बिहीबार, ०८ फागुन २०८१
ताजा लोकप्रिय

कमलपोखरी र पोखरा विस्फोट घटना : उद्धार र उपचारमा पनि राज्यको चरम विभेद

मन्त्री घाइते हुँदा हेलिकोप्टर चार्टर्ड, मजदुरले एम्बुलेन्स पनि पाएनन्
सोमबार, ०५ फागुन २०८१, २१ : ३०
सोमबार, ०५ फागुन २०८१

काठमाडौँ । सरकारले पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोटको विषय छानबिन गर्न आठ सदस्यीय छानबिन समिति गठन ग¥यो । शनिबार भएको सो घटनामा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको घाइते भएका थिए ।

यो घटनापछि आइतबार बिहान मन्त्रीस्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण हेटक्वार्टरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उप अनुसन्धान निर्देशक सुरेश कुमार तिवारी सदस्य र कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री सदस्य सचिव रहेका छन् । साथै समितिमा एक जना विस्फोटक पदार्थ विज्ञ समेत हुनेछन् ।

समितिलाई बेलुन विस्फोट घटनाको के कसरी भयो ? त्यसको विस्तृत छानबिन गरी आगामी दिनमा यस प्रकारका कार्यक्रम गर्दा पूर्वसतर्कता र सुरक्षाका मापदण्ड अवलम्बन गर्नेबारे आवश्यक उपायसहितको प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ । १५ दिनको समय दिएर बनाइएको उक्त समितिले आइतबारदेखि नै काम थालेको गृह मन्त्रालयले जनाएको छ ।

गत माघ २४ गते कमलपोखरीस्थित शान्दार मःम पसलमा ग्यास विस्फोट हुँदा त्यहाँ काम गर्ने ११ जना घाइते भए । घाइतेमध्ये ४ जनाको उपचारका क्रममा कीर्तिपुर वर्न अस्पतालमै मृत्यु भइसकेको छ । मृत्यु हुनेहरूमा मःम पसलमा काम गर्दै आएका काभ्रेको बेथानचोक घर भइ कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामा, उदयपुर घर भएका २२ वर्षीय प्रदीप तामाङ, हेटौंडा घर भएका १८ वर्षीय रविन राई र उदयपुर घर भएका २० वर्षीय भीम बहादुर घले छन् । 

उपत्यकामै ग्यास विस्फोटजस्तो घटना भएर चारजनाको ज्यान जाँदा समेत सरकारले अहिलेसम्म घटनाको विषयमा कुनै छानविन समिति गठन गरेको छैन, न त जिम्मेवार निकायले घटना हुनुको कारणबारे एकीन रिपोर्ट नै दिएका छन् । यो अवस्थाले ग्यास विस्फोटको यति ठूलो घटनाप्रति सरकार गम्भीर नदेखिएको प्रष्ट हुन्छ । जबकी शनिबार पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन कार्यक्रम उद्घाटनमा भएको बेलुन विस्फोट घटना प्रति जति गम्भिर बन्यो । सबैभन्दा प्रज्वलनशील मानिने हाइड्रोजन ग्यास भरिएको बेलुनमा आगोको झिल्का पर्दा विस्फोट भएको घटना सामान्य रुपमा हेर्दा छानबिन गर्नुपर्नेजस्तो देखिँदैन । 

राज्यशक्तिको ‘दुरुपयोग’, घाइतेको उद्धारमा पनि विभेद

विषय छानबिन समितिमा मात्रै पनि सीमित रहेन । यी दुई घटनामा घटना भएपछि घाइतेलाई अस्पताल लैजाने सामान्य विषयमा समेत अत्यन्तै ठूलो विभेद गरियो । सचिवालयले नै सामान्य घाइते भएको भनिएको घटनामा अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई हेलिकोप्टर चार्टर्ड गरेर काठमाडौं ल्याइयो, त्यो पनि छुट्टाछुट्टै । मन्त्री पौडेललाई सिम्रिक एअरको हेलिकप्टरमार्फत ल्याइएको थियो भने मेयर आचार्यलाई एयर डाइनेस्टीको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । केही समयको अन्तरमा काठमाडौं आइपुगेका उनीहरू चाहेका भए एउटै हेलिकोप्टरमा पनि आउनसक्ने अवस्था देखिन्छ । तर, दुईवटा हेलिकप्टरबाट काठमाडौँ ल्याउनु राज्य शक्ति र पदको दुरुपयोग भएको भन्दै सामाजिक सञ्जालमा चर्चासमेत भएको छ ।

उता, ग्यास विस्फोटको घटनामा जलेर उपचारका लागि अस्पताल लैजाँदाको दृश्य भने हृदयविदारक थियो । राजधानीको मुटुमा रहेको त्यो स्थानमा समयमै एम्बुलेन्स समेत नपुगेपछि घाइतेलाई मालवस्तु बोक्ने गाडीमा कोचेर अस्पताल पुर्‍याएको थियो । 

बेलुन विस्फोटमा सामान्य घाइते अर्थमन्त्री  पौडेल र मेयर आचार्यलाई कीर्तिपुर वर्न अस्पतालको सघन कक्षमा राखेर उपचार गरियो । यतिमात्र होइन, सामान्य दुईजनाको उपचारका लागि ४ टोली खटाइयो । दुई जनाको उपचारमा प्राडा बीडी झा, डा प्रवीण गिरी लगायत सहभागी रहेको सघन उपचार कक्षको टोली उपचारमा खटाइएको थियो ।

त्यस्तै प्राडा शंकरमान राई, डा. विशाल कार्की, डा. मनीष यादव लगायतको जलन विशेषज्ञहरुको टोली, डा. प्रयुष अर्याल लगायतको आकस्मिक उपचार टोली र रिना गौचन, निर्मला कुँवर, तृष्णा महर्जन लगायतको नर्सिङ टोली पनि दुई जनाको उपचारमा संलग्न भए ।

सहानुभूतिमा समेत ‘प्रोटोकल’

दुईवटा फरक फरक दुर्घटनापछि घाइतेको स्वास्थ्य अवस्था बुझ्ने सन्दर्भमा पनि त्यत्तिकै विभेद देखियो । अर्थमन्त्री पौडेल र मेयर आचार्यललाई भेट्नका लागि राष्ट्रपति, प्रधानमन्त्री, सभामुखदेखि उच्च ओहोदाका अधिकांश व्यक्तिको लाइन लागेका थिए । आइतबार राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे लगायत नेताहरू बेलुन विस्फोटमा घाइते अर्थमन्त्री र मेयरलाई भेट्न अस्पताल पुगेका थिए । 

उता ग्यास विस्फोटमा परेर घाइते भइ मृत्युशैयामा पुग्दा समेत अस्पतालमा राज्यको उपस्थिति देखिएन । दुई जनाको मृत्यु समेत भइसकेपछि चार दिनपछि मात्रै स्वास्थ्यमन्त्री प्रदीप पौडेल घाइतेको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका थिए । उनीबाहेक अरू कसैको उपस्थिति देखिएको छैन । घाइते भएकामध्ये चार जनाले ज्यान गुमाइसक्दा अरु घाइतेको अवस्था समेत गम्भीर रहेको देखिन्छ । 

बेलुन घटनामा परेका अर्थमन्त्री पौडेल यतिबेला डिस्चार्ज भइसकेका छन् । तर, त्योभन्दा अगाडी नै ग्यास दुर्घटनामा परेका अहिले पनि त्यही अस्पतालमा उपचाररत छन् । यतिसम्म अर्थमन्त्री र मेयरलाई भेट्न अस्पताल पुगेको कोही पनि उच्चपदस्थले ग्यास विस्फोटका घाइतेलाई भेटेर विपत्तिमा सरकार साथमा रहेको आभाष गराउने आवश्यकता महशुस समेत गरेनन् । 

कमलपोखरी घटनाबारे ‘हचुवा’ निष्कर्ष 

कमलपोखरी घटनाबारे छानबिन गर्न सरकारले आधिकारिक रुपमा कुनै समिति बनाएको छैन । यद्यपि, नेपाल आयल निगमले यसबारे प्रारम्भिक अध्ययन गरिएको जनाएको छ । निगमको एलपी ग्यास विभाग प्रमुख सुरज साहले घटनाबारे प्रारम्भिक अध्ययन गरे पनि कारण पत्ता नलागेपछि थप अनुसन्धानको जिम्मा प्रहरीलाई दिएको बताए ।
‘हाम्रो तर्फबाट गुणस्तर तथा नापतौल विभागका कर्मचारीसहितको टोलीले प्रारम्भिक अध्ययन गरेका थियो । यो प्रहरीको क्षेत्राधिकारको विषय भएकोले हामीले उहाँहरूलाई नै अनुसन्धानको जिम्मा दिएका छौँ,’ प्रमुख साहले भने, ‘ग्यास उद्योगीलाई जानकारी दिन पत्राचार गरेका छौँ । अनुसन्धानपछि उद्योगीलाई आवश्यक कारबाही अघि बढाउने काम पनि प्रहरीले नै गर्छ ।’ उक्त घटनामा सीता श्री ग्यास उद्योगको सिलिन्डर विस्फोट भएको उनले बताए । 

ग्यास विस्फोटका पीडितको क्षतिपूर्तिबारे अन्योल

त्यसो त, ग्यास विस्फोट घटनाका पीडितले पाउने उपचार तथा मृतकले पाउने क्षतिपूर्तिको विषयमा समेत अन्यौल देखिन्छ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरको भनाइमा यस्तो दुर्घटनामा मृतक तथा घाइतेको बीमाबारे निगमले कुनै कानूनी व्यवस्था गरेको छैन । 

तर, नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले भने सिलिन्डर विस्फोट परेका मृतक तथा घाइतेलाई एक करोड रुपैयाँसम्मको बीमाको व्यवस्था रहेको उल्लेख गरे । यसमध्ये भौतिक क्षतिका लागि ४० लाख र मानवीय क्षतिका लागि ६० लाख रुपैयाँको सीमा रहेको उनको भनाइ छ । 

‘बीमा गरिएको कुल एक करोड मध्ये ४० लाख भौतिक संरचना  क्षतिको ६० लाख मानवीय क्षतिको लागि दाबी भुक्तानी हुने व्यवस्था छ,’ अध्यक्ष घिमिरेले भने, ‘सोहि अनुसार मःम पसलको घटनाका पीडितले दाबी भुक्तानी पाउँछन् । साथै सम्बन्धित उद्योगले उक्त बीमाका लागि दाबी गर्ने प्रक्रिया अघि बढाइसकेको छ ।’ 

अध्यक्ष घिमिरेका अनुसार उक्त बीमा रकमबाट घाइतेको उपचारमा लागेको खर्च भुक्तानी दिइन्छ । बाँकी रकम मृतकका आफन्तले कानुनी रुपमा पाउने व्यवस्था रहेको उनको भनाइ छ । 

यस्तो छ शान्दार मःमः घटनाको विवरण

कमलपोखरीमा सञ्चातिल शान्दार मःम पसलमा चुहिएको ग्यासमा स्पार्क भएपछि आगलागी भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । रामेछाप घर भएका शेरबहाुदर श्रेष्ठले ३ तलाको भवनमा मःमः पसल सञ्चालन गरेका थिए । पसलको अन्डरग्राउण्डमा ३५ वटा ग्यासको सिलिन्डर थिए । तीमध्ये ६ वटा प्रयोग नगरिएको र २९ वटा सिलिन्डर खोलिएको अवस्थामा थियो । पहिलो तलामा मःमः पकाउने र त्यसभन्दा माथि कामदार बस्नेगरी व्यवस्थापन गरिएको थियो ।

विस्फोट भएको दिन बिहानै कामदार उठेर अन्डरग्राउन्डमा गएर मःमः बनाउन सुरु गरेका थिए । चिया अथवा पानी तताउन खोज्दा स्पार्क भएर आगलागी भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहरा भन्छन्, ‘ग्यास लिक भएर बसेको र त्यसमा आगोले टिपेपछि आगलागी भएको देखिन्छ ।’ 
अन्डरग्राउण्ड स्थित मःमः र झोल तयार गर्ने ठाउँमा पनि चुल्हो थियो । प्रहरीले ग्यास सिलिन्डर पनि परीक्षण गर्न राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा पठाएको एसपी अपिलराज बोहराले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप