‘हु आर यु ?’ कन्सेप्चुअल आर्टदेखि हेम पौड्यालका चरा–चित्र

‘हुु आर यु ?’ नामक ‘टु म्यान सो’ (दुई सदस्यीय प्रदर्शनी) अहिले सिद्धार्थ कलादीर्घामा चलिरहेको छ । अघिल्लो अंग्रेजी महिना (जनवरी २४ मा) सुरु भएको यो कला प्रदर्शनी यही फेब्रुअरीको १९ तारिखसम्म चल्नेछ ।
सुवेश केसी र समृद्ध मुखियाको यस संयुक्त प्रदर्शनीमा प्रदर्शन गरिएका कलाको थिम भने एउटै छ । भाषा र संस्कृतिको महत्त्व, हाम्रा अनुभव, हाम्रो जीवनको सत्यता र अस्तित्व, हाम्रा धारणा, हिन्दु दर्शन आदि–इत्यादि नै यी कलाकारका कलाका आधारभूमि बनेका छन् ।
खोजलाई निरन्तर राख्नु वा प्रश्नहरूको बिउ रोप्दै जानु भनेको चिन्तनतर्फ उन्मुख हुनु हो भन्ने यी कलाकारका बलिया विचार रहेछन् । यसले गर्दा पनि उनीहरुको कलामार्फत ‘हु आर यु ?’को अवधारणा बहसका लागि उठेको देखिन्छ ।
हामी को हौँ ? हामी के हौँ ? म यो धर्तीमा किन छु ? हामी कहाँ जाँदै छौँ ? आदि जिज्ञासा नै यी कलाकारको कलामा आएका छन् । यी कलाकारका अनुसार पनि अन्तर्मनमा उठेका खुलदुलीलाई खोजी गर्दै जाँदा यी सिर्जना तयार भएका हुन् ।
यी दुवै कलाकार धेरै वर्षहरू अमेरिकातिर बसे । उतैतिरको कला सिद्धान्त पढे, समाज बुझे, कलाका अनेकौँ टेक्निक जाने–बुझे, तर पनि पूर्वीय सिद्धान्त बिर्सन सकेनन्, आफू जन्मेको माटो भुल्न सकेनन् । अत्याधुनिक कलामा पनि यो साक्षात्कार भएर देखापर्यो । अहिले केही महिनादेखि यी कलाकार नेपालमा यस्तै कलाहरू गर्दै रमाउँदै छन् ।
- केन्द्रको कला
प्रदर्शन कक्ष पस्नुअगाडि नै मूल ढोकाबाटै तल्लो खण्डमा ठुलो लामो एउटा कला देखिन्छ । मूलतः यो चित्र ट्रिपटिक प्यानलमा छ । यो भनेको तीनवटा बक्समा जोडेर बनाइएका चित्र हुन् । अलि टाढाबाट मधुरो धमिलो देखिने यो चित्रलाई नजिकबाट नियाल्दा थुप्रै किला ठोकिएको देखिन्छ । समष्टिमा यो चित्र पूर्ण रुपमा अमूर्त देखिन्छ ।
यसको प्र्रदर्शन शैली पनि केही भिन्न छ । दाहिनेतिरबाट सुवेशका कला राखिएका छन्, अनि देब्रेतिरबाट समृद्धका । प्रदर्शनको माथिल्लो तलामा पनि कलालाई यसरी नै प्रदर्शन गरिएको देखिन्छ ।
सुवेशका चित्र अर्ध–आकृतिमूलक र एक्रेलिक माध्यममा बनेका छन् । यस्तै समृद्धका मूर्ति–चित्र ‘प्लास्टर अफ पेरिस’ माध्यमबाट बनेका छन् ।
हामी को हौँ ? हामी के हौँ ? म यो धर्तीमा किन छु ? हामी कहाँ जाँदै छौँ ? आदि जिज्ञासा नै यी कलाकारको कलामा आएका छन् । यी कलाकारका अनुसार पनि अन्तर्मनमा उठेका खुलदुलीलाई खोजी गर्दै जाँदा यी सिर्जना तयार भएका हुन् ।
यी कलाकारले आफ्ना कलामा मानवको अस्तित्वदेखि पहिचानको मुद्दा घुसाउने प्रयत्न गरेका छन् । त्यसैले यी कला कतै मूर्त त कतै अमूर्त देखिन्छन् । आजको उत्तरआधुनिक कलामा यसलाई ‘समष्टिगत काम’ भन्ने गरिन्छ । केही काममा यथार्थ आकार समेत देखिन्छन् । अर्थात् यथार्थमा चिन्न सकिने गरी मानवका शरीर अनि अक्षरहरूले आकारकै रूप लिएर देखापरेका छन् । यद्यपि यी सबै काम एउटा कन्सेप्टमा आधारित छन्, जसले गर्दा यो अत्याधुनिक समेत बन्न पुगेको छ । कलामा भावाभिव्यक्ति र विचार सँगै देखापर्दा यसले कलाको नयाँ आयाममा पाइला टकेको अनुभूत हुन्छ । यही नै यी कलाहरूको मूल विशेषता पनि हो ।
- सुवेशका कला
सुवेशको कलामा एकातिर भाषा र लिपि यथेष्ट मात्रामा देखिन्छन् अर्कोतिर अर्ध–अमूर्त मानव आकार देखिन्छन् । यी दुवैलाई मिलाई समष्टिमा हेर्दा ‘म को हुँ’ भन्ने खोज प्रारम्भ भएको देखिन्छ । मूलतः उनले भाषाको अवधारणालाई अन्वेषण गर्दै अमूर्त लिपिहरूलाई आफ्ना बलिया पात्र बनाएका छन् । भाषाको महत्त्व अनि जीवनको शाश्वत सत्यलाई उजागर गर्न उनी लागिपरेको देखिन्छ । उनको बुझाइमा सिर्जना अनि अस्तित्व कायम गर्ने पनि भाषाले नै हो ।
हामीले अन्तक्र्रिया गर्दा भाषाकै भूमिका महत्त्वपूर्ण भूमिका रहन्छ । हाम्रो अनुभव, सामाजिक नाता जनावरभन्दा फरक देखिनुमा पनि भाषाकै महत्त्वपूर्ण भूमिका छ । तर सुनिने वा महसुस गरिने भाषालाई यथार्थमा उतार्न वा चित्रमा व्यक्त गर्न गाह्रो हुन्छ । यसर्थ प्रतीकात्मक विम्बका रूपमा उनले टेढामेढा रेखा अघि सारी भाषाको प्रतिविम्बका रूपमा यसलाई ल्याएको देखिन्छ ।
कतै फर्की बसेका मान्छेहरूको हुल अमूर्त रूपमा उनको क्यानभासमा देखिन्छन् । कुनै खोजमा रहेका जस्ता देखिने उनका यी पात्र लिपिका वरिपरि रुमलिएका छन् । उनको कलामा लिपिजस्ता देखिने अनगिन्ती रेखा कतै न कतै टाँसिएर बसेका छन् । समष्टिमा हेर्दा उनका कलामा मानव र भाषाको मिलन देख्न सकिन्छ ।
उनले उठाउन खोजेको पहिचानको सन्दर्भ नेपाली समाज वा राजनीतिमा बहस भइरहने जातीयताको मुद्दा भने होइन । उनले कलामार्फत आफ्नै अस्तित्वलाई खोजेको देखिन्छ । उनी भन्छन्, ‘तिमी को हौ भन्ने कुरा भाषा र लिपिले बताइदिन्छ । भाषा र लिपि केवल निर्जीव फोनेटिक अक्षरहरू होइनन्, विचारहरूको बन्डल पनि हुन् । वास्तवमा म भाषा र यथार्थताबिचको नातालाई अन्वेषण गर्न चाहन्छु ।’
- समृद्धका कलाहरू
समृद्धले ‘प्लास्टर अफ पेरिस’मार्फत नितान्त सेता आकृतिहरू चित्रपटबाट ल्याएका छन् । उनका धेरै आकर्षक काम यस प्रदर्शनीमा राखिएका छन् । उनले सेतो चित्रपटको बिचबिचबाट विभिन्न लहर उठाएका छन् । अनेकौँ स–साना अवयव सेतै रूपमा उठेर बस्दा उनका हरेकजसो कला अद्भुत देखिएका छन् । चित्रपटको बाहिरै देखिने गरी उठेका लहरले आकार लिँदै बिलाउँछन् । जसले गर्दा उनको काम मूर्त र अमूर्तको दोसाँधमा देखिन्छ ।
विशेषतः उनको काम इन्स्टलेसन स्वरूपमा देखिएका छन् । समृद्ध भन्छन्, ‘जन्मजात आवेगलाई अन्तर्दृष्टिका रूपमा खोज्दै वा जाँच्दै जाँदा हामी चिन्तनतर्फ डोरिन्छौँ । अर्थात् हामी अनेकानेक चिन्तन–मननको प्रक्रियामा आबद्ध हुन्छौँ ।’
- कलाकार हेम पौड्यालको सम्झना
कलाकार हेम पौडेल दिवंगत भएको पनि गएको माघ २० गते अर्थात् यही फेब्रुअरी २ तारिखमा ठ्याक्कै एक वर्ष भयो । यसपालि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले उनको स्मरण गर्यो, उनका पुराना–पुराना चित्रकलालाई प्रदर्शनीमा राखेर । उनैका बारेमा लेखिएका कविताको प्रतियोगिता पनि गरियो । यस्तै उनैका बारेमा सिर्जना गरिएका कलाहरूको पनि प्रदर्शनीको गरियो । यसका साथसाथै दुईवटा पुस्तकहरू पनि सार्वजनिक गरियो— एउटा, गंगा कर्माचार्य पौड्याल (हेम पौड्यालकी श्रीमती) ले सम्पादन गरेको ‘हेम पौड्यालका कविता’ नामक पुस्तक र अर्को महेन्द्र राजभण्डारी र यशोदा पाण्डेयले लेखेको ‘बहुआयामिक व्यक्तित्व गंगा कर्माचार्य पौड्याल’ नामक पुस्तक ।
हेमलाई कवि भनिए पनि मूलतः उनी चित्रकार हुन् । यद्यपि उनले चोटिला कविता लेख्ने गर्थे ।
उनले जीवनमा थुप्रै चित्र कोरे । तथापि उनको स्मरणमा चराकै चित्र मात्र राखिएका थिए । हुन पनि उनी चरा चित्रकारकै रूपमा बढी चिनिन्छन् । यसैमा उनको बढी दक्खल देखिन्छ । त्यसो त उनी राम्रा प्रभाववादी दृश्यचित्रकार पनि हुन् । चराका चित्रहरू बनाउनुअघि उनी प्रभाववादी पारदर्शी दृश्य चित्रकारका रूपमा प्रख्यात थिए । त्यस बखतका गिनेचुनेका दृश्य चित्रकारमध्ये उनी पनि पर्थे । जलरंग उनको मन पर्ने माध्यम थियो ।
उनलाई मैले पहिलोपल्ट विराटनगरमा सन् १९७४ मा भेटेको थिएँ । जुन बेला उनी विराटनगरमा हुने गरेका मेलामा आफ्ना लोभलाग्दा जलरंगी दृश्यचित्रसहित उपस्थित थिए । त्यतिबेला उनीसँग एउटा साइकल पनि थियो । पछि थाहा भयो, उनी काठमाडौँबाट विराटनगर साइकलमै आएका रहेछन्, कैयौँ दिन लगाएर । बाटोबाटोमा चित्रहरू कोर्दै, जहाँ रात पर्यो उतै बास बस्दै उनले दार्जिलिङसम्मको यात्रा तय गरेका रहेछन् । विराटनगर बाटो परेकाले उनले आफ्ना चित्र प्रदर्शन गरेका रहेछन् ।
हेम पौड्यालले सुरुमा अर्थात् सन् १९५८ मा मूर्धन्य चित्रकार चन्द्रमानसिंह मास्केसँग चित्र कोर्न सिके । पछि (सन् (१९६८ ताका) उनले प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘स्पेसल ट्रेनिङ कोर्स’ पनि लिए, जतिबेला उनलाई लैनसिंह बाङ्देलले सिकाएका थिए ।
उनले कलाको औपचारिक शिक्षा कहिल्यै लिएनन् । सन् १९७० तिर उनले ‘बर्ड्स अफ नेपाल’ पुस्तकमा दृष्टान्त चित्रका रूपमा चराको चित्र बनाउन थाले । यही क्रममा उनले चराका चित्र निकै बनाए । त्यतिबेला उनी चरा चित्रकारकै रूपमा चिनिएका थिए ।
२६ वर्षको (जन्म ः सन् १९४१, काठमाडौँ) उमेरदेखि कलायात्रा सुरु गरेका उनले सत्तरीकै दशकमा नाम कमाइसकेका थिए । अझ चरा चित्र बनाउने समसामयिक कलाकारका रूपमा प्रारम्भ बिन्दुका कलाकार बन्न पुगेका थिए । चराका चित्र यसअघि नबनेका भने होइनन् । सन् १८३० ताका नै राजमान भन्ने चित्रकारले र १८५० ताका देखापरेका भाजुमान चित्रकारले चराका चित्र बनाएको देखिन्छ ।
चरालाई दृश्यचित्रमा गाभेर नयाँ ढंगबाट संयोजन गर्ने काम भने हेम पौड्यालले गरे । उनले डिटेलमा चित्र कोरेको देखिन्छ । चरा सुहाउँदो काल्पनिक दृश्य पनि राख्दा चित्र अति मनमोहक देखिन्थ्यो । यस्ता चित्र जलरंगमा बन्थे, पछि तैलरंगमा प्रशस्तै बनेका थिए । तिनै चित्रमध्ये केही चित्र यसपालि प्रदर्शन गरिएका थिए ।
उनकी श्रीमती गंगा कर्माचार्य पौड्याल कवि तथा कथाकार हुन् । त्यसैले उनले हेमका कलाबारे निकै अभिलेखन गरेकी छन् । मैले पनि कलाकार हेम पौड्यालका बारेमा एउटा पुस्तक लेखिसकेको छु, ‘हेम पौड्यालको अविरल कला यात्रा’ नामक, जुन २०६८ सालमा प्रकाशन भएको थियो । मैले उनको समीपमा रहेर पुस्तक लेखेको थिएँ । यसले गर्दा उनको स्वभाव, उनका चित्रहरू, कलागत वातावरण मैले पनि जान्ने–बुझ्ने यथेष्ट मौका पाएको थिएँ ।
(मल्ल कलाकार र कला समीक्षक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
-
गोरु तस्करी प्रकरणमा भइरहेका छानबिनमाथि प्रदेश प्रहरी कार्यालयले निगरानी गर्दै
-
राजेशकाशी श्रेष्ठको ‘व्यक्तित्व योगदान’ पुस्तक लोकार्पित
-
पूर्वराजाको आह्वानले जनता सडकमा उत्रिन सक्ने अवस्था निम्तिएको छ : अध्यक्ष थापा
-
पशुपति जलहरी प्रकरण : अख्तियारद्वारा सर्वोच्च अदालतमा पुनरावेदन
-
सरकार अध्यादेशको पासोमा पर्यो : माओवादी केन्द्र