माओवादीले तीन जिल्लाबाट अन्य पार्टीका ५ हजार कार्यकर्ता भित्र्याउने
![माओवादीले तीन जिल्लाबाट अन्य पार्टीका ५ हजार कार्यकर्ता भित्र्याउने](https://npcdn.ratopati.com/media/news/20250217_150932_GZWQkEAIq0.jpg)
विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले फागुन १२ गतेदेखि सुरु हुने ‘जनतासँग माओवादी, तराई–मधेस जनजनगरण अभियान’का क्रममा अन्य पार्टीका हजारौँ कार्यकर्ता भित्र्याउने दाबी गरेको छ ।
कोशी प्रदेश परिषद् बैठकको निर्णय सार्वजनिक गर्न सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्र कोशी प्रदेशले यस्तो दाबी गरेको हो । उक्त अभियान १२ गते झापाको कचनकबलबाट सुरु भइ हुलाकी राजमार्ग हुँदै कञ्चनपुरमा समापन गर्ने तय गरिएको छ ।
जसअन्तर्गत कोशी प्रदेशका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा एक–एक दिन अध्यक्ष प्रचण्डसहितका सम्पूर्ण पदाधिकारीको टोली अभियानमा खट्ने माओवादी कोशीका अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले जानकारी दिए । जसअनुसार फागुन १२ गते झापाको कचनकवल गाउँपालिकाको बनियानीमा उद्घाटन हुने, बाह्रदशी गाउँपालिका र झापा गाउँपालिकामा भेटघाट, जनअन्तरक्रिया तथा सभाको आयोजना गर्ने तय भएको छ ।
फागुन १३ गते मोरङको रतुवामाई नगरपालिकाको आमवाडी चोक, कानेपोखरी गाउँपालिकाको रमाइलो चोक, धनपालथान गाउँपालिकाको कर्सिया र विराटनगरमा भेटघाट, जनअन्तरक्रिया तथा सभाको आयोजना गर्ने माओवादीले जनाएको छ ।
यस्तै फागुन १४ गते सुनसरीको बर्जु गाउँपालिकाको चिमडी, गढी गाउँपालिकाको हरिनगरा, लौकही र इनरुवामा भेटघाट, जनअन्तरक्रिया तथा सभाको आयोजना गर्ने तय भएको छ ।
अभियानको क्रममा पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उपमहासचिवहरूसहितको केन्द्रीय टोली सबै कार्यक्रममा सहभागी हुने अध्यक्ष नेम्वाङले जानकारी दिए ।
यस्तै केन्द्रीय टोलीको बिदाइपछि फागुन महिनाभरि हुलाकी राजमार्ग केन्द्रित प्रदेशस्तरीय अभियान सञ्चालन गर्ने उनले जानकारी दिए । ‘अभियान अवधिमा अन्य पार्टीका कम्तीमा ५ हजार नेता तथा कार्यकर्ता र सामाजिक व्यक्तित्वहरूलाई पार्टी प्रवेश गराउने लक्ष्य छ । अभियानमा ०६४ मा माओवादीलाई मतदान गर्ने जनतासँग भेटघाट, स्वागत र पुनर्मिलन गराइनेछ,’ उनले भने ।
अभियानको क्रममा तराई चुरे जनसाङ्गीतिक अभियान ‘समाजवादी संस्कृति र चेतना जागरणको लागि तराई चुरे अभियान’ समेत सञ्चालन गरिने नेम्वाङले जानकारी दिए । अभियानकै क्रममा हिमाली र पहाडी जिल्लाबाट बसाइ सराइ वा अन्य कामको सिलसिलामा झापा, मोरङ, सुनसरी, उदयपुरमा रहेका पार्टीका कार्यकर्ता तथा शुभचिन्तकहरूलाई संगठित गर्ने, किसानका समस्यालाई समाधान र सहजीकरण गर्न पार्टीको केन्द्रीय सदस्य र प्रदेशको नेतृत्व र जनप्रतिनिधिहरूमार्फत कृषि मल, बिउ, प्रविधि, सिँचाइ, कृषि उपजको बजारीकरण र प्रशोधनलगायत समस्याको समाधान गर्न सहजीकरण गर्ने, भ्रष्टाचार, बेथिति, ढिलासुस्ती, कर छली, तस्करी र अनियमितताविरुद्ध निगरानी र भण्डाफोर अभियान चलाउने पनि उनले जानकारी दिए ।
६४ सालमा फर्काउने दाबी
पत्रकार सम्मेलनमा बोल्दै माओवादी कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेल (शितलकुमार)ले निरन्तर अभियान सञ्चालन गरेर माओवादीलाई ०६४ सालकै हैसियतमा फर्काउने दाबी गरे ।
माओवादीले ०६४ सालमा प्रत्यक्ष र समानुपातिक गरेर २३८ सिट जितेको थियो भने झापा, मोरङ र सुनसरीको २२ सिटमा १० सिट जितेको थियो । ‘हामीले त्यसबेला झापामा ५ सिट, मोरङमा ४ सिट र सुनसरीमा १ सिट जितेका थियौँ । किराँतमा त्यसबेला दुई तिहाइ जितेका थियौँ । लिम्बूवान अलिक कमजोर भयो । अहिले हामी ०६४ फर्काउन लागेका छौँ,’ उनले भने ।
त्यसको आधार गत मंसिर १५ गते सम्पन्न उपनिर्वाचन रहेको गजुरेलले बताए । ‘उपनिर्वाचनमा सिटको हिसाबले र मतको हिसाबले हामी कोशीमा पहिलो पार्टी बन्यौँ,’ उनले भने ।
गजुरेलले ०६४ सालमा माओवादीलाई मत दिनेलाई र उनीहरूका सन्तानलाई पनि अभियानका क्रममा संगठित गर्न प्रयास गर्ने बताए । ‘अब हामी जनतासँग भेटघाट र जनसम्बन्ध सुधार गर्नेतिर हामी जान्छौँ । ऐतिहासिक मिसनको सुरुवात पूर्वबाट भयो,’ गजुरेलले भने ।
उनले माओवादीले कांग्रेसको रुख चिह्नमा छाप हान्ने ठाउँमा पुगेकै कारण कमजोर बन्न पुगेको बताए । अब त्यस्तो नहुने पनि उनले दाबी गरे । ‘अहिले तपाईंहरूले पत्याउनु हुन्न होला तर, हेर्दै जानुहोला माओवादीले ०८४ सालको निर्वाचनमा एक्लै लडेर पूर्वबाट लिड गर्छ,’ उनले भने ।
१२ बुँदे समसामयिक प्रस्ताव पारित
यसैबिच माओवादी केन्द्र कोशी प्रदेशको प्रदेश परिषद् बैठकले १२ बुँदे समसामयिक प्रस्तावहरू पारित गरेको छ । फागुन ३ गते बसेको उक्त बैठकले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणकार्यको विरोधमा आन्दोलनरत पक्षलाई गोली हानी घाइते बनाएको घटनाको घोर भर्त्सना गरिएको छ ।
उक्त विषयमा वार्तामार्फत समाधान खोज्न र तत्कालका लागि निर्माण रोक्न आग्रह गरिएको छ ।
यस्तै गत भदौ–असोजको वर्षापछि आएको बाढी पहिरोबाट प्रभावित भएकाहरूलाई क्षतिपूर्ति दिन र भत्किएको पुल, बाटोघाटो, खाने पानी, सिँचाइ लगायतका भौतिक संरचना तत्काल पुनर्निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
तत्काल किसानलाई मल उपलब्ध गराउन, दैनिक उपभोग्य वस्तु र रड, सिमेन्टजस्ता निर्माण सामग्रीको आकासिँदो मूल्यवृद्धि नियन्त्रण गर्न, प्रदेश सरकारले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी ल्याएको आम सञ्चार विधेयकका प्रावधान खारेज गर्न, कृषिउपजको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न, औपचारिक क्षेत्रका श्रमिकहरूको ज्याला वृद्धि गर्न र अनौपचारिक क्षेत्रका मजदुरहरूको न्यूनतम ज्याला निर्धारण गर्न माग गरिएको छ ।
प्रदेश सरकारको चालु आर्थिक वर्षमा पारित बजेट तथा योजना अनुसार सहिद आवास कार्यक्रम तत्काल कार्यान्वयन गर्न र विकास निर्माण, सार्वजनिक सेवा र सुशासनको क्षेत्रमा हुने गरेको, अनियमितता, ढिलासुस्ती र बेथितिलाई नियन्त्रण गर्न पनि माओवादीले माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय वाणिज्य बैंकद्वारा ९७ जना नवनियुक्त कर्मचारीहरूलाई पूर्व सेवाकालीन तालिम प्रदान
-
सुरजको अलराउण्ड प्रर्दशनमा शुक्लाफाँटाको पहिलो जित
-
विकासको मोडेलमा परिवर्तन गर्न नसक्दा योजनाबद्ध विकास हुन सकेन : मन्त्री दाहाल
-
पोखरा विश्वविद्यालयबाट सात हजार ८७२ विद्यार्थी दीक्षित
-
पोखरा महानगरपालिकाका मेयर आचार्य डिस्चार्ज
-
तस्बिरमा हेर्नुहोस् वाटरकलर ओडिसी प्रदर्शनी