भारतमा नेपाली विद्यार्थीको शंकास्पद मृत्यु

काठमाडौँ । एक जना नेपाली विद्यार्थी भारतको केआईआईटी विश्वविद्यालयको होस्टलमा मृत फेला परेकी छन् । भुवनेश्वरको पाटिया क्षेत्रमा रहेको उक्त होस्टलमा नेपाली विद्यार्थीको शव शंकास्पद अवस्थामा फेला परेको भारतीय सञ्चार माध्यमले जानकारी दिएको हो ।
मृतक विद्यार्थीको पहिचान विश्वविद्यालयको बीटेक तेस्रो वर्षमा अध्ययनरत प्रकृति लम्साल रहेको खुलेको छ । उनको मृत्युको कारण खुल्न नसके पनि सोही विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङको तेस्रो वर्षमा अध्ययनरत एक पुरुष साथीले दुर्व्यवहार गरेपछि उनले आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको समाचारमा उल्लेख छ । दुईबिचको सम्बन्ध बिग्रेपछि यो घटना भएको समाचारमा जिकिर गरिएको छ ।
यतिबेला सामाजिक सञ्जालमा एक थ्रेड भाइरल भइरहेको जसमा प्रकृतिले ती पुरुषबाट अति नै दुर्व्यवहारको सामना गर्नुपरेको र उनले यो कुरा गत महिना विश्वविद्यालयको इन्टरनल रिलेसन्स अफिस (आईआरओ) मा पनि रिपोर्ट गरेको दाबी गरिएको छ । उनले रिपोर्ट गरे पनि कलेज प्रशासनबाट कुनै पनि सहयोग प्राप्त नभएको बताइएको छ ।
दुर्व्यवहार सहन नसकेर नै लम्सालले आत्महत्या गरेको स्रोतलाई उद्धृत गर्दै दाबी गरिएको छ । आरोपित पुरुष र लम्सालबिचको भनिएको एक भ्वाइस नोट पनि भाइरल भइरहेको छ, जसमा ती पुरुषले लम्साललाई दुर्व्यवहार गरिरहेको सुन्न सकिन्छ ।
घटनापछि आक्रोशित विद्यार्थीहरूले विरोधका लागि सडकमा उत्रिएका छन् । उनीहरूले विश्वविद्यालय अगाडि प्रदर्शन गर्दै लम्सालका लागि न्यायको माग गरेका छन् । त्यस्तै, यस मामिलामा गैरजिम्मेवार प्रदर्शन गर्ने अधिकारीहरूलाई कारबाहीको माग गरेका छन् ।
स्थितिलाई नियन्त्रणमा लिन दुई प्लटुन प्रहरी नै परिचालन गर्न परेको थियो । प्रहरीले लम्सालको शव नियन्त्रणमा लिएर क्यापिटल अस्पतालमा पोस्टमार्टमका लागि पठाएको छ ।
पत्रकारसँग कुराकानी गर्दै विश्वविद्यालयका रजिस्ट्रार जयाना राजन मोहन्टीले प्रेम सम्बन्धमा रहेको र आफ्नो पार्टनरको दुर्व्यवहार सहन नसेर आत्महत्या गरेको बताएका छन् । प्रहरीले आरोपित पुरुषलाई पनि पक्राउ गरेको उनले जानकारी दिए ।
यता, रजिस्ट्रारको कार्यालयले सबै नेपाली विद्यार्थीहरूलाई क्याम्पस खाली गर्न सूचना जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ करोड १३ लाख मानिसले ‘कहिलै नफर्कने गरी’ छाडे जन्मस्थान
-
अमेरिकी डलर, युरो, पाउण्ड तथा अष्ट्रेलियन डलरको मूल्य कति ? यस्तो छ विदेबी मुद्राको किनबेचदर
-
आज चैत्र कृष्ण औँसी, काठमाडौं उपत्यकामा घोडेजात्रा
-
कोरियाबाट फर्केर सामूहिक कृषि फार्म सञ्चालन
-
चिनी उत्पादन अनुपातमा कमी
-
आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्सको लगातार दोस्रो जित, चेन्नईलाई चड्कन