसकेको छ । 

  • उहाँ (ओली) का पनि केही रणनीति होला नि ? ठुलो पार्टी चलाइरहनुभएको मान्छे, चार पटक प्रधानमन्त्री भइसक्यो । कच्चा खेल खेल्नु हुन्न होला नि त ?

–ओलीलाई यसबाट सबैभन्दा ठुलो फाइदा भनेको आफूलाई राष्ट्रवादी नेताको रूपमा स्थापित गर्नु हो । नेपालमा राष्ट्रवादी नेताको लागि भोटिङ भयो भने एक नम्बरमा ओलीको नाम आउँछ । उहाँ भारतलाई नै गाली गरेर, चिढ्याएर यो आर्जन गरिरहनुहुन्छ । त्यही ‘राष्ट्रवादी’ छविका कारण पार्टीमा पनि होल्ड गर्नुभएको छ । त्यही छविका कारण शक्तिशाली अध्यक्ष बन्नुभएको हो । निष्ठावान् नेता, अरूसामु नझुक्ने, भारतलाई जवाफ दिन सक्ने नेताका रूपमा ओलीलाई चित्रण गरिएको छ । उहाँले राष्ट्रवादी नेतामा महेन्द्रपछि आफूलाई नै स्थापित गर्नुभएको छ । 

  • यसले देशलाई फाइदा गर्छ कि गर्दैन ?

–त्यसले ओलीलाई व्यक्तिगत फाइदा भएको छ, पार्टीलाई फाइदा भएको छैन । तर, व्यक्तिगत फाइदा पनि क्षणिक हो । पाँच वर्ष, १० वर्ष फाइदा होला । तर, १५ वर्षमा के हुन्छ ? ओली सिद्धिएपछि एमाले पार्टीको के हुन्छ ? यसले देशलाई पक्कै फाइदा हुँदैन । 

राष्ट्रवादी छवि बनाएर तत्काल चुनाव जित्न सकिएला, पार्टी बनाउन सकिएला । तर, त्यसले अन्तर्राष्ट्रिय सम्बन्धमा काम लाग्दैन । अन्तर्राष्ट्रिय सम्बन्धहरू बिग्रिरह्यो भने विकासशील राष्ट्रहरूका लागि राम्रो होइन । नेपालजस्तो देशले छिमेकी देशसँग सुमधुर सम्बन्ध राखिरहनुपर्छ । यहाँ ओली चुक्नुभएको छ । 

  • नेपालको परराष्ट्र नीति भारतबाट प्रभावित छ, भारतसँग राम्रो सम्बन्ध बनाउन सकिएन भने सबैतिर अस्तव्यस्त हुन्छ । के यो सही कुरा हो ? 

–यो सैद्धान्तिक रूपमा भन्दा अलि नराम्रो सुनिन्छ, तर कुरा यही हो । किनभने, इन्टरनेसनल पोल्टिक्स रियलिज्मले चल्ने हो । त्यहाँ पावरले रोल खेल्छ नै । आज भारतसँग खुला सीमाका कारण जुन सम्बन्ध छ, त्यो विश्वका कुनै पनि देशसँग छैन । 

नेपालमा केही भयो भने त्यसको असर भारतलाई पर्छ, भारतमा केही भयो भने त्यसका असर नेपाललाई पर्छ । यस्तो अद्भुत सम्बन्ध सायदै विश्वमा कतै होला । भारतका लागि नेपाल एउटा सुरक्षित सीमा हो । उत्तरमा चीन छ, नेपाल–भारतबिच खुला सीमा छ । त्यही खुला सीमाका कारण भारत चीनलाई लिएर चिन्तित छ । भारतको सुरक्षा सीमा चीनसँग जोडिन्छ । भारतले भुटान र नेपाललाई सुरक्षाको आँखाले हेर्छ । 

नेपालका लागि भारत ठुलो शक्ति हो नै, त्यही भएर नेपालको कूटनीतिमा भारतको प्रभाव हुन्छ । नेपाल ६०–७० प्रतिशत भारतसँग निर्भर छ । भारतसँग सम्बन्ध बिग्रियो भने सबै कुरा बिग्रिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप