शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय
लापरबाही

बारम्बार खानेपानीका पाइप फुट्नु कसको लापरबाही ?

मङ्गलबार, ०६ फागुन २०८१, १५ : ०२
मङ्गलबार, ०६ फागुन २०८१

काठमाडौँ । गत बुधबार दिउँसो खानेपानीको पाइप फुट्दा काठमाडौँको बबरमहल क्षेत्र जलमग्न भयो । गत असोजमा लगातार तीन दिन परेको पानीझैँ बबरमहल क्षेत्र डुबानमा परेको देखिन्थ्यो । त्यहाँ मेलम्चीको खानेपानी पाइप फुटेको थियो । 

काठमाडौँमा उपत्यकामा विभिन्न समयमा खानेपानी र ढलका पाइपहरू फुट्ने समस्या नयाँ होइन । मेलम्चीको पानी काठमाडौँमा ल्याइएसँगै खानेपानीका पाइप फुट्ने समस्या बढेको छ ।

२०७७ फागुन २२ गते फ्लसिङ टनेलमार्फत मेलम्चीको पानी सुन्दरीजलमा खसालिएको थियो । २०७७ चैत १५ गते काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले चुच्चेपाटीको महाँकाल चौरमा भण्डारण गरिएको पानीको चाबी (पानीको भल्भ) खोलेर वितरण शुभारम्भ गरेको थियो । शुभारम्भसँगै काठमाडौँ उपत्यकामा मेलम्चीको १७ करोड लिटर पानीको वितरण भइरहेको छ । 

केयूकेएलले बिछ्याएको पाइप फुट्नु सामान्यजस्तै हुन थालेको छ । बारम्बार समस्या दोहोरिरहँदा पनि सम्बन्धित निकायले दिगो समाधान गरेको देखिँदैन । 

मेलम्ची खानेपानीको २० इन्च मोटो फलामे पाइप फुट्दा बबरमहल क्षेत्र वरिपरि रहेका सरकारी र निजी भवन डुबानमा परेका थिए । उक्त पाइप फुटेको चार घण्टासम्म आयोजनाले पानी बन्द गर्न नसक्दा सो क्षेत्र डुबानमा परेको थियो । 

केयूकेएलका अनुसार उक्त घण्टामा ४० लाख लिटर पानी खेर गरेको थियो । बुधबारको त्यो दुर्घटनाबाट करिब ४० लाख रुपैयाँ बराबरको क्षतिसमेत भएको थियो । 

यसबाट सरकारी पूर्वाधार क्षेत्रमा काम गर्ने प्रणाली र गुणस्तरमा गम्भीर प्रश्न उठेको छ । साथै पूर्वाधार क्षेत्रमा काम गर्ने सरकारी निकायबिच आपसी समन्वय हुन नसकेको देखिन्छ । यसले पनि सरकारी निकायहरूबिच समन्वय र समझदारीविना काम गर्दा समस्या भएको देखाएको छ । 

लैनचौरमा तीन वर्षअघि फुटेको थियो पाइप

२०७९ मंसिर २६ गते मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा लैनचौर क्षेत्र जलमग्न भएको थियो । जसका कारण सडक भत्किनुका साथै पैदल यात्रु र सवारी आवागमनसमेत प्रभावित भएको थियो । 

गत मंसिरमा नयाँ बजार क्षेत्रमा पनि खानेपानीको पाइप फुट्दा यस्तै भएको थियो । सानो र पुरानो पाइपमा पानीको चाप बढी भएकाले पाइप फुटेको केयूकेएलले जनाएको थियो । मेलम्चीको पानी वितरणसँगै यस्ता धेरै ठाउँमा समस्या आएका छन् । 

ठेकेदारको लापरबाही कि कम गुणस्तरको पाइप ?

गत बुधबार बबरमहलमा भएको घटनामा पाइप गुणस्तरभन्दा पनि ठेकेदारको लापरबाहीका कारण भएको काठमाडौँ उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)का प्रवक्ता चन्द्रकुमार श्रेष्ठ बताउँछन् । नेपाल विद्युत् प्राधिकरणको असावधानीपूर्ण कामले खानेपानीको पाइपमा ठुलो क्षति पुगेको उनले बताए । 

पानी वितरणका लागि बिछ्याएको २० इन्च मोटो फलामे पाइपको गुणस्तरमा कमी नभएको श्रेष्ठले दाबी गरे । निर्देशनालयले ठेक्का सम्झौता हुँदा नै अन्तर्राष्ट्रिय मान्यताप्राप्त गुणस्तरको पाइप बिछ्याएकाले गुणस्तरमा कमजोरी भन्न नमिल्ने उनको भनाइ थियो । 

अहिलेसम्म पाइप फुट्नुमा गुणस्तरहीन पाइप नभएको र तेस्रो पक्ष प्रमुख कारण भएको केयूकेएलका प्रवक्ता प्रकाश राईले बताए । भने, ‘पाइपको गुणस्तर मापन गरेर मात्रै खरिद हुन्छ । अन्तर्राष्ट्रिय एजेन्ट वा अन्तर्राष्ट्रिय मान्यताप्राप्त एजेन्टबाट आएको हुन्छ । गुणस्तर कम भएर फुटेको भन्न मिल्दैन, अहिलेसम्म त्यस्तो समस्या देखिएको छैन ।’ 

निर्माता र तेस्रो पक्ष निरीक्षण एजेन्सीबिच सहमतिअनुसार नै आईएसओ २८५९ मान्यताप्राप्त २० इन्चको पाइप राखिएको उनले बताए । 

गत बुधबार फुटेको पाइप पाँच सय एमएमको थोक वितरण प्रणाली (पल्क डिस्ट्रिब्युस सिस्टम) अन्तर्गतको थियो । 

त्यस्तै केयूकेएलका प्रवक्ता प्रकाश राईले बबरमहलमा पाइप फुट्नुको कारण विद्युत् प्राधिकरणलाई दोष दिए । प्राधिकरणले भूमिगत लाइनको काम गर्ने क्रममा असावधानी अपनाउँदा बबरमहलमा पाइप फुटेको उनको भनाइ थियो । उनले पनि खानेपानीको पाइपको गुणस्तरमा कमजोरी नभएको दाबी गरे । 

अहिलेसम्म पाइप फुट्नुमा गुणस्तरहीन पाइप नभएको र तेस्रो पक्ष प्रमुख कारण भएको उनले बताए । भने, ‘पाइपको गुणस्तर मापन गरेर मात्रै खरिद हुन्छ । अन्तर्राष्ट्रिय एजेन्ट वा अन्तर्राष्ट्रिय मान्यताप्राप्त एजेन्टबाट आएको हुन्छ । गुणस्तर कम भएर फुटेको भन्न मिल्दैन, अहिलेसम्म त्यस्तो समस्या देखिएको छैन ।’ 

अहिलेसम्म काठमाडौँ उपत्यकामा खानेपानीको पाइप अर्को सरकारी निकायले सडक भत्काउँदा फुटिरहेको उनको भनाइ थियो । फलामे पाइपको गुणस्तरमा कमजोरी नभएको उनले पटक–पटक बताए ।

सरकारी निकायमा समन्वय अभाव

सडक क्षेत्रमा हुने विकास निर्माण तथा मर्मत सम्भारमा जिम्मेवार सरकारी निकायबिच समन्वय अभाव हुने गरेको देखिन्छ । मेलम्चीको खानेपानी पाइप बिछ्याउने क्रममा पनि यस्तै भएको हो । अहिले पनि त्यो निरन्तर छ ।

सडक विभागले सडक कालोपत्र गरेपछि मेलम्ची आयोजनाले खन्ने, फेरि विद्युत् प्राधिकरणले तार बिछ्याउन खन्ने गर्दा उपत्यकाका सडक प्रायः खाल्डाखुल्डी भइरहन्छ । जुन सरकारी निकायबिच हुने समन्वय अभाव हो ।

सरकारी निकायबाट क्षति र विनाश भएपछि एकले अर्कोलाई दोष देखाएर पन्छिने काम हुने गरेको छ । सरकारी निकायहरूले जमिनमुनि पाइप बिछ्याउँदा या तार राख्दा आपसमा समन्वय नगरेर तथा सावधानी अपनाउन नसक्दा यस्ता समस्या दोहोरिने गरेका केयूकेएलका प्रवक्ता राइले बताए । ‘जमिनमुनि काम गर्ने धेरै एजेन्सीहरू छन् । सबैसँग समन्वय पनि हुन सक्दैन,’ उनले भने ।

पिआइडीका प्रवक्ता श्रेष्ठका अनुसार मेलम्ची खानेपानीले ९० सेन्टिमिटर गहिराइमा २० इन्चको पाइप गाडेको छ  । विद्युत् प्राधिकरणले तार भूमिगत गराउने योजनाअन्तर्गत त्यसैमाथि खन्ने क्रममा फलामे पाइप फुटेको बताए ।

पीआईडीका प्रवक्ता श्रेष्ठले पनि सरकारी निकायबिच समन्वय अभावका कारण मेलम्चीको पाइप फुट्ने गरेको बताए । विद्युत् प्राधिकरणलाई बारम्बार जानकारी गराउँदा पनि लापरबाही गरेर खानेपानीको पाइप फुटाउने काम भएको उनको आरोप थियो । भने, ‘पाइप फुट्नुको मुख्य कारण विद्युत् प्राधिकरण हो, खानेपानीको पाइप छ है भन्दाभन्दै पनि ध्यान नदिएर सडक खनियो ।’

पिआइडीका प्रवक्ता श्रेष्ठका अनुसार मेलम्ची खानेपानीले ९० सेन्टिमिटर गहिराइमा २० इन्चको पाइप गाडेको छ  । विद्युत् प्राधिकरणले तार भूमिगत गराउने योजनाअन्तर्गत त्यसैमाथि खन्ने क्रममा फलामे पाइप फुटेको बताए । प्राधिकरण काठमाडौँ उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाले आफूहरूका कारण पाइप फुटेको स्वीकार पनि गरिसकेको छ । 

खानेपानीका ४२ हजार ३९ वटा पाइप

विभिन्न समयमा भएका अध्ययन प्रतिवेदनहरूले साना ठुला गरी करिब ४२ हजार ३९ वटा पाइपमार्फत खानेपानी विभागले उपत्यकामा पानी वितरण गरिरहेको छ । यसबाट करिब २८ लाख ४२ हजार ७ सय २१ घरहरूमा निजी तथा सार्वजनिक धाराबाट खानेपानी सेवा प्रदान गरिरहेको देखिन्छ । 

नेपालका करिब ५१.६९ प्रतिशत घरहरू पाइप प्रणालीको खानेपानी सेवाबाट लाभान्वित भएका हुन् । पाइप प्रणालीबाट पानी पाएकामध्ये करिब ३०.५५ प्रतिशत निजी घरहरू भएका तथ्यांकले देखाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनिष मिजार
अनिष मिजार
लेखकबाट थप