बिहीबार, ०८ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जहाँ महिला प्रहरीले मात्रै सुरक्षा दिन्छन्...

सोमबार, ०५ फागुन २०८१, १७ : ३८
सोमबार, ०५ फागुन २०८१

पोखरा । पोखराको नदीपुरमा रहेको अस्थायी प्रहरी पोस्ट जहाँ महिला प्रहरी मात्रै कार्यरत छन् । नमुनाका लागि कास्की प्रहरीले नदीपुरको प्रहरी पोस्टको जिम्मेवारी महिलाको काँधमा सुम्पिएको हो । 

कास्कीका एसपी श्यामबाबू ओलियाले महिलाको मात्रै कमान्डमा रहँदा झन् धेरै सुरक्षाको महसुस नागरिकले गर्ने भएकोले नमुना बनाउने प्रयास गरेको सुनाए ।

‘महिला मात्रै हुँदा नागरिकले आफ्ना समस्या खुलेर राख्न सक्छन् । हिंसाका घटनाहरू प्रहरीसम्म आइपुग्न सक्छ,’ उनले भने,  ‘महिला मात्रै प्रहरी हुँदा झन् धेरै सुरक्षित महसुस गर्न सक्लान् भनेर नमुनाका रूपमा प्रयोग गरिएको हो ।’ अब नदीपुर प्रहरी पोस्टको कमान्ड प्रहरी सहायक निरीक्षक दीपा आलेको नेतृत्वमा रहनेछ ।

त्यहाँ कार्यरत ९ जना प्रहरी महिला मात्रै छन् । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले एक कार्यक्रमका बिच प्रहरी पोस्टको उद्घाटन गरेका हुन् । महिला प्रहरी मात्रको युनिट स्थापनालाई लैङ्गिक समानताका दृष्टिले सकारात्मक पहल भएको उनको भनाई छ ।  ‘महिला मात्र कार्यरत युनिटले कानुनको पालना गर्दै, अनुशासन र दक्षताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेर समाजमा शान्ति कायम गर्नेमा विश्वस्त छौँ,’ उनले भने ।

जिल्ला प्रहरी कार्यालय कास्की मातहत ९६१ प्रहरी छन् । तीमध्ये १३५ जना महिला कार्यरत छन् । अस्थायी प्रहरी पोस्टकी कमान्डर आलेले नागरिक मैत्री भएर सुरक्षा प्रदान गर्ने बताइन् । ‘हामीलाई दिइएको जिम्मेवारी पूरा गर्छौँ । जसरी हामीमाथि विश्वास गरिएको छ, यो विश्वासलाई टुट्न दिइने छैन,’ उनले भनिन् ।

टोलीमा प्रहरी हवलदार सङ्गीता महतो, प्रहरी जवान देवी पुर्जा, मनीषा बुढा, अमृता अठारे, गङ्गा सुनार, जानुका श्रेष्ठ, मञ्जु नेपाली, र ममता सिंह छन् । महिला मात्रै प्रहरी रहेको यो नै कास्कीमा पहिलो कार्यालय हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप