मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय

‘कृषि अनुदान र सहुलियत ऋण वास्तविक किसानलाई मात्रै दिनुपर्छ’

सोमबार, ०५ फागुन २०८१, १३ : ५९
सोमबार, ०५ फागुन २०८१

काठमाडौँ । सरकारले दिने अनुदान र सहुलियत ऋण वास्तविक किसानलाई मात्रै दिनुपर्नेमा कृषि उद्यमीहरूले जोड दिएका छन् । सरकारले कृषि क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्ने उनीहरूको भनाइ छ । 

बज्रबराई च्याउ उत्पादन उद्योगका सञ्चालक विकास देशारले नियमित मौसमी खेती गर्नेहरूले नभई नियमित कृषि खेती गरिरहेका कृषकहरूले सरकारी अनुदान सहयोग पाउनुपर्ने बताए । उनले अनुदान पाउनकै लागि कृषि खेती गर्ने प्रवृत्ति मौलाउँदै जाँदा सरकारी बजेटको दुरुपयोग भइरहेको जिकिर गरे । 

उनले भने, ‘नियमित कृषि खेती गरिरहेका किसानहरूले अनुदान पाउनैपर्छ । अहिले बढी हल्ला गर्ने किसानहरू कस्ता किसानहरू हुन्छन् भने मौसमी किसान हुन्छन् । यदि अनुदानसम्बन्धी कुनै कार्यक्रम आयो भने उनीहरू नयाँ किसान भनेर एकैचोटि हाम फाल्ने गर्छन् । आउने अनुदान आउँछ नयाँ किसानलाई दिन्छ । आफूले नगरेको काममा ५० प्रतिशत अनुदानको लोभमा हाम फालिदिन्छन् । फलस्वरूप किसान आफैँ पनि डुब्छन्, अनुदान दिने निकायहरू समेत डुब्छन् । यसरी नै सरकारको कृषि क्षेत्रको अनुदानलाई दुरुपयोग गरिरहेका छन् । अनुदान उत्पादनको आधारमा दिनुपर्छ । किसानको खेती कस्तो हो, कुन स्केलमा जानुपर्छ । राम्रो गर्ने किसानलाई अनुदान दियौँ भने त निखारिएर जान्छ नि त । भर्खर हाम फालेको किसानलाई दिँदा समस्या भएको छ ।’

एसएस एग्रीकल्चर फार्मका सञ्चालक प्रदीप सिम्खडाले कृषि व्यवसाय गर्ने किसानले सुरुवाती चरणमा सरकारी अनुदान पाउनुपर्ने बताए । स्थापित भइसके पछिका किसानले अनुदान नपाए पनि व्यवसाय अगाडि बढाउन सक्ने उनको भनाइ छ । 

आइतबार सम्पन्न नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पोमा सहभागी उनले सुरुवाती दिनहरूमा कृषि क्षेत्रमा काम गर्न गाह्रो हुने भएको कारण सरकारले आवश्यक सहयोग गर्न जरुरी रहेको बताए । गरिखाने किसानले सरकारी अनुदान पाउन सके मात्रै कृषि क्षेत्र फस्टाउने उनको धारणा छ ।

यसै गरी कनेक्ट किसान डिजिटल प्लेटफर्मका सह संस्थापक राजन दाहालले कृषि क्षेत्रमा सरकारले पर्याप्त लगानी गर्न नसकेको बताए । उनले कृषि क्षेत्रमा भएको लगानी बिस्तारै खस्कँदै गएको देखिएको जिकिर गरे । 

उनले भने, ‘सरकारको लगानी अलिकति कृषि क्षेत्र कम नै छ भन्न सकिन्छ । अहिलेको बजेटलाई नै हामीले हेर्दै गयौँ भने कृषि क्षेत्रमा पहिले जति लगानी भएको थियो अहिले त्यो बजेटको प्रतिशत घट्दै गएको छ । हुन त हाम्रो अर्थतन्त्र पहिलेको तुलनामा अहिले डाउन भएको छ । त्यसो भएको हुनाले पनि यो क्षत्रमा लगानी गर्न नसकिएको हुनसक्छ । यसमा म नेगेटिभ वा पोजेटिभ न्यारेसनमा पनि गइन । त्यो राज्यको स्थितिअनुसार योजना बनाएको होला । तर कृषिलाई भारतसँग तुलना गरेर जति हामीले फोकस गर्नुपर्थ्यो त्यस्तो भएको छैन । अहिले भारतको र नेपालको उत्पादनमा ठुलो फरक आउन थालेको छ । त्यसको कारण के हो भने भारतले कृषि क्षेत्र र आफ्ना किसानहरूलाई ठुलो सहयोग गरिरहेको छ । र प्रविधिको पनि ठुलो सदुपयोग गर्न थालिसक्नु भएको छ । उनीहरूले त अहिले ड्रोनको माध्यमबाट समेत कृषि खेती कसरी गर्ने भनेर सिकिरहेका छन् । तर हामी ट्रेलर कसरी चलाउने भन्नेमा अब पुग्दैछौ । यसले भारत र नेपालबिच ठुलो ग्याप आउने र भोलिको दिनमा हाम्रो कृषि क्षेत्र कोल्याप्स हुँदै जाने र किसानहरूले उत्पादनको मूल्य नपाएर कृषि क्षेत्रबाटै पलायन हुने स्थिति बन्न सक्छ । त्यसैले राज्यले यसमा राम्रो लगानी गर्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप