शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय
सरोकार

बढ्दैछ मानिस र वन्यजन्तु बिचको द्वन्द्व

वन्यजन्तुबाट जोखिममा बस्ती, कसरी जोगिने ?
सोमबार, ०५ फागुन २०८१, १६ : ००
सोमबार, ०५ फागुन २०८१

काठमाडौँ । बर्दियाको मधुवन नगरपालिका–९ भाटचोकमा चितुवाको आक्रमणबाट साढे २ वर्षीय बालकको मृत्यु भयो । घटना हो फागुन ३ गतेको । आँगनमा खेलिरहेका बालकलाई चितुवाले टिपेर लगेको थियो । प्रहरीसहितको टोलीले खोजी गर्दा घरबाट झन्डै ५ सय मिटर टाढा बालकको शव भेटियो । 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा माघ २३ गते संरक्षित जंगली हात्ती मकुनाको मृत्यु भयो । निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको गोली लागेर मकुनाको मृत्यु भएको थियो । यस विषयमा छानबिन भइरहेको छ । 

कैलालीको मोहन्याल गाउँपालिका–७ कुइनेकी ४० वर्षीया सरस्वती विकलाई माघ १३ गते राति १० बजे बाघले आक्रमण गर्‍यो । बस्तीमै पसेको बाघ गाउँलेको हो–हल्लापछि भागेको थियो । 

भदौ ६ गते मकवानपुरको मनहरीमा भैँसीले बाघ मारेको घटना निकै चर्चित बन्यो । मनहरि गाउँपालिका–६ प्रतापुरका बलबहादुर राईको गोठमा बाँधेको भैँसीले हानेर बाघ मारेको थियो । बाघ र भैँसी जुधाजुध भएपछि घरधनीले थाहा पाएर हेर्दा बाघ मरेको थियो भने भैँसी घाइते थियो । 

यी विभिन्न प्रकृतिका घटनाले जंगलका संरक्षित क्षेत्रबाट मनाव बस्तीमा वन्यजन्तु आएको प्रस्ट हुन्छ । वन्यजन्तुबाट मानवबस्ती जोखिममा परेको देखिन्छ ।  

घाँस–दाउरा गर्न जंगल पस्दा बाघ, चितुवा, हात्ती, गैँडा लगायत जनावरलाई मान्छेले धपाउने गर्दछन् । एकातर्फ जंगलमा आहारको कमी, अर्कोतर्फ बाघ, चितुवा, हात्तीलगायत जानवारलाई मान्छेले धपाउने गर्दा मान्छेमाथि आक्रामक हुने गर्छ ।

जंगली जनावर बस्तीमा पस्नुमा जंगलमा संरक्षित जनावरको संख्या बढेर बासस्थानको क्षेत्रफल थोरै हुनु रहेको जानकारहरू बताउँछन् । वन्यजन्तु विशेषज्ञ प्राडा मुकेश चालिसेका अनुसार वन्यजन्तुले जंगलमा आहार पाउन नसक्नु, बस्न, घुम्न, लुक्न, खेल्ने ठाउँ कम भएको छ । उनका अनुसार बाघको परिवेशमा वासस्थान क्षेत्र कम र संख्या धेरै भएपछि कमजोर बाघलाई बलिया बाघले नै लखेट्ने गर्छन् । ‘खानाका लागि बाघ जंगल बाहिर आउने गर्छ, बाघ बुढो र कमजोर भयो भने उसले मृग, बाँदर, जरायो नीलगाईको सिकार गर्न सक्दैन,’ उनले भने, ‘उसले सबैभन्दा अल्छी खालका धेरै दौडिन नसक्नेलाई सिकार गर्छ । त्यस्तो भनेको कि मान्छे हो कि गाई भैँसी वा घरपालुवा जनवार हो । अनि बाघ गाउँघरमा पसेर आक्रमण गर्छ ।’ 

एकजोडी बाघलाई कम्तीमा पनि ४० देखि ५० वर्गकिलोमिटर क्षेत्र चाहिन्छ । तर बाघ मात्रै नभई चितुवा, हात्ती, गैँडालगायत जनावरलाई डुलेर खाने, बच्चा लुकाउने, जैविक क्रियाकलाप गर्ने, भालेपोथी भेटिनेजस्ता कार्यका लागि क्षेत्रफल नै कमी भएको दाबी गर्छन् डा.चालिसे । ‘चितवन क्षेत्रमा पहिला जंगलभित्र मात्रै गैँडा बस्थे,’ उनले भने, ‘अहिले बस्तीमै बेला–बेला देख्न पाइन्छ ।’

यस्तै घाँस–दाउरा गर्न जंगल पस्दा बाघ, चितुवा, हात्ती, गैँडा लगायत जनावरलाई मान्छेले धपाउने गर्दछन् । एकातर्फ जंगलमा आहारको कमी, अर्कोतर्फ बाघ, चितुवा, हात्तीलगायत जानवारलाई मान्छेले धपाउने गर्दा मान्छेमाथि आक्रामक हुने गर्छ । र, अप्रिय घटना हुने गरेको पनि डा. चालिसे तर्क राख्छन् । 

प्रवक्ता ढकालका अनुसार कतिपय अवस्थामा सामुदायिक वनलाई पनि धेरै जोगाउँदा ‘कोर एरिया’जस्तो भएको छ । यस्तो अवस्थामा पनि जंगली जनावर वासस्थान खोज्दै बस्तीसम्म आइपुग्ने र आक्रमण हुने देखिएको छ । 

हात्ती, बाघ, चितुवा, गैँडा लगायत जनावरहरू ठुलो क्षेत्रमा रहने वन्यजन्तु हुन् । यी जनावर जंगल नजिकका बस्तीमा आउन सक्ने हुन्छन् । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता तथा उपमहानिर्देशक वेदकुमार ढकालका अनुसार बस्ती नजिकको जंगलबाट वन्यजन्तुहरू बाहिरी क्षेत्रमा पनि आउन सक्ने सम्भावना रहन्छ । ‘मानिसहरू जंगलमा जानुपर्ने हुन्छ,’ उनले भने, ‘यी कारण घटना हुन सक्ने देखिएको छ । हात्ती बाहिर आएको स्पष्ट नै हो । हात्ती प्रजननमा पटक–पटक देखिएकै हो । यस पटक हात्ती बढी आक्रामक भएको र आत्मरक्षाका लागि गोली चलाइएको भन्ने छ । यसको छानबिन भइरहेको छ ।’

प्रवक्ता ढकालका अनुसार कतिपय अवस्थामा सामुदायिक वनलाई पनि धेरै जोगाउँदा ‘कोर एरिया’जस्तो भएको छ । यस्तो अवस्थामा पनि जंगली जनावर वासस्थान खोज्दै बस्तीसम्म आइपुग्ने र आक्रमण हुने देखिएको छ । 

वन्यजन्तुबाट जोगिन बस्ती नजिकका झाडी तथा बुट्यानहरू फडानी गर्नुपर्ने हुन्छ । सामुदायिक वनका, खोलाका, सरकारी जग्गामा रहेका झाडी, बुट्यानहरू सफा गर्नुपर्ने जानकारहरू सुझाउँछन् । यस्ता क्षेत्रको बुट्यान तथा झाडीलाई पालिका मार्फत, मध्यवर्ती क्षेत्र मार्फत सफा गर्नुपर्ने प्रवक्ता ढकाल सुझाव दिन्छन् । उनी भन्छन्, ‘कतिपय ठाउँमा राति उज्यालोका लागि लाइटको व्यवस्था गरियो भने यस्ता घटना कम गर्न सकिन्छ ।’ आफ्नो वरिपरिका जंगलमा कस्ता खालका जनावरहरू छन्, तिनीहरूबारे पनि जानकारी राख्नुपर्ने उनले बताए । 

‘बाघ, चितुवाजस्ता वन्यजन्तु झाडीमा लुक्ने हुन्छन् । साँझ र बिहान तिनीहरू बढी सक्रिय हुन्छन्, त्यस समयमा बच्चाहरूलाई एक्लै नछोड्ने,’ उनले भने, ‘घर वरिपरि सकेसम्म बत्तीको व्यवस्था गर्ने, यस्तो अवस्थामा वन्यजन्तु आएर लुक्न सक्ने अवस्था कम रहन्छ ।’

बस्ती वा घर छेउछाउमा वन्यजन्तु आए निकुञ्ज कार्यालय वा वन डिभिजनमा जानकारी गराउनुपर्ने उनले बताए ।  

नेपालमा तराई क्षेत्रमा रहेका पाँच वटा निकुञ्ज र त्यसको मध्यवर्ती क्षेत्र, जैविक मार्ग र वन क्षेत्रमा यस्ता जनावर पाइन्छन् । चितवन, पर्सा, बर्दिया, बाँके, शुक्लाफाँट राष्ट्रिय निकुञ्ज र यसका मध्यवर्ती क्षेत्र एवं वन क्षेत्र नेपालमा तराई भूपरिधिभित्र पर्छ । 

यी क्षेत्र जंगली जनावरको मुख्य वासस्थान हो । तर, यी क्षेत्रका जनावरलाई भने व्यवस्थापन गर्न चुनौती देखिएको चालिसेको तर्क छ । ‘हाम्रो संरक्षणको मोडेल अलिकति ढंग पुगेको छैन । जस्तो: ठुला जनवारलाई मात्रै बचाउने वा संरक्षण गर्ने भनिएको छ । उनीहरूलाई मात्रै ध्यान दिनेगर्छ,’ उनले भने, ‘जब उनीहरूका लागि खाना र वासस्थान मान्छेले नदेखेको ठाउँ हुनुपर्छ । जंगलभित्र पर्याप्त मात्रामा झाडी, साना बुटाहरू, झाङहरू नेपालको कानुनले काट्न दिन्छ । ठुला रूख मात्रै काट्न दिँदैन । ती ठुला रूखमा ठुला जनावर बस्ने होइनन् ।’

नेपालका जंगलमा जनावर संख्याको अध्ययन हुनुपर्ने पनि उनले बताए । र संख्या अनुसार जनावर कायम गर्नुपर्ने सम्बन्धित अधिकारीहरू सुझाउँछन् । 

यसका साथै स्थानीय, प्रदेश र संघले एक अर्कासँग समन्वयका साथ जनचेतना फैलाउनुपर्ने देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप