कर्णालीमा ‘स्वाइनी’ स्वर’

सुर्खेत । कर्णालीका तीन फरक क्षेत्रका ‘स्वाइनी’ (खस भाषामा महिला’ एकै थलोमा जम्मा भएर आफ्ना संघर्षका कथा सुनाउन थाले । सोमबार कर्णाली उत्सव : कुडा कर्णालीमा महिला आन्दोलन थिममा निम्त्यिाइएका थिए लक्ष्मीकुमारी बस्नेत, दिलमाया शाही र पुना कामी ।
सुर्खेतकी लक्ष्मी कर्णाली प्रदेशबाट निजामती सेवातर्फ पहिलो महिला सचिव हुन् । उनी हाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सचिव छिन् । जुम्लाकी दिलमाया पत्रकारिता गर्छिन् । कालीकोटकी पुना स्थानीयस्तरमा अभियन्ताका रूपमा चिनिएकी छन् ।
कर्णालीमा महिला आन्दोलन (स्वाइनी स्वर) मा तीन प्रेरणादायी महिलासँग संवाद गर्दै थिइन् द स्टोरी किचनकी जया लुइँटेल ।
हाल नेपाल सरकारकी सचिव लक्ष्मीकुमारी बस्नेत २०६३ सालमा ११७ मध्ये ३६ जना महिला अधिकृतमा पास हुँदा कर्णालीकी एक्ली प्रतिनिधि थिइन् । ‘त्यतिबेला छोरी घरबाट धेरै टाढा जानु हुँदैन भन्ने मान्यता थियो । म काठमाडौँमा बसेँ । २०६७ मा एकैपटक सहसचिव पास भएँ । सहसचिव भएपछि विभिन्न मन्त्रालयमा बसेर काम गर्ने अवसर पाएँ,’ उनले भनिन् ।
शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा काम गर्दा द्वन्द्वपीडित महिलाहरूसँग नजिक रहेर काम गर्ने, उनीहरूका दुःख बुझ्ने मौका पाएको बस्नेतले बताइन् । पछिल्लो समय हरेक क्षेत्रमा क्षेत्रमा महिला नेतृत्व अघि बढेको देख्दा खुसी छिन् उनी ।
जुम्लामा दिलमायाले निर्भिक पत्रकारको पहिचान बनाएकी छन् । जुम्ली समाजमा महिला विशेषगरी बालिकाहरूले भोग्नुपरेका विभिन्न खाले दुर्व्यवहारविरुद्ध उनी कलममात्र चलाउँदिनन्, तिनको न्यायका लागि प्रहरी प्रशासनसमक्ष दबाब दिन पुग्छिन् । उनको साहसिक पत्रकारितालाई कदर गर्दै नेजा पुरस्कार प्रदान गरिएको थियो । पछौटेपनमा व्याप्त समाजमा बसेर पत्रकारिता गर्नुका संघर्ष उनले सुनाइन् ।
‘महिला तथा बालबालिका कार्यालयले पारालिगल कमिटी बनाएर मलाई अध्यक्ष बनायो । यो कमिटीले घरेलु हिंसाको विषयमा सचेतना दिन्थ्यो,’ दिलमायाले भनिन्, ‘मैले काम गर्दा मसँग आउने घरेलु हिंसामा परेका आमाहरूले हिंसा भएको लुकाउनुहुन्थ्यो । काम गर्दा चोट लागेको भन्नुहुन्थ्यो । उहाँहरूले परिवारको लाज हुन्छ भनेर लुकाएको पाएँ, बिस्तारै आफ्नै जीवनमा पनि हिंसा खेपेँ ।’
पारालिगल कमिटीमा महिला हिंसाका घटना देखेपछि उनी पत्रकारितातर्फ आकर्षित भइन् । पत्रकारिताकै माध्यमबाट समाज सुधार गर्नुपर्छ भन्ने निष्कर्षमा उनी पुगिन् ।
दिलमायाका बुझाइमा अन्यायमा परेका महिला र बालबालिकालाई न्याय दिन र सशक्त बनाउन राज्यले जति काम गर्नुपर्थ्यो, त्यति भएकै छैन ।
उनले भनिन्, ‘पत्रकारिताबाट समाजलाई धेरै योगदान पुर्याउन सकिन्छ । महिलाहरू घरभित्रै बस्नुपर्छ, लजाउनुपर्छ भन्ने मान्यता समाजमा अहिले पनि छ । यसले महिलालाई सामाजिक क्षेत्रमा काम गर्न केही चुनौती छ ।’
अभियन्ता पुना कामीले सशस्त्र द्वन्द्वका बेला महिलामाथि हुने ज्यादतीविरुद्ध कालीकोटमा बसेर काम गरेको अनुभव सुनाइन् । ‘घरभित्र गोली आउन थालेपछि हामीले राज्य पक्षको बन्दुक खोस्यौँ, महिलाहरूले द्वन्द्वमा धेरै पीडा भोगे, तर अझै न्याय पाएका छैनन्,’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घाँस काट्दै गर्दा लडेर स्वास्थ्य स्वयंसेविकाको मृत्यु
-
हलिउड फिल्ममा सलमान ? लिक भयो फर्स्ट लुक
-
रेखा गुप्ता बनिन् दिल्लीकी नवौँ मुख्यमन्त्री, केजरीवाललाई हराउने वर्मा मन्त्री
-
पानामाको होटलमा राखिएका ३०० डिपोर्टीमा नेपाली पनि
-
सहिद साझा सम्पत्ति हुन्, सम्मान गर्नु राज्यको दायित्वः प्रचण्ड
-
मस्कको ‘डज’ ले बचाएको पैसाको २० प्रतिशत अमेरिकीलाई बाँड्दैछन् ट्रम्प