शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय
तस्करी

प्रहरीको स्कर्टिङमै हेटौंडा हुँदै गोरु तस्करी

सशस्त्र प्रहरीको सहयोगमा पथलैयाबाट ट्रक नियन्त्रण
सोमबार, ०५ फागुन २०८१, १५ : ३२
सोमबार, ०५ फागुन २०८१

मकवानपुर । चितवनतिरबाट हेटौंडा हुँदै पथलैयातर्फ गोरु बोकेर जाँदै गरेको ट्रकलाई पशु सेवा कार्यालय मकवानपुरले बाराको पथलैयाबाट नियन्त्रणमा लिएको छ ।

हेटौंडा–१५ स्थित रातोमाटे चौकी अगाडिबाटै नियन्त्रणमा लिने प्रयास असफल भएपछि कार्यालयको टोलीले पिछा गर्दै उक्त ट्रकलाई पथलैयामा आइतबार साँझ ६ः३० बजेको समयमा नियन्त्रणमा लिएको हो ।

पशु सेवा कार्यालय मकवानपुरका प्रमुख बज्र किशोर ठाकुरका अनुसार प्रहरीले रातोमाटे चौकीका प्रहरीले सहयोग नगर्दा पथलैया पुगेर गोरुसहितको ट्रक नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएको गोरुसहितको ट्रक राति ११ बजे हेटौंडा ल्याइएको उनले बताए ।

आइतबार दिउँसो विशेष सूचनाका आधारमा कार्यालय प्रमुख ठाकुर गोरुसहितको ट्रकलाई नियन्त्रणमा लिन तयारी अवस्थामा थिए । उनी सरकारी मोटरसाइकलमा राजमार्गभन्दा फरक बाटो भएर रातोमाटे चौकीमा पुगे । त्यहाँ पुग्दा बा. प्र. ३–००१ ख १४२४ नम्बरको ट्रकलाई प्रहरीले रोकेर चेकजाँच गरिरहेको फेला प¥यो । सोही ट्रकमा लोड गरिएको थियो २५ वटा गोरु ।

ट्रक रोकेको देखेपछि कार्यालय प्रमुख ठाकुरले प्रहरीलाई जानकारी गराए र ट्रक नियन्त्रणमा लिन आग्रह गरे तर, प्रहरीले ट्रक नियन्त्रणमा लिएन । ट्रक नियन्त्रणमा लिन आफूले चौकीका इन्चार्ज कुमार फुयालसहित जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख तथा प्रहरी उपरीक्षक विश्वराज खड्कालाई जानकारी गराएको उनको भनाइ छ ।

‘ट्रक नियन्त्रणमा लिन चौकीका इन्चार्ज, जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपीलाई पनि जानकारी गराएँ तर, प्रहरीले नै स्कर्टिङ गरेर मकवानपुरको सीमा कटाइदिए,’ उनले भने ।

bajra kishor thakur

रातोमाटे चौकीबाट ट्रक पथलैयातर्फ गएपछि प्रमुख ठाकुर पनि ट्रकको पछिपछि लागे । रातोमाटेमा प्रहरीको सहयोग नपाएपछि प्रमुख ठाकुर हेटौंडा–१५ नयाँ बस्तीमा रहेको सशस्त्र प्रहरीको राजमार्ग सुरक्षा चेकपोष्टमा पुगे । उनले ड्युटीमा रहेका सशस्त्रका असईलाई जानकारी गराए । त्यस समयसम्म ट्रकलाई रातोमाटे चौकीबाट खटिएका हवल्दार र सिपाहीको मोटरसाइकलसहितको टिमले स्कर्टिङ गरेर चुरियामाई नाका कटाइदिएको उनी बताउँछन् ।

जनपथ प्रहरी र प्रशासनबाट सहयोग नपाएका प्रमुख ठाकुरले सशस्त्रको सहयोग लिए । सशस्त्र प्रहरी १४ नम्बर हेडक्वाटरका प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक सन्तोष विक्रम शाहसँगको समन्वयमा पथलैयास्थित राजस्व अनुसन्धानमा खटिएको सशस्त्र प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएको प्रमुख ठाकुरको भनाइ छ ।

राजस्व अनुसन्धान कार्यालय पथलैयाका सशस्त्र प्रहरीका प्रहरी निरीक्षकको टोलीले ट्रकलाई नियन्त्रणमा लिएर पशु सेवा कार्यालय हेटौंडालाई जिम्मा लगाएको ठाकुरले बताए ।

सशस्त्रको सहयोगमा ट्रक नियन्त्रणमा लिए लगत्तै ट्रकका चालक र गोरु चरुवा फरार भए । करिब २ घण्टासम्म ट्रक चालक नआएपछि हेटौंडाबाट अर्को चालक बोलाएर ट्रकलाई हेटौंडा ल्याइएको उनले बताए ।

ट्रक नियन्त्रणमा लिएर कागजातहरु छानबिन गर्दा उक्त गोरु बोकेको ट्रकको भेटेरिनरी प्रमाण पत्र गलत भेटिएको थियो । २५ वटा जर्सीक्रस गोरु कृषि प्रयोजनका लागि झापा लगिँदै गरेको उनले बताए ।

भेटेरिनरी प्रमाण पत्रमा आबुखैरेनी, तनहुँका भीम राईले लक्ष्मी चौपाया सप्लायर्समार्फत झापाको हेमादेवी सप्लायर्सलाई उक्त गोरु बिक्री गरेको देखिन्छ । सो कार्यका लागि डा. टीकाराम न्यौपानेले भेटेरिनरी प्रमाण पत्र जारी गरेका छन् । भेटेरिनरी प्रमाण पत्र प्रमाणीकरण नै नगरी तस्करीको उद्देश्यले ती गोरु झापा पु¥याउन खोजिएको ठाकुरको भनाइ छ ।

3

छानबिनका क्रममा ती गोरु सर्लाहीको नवलपुरमा लगेर २ दिन राख्ने र सो पश्चात अर्को ट्रकमा हालेर झापा पठाउने योजना रहेको प्रमुख ठाकुरले बताए । लक्ष्मी चौपाया सप्लायर्स, मकवानपुर–१६ हेटौंडाको नाममा बिजक जारी गरिएको थियो । प्रतिगोरु ५ हजार रुपैयाँको खरिद बिल बनाएर कृषि प्रयोजन भनेर देखाइएको उनले जानकारी दिए ।

सो ट्रकले हेटौंडा उपमहानगरपालिकाको पशुहाट सेवा शुल्क बापत २५ गोरुका लागि ३ हजार रुपैयाँ बुझाएको छ । उपमहानगरपालिकाले गाईगोरु ढुवानी बापत उक्त शुल्क प्रतिगोटा २०० रुपैयाँ निर्धारण गरेको छ ।

  • प्रहरीको असहयोगमा निरीह कर्मचारी

ट्रक नियन्त्रणमा लिन हेटौंडादेखि पथलैयासम्म पशु सेवा कार्यालयका टोलीलाई प्रहरीको सहयोग नमिल्दा निरीह बन्नु प¥यो । सशस्त्र प्रहरीले ट्रक रोकेर कागजपत्र नियन्त्रणमा लिए लगत्तै ट्रक चालक फरार भएका थिए ।

२ घण्टाभन्दा बढी समय सशस्त्र प्रहरीले चालकलाई सम्पर्क गर्दा आफू चौकीमा रहेको बताए तर, उनी ट्रकको छेउछाउ देखा परेनन् । चौकीमा रहेको भनिएको चालकलाई प्रहरीले खोज्ने प्रयाससमेत गरेन । अन्ततः राति ९ बजे हेटौंडाबाट अर्को चालकलाई पथलैया बोलाएर ट्रकलाई हेटौंडा ल्याइएको थियो ।

हेटौंंडा ल्याइएको ट्रकको सुरक्षामा समेत समस्या देखियो । ट्रक र गोरुको सुरक्षाका लागि कार्यालय प्रमुख ठाकुरले जिल्ला प्रशासन कार्यालय मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी गुणराज न्यौपाने, प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख डीआईजी कृष्णहरि शर्मालाई आग्रह गरे तर, स्थान नभएकाले आफूहरूले सहयोग गर्न नसक्ने जवाफ दिएको ठाकुरले बताए । कार्यालयले नै सुरक्षा र व्यवस्था गर्न सुझाएपछि उक्त ट्रक नयाँ बस्तीको सशस्त्रको चेकपोइन्टमै राखिएको उनले जानकारी दिए ।

  • गोरु तस्करीबारे जानकारी छैनः फुयाल

रातोमाटे चौकीका इन्चार्ज कुमार फुयालले गोरु तस्करीबारे आफूलाई जानकारी नरहेको बताए । गोरु तस्करी र नियन्त्रणका विषयमा सम्बन्धित कार्यालयबाट आफूलाई कुनै जानकारी नआएको उनको भनाइ छ ।

आइतबारको घटनाबारे आफूलाई जानकारी नभएको र चौकीमा सामान्य चेकजाँचपछि ट्रक छोडिएको उनले रातोपाटीलाई बताए । प्रहरीको संरक्षणमा नाका कटाउने भन्ने विषय गलत भएको उनको दाबी छ ।

प्रहरीले नियमसंगत रूपमा चेकजाँच र सुरक्षाको काम गरिरहेको फुयालले बताए ।

‘हामीले गाईगोरु तस्करी र त्यसका प्रक्रियाका विषयमा जानकारी गराउनु पर्ला नि । अहिलेसम्म कुनै जानकारी नै छैन । विगतमा पनि चौकीमा जानकारी आएको देखिँदैन । समातेर सम्पर्क गर्नु भन्नु पर्ला नि ! जानकारी नभएको विषयलाई नियन्त्रणमा लिएरमात्र हुन्छ त ?’ उनले भने, ‘प्रहरीको संरक्षणमा नाका कटाउने, तस्कर भगाउने भन्ने हुँदैन । हामी हाम्रो प्रक्रिया अन्तर्गत रहेर काम गरिरहेका छौँ । परिपत्र अनुसारको चेकजाँच गर्ने गरेका छौँ ।’

7

  • किन हुन्छ तस्करी ?

विशेषगरी नेपालमा कृषि प्रयोजनबाहेक गोरु ढुवानी गर्न बन्देज छ । यद्यपि चोरी–तस्करी गरी नेपालबाट गोरु बंगलादेशमा मासुका लागि लैजाने गरिन्छ ।

नेपालको पश्चिमी क्षेत्रबाट सस्तोमा गाईगोरु संकलन गरी काँकडभिट्टा नाका हुँदै बंगलादेशसम्म पु¥याउने गर्दछन् । त्यहाँ बध गरेर गाईगोरुको मासु युरोपियन मुलुकमा निर्यात गरिन्छ ।

भारतको पनि केही राज्यमा गाईगोरु ओसारपसार प्रतिबन्ध छ । पश्चिम बंगालको नाकाबाट भने लुकीछिपी ओसारपसार हुने गरेको पाइन्छ । सिक्किम र दार्जीलिङ सहरमा गाईगोरुको मासु निर्वाध उपभोग गर्ने गरिन्छ । त्यसका लागि पनि नेपालको पूर्वी नाकाबाट गाईगोरु अवैध तस्करी हुने गरेको छ ।

मकवानपुरबाट विगतदेखि नै गाईगोरुको तस्करी हुँदै आएको छ । प्रशासनले त्यसको नियन्त्रणका लागि खासै प्रभावकारी कदम चालेको देखिँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप