बिहीबार, ०८ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
भारतमा नेपाली छात्राको मृत्यु प्रकरण

भारतमा नेपाली विद्यार्थी मृत्यु प्रकरण : युवकको लगातार यातना सहन नसक्दा निम्तिएको घटना

सोमबार, ०५ फागुन २०८१, २० : ००
सोमबार, ०५ फागुन २०८१

काठमाडौँ । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)की नेपाली विद्यार्थी प्रकृति लम्साल आत्महत्या प्रकरणले चर्को रूप लिएको छ । प्रकृति आइतबार साँझ होस्टेलको आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । 

उक्त घटनामा मुछिएका आद्विक श्रीवास्तवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर, विश्वविद्यालयले नेपाली विद्यार्थीहरूलाई विश्वविद्यालय छोड्ने उर्दी जारी गरेसँगै २०० भन्दा बढीको संख्यामा नेपाली विद्यार्थी स्वदेश फर्किन लागेका छन् । उनीहरू अहिले नेपाल फर्किन बसस्टपमा छन् भने कोलकत्ताबाट रेलमार्फत उनीहरू नेपाल फर्किने तयारीमा छन् । 

रातोपाटीको सम्पर्कमा आएका विद्यार्थीहरूले घटनाबारे विस्तृत जानकारी दिएका छन् । उनीहरूको परिचय भने गोप्य राखिएको छ । उनीहरूले रातोपाटीलाई दिएको विस्तृत जानकारीको सम्पादित अंश: 

एक विद्यार्थीका अनुसार,

अहिले विश्वविद्यालयमा ‘केआईआईटी फेस्ट २०२५’ चलिरहेको छ । त्यहाँबाट फर्केर आउँदा प्रकृति फोनमा कुरा गरिरहेकी थिइन् । फोनमा कुरा भइरहेको थियो, कोसँग हो भन्ने यकिन हुन नसके पनि ब्वायफ्रेण्डसँग हो भन्ने अनुमान थियो । 

प्रकृति खासै कोहीसँग नबोल्ने, कमै व्यक्तिसँग घुलमिल हुने खालकी हुन् । एकदमै अनुशासित, मिजासिली थिइन् । फोनमा कुरा भइसकेपछि उनी एकदमै उदास थिइन् । त्यसपछि ती युवकसँग झगडा परेको होला भन्ने लागेको थियो । 

फेस्टबाट फर्किँदा कलेजको ड्रेस पनि चेन्ज गरेकी थिइनन् । त्यसको भोलिपल्ट पनि कलेजको ड्रेसमै थिइन् । 

त्यो बेला पनि युवकसँग कुराकानी गरिरहेकी थिइन् । त्यसपछि दोस्रो दिन (हिजो) चार बजेतिर मृत भेटिइन् । उनी बस्ने होस्टेलको कोठा भित्रबाट चुकुल लगाएको थियो । त्यसपछि भेन्टिलेसन फोडेर हेर्दा झुण्डिएको भनियो । 

हामी त्यता पुग्दा कलेज प्रशासनले आत्महत्या गरेको भनेको थियो । तर, हामी कसैलाई पनि शव हेर्न दिइएन । कलेजमै उनका दाइहरू समेत पढ्छन् । तर, उनीहरूलाई समेत शव हेर्न दिएन । त्यसपछि कलेज प्रशासनको चरित्रमाथि नै शंका लाग्न थाल्यो । 

कसैलाई पनि शव नदेखाई विश्वविद्यालयकै अस्पतालमा लगेर मृत घोषणा गरिएको थियो । 

उनको कोठामा हेर्दा ल्यापटप पनि खुल्लै थियो । फोनमा समेत ती युवकसँगै भिडियो कलमा कुराकानी भएको देखिन्छ । उनको फोनमा कल काटिएपछि पनि देखिएको कटअपले उनले युवकसँगै कल गर्दा गर्दै आत्महत्या गरेको अनुमान हाम्रो हो । 

आत्महत्यापछिको घटनालाई विश्वविद्यालयले एकदमै लुकाउन खोजेको थियो । फेस्ट सकेर केटा विद्यार्थीहरूले आत्महत्या गरेको थाहा पाएपछि ब्वाइज होस्टेलबाट गल्र्स होस्टलतर्फ आए । भित्रै पसेर हो–हल्ला गर्न थालेँ । त्यसपछि वार्डेनले उनीहरू बाहिर पठायो । 

विश्वविद्यालयको ‘क्यूबीसी–४’ होस्टेलमा उनले आत्महत्या गरेकी थिइन् । त्यसमा नेपाली विद्यार्थी मात्र नभई भारतीय विद्यार्थीहरूले समेत साथ दिएका थिए । तर, विश्वविद्यालयले भने घटनालाई सकभर दबाउने प्रयास गरेको थियो । त्यसपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् ।

त्यसपछि छात्र विद्यार्थीहरू हिजो रातभर बाहिर बसेर आन्दोलन गरिरहे । भने छात्रा विद्यार्थीहरू समेत होस्टेलभित्रै बसेर रातभर जागराम बसिरहे । भित्र जागराम बसिरहेका छात्राहरूलाई प्रहरी आएर फकाउन थाले । तर, विद्यार्थीहरू होस्टल बाहिरै बसे । 

हिजो रातभर आन्दोलनमा उत्रिएका विद्यार्थीहरूलाई आज बिहान भने विश्वविद्यालयले नेपाल फर्किन उर्दी जारी गर्यो । सुरुमा तिमीहरू सबैजना आ–आफ्नो सामानहरू समेत लिएर घर फर्किन भनेको थियो । तर, पछि सामान यतै राखेर आफू मात्रै स्वदेश फर्किन भन्दै नोटिस जारी गरेको थियो । 

480394338_1369289231144176_7311142663327799862_n

आज बिहान विश्वविद्यालय परिसरभित्र प्रहरी प्रवेश गरेर नेपाली विद्यार्थीहरूलाई एक एक गरेर गाडीमा राख्यो । 

बोरामा खाधेझै गरेर उनीहरूलाई गाडीमा हालेर बसस्टपम्म पुर्‍याएको हो । भने छात्राहरूलाई पनि गाडीमा हालेर बस स्टेसनसम्म पुर्‍याएको थियो । 

 बस स्टेसनमा रहेका नेपाली विद्यार्थीले अब राति सात बजेतिर रेल आएपछि त्यही रेलमार्फत नेपाल फर्किन लागेको बताएका छन् । 

रेल स्टेसनमार्फत राति ७ बजेतिर कोलकोत्ताबाट रेल चढेर गोरखपुर आउने ती विद्यार्थीहरूको भनाइ छ । 

विद्यार्थीहरूलाई नेपाल पठाउँदा प्रहरी र कलेज प्रशासनले फोन समेत फर्मेट गर्न लगाएको एक विद्यार्थीको भनाइ छ । 

उक्त घटनापछि विरोध प्रदर्शनमा उत्रिएका नेपाली विद्यार्थीलाई होस्टेलको वार्डेन र होस्टेल डाइरेक्टरले थर्काएकी थिइन् । प्राप्त भिडियोमा होस्टेल वार्डेनले विश्वविद्यालयले ४० हजार विद्यार्थीलाई पढाउने र फ्रिमा खुवाउने काम गरिरहेको बताएकी छन् । 

निकै आक्रोशित हुँदै बोलेको भिडियोमा उनले भनेकी छन्, ‘तुम्हारा नेपालका बजेटसे बड़ा हमारे युनिवर्सिटीका बजेट है, तुम लोगको फ्री में बैठाकर खिलारहे है ।’ अर्थात् तिमीहरूको देशको भन्दा बढी बजेट हाम्रो विश्वविद्यालयको छ, तिमीहरूलाई फ्रिमा बसाएर खुवाइरहेका छौँ । 

पुरुषले आफूमाथि दुर्व्यवहार गरेको भन्दै केही दिन अगाडि प्रकृतिले उजुरीसमेत दिएकी थिइन् । उजुरीपछि पनि विश्वविद्यालयले वास्तै गरेको थिएन । 

त्यहाँ अध्ययनरत १२ सयभन्दा बढी नेपाली विद्यार्थी आन्दोलनमा उत्रिएपछि विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयले नेपाली विद्यार्थीलाई कलेजमा प्रवेश रोक लगाएको हो । होस्टेलमा बस्नेहरूलाई प्रहरी लगाएर निकै अराजक शैलीमा सामान प्याक गर्न लगाउँदै, लखेट्दै गाडीमा हालेर बस स्टेसनसम्म पुर्‍याएको विद्यार्थीहरूको भनाइ छ । 

रजिस्ट्रार कार्यालयको निर्देशनपछि त्यहाँ अध्ययनरत सबै नेपाली विद्यार्थी स्वदेश फर्किन लागेका एक विद्यार्थीले बताए । 

6f9c3f19-cba5-450a-9187-78225809a4a7

पटक–पटक दुर्व्यवहार: 

प्रकृतिका साथीहरूका अनुसार उनी युवकलाई असाध्यै माया गर्थिन् । तर, युवक श्रीवास्तले भने उनलाई पटक पटक दुर्व्यवहार गर्ने गरेको पाइएको हो । उनको यातना सहन नसकेर आत्महत्या गर्न बाध्य भएको विद्यार्थीहरूको भनाइ छ ।

आत्महत्या गर्नुअघि युवकसँग गरिएको कुराकानीमा कस्तो खालको गाली दिन्थ्यो भन्ने कुरा सार्वजनिक भएको एक अडियोमा सुन्न सकिन्छ । निकै नै अश्लील गाली गर्दा समेत उनले मायाको भीख मागेको अडियोबाट प्रस्ट हुन्छ । 

‘तिमीले मलाई कति गाली दिन्छौँ । मैले जति माया गर्छु, तिमै लागि मात्र गर्छु,’ प्रकृतिले उनलाई भनेकी छिन् । तर, युवकलाई उनलाई अश्लील गाली गर्दै ‘मेरो मुख नलाग’ भनेका छन् । 

यसअघि समेत श्रीवास्तवले उनलाई दुर्व्यवहार गरेको भन्दै विश्वविद्यालयले रेस्टिकेट गरेको थियो । तर, उनले पटक पटक दुर्व्यवहार गर्ने गरेको भन्दै कलेजमा उजुरी दिए पनि कलेज प्रशासनले कुनै सुनुवाइ नगरेको विद्यार्थीहरूको भनाइ छ । 

 

विद्यार्थीहरूलाई कलेज फर्किन अनुरोध: 

चौतर्फी दबाबपछि विश्वविद्यालयले घर फर्किन लागेका नेपाली विद्यार्थीलाई कलेज फर्किन अनुरोध गरेको छ । विश्वविद्यालयले एक सार्वजनिक अपिल जारी गर्दै क्याम्पस छाड्ने वा योजना बनाएका सम्पूर्ण नेपाली विद्यार्थीलाई फर्केर कक्षाहरू सुरु गर्न अपिल गरेको हो । 

घटनालगत्तै त्यहाँको प्रहरीले दोषीलाई पक्राउ गरेको जनाएको छ । केआईआईटी प्रशासनले शैक्षिक गतिविधिहरू सुरु गर्न सबै प्रयास गरेको विश्वविद्यालयले जनाएको छ ।

यसअघि विश्वविद्यालयले विज्ञप्ति जारी गरेर थप अप्रिय घटना हुन नदिन नेपाली विद्यार्थीलाई नेपाल पठाइएको बताएको थियो । विद्यार्थीहरूलाई क्याम्पसमा फर्कन प्रोत्साहित गरिने भन्दै उनीहरूको शैक्षिक पक्षलाई बाधा नपुर्‍याउने जनाएको थियो ।

479917379_937399611901337_3685895241737652224_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप