हेटौँडा सिमेन्टको ‘रोप–वे’ लिलाम बिक्री, प्राप्त रकमले कच्चा पदार्थ खरिद गरिने

हेटौँडा । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको रोप–वे अन्ततः बिक्री भएको छ । आर्थिक अभावको मार खेपिरहेको उद्योगले लामो समयदेखि बन्द अवस्थामा रहेको रोप–वे बिक्री गरेको हो ।
विगत ९ वर्षदेखि पटक/पटक आफ्नो रोप–वे लिलामीको उद्योगको असफल प्रयास गर्दै आएको थियो । ९ वर्षअघि पहिलो पटक रोप–वे लिलामी प्रक्रिया सुरु गरेको उद्योगको प्रयास हालसम्म सफल हुन सकेको थिएन । उद्योगले पटक–पटक लिलामी प्रक्रिया अघि बढाएर बोलपत्र आह्वान गरे पनि बन्द अवस्थाका उपकरण खरिद गर्न खरिदकर्ताको बोलपत्र परेको थिएन ।
खरिदकर्ताले लिलामी प्रक्रियामा बोलपत्र दर्ता नगराएपछि उद्योगले हरेक पटक लिलामी दर पनि घटाउँदै आएको थियो । बन्द अवस्थामा रहेको रोप–वे का उपकरणहरू लिलामीका लागि पहिलो पटक सूचना आह्वान गर्दा उद्योगले उक्त रोप–वे र जगेडा पार्टपुर्जाका लागि मूल्य अभिवृद्धि करबाहेक न्यूनतम ६ करोड १६ लाख ५३ हजार ३५२ रुपैयाँ कायम गरिएको थियो । खरिदकर्ताको बोलपत्र नपरेपछि उद्योगले दोस्रो पटक मूल्य घटाएर लिलामीका लागि लिलामी मूल्य ४ करोड ६१ लाख रुपैयाँ निर्धारण गरेको थियो । सो समयमा पनि रोप–वे लिलामी प्रक्रियामा खरिदकर्ताले बोलपत्र परेको थिएन ।
२०७४ मा पुनः मूल्य घटाएर लिलामीको सूचना जारी गरेको उद्योगले २ करोड ८० लाख रुपैयाँ कायम गरेर बोलपत्र आह्वान गरेको थियो । तर, सो समयमा पनि रोप–वे लिलामीमा खरिदकर्ताको बोलपत्र नपरेपछि बन्द रोप–वे हालसम्म जीर्ण र अलपत्र अवस्थामा रहँदै आएको थियो ।
हेटौँडा–९ मा रहेको उद्योगले विगतमा सिमेन्ट बनाउन आवश्यक चुन ढुङ्गा ढुवानीको लागी प्रयोगमा ल्याएको रोप–वे बिक्री गरेको हो । उद्योग प्रशासनले बाराको लिपनीमाल स्थित श्री पि.एस एण्ड सन्स इन्टरप्राइजेजलाई भ्याटसहित ४ करोड २५ लाख ६ हजार ८० रुपैयाँमा रोप–वे बिक्री गरेको जनाएको छ । रोप–वे बिक्री गर्ने विषयमा गत पुस ७ गते सम्झौता भएको उद्योगका सूचना अधिकारी हरेराम आचार्यले जानकारी दिए ।
उनका अनुसार तीन किस्तामा सम्पूर्ण भुक्तानी भइसक्नुपर्ने सहमति अनुसार उद्योगले पहिलो किस्ता बापतको १ करोड ४२ लाख ६८ हजार ६९४ रुपैयाँ समेत प्राप्त गरिसकेको छ । रोप–वे खरिदकर्ता कम्पनीले सम्झौताको ९ महिना भित्र रोप–वेको सम्पूर्ण संरचना उठाइसक्नुपर्ने सहमति भएको उनको भनाई छ ।
रोप–वे बिक्रीबाट प्राप्त भएको रकम उद्योग सञ्चालनका लागि आवश्यक पर्ने कच्चा पदार्थ खरिदमा खर्च गर्ने सञ्चालक समितिले निर्णय गरेको पनि सूचना अधिकारी आचार्यले जानकारी दिए ।
वर्षौँदेखि सञ्चालन हुन नसकेको सो रोप–वेका कारण मानव बस्ती र विद्यालयका लागि जोखिम बनेर बसेको छ । उद्योगको रोप–वे का डब्बाहरू हेटौँडाबाट भीमफेदी गाउँपालिकाको भैँसे खानीसम्म तारमा झुन्डिरहेको अवस्थामा रहेको देख्न सकिन्छ । बेवारिसे अवस्थामा झुन्डिएका रोप–वेका डिब्बाहरूले मानव बस्ती नै जोखिममा पारेको देखिन्छ ।
हेटौँडा सिमेन्टले पनि खानी क्षेत्रबाट चुनढुङ्गा ओसार्न २०४२ सालमा रोप–वे सञ्चालनमा ल्याएको थियो । उद्योगले २०४२ सालबाट भैँसेखानीबाट लामसुरेस्थित कारखानासम्म ११ किलोमिटर लम्बाइको रोप–वे चुन ढुङ्गा ढुवानी गर्न सञ्चालनमा ल्याइएको थियो । प्रतिघण्टा ३ सय मेट्रिक टन चुनढुङ्गा ढुवानी गर्ने क्षमता रहेको रोप–वेको सुरुमा १६५ वटा बकेट (क्यारियर) रहेको थियो । रोप–वे बिग्रिएपछि त्यसका क्यारियर पनि झर्दै गए जसका कारण हाल त्यसमा १ सय ४० जति बाँकी रहेको छ ।
विगतमा यातायातका साधनहरूको सुविधा नहुँदा उद्योगको चुन ढुंगाखानीबाट ढुङ्गा ओसार्नको लागि सो रोप–वे को प्रयोग हुने गरेको थियो । तर, पछिल्लो चरण यातायातको साधनहरूको उपभोगमा सहजता आएसँगै उद्योगले रोप–वे बाट चुन ढुङ्गा ल्याउन बन्द गरेको थियो । २० वर्ष ती डिब्बा हेटौँडा सिमेन्ट उद्योगको लागि चुन ढुङ्गा ओसार्न प्रयोग भए पनि २०६२ सालदेखि भने पूर्ण रूपमा बन्द छ ।
सो रोप–वे मा झुन्डिएका कतिपय डिब्बामा अझै पनि ढुङ्गाहरू भरिएको अवस्थामा रहेको छ । २०६० सालमा आएको बाढी पहिरोले भैँसे त्रिखण्डी नजिकको टावरमा क्षति पुगेपछि रोप–वे बन्द भएको थियो । करिब १० करोड लगानीमा निर्माण भएको रोप–वेको टावरमा बाढीले क्षति पुर्याएपछि पूर्ण रूपमा बन्द भइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घाँस काट्दै गर्दा लडेर स्वास्थ्य स्वयंसेविकाको मृत्यु
-
हलिउड फिल्ममा सलमान ? लिक भयो फर्स्ट लुक
-
रेखा गुप्ता बनिन् दिल्लीकी नवौँ मुख्यमन्त्री, केजरीवाललाई हराउने वर्मा मन्त्री
-
पानामाको होटलमा राखिएका ३०० डिपोर्टीमा नेपाली पनि
-
सहिद साझा सम्पत्ति हुन्, सम्मान गर्नु राज्यको दायित्वः प्रचण्ड
-
मस्कको ‘डज’ ले बचाएको पैसाको २० प्रतिशत अमेरिकीलाई बाँड्दैछन् ट्रम्प