कर्णालीको प्रगतिको बाटो काठमाडौँले देखाएको हुनु हुँदैन : आहुति

सुर्खेत । सोमबारदेखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कर्णाली उत्सवको छैटौँ संस्करण सुरु भएको छ ।
उक्त उत्सवमा राजनीतिक चिन्तक आहुतिले ‘माण्ठ र मइडोः कर्णाली समाजको विविध आयम’ मा प्रवचन दिएका छन् ।
यस्तो छ– आहुतिको प्रवचन
पाँच सय वर्षअघि शासकले देखाएको बाटो हिँडेर कर्णालीको समुन्नति सम्भव हुँदैन । हामीले राजा महेन्द्रले सुरु गरेको भूगोल, नदी, पहाडको आधारमा ठाउँहरूको पहिचान दिने, त्यहाँको भाषा, सम्यतालाई टुक्र्याउने रणनीति अहिले पनि अँगालेका छौँ ।
कर्णाली क्षेत्रले विद्रोह र पहिचानको बाटो आफैँ बनाउनुपर्छ, पाँच सय वर्ष अघिका शासकले देखाएको बाटोमा हिँड्दा कर्णालीलाई क्षति पुग्छ ।
कर्णालीसँग भव्य सभ्यता भए पनि सोही अनुसार अगाडि बढ्न सकेको छैन । त्यसैले अब कर्णालीको बाटो आफ्नै हुनुपर्छ ।
कर्णालीका नदीनाला अहिले पनि अरुका हातमा छन् । कर्णालीले आफ्नो पहाड, हिमाल, नदीनालामा दाबी गर्न सकेको छैन । यसमा बहस हुन जरुरी छ । यहाँ मल कारखाना किन खुलेन ? मेसिन औजार बनाउने कारखाना किन खुलेनन् ? कर्णालीको प्रगतिको बाटो काठमाडौँले देखाएको हुनु हुँदैन ।
कर्णालीलाई अशिक्षित भनिएको छ । म इन्कार गर्छु । यो बेलायतीहरूले स्कुल खोल्नुपर्छ भनेर लादिएको भाष्य हो । मानवशास्त्रीहरूले दश हजार वर्ष अगाडि नै कर्णालीमा मानव बस्ती थियो भन्छन् तर यसको प्रमाण छैन ।
हाम्रो अगाडि व्यासी र दोप्चाहरू तीन हजार वर्ष अघि नै यो क्षेत्रमा आएका थिए भन्ने पुष्टि भएको छ । यसलाई योगी नरहरिनाथले पनि स्वीकार्नुहुन्छ । यो क्षेत्रमा खसहरूको आगमन २२ सय वर्ष अघि भइसकेको तथ्य आएको छ । खसहरू यहाँ आए तर कताबाट आए ? स्वाभाविकै रुपमा गंगा मैदान हुँदै आएको देखिन्छ । उनीहरू भारतको खस बस्तीबाट आएर कर्णालीमा आफ्नो सभ्यता स्थापित गरे ।
खसहरू कोदो लिएर आएका थिए । धामी संस्कृतिसहितको भव्य सभ्यता निर्माण गरे । १२ औँ शताब्दीपछि यहाँ क्रमशः वैदिक आर्यहरू आएर खस आर्यको जात व्यवस्था विकसित भएको हो । उनीहरूले खसहरूसँग मिलेर जात व्यवस्था निर्माण गरेका थिए । यहीँबाट चार जात, ३६ वर्णको चर्चा सुरु भयो । नेपालमा जात व्यवस्था पनि कर्णालीबाट सुरु भएको हो । यही जात व्यवस्थाले नवराज विकसहित ६ जनाको हत्या हुने अवस्था निम्तिन्छ ।
कर्णाली के हो ? जब राजा पृथ्वीनारायण शाहको राज्य एकीकरण सुरु भयो, जुम्लाले हार्यो । यहाँबाट सम्पन्न मानिस पूर्व सरे, यहाँ निमुखाहरूको बास रह्यो । कर्णाली उपेक्षामा पर्यो । उपेक्षाको सिकार हुँदै सिङ्गो पञ्चायत व्यहोर्यो । पञ्चायतले हाम्रो सभ्यतालाई टुक्राटुक्रा पार्यो र क्षेत्रको नामकरण गरिदियो । कर्णालीभन्दा यहाँका पिरमा बाँचेका दलित, छाउपडीमा बाँचेका महिला चिनिन्छ । जसले आफ्नो भूगोलका आधारमा आफ्नो पहिचान दिन्छ, उसको यात्रा लामो हुँदैन । कर्णालीको अवस्था यही हो अहिले पनि ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पृथ्वी राजमार्गको पूर्वी खण्डमा ७७ दशमलव सात प्रतिशत प्रगति
-
कालीगण्डकी नदी संरक्षणका लागि पाँच बुँदे घोषणापत्र जारी
-
युक्रेनप्रतिको अमेरिकी धारणा फेर्दै रुसको पक्षमा किन उभिए ट्रम्प ?
-
बच्चालाई ज्वरो आउँदा नगर्नुहोस् यी गल्ती
-
खेलकुदमा हिजाब प्रयोगमाथि रोक लगाउने तयारी अगाडि बढाएपछि एमेनेष्टी इन्टरनेशनको आपत्ति
-
७ महिनामा नेपालका प्रमुख भन्सार नाकाबाट कति भयो आयात-निर्यात ?