१० बजे १० समाचार : भारतमा नेपाली विद्यार्थी मृत्यु प्रकरणले दुवै देशमा हलचलदेखि अध्यादेश पास गर्न पार्टी फुटाउने खेलसम्म

आज २०८१ फागुन ५ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा भारतमा नेपाली विद्यार्थी मृत्यु प्रकरणले दुवै देशमा हलचल, अध्यादेश पास गर्न एकीकृत समाजवादीलाई फुटाउने खेल !, तोप हाने पनि सरकार नढल्ने ओलीको दाबी, अस्पतालबाट डिस्चार्ज भए अर्थमन्त्री पौडेल, गृहमन्त्रीले प्रहरी विधेयक पेस गर्नुपर्नेमा अर्कै विधेयक पेस गरेपछि..., प्रहरीको स्कर्टिङमै गोरु तस्करी लगायत छन् ।
१. भारतमा नेपाली विद्यार्थी मृत्यु प्रकरणले दुवै देशमा हलचल
भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको आत्महत्या प्रकरणले चर्को रूप लिएको छ । प्रकृति आइतबार साँझ होस्टेलको आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । उक्त घटनालाई लिएर नेपाल र भारतमा हलचल मच्चिएको छ ।
२. अध्यादेश पास गर्न एकीकृत समाजवादीलाई फुटाउने खेल !
राष्ट्रिय सभामा प्रस्ट बहुमत नहुँदा अध्यादेश पेस गर्न आनाकानी गर्दै आएको सरकारले नेकपा एकीकृत समाजवादीलाई विभाजन गरेर भए पनि अध्यादेश पारित गराइछाड्ने रणनीति अपनाउने देखिएको छ ।
३. तोप हाने पनि सरकार नढल्ने ओलीको दाबी
प्रधानमन्त्री केपी शर्मा ओलीले १७ महिना तोप हाने पनि सरकार नढल्ने दाबी गरेका छन् । सोमबार लुम्बिनी प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई तिहाइको बलियो सरकार भएकाले केही गरे पनि नढल्ने दाबी गरे ।
४. अस्पतालबाट डिस्चार्ज भए अर्थमन्त्री पौडेल
हाइड्रोजन भरिएको बेलुन पड्किएर जलनबाट घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल सोमबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।
५. गृहमन्त्रीले प्रहरी विधेयक पेस गर्नुपर्नेमा अर्कै विधेयक पेस गरेपछि...
गृहमन्त्री रमेश लेखकले प्रतिनिधि सभा बैठकमा असम्बन्धित विधेयक पेस गरेका छन् । सभामुख देवराज घिमिरेले उनलाई नेपाल प्रहरी विधेयक–२०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न समय दिएकामा नेपाल नागरिकता दोस्रो संशोधन विधेयक २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका हुन् ।
६. प्रहरीको स्कर्टिङमै गोरु तस्करी
चितवनतिरबाट हेटौंडा हुँदै पथलैयातर्फ गोरु बोकेर जाँदै गरेको ट्रकलाई पशु सेवा कार्यालय मकवानपुरले बाराको पथलैयाबाट नियन्त्रणमा लिएको छ । उक्त ट्रक हेटौंडाबाट प्रहरीको स्कर्टिङमै मकवानपुरको सीमा क्षेत्र पार गरी बारातर्फ प्रवेश गरेको थियो ।
७. गायक कुमा सागरलाई गिज्याएको आरोपमा ३ जनाविरुद्ध प्रहरीमा निवेदन
गायक कुमा सागरलाई गिज्याएको आरोपमा प्रहरीमा तीन जनाविरुद्ध उजुरी परेको छ ।
८. ठेक्का रद्द भएपछि अब भक्तपुर–नगरकोट सडक कसरी बन्छ ?
पर्यटकीय आकर्षणको प्रमुख केन्द्र हो भक्तपुरको नगरकोट तर भक्तपुरदेखि नगरकोट जाने सडक एक दशकदेखि निर्माण हुन सकेको छैन । सरकारले पटक–पटक म्याद थप गरेर सहजीकरण गरे पनि काम अघि बढ्न नसकेपछि भक्तपुर–नगरकोट सडकको ठेक्का सम्झौता २०८१ पुस २४ गते रद्द गरेको छ । योसँगै उक्त सडक अब कसरी बन्ला भन्नेमा चासो बढेको छ ।
९. अर्धवार्षिक समीक्षामा जहिल्यै घटाइन्छ बजेट
सरकारले आर्थिक वर्षको ६ महिनामा खर्च अनुमान संशोधन गर्ने परम्परालाई यो चालु आर्थिक वर्षमा पनि निरन्तरता दिएको छ । विगतजस्तै सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको बजेटको आकार घटाएको छ ।
१०. कर्णाली प्रदेश : ‘सन्दुक’ र ‘बन्दुक’ विहीन गृह मन्त्रालय
कर्णाली सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आफ्नो औचित्य पुष्टि गर्न सकेको छैन । ‘बन्दुक’ र ‘सन्दुक’विहीन रहेकाले पनि यो मन्त्रालयप्रति कसैको आकर्षण देखिएको छैन । मुख्यमन्त्री यामलाल कँडेलले यो मन्त्रालयमा विभागीय मन्त्री नराखी आफैँले सम्हाल्दै आएका छन् । यो मन्त्रालयको नियतिका बारेमा रातोपाटीले विशेष स्टोरी तयार पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनप्रतिको अमेरिकी धारणा फेर्दै रुसको पक्षमा किन उभिए ट्रम्प ?
-
बच्चालाई ज्वरो आउँदा नगर्नुहोस् यी गल्ती
-
खेलकुदमा हिसाब प्रयोगमाथि रोक लगाउने तयारी अगाडि बढाएपछि एमेनेष्टी इन्टरनेशनको आपत्ति
-
७ महिनामा नेपालका प्रमुख भन्सार नाकाबाट कति भयो आयात-निर्यात ?
-
इरानमा सन् २०२४ मा ९७५ जनालाई मृत्युदण्ड
-
चीन र भारतसँग व्यापार घाटा उच्च, कुन देशसँगको व्यापार कस्तो ?