संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षा चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षालाई चिर्ने प्रयास भइरहेको बताएका छन् । सोमबारदेखि सुर्खेतमा सुरु भएको कर्णाली उत्सवको छैटौँ संस्करणलाई सम्बोधन गर्दै उनले कर्णाली समस्यै समस्याको खाल्डो मात्र नभई सम्भावनाको सरोवर समेत भएको बताए ।
मुख्यमन्त्री कँडेलले पछिल्लो पटक संघीय सरकारले कर्णालीका केही महत्त्वपूर्ण सडकको स्तरोन्नतिको लागि धेरै बजेट विनियोजन गरेको जनाए । ‘कर्णालीको भविष्यसँग जोडिएका कर्णाली करिडोर, भेरी करिडोर, गमगढी नाक्चेनाङ्गला सडकजस्ता रणनीतिक महत्वका सडकहरूको स्तरोन्नति र सुधारमा उल्लेख्य बजेट विनियोजन भई काम अगाडि बढ्ने प्रक्रियामा रहेको अवस्था छ, उनले भने, अनियमित विद्युतलाई नियमित गर्न १३२ केभी विद्युत प्रसारण लाइन र सुर्खेत विमानस्थललाई स्तरोन्नति गर्ने काममा केही नीतिगत निर्णय र सुधारका कामहरू भएका छन् ।’
मुख्यमन्त्री कँडेलले कर्णालीका हरेक जिल्लामा सम्भावनाका प्रशस्त आधार रहेको औँल्याए । आर्थिक, धार्मिक र सांस्कृतिक दृष्टिले उत्तर र दक्षिण व्यापारको ढोका कर्णालीमा रहेको उनको भनाइ छ ।
उनले भने,‘कर्णालीले मानसरोवर एवं मध्य एसिया पुग्ने सिल्क रोडलाई प्रतिनिधित्व गर्छ । हिमाल, पहाड, नदी, वनजंगल, कृषि भूमिलगायत औषधिजन्य उत्पादनको सम्भावना कर्णालीमै छ । मानसरोवर मार्ग, फोक्सुण्डोलगायत सांस्कृतिक र प्राकृतिक भूमिहरूले कर्णालीलाई राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय पहिचान बढाएका मद्दत गरेका छन् । कर्णालीको पानी र जडीबुटी संसारकै उत्कृष्ट छ ।’ यति हुँदाहुँदै पनि कर्णाली भन्ने बित्तिकै दुर्गम, अभाव र विकटको पहिचान बनाउने प्रचलित मान्यता अझै यथावत् रहेको उनले टिप्पणी गरे ।
उनले भने, वर्षौंदेखि बनाइएको रोग भोक र शोकको नकारात्मक बिम्बले हामीलाई अझै थिचिरहेको छ । कर्णालीलाई समस्याको खाल्डो बनाउने काम भयो, सम्भावनाको सरोवर बनाउने काममा हामीले ध्यान पुर्याउन जरुरी छ ।’
पूर्वाधार, पहुँच, जागरण र सुधारका सूचकहरूले कर्णाली अब हिजोको जस्तो भोक र शोकको पर्याय नभएको मुख्यमन्त्री कँडेलको भनाई छ । ‘सबै काम प्रदेश सरकारले गर्न सक्दैन र अधिकार क्षेत्रभित्र पनि पर्दैन । आफ्नो अधिकार क्षेत्र पर्ने कामहरू इमान्दारिता पूर्वक गर्ने र आफ्नो अधिकार क्षेत्र बाहिरका विषयहरू संघीय सरकारलाई महशुस गराउने दृढ अभियानमा म लागिरहेको छु,’ उनले भने ।
मुख्यमन्त्री कँडेलले लोकतन्त्रको विकल्प अझ सहभागितामूलक उन्नत लोकतन्त्र नै रहेको विचार व्यक्त गरे ।
वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक डा. द्धारिका उप्रेतीले तीन वटै तहका सरकारले रोजगारी र उत्पादनसँग सम्बन्धित कार्यक्रमलाई जोड दिनुपर्ने बताए । वैदेशिक रोजगारले तत्कालीन आवश्यकतालाई मात्र व्यवस्थापन गर्ने भएकाले दिगो विकासका लागि स्वदेशमै उद्यमशीलता र उत्पादनमा जोड दिनुपर्ने उनको भनाई थियो ।
नेपाल सरकारका पूर्वसचिव केवलप्रसाद भण्डारीले कर्णालीमा निरन्तर एउटा सामाजिक संवादको शृङ्खला सुरु गरौँ भनेर कर्णाली उत्सव सुरु गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७ महिनामा १ खर्ब २७ अर्बको निर्यात हुँदा आयात झण्डै १० खर्ब
-
सरकारले ल्याएका अध्यादेश सहमतिमै पारित हुन्छन् : मन्त्री भण्डारी
-
घाँस काट्दै गर्दा लडेर स्वास्थ्य स्वयंसेविकाको मृत्यु
-
हलिउड फिल्ममा सलमान ? लिक भयो फर्स्ट लुक
-
रेखा गुप्ता बनिन् दिल्लीकी नवौँ मुख्यमन्त्री, केजरीवाललाई हराउने वर्मा मन्त्री
-
पानामाको होटलमा राखिएका ३०० डिपोर्टीमा नेपाली पनि