बिहीबार, ०८ फागुन २०८१
ताजा लोकप्रिय

निःशुल्क डायलायसिस सेवाले एउटै अस्पतालबाट दैनिक ६० जना लाभान्वित

सोमबार, ०५ फागुन २०८१, २२ : ५७
सोमबार, ०५ फागुन २०८१

झापा । नेपाल सरकारले मिर्गौला रोगीका लागि हेमोडायलायसिस सेवा निःशुल्क दिन थालेपछि धेरै बिरामी लाभान्वित भएका छन् । झापाको भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालमा दैनिक ६० जना बिरामीले निःशुल्क सेवा पाइरहेका अस्पतालका प्रशासन प्रमुख मनोज दाहालले जानकारी दिए ।

सरकारले सञ्चालन गरेको विपन्न नागरिक उपचार कोषमार्फत मिर्गौलाका बिरामीले अस्पतालबाट निःशुल्क सेवा पाइरहेका छन् । ‘बिरामीले कुनै शुल्क तिर्नुपर्दैन । एक जनाको एक पटक डायलायसिस गरेबापत नेपाल सरकारले अस्पताललाई कोषमार्फत रु दुई हजार पाँच सय उपलब्ध गराउँछ । यसबाट विपन्न नागरिकहरू निकै लाभान्वित भइरहेका छन्’, दाहालले भने ।

दुवै मिर्गौलाले काम नगरेको अवस्थामा शरीरको रगत शुद्धीकरणका लागि चिकित्सकको सिफारिसमा बिरामीको हेमोडायलायसिस गराउनुपर्ने हुन्छ । झापामा यो सेवा उपलब्ध गराउने ओमसाई पहिलो र सबैभन्दा बढी क्षमताको अस्पताल हो । हाल सेवा दिने अरु पाँच वटा स्वास्थ्य संस्था थपिएका छन् ।

ओमसाई पाथीभरा अस्पतालमा हेमोडायलायसिसका लागि २१ वटा मेसिन सञ्चालनमा छन् । एक जना बिरामीलाई सेवा दिन चार घण्टाको समय लाग्ने र दैनिक तीन सिफ्टमा औसत ६० जनाले सेवा पाइरहेको दाहालले बताए ।

अस्पतालबाट हाल एक सय ६७ जनाले नियमित डायलायसिस सेवा लिइरहेका छन् । सरकारको स्वास्थ्य बिमामा आबद्ध नरहेका बिरामीले समेत पालिकाको सिफारिसमा सेवा प्राप्त गर्ने अस्पतालले जनाएको छ ।

मिर्गौलाका बिरामीको उपचारमा सरकारले निःशुल्क डायलायसिस सेवा दिएर नागरिकको प्राण बचाइरहेको भद्रपुर नगरपालिका–७ लेखनाथ चोकका ७० वर्षीय मनोरञ्जन न्यौपानेले बताए ।

उनले विगत १० वर्षदेखि नियमित रूपमा हेमोडायलायसिस सेवा लिइरहेको बताए । ‘हप्ताको तीन पटक डायलायसिस गर्नु परिरहेको छ’, उनले भने, ‘अस्पताल र सरकारले दिएको निःशुल्क सेवा सुविधाप्रति आभारी छु ।’

मेचीनगर–७ की सीता निरौलाले आफ्ना पति विष्णुप्रसाद निरौलाको डायलायसिस गराउन साताको दुईपटक अस्पताल धाउनुपरेको बताइन् । सरकारले डायलायसिस निःशुल्क गरिदिएता पनि घरबाट अस्पताल ओहोरदोहोर गर्न एम्बुलेन्स सुविधा नदिएकामा केही समस्या भने रहेको उनले बताइन् ।

‘माथिको सरकारले डायलायसिस निःशुल्क गरिदियो, स्थानीय सरकार (पालिका) ले एम्बुलेन्स सुविधा निःशुल्क गरिदिए बिरामीलाई सहज हुन्थ्यो’, उनले भनिन् । 

कोशी प्रदेशकै सबैभन्दा ठुलो डायलायसिस उपचार थलोका रूपमा परिचित ओमसाई पाथीभरा अस्पतालमा १८ देखि ८२ वर्षसम्मका बिरामीले नियमित रूपमा सेवा लिइरहेका छन् । फिस्टुला राख्ने सुविधासमेत स्वास्थ्य बिमामार्फत दिने हुँदा उक्त अस्पतालमा मिर्गौला डायलायसिस गराउन आउने बिरामीको सङ्ख्या बढिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप