भारतमा नेपाली छात्राको मृत्यु प्रकरण : अन्य नेपाली विद्यार्थीलाई समेत होस्टलबाट निकालियो

भुवनेश्वर । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टलमा एक नेपाली छात्राले आत्महत्या गरेकी छन् ।
मृतक छात्राको नाम प्रकृति लम्साल रहेको बताइएको छ । उनी रुपन्देहीकी हुन् ।
मृतक लम्साल इन्जिनियरिङ कलेजमा बी–टेक तेस्रो वर्षमा अध्ययनरत थिइन् । लम्सालले आत्महत्या गरेपछि उक्त कलेजमा नेपाली विद्यार्थीले विरोध प्रदर्शन गरेका थिए । कलेज प्रशासनले विरोध प्रदर्शनमा उत्रिएका नेपाली विद्यार्थीलाई होस्टेलबाट निकालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
केआईआईटीका रजिस्ट्रारका अनुसार बी–टेक तृतीय वर्षमा अध्ययनरत नेपाली छात्राले आइतबार होस्टेलमै आत्महत्या गरेकी हुन् । उनको केआईआईटीमै अध्ययनरत एक छात्रसँग प्रेम सम्बन्ध रहेको र कुनै विषयमा उनीहरूबिच विवाद भएकाले यस प्रकारको घटना भएको हुन सक्ने विभिन्न स्रोतलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् ।
छात्राको शव प्रहरीले नियन्त्रणमा लिएको र मृतकका आमाबुबालाई यसबारे सूचित गरिएको जनाइएको छ ।
भुवनेश्वरका डीसीपी पिनाक मिश्राका अनुसार आत्महत्या दुरुत्साहन मुद्दामा एक छात्रलाई नियन्त्रणमा लिइएको छ । ती छात्रसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।
मृतक छात्राको मोबाइल, ल्यापटप र अन्य ग्याजेट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
आत्महत्याको घटना प्रकाशमा आएसँगै आईआईटीमा अध्ययनरत नेपाली विद्यार्थीले कलेज परिसरमा विरोध प्रदर्शन गरेका छन् । कलेज प्रशासनले भनेको छ, ‘स्थितिलाई ध्यानमा राख्दै नेपाली विद्यार्थीलाई उनीहरूको घर पठाइएको छ । अहिले स्थिति नियन्त्रणमा छ ।’
भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार नेपाली विद्यार्थीलाई बोकेको दुई वटा बस कटक रेलवे स्टेशनमा पुगेको छ । त्यहाँबाट ती विद्यार्थीलाई नेपालतर्फ पठाइने जनाइएको छ ।
रेलवे स्टेशनमा पुगेका एक नेपाली छात्रले भने, ‘हामीलाई होस्टेल खाली गर्न भनियो । हामीलाई जबरजस्ती रेलवे स्टेशनमा ल्याइएको छ । हामीले २८ फेब्रुअरीमा परीक्षा दिनुपर्ने थियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलर, युरो, पाउण्ड तथा अष्ट्रेलियन डलरको मूल्य कति ? यस्तो छ विदेबी मुद्राको किनबेचदर
-
आज चैत्र कृष्ण औँसी, काठमाडौं उपत्यकामा घोडेजात्रा
-
कोरियाबाट फर्केर सामूहिक कृषि फार्म सञ्चालन
-
चिनी उत्पादन अनुपातमा कमी
-
आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्सको लगातार दोस्रो जित, चेन्नईलाई चड्कन
-
उदण्ड प्रदर्शनका दोषीमाथि कानुनी कारबाही गर्न महासंघको माग