ओझेलमा मुस्ताङको कैह्योलोङ गुफा

म्याग्दी । मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित कैह्योलोङ गुफा ओझेलमा परेको छ । जोमसोमको प्रवेशद्वारमा रहेको स्याङ खोलाको किनारमा पर्ने कैह्योलोङ गुफा पूर्वाधार र प्रचारप्रसारको अभावमा सुनसान बनेको हो ।
स्याङखोलाको पुल भएर वार्षिक तीन लाखभन्दा बढी पर्यटक आवतजावत गर्ने मुस्ताङको कैह्योलोङ गुफा पुग्नेको सङ्ख्या नगन्यमात्रामा रहेको स्याङका बासिन्दा देवेन्द्र थकालीले बताए ।
‘जोमसोमको प्रवेशद्वारमा भए पनि कैह्योलोङ गुफाको महत्व र विशेषताका बारेमा प्रचारप्रसारका साथै यहाँसम्म पुग्ने व्यवस्थित पदमार्ग नहुँदा ओझेलमा परेको हो’ उनले भने, ‘कैह्योलोङ गुफासम्म पुग्ने व्यवस्थित पदमार्ग र पर्यटन प्रवर्द्धनका कार्यक्रम गर्नसकेमा मुस्ताङमा आउने पर्यटकको बसाई लम्बाउन सकिने थियो ।’
थकाली भाषामा कैह्योलोको अर्थ बिहे नगरेको र ङलाई ओडार भन्ने गरिन्छ । बिहे नगरेका लामा ध्यान र तपस्या बस्ने ठाउँ भएकाले कैह्योलोङ गुफा नामकरण गरिएको थकालीले बताए ।
गुफाभित्र तीन वटा कोठा छन् । परापूर्वकालमा लामाहरूले खाना पकाउन र ध्यान बस्नका लागि प्रयोग गरेका सामग्रीहरू गुफामा अवलोकन गर्न पाइन्छ । स्याङखोलाको किनारमा रहेको पहाडको भित्तामा गुफा रहेको छ । स्याङखोलाको मोटरेबल पुलदेखि १० मिनेट पैदलयात्रा गरेपछि गुफामा पुगिन्छ ।
स्याङका पूर्ववडासचिव किरन सापकोटाले कैह्योलोङ गुफा मानव सभ्यताको विकाससम्बन्धी अध्ययन गर्नेका लागि खोजीको विषय बन्नसक्ने बताए । गुफाको बनोट र अवस्थिति देखेर अनौठो लागेको उनले अनुभव सुनाए । बाहिरबाट पहाडको बीचमा सानो प्वाल देखिए पनि भित्र पस्दा घरमै बसेको जस्तो महसुस हुने सापकोटाले प्रतिक्रिया दिए ।
जनकल्याण युवा क्लबले स्याङ खोलाको किनारबाट गुफासम्म पुग्ने करिब २० मिटर रेलिङसहितको पदमार्ग बनाएको छ । स्याङखोलाको मोटरेबल पुलबाट गुफाको फेदीसम्म करिब पाँच सय मिटर पदमार्ग बनाउन आवश्यक छ । हाल खोलाको किनारै किनार हिडेर गुफामा पुग्नुपर्छ ।
घरपझोङ गाउँपालिका–३ का वडा सदस्य वीरप्रसाद थकालीले जोमसोमको पुथाङ विमानस्थल, शिन्तामणि होटल, कैह्योलोङ गुफा, किचिथाङ झोलुङ पुल हुँदै स्याङ गाउँ जोड्ने छोटो दूरीको पदमार्गको परिकल्पना गरिएको जानकारी दिए । सो परिकल्पनाअनुसार गाउँपालिकाले किचिथाङमा एक सय २० मिटर लामो झोलुङ्गे पुल, स्याङमा मनशान्ती पार्क निर्माण र स्याङखोलामा साउना बाथ सञ्चालन गरिएको उनले बताए ।
जोमसोमबाट शिन्तामणि होटल, किचिथाङको झोलुङ्गे पुल हुँदै स्याङ जोड्ने छोटो दूरीको पदमार्गले पर्यटकको बसाई लम्ब्याउने र पर्यटकलाई प्रकृतिमा रमाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी विधेयकमा अहिलेसम्म परे ४३ संशोधन प्रस्ताव
-
रुपन्देहीको सियारीमा परालले ढाकेको अवस्थामा शव फेला
-
उपचारका लागि पूर्वराष्ट्रपति विद्या भण्डारी थाइल्याण्डमा
-
अर्थ समिति बैठकमा सांसद ज्ञानेन्द्र शाहीले विषयवस्तु भन्दा बाहिर गएर बोलेपछि...
-
यस्तो छ ‘मायावी’ को भजन गीत ‘माता विंध्यवासिनी’
-
सामान ढुवानी सहज बनाउन ‘टिम भरिया’ एप सञ्चालनमा