कर्णाली नीति उत्सवको औचित्य

हामी कर्णाली प्रदेशको विकास यात्राका महत्त्वपूर्ण पाइलाको पुनरवलोकन गर्दै आगामी यात्राको दिशानिर्देश गरिरहेका छौँ । संघीयताको कार्यान्वयनसँगै कर्णाली प्रदेशले पहिलो पञ्चवर्षीय योजनालाई सफलतापूर्वक कार्यान्वयन गरेको छ । यी योजना नेपालको संविधानले निर्देशित दिगो, समावेशी र न्यायसङ्गत विकासका सिद्धान्तअनुरूप तय गरिएको थियो ।
‘समृद्ध कर्णालीः सुखारी कर्णालीवासी’ भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै पहिलो पञ्चवर्षीय योजना (२०७६÷०७७–२०८०÷०८१) ले संरचनागत रुपान्तरणको जग बसाउने प्रयास भयो तर, विकासको बाटो त्यति सहज नभए पनि संघीयताको कार्यान्वयनसँगै देखिएका अवसर र चुनौतीहरूबिच हामीले पहिलो योजनाबाट महत्त्वपूर्ण उपलब्धि हासिल गरेका छौँ । केही लक्ष्य पुनरवलोकन गर्नुपर्ने पनि देखिएको छ । र, आगामी योजनालाई अझ समयानुकूल र व्यावहारिक रूपमा आवश्यकता अनुसार अगाडि बढाउन कोसिस गरिएको छ ।
पहिलो पञ्चवर्षीय योजनाले भौतिक पूर्वाधार, सामाजिक विकास, पर्यटन प्रवर्द्धन, उद्योग र उत्पादन वृद्धि, सुशासन र सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखेको थियो । यद्यपि बहुआयामिक गरिबी, भौगोलिक कठिनाइ, संरचनागत सीमितता, मानव संसाधन र वित्तीय स्रोतको अभावजस्ता कारणले गर्दा धेरै सूचकमा लक्ष्यअनुसारको प्रगति गर्न सकिएन । तथापि, केही महत्त्वपूर्ण प्रगति हासिल भएका छन् ।
—आर्थिक वृद्धिदरः ३.३२ प्रतिशत रहेको
—प्रतिव्यक्ति आयः १,०६६ अमेरिकी डलर पुगेको
—खानेपानी पहुँचः ८८ प्रतिशत परिवारमा पुगेको
—बहुआयामिक गरिबी दरः ५१.२ प्रतिशतबाट ३९.५ प्रतिशतमा झरेको
—निरपेक्ष गरिबी दर : २८.९ प्रतिशतबाट २६.६९ प्रतिशतमा झरेको
—सिँचाइ सुविधा उपलब्ध क्षेत्रफलः लक्ष्य १५.५ प्रतिशत भए पनि २७ प्रतिशतमा वृद्धि
—साक्षरतादरः ६६ प्रतिशतबाट ७६.१ प्रतिशत पुगेको
—आधारभूत स्वास्थ्य सेवा पहुँचः ४३.१ प्रतिशत
—सामाजिक सुरक्षा आबद्धताः ६०.४ प्रतिशत जनसंख्या
यद्यपि, विद्युत् उत्पादनमा निर्धारित लक्ष्य पूरा गर्न कठिनाइ भयो र यातायात पूर्वाधार विस्तार भए पनि केही स्थानीय तह राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी नै छन् ।
दोस्रो पञ्चवर्षीय योजना (२०८१÷०८२–२०८५÷०८६) समृद्ध भविष्यको आधार
पहिलो योजनाका सिकाइहरूलाई आत्मसात् गर्दै दोस्रो पञ्चवर्षीय योजनाले कर्णालीलाई आत्मनिर्भर, हरित अर्थतन्त्रको अभ्यास, उत्पादनमूलक, पर्यटन विकास र रोजगारमुखी बनाउन केन्द्रित गर्नेछ । यस योजनाले निम्न पाँच प्राथमिकताका क्षेत्र निर्धारण गरी नीति तथा कार्यक्रम अगाडि ल्याइएको छ ।
१. पूर्वाधार तथा अन्तर–आबद्धताः
सडक, पुल, सञ्चार, यातायात र ऊर्जा लगायतका पूर्वाधारको विकास
२. नवप्रवर्तन, उत्पादन र रोजगारीः
कृषि तथा पशुपंछीमा व्यावसायीकरण, विविधिकरण, आधुनिकीकरण, उद्यमशीलता प्रवर्द्धन, रोजगारी सिर्जना
३. उद्योग, पर्यटन, वन तथा वातावरणः
प्रदेशको तुलनात्मक लाभमा आधारित उत्पादन वृद्धि
४. मानव पुँजी तथा सामाजिक विकासः
गुणस्तरीय स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षाको विस्तार
५. डिजिटल कर्णाली तथा सुशासनः
प्रविधि नवप्रवर्तन, विद्युतीय सुशासन र पारदर्शिता प्रवर्द्धन
दोस्रो पञ्चवर्षीय योजना केवल भौतिक पूर्वाधार विस्तारमा केन्द्रित नभइ यसले कर्णालीलाई आत्मनिर्भर अर्थतन्त्रतर्फ अग्रसर गराउने छ ।
रणनीति र प्राथमिकता
कर्णालीको दीर्घकालीन सोच ‘समृद्ध कर्णालीः सुखारी कर्णालीवासी’ पहिलो पञ्चवर्षीय योजनादेखि नै हाम्रो मार्गदर्शक सोच बनेको छ । यस योजनाले पहिलो योजनाका सिकाइलाई आत्मसात् गर्दै, उत्पादन वृद्धिदेखि रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य, पूर्वाधार विस्तार तथा सामाजिक न्यायलाई प्राथमिकतामा राखिएको छ । नेपालको दीर्घकालीन सोच ‘समृद्ध नेपालः सुखी नेपाली’, प्रदेशको दीर्घकालीन सोच ‘समृद्ध कर्णालीः सुखारी कर्णालीवासी’ र सोह्रौँ योजनाको सोचलाई समेत दृष्टिगत गरी दोस्रो पञ्चवर्षीय आवधिक योजनाको सोचमा सुशासन, सामाजिक न्याय र समृद्ध कर्णाली राखिएको छ ।
कर्णाली प्रदेशको विकासका लागि यहाँको अनुपम प्राकृतिक सम्पदा, सांस्कृतिक वैभव, विविधतायुक्त हावापानी, जैविक विविधता, जलस्रोत, पर्यटन सम्भावना तथा मौलिक भाषा, संस्कृति, कला, साहित्य र सम्पदालाई संरक्षण, सम्बर्द्धन र उपयोग गर्ने नीति तयार गरिएको छ । यस्ता कार्यक्रमहरु सम्पदान गर्नका लागि थुप्रै चुनौतीहरू भएता पनि यसलाई सम्पादन गर्न उपयुक्त रणनीति पनि तय गरिएको छ । यस योजनाले तुलनात्मक लाभमा आधारित उत्पादनमूलक अर्थतन्त्रको विकास, गुणस्तरीय मानव पुँजी निर्माण, व्यावसायिक शिक्षाको प्रवर्द्धन, स्वास्थ्य सेवामा पहुँचको विस्तार, उत्तर–दक्षिण करिडोरको स्तरोन्नति, रोजगारी सिर्जना तथा नवप्रवर्तन, प्रविधि र हरित अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने नीति अवलम्बन गरेको छ ।
हामीले विकासका रणनीति तथा प्राथमिकताहरू तय गर्दा दिगो विकास लक्ष्यको सूचाङ्कहरूलाई पूरा गर्न, जलवायु परिवर्तनका असर न्यूनीकरण, विपद् व्यवस्थापन तथा सामाजिक न्यायलाई समेत विशेष ध्यान दिएका छौँ । डिजिटल कर्णाली अभियान, उद्यमशीलता प्रवर्द्धन, ऊर्जा तथा पूर्वाधार विकास तथा सार्वजनिक सेवा प्रवाह सुधार्ने पहलहरू यस योजनाले समेटेको छ । दोस्रो आवधिक योजनाले लिएको लक्ष्य र तोकेको प्राथमिकतालाई पूरा गर्न कर्णाली उत्सवजस्ता कार्यक्रम र कुडा कर्णालीबाट पनि सहयोग पुग्दछ भन्ने मलाई लाग्छ । यसले पूरा गरेको पाँचौँ संस्करणसम्मको योगदान पनि यसको महत्त्व र औचित्यलाई पुष्टि गरेको छ ।
यस विशेष अवसरमा, म सम्पूर्ण नीति निर्माता, स्थानीय तह, विकास साझेदार, नागरिक समाज, निजी क्षेत्र तथा सम्बन्धित सरोकारवालाहरूलाई आह्वान गर्न चाहन्छु कि हामी सबै मिलेर कर्णालीको समृद्ध भविष्य सुनिश्चित गर्न सामूहिक प्रयास गरौँ ।
हाम्रो लक्ष्य स्पष्ट छ– नवप्रवर्तन, प्रविधि तथा मानवपुँजी प्रवर्द्धन, उत्पादनशील र रोजगारमूलक अर्थतन्त्र निर्माण, सामाजिक न्याय र सुशासनमार्फत समाजवाद उन्मुख समुन्नत कर्णाली निर्माण गर्ने ।
यस यात्रामा सबैको साथ, सहयोग, तथा प्रतिवद्धता आवश्यक छ । कर्णाली नीति उत्सव अवसरमात्र होइन, नयाँ संकल्पको थलो हो । यस कर्णाली उत्सव कुडा कर्णालीका कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै हामी सबै मिलेर कर्णालीलाई नेपालकै समृद्ध, न्यायपूर्णर विकसित प्रदेश बनाउने दिशामा अगाडि बढौँ ।
(कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले कर्णाली उत्सवमा राखेको विचारमा आधारित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफूलाई भेट्न आउन लागेका दुई नेतामाथि खनिए ट्रम्प
-
गोविन्दराज विनोदीको ‘वेदनाको बाँसुरी’मा विचारपक्ष र त्यसको संगति
-
बागमती गोल्डकप : फाइनल प्रवेशका लागि मच्छिन्द्र र थ्री स्टार भिड्दै
-
हमासले रेडक्रसलाई हस्तान्तरण गरेको नयाँ शव कसको ? इजरायलले थाल्यो अनुसन्धान
-
मोदी मौरिससकाे राष्ट्रिय दिवस समारोहमा सहभागी हुने
-
स्ववियु निर्वाचनमा विद्यार्थी संगठनहरूबिच तालमेल नहुने