२०८४ मा माओवादीको वैभव फर्काउने योजनामा सफल होलान् प्रचण्ड ?

काठमाडौँ । २०८४ को आम निर्वाचनमा नेकपा (माओवादी केन्द्र) संसदीय राजनीतिमा आएको २० वर्ष पूरा हुँदैछ । १० वर्ष लामो सशस्त्र युद्ध त्यागेर माओवादीले २०६४ को संविधान सभा निर्वाचनमा भाग लिएको थियो । त्यतिबेला ६०१ मध्ये २३८ सिट जितेर माओवादी सबैभन्दा ठुलो दल बनेको थियो ।
त्यो वैभव आगामी निर्वाचनमार्फत फर्काउने महाअभियानमा माओवादी लागेको देखिन्छ । अध्यक्ष प्रचण्डले २०८४ को निर्वाचन माओवादीको हुने दाबी गर्दै आएका छन् ।
गत हप्ता अनेरास्ववियू क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ तथा पदभार ग्रहण कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘२०६४ मा यस्तै उभार थियो । नेतृत्व जता गयो, उतै छुन खोज्ने, बोल्न खोज्ने अवस्था थियो, जनतामा ठुलो आकर्षण थियो । अहिले त्यस्तै देखिएको छ ।’
एकताबद्ध भएर अलि मेहनत गर्ने हो भने २०८४ को निर्वाचन माओवादीमय हुने दाबी गर्दै उनले यसलाई कसैले रोकेर रोक्न नसक्ने बताएका थिए ।
२०७९ को निर्वाचनसम्म आइपुग्दा ३२ सिटमा खुम्चिएको माओवादी यसबिचमा सरदर ११ वर्ष सत्तामा पुग्यो । यद्यपि माओवादीको जनाधार घट्दै गयो । जनताबाट टाढिँदै सत्ता स्वार्थमा चुर्लुम्म डुबेको आरोप माओवादी र यसका नेतामाथि लाग्यो । पार्टी नेतृत्वले सहिद परिवार, अपाङ्गता तथा घाइते परिवारलाई बेवास्ता गरेको, वर्ग छोडेर तस्करी, माफियासँग हिमचिम बढाएको, जनयुद्धकालीन एजेण्डा बिर्सिएर सत्ता स्वार्थका लागि कांग्रेस, एमालेसँग उठबस गरेकाले माओवादी आन्दोलन समाप्तिको दिशातर्फ धकेलिँदै गएको टिप्पणी माओवादीभित्रैबाट हुन थालेपछि प्रचण्डले निराशा व्यक्त गर्दै पार्टी नै विघटन गर्नेसम्मको अभिव्यक्ति दिए ।
२०७९ को निर्वाचनपछि कांग्रेस र एमालेको सहयोगमा झण्डै १९ महिना सत्ताको नेतृत्व गरेका प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डालाई प्राथमिकताका साथ प्रचारमा ल्याएका छन् । असार १७ गते राति कांग्रेस र एमालेबिच भएको ७ बुँदे सहमतिको जगमा केपी ओली नेतृत्वमा गठबन्धन सरकार बनेपछि माओवादी अहिले प्रतिपक्ष भूमिकामा छ ।
मंसिर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनमा माओवादीले अनपेक्षित मत र सिट संख्या बढेपछि प्रचण्ड निकै हौसिएका छन् । यो ६ महिनाको बिचमा लगभग देशका सबै भागमा पुगेका प्रचण्ड माओवादीप्रति आकर्षित जनमत देखेर उत्साहित छन् । स्थानीय तह उपनिर्वाचनमा माओवादीले यसअघि जितेका ५ वडा गुमाएर पनि एक अध्यक्ष, एक उपाध्यक्षसहित ४ वडाध्यक्ष पदमा जित हासिल गरेको थियो । २०७९ को निर्वाचनको तुलनामा माओवादीले ३५ हजार ६९९ मत थप्न सफल भएको थियो ।
यही तथ्यांकको आधारमा उत्साहित देखिएको माओवादीले पुस २३ मा सम्पन्न केन्द्रीय समिति बैठकमार्फत सबै केन्द्रीय सदस्यको कार्यविभाजन गरी ६ महिने अभियानमा खटाउने निर्णय गर्यो ।
पहिलो चरणको हुलाकी राजमार्ग केन्द्रित ‘जनतासँग माओवादी’ अभियान फागुन १२ बाट पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्म हुनेछ । यसैगरी पूर्वपश्चिम मध्यपहाडी राजमार्ग, हिमाल, मधेस जागरण अभियान, युवा विद्यार्थीसँग माओवादी अभियान ६ महिनासम्म सञ्चालन गर्दैछ । त्यसपछि निर्वाचन अगावै महाधिवेशन गर्ने पछिल्लो केन्द्रीय समिति बैठकले निर्णय गरिसकेको छ ।
- माओवादीको आत्मरतिमात्र : मुमाराम खनाल
आगामी निर्वाचनमा माओवादीको प्रभाव बढ्ने सम्भावना नरहेको विश्लेषक मुमाराम खनाल बताउँछन् । २०६४ को निर्वाचनमा माओवादीले बढी सिट जित्नुमा विभिन्न कारण रहेको जिकिर गर्दै उनले भने– ‘२०६४ मा माओवादी आन्दोलन एउटा उचाइमा थियो । शान्ति प्रक्रियालाई छोडेर जालान् कि भन्ने आम जनतामा डर थियो । उनीहरू(माओवादी)सँग सैन्य शक्ति पनि थियो । धेरै ठाउँमा उनीहरूले सैन्य शक्तिको बलमा म्यानुपुलेट गर्ने आधार थिए । त्यसका आधारमा उनीहरूले निर्वाचन जितेका हुन् ।’
२०६४ को तुलनामा २०८४ को निर्वाचन माओवादीका लागि निकै कठिन रहेको खनाल बताउँछन् ।
‘अहिले भाष्य के छ भने सबैभन्दा बढी माओवादी सरकारमा बस्यो । सरकारमा बस्दा उसले गरेका कर्मको आधारमा नागरिकहरूले नेपाली कांग्रेस र एमालेभन्दा पनि माओवादी भ्रष्ट रहेछ भन्ने बुझेका छन् । उहाँहरूले दाबी गर्न त पाइयो तर परिणाम आउने सम्भावना शून्य छ’, उनले भने ।
स्थानीय तहको उपचुनावलाई लिएर माओवादी धेरै नै उत्साहित हुन जरुरी नरहेको खनालले स्पष्ट पारे । स्थानीय तह कार्यकारी पद भएकाले माओवादी, एमाले, कांग्रेसका मान्छे भनेर जनताले नछुट्याएको खनालको तर्क छ ।
‘कांग्रेस, एमाले, माओवादीका तलका मान्छेहरू खराब होइन । खराब त माथिका हुन् । माथिका ग्याङ र गिरोह खराब हो । त्यसले समस्या बनाएको हो । तल बसेर काम गर्नेले माओवादीले पनि राम्रो काम गरेका छन् । एमाले र कांग्रेसले पनि राम्रा काम गरेका छन्’, उनले भने, ‘उनीहरूले स्थानीय तहमा जसरी मिलेर काम गरेका छन्, जनताले माओवादी, एमाले, कांग्रेस वा स्वतन्त्र भनेर मूल्याङ्कन गरेका छैनन् ।’
स्थानीय तहमा एउटा लयमा काम गर्ने वातावरण रहेको उल्लेख गर्दै खनालले त्यसका आधारमा संघीय संरचना बन्छ भनेर भन्नु माओवादीको आत्मरतिमात्र हुने प्रस्ट पारे ।
२०८४ को निर्वाचन उलटपुलट हुन्छ भनेर अहिले नै भन्न हतार हुने खनालको विश्लेषण छ । अहिले संसदको संरचनाका आधारमा धेरै ठुलो बदलाव हुनेमा आफूलाई विश्वास नभएको उनले बताए ।
‘सामान्य बदलावचाहिँ देखिन्छ । सबैभन्दा ठुलो राजनीतिक दलको रूपमा कांग्रेस वा एमाले नै हुने हो । तेस्रो दलमा चाहिँ अन्य स्वतन्त्र पार्टी र दलहरू आउने सम्भावना देखिन्छ’, उनले भने ।
तर खनालको तर्कप्रति माओवादीका उपमहासचिव गिरिराजमणि पोखरेल सहमत देखिँदैनन् । खासगरी माओवादी नेतृत्वको पछिल्लो सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा खेलेको भूमिका, त्यसबाट आत्तिएका कांग्रेस र एमालेले हठात सरकार ढालेको अवस्था, प्रतिपक्षमा पुगेपछि जनताको पक्षमा उठाएको एजेण्डा लगायत विषयले जनमत ह्वात्तै बढेको पोखरेलको दाबी छ ।
‘अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले गरेका सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा गरेका काममा जसरी अगाडि बढेका थिए, लोकप्रिय सरकारलाई बदलेर कांग्रेस–एमालेको सरकार सकारात्मक दिशामा गइराखेको छैन’, उनले भने, ‘उपनिर्वाचनको परिणाम हेर्ने हो भने कांग्रेस र एमाले ओरालो लागेको देखिन्छ । रास्वपा विचलित अवस्थामा छ । माओवादी उकालो लागिरहेको अवस्थामा छ । विगतको सरकारको भूमिका अहिलेको अडान र प्रतिपक्षको भूमिकाका कारण माओवादी उकालो अवस्थामा छ ।’
यद्यपि कांग्रेस–एमालेको गठबन्धन र पार्टीभित्र देखिएको गुट–उपगुट चुनौतीका रूपमा उनले चित्रण गरे । पार्टी एकताबद्ध भएर जनताको एजेण्डाको पक्षमा काम गर्न सकेमा २०८४ मा ठुलो दल हुन समस्या नरहेको पोखरेलको विश्लेषण छ ।
‘पार्टीभित्र गुटबन्दीका समस्याले अप्ठ्यारो बनाएको छ । गठबन्धन र गुटबन्दीलाई चिर्दै वामपन्थीसँग सहकार्य गर्दै अगाडि गइयो भने एउटा आधार बन्छ । उहाँहरू(कांग्रेस–एमाले)को अंकगणितीय पक्ष छ । गठबन्धन गरेर चुनाव लडेको पनि हामीले नजिकबाट हेरेका छौँ । संख्यात्मक ढंगले अहिले कांग्रेस र एमालेको समस्या छैन तर सरकारमा हुने बित्तिकै राम्रो हुन्छ भन्ने छैन ।’
माओवादीका लागि सकारात्मक पक्षका रुपमा संगठन विस्तार तथा सुदृढीकरण, वामपन्थीबिच एकता तथा धु्रवीकरण, समाजवादी मोर्चा, प्रतिपक्षमा बसेर जनपक्षीय एजेण्डाको उठान, भ्रष्टाचारविरुद्ध माओवादी नेतृत्व सरकारले खेलेको भूमिका तथ्यांकका उनले रूपमा प्रस्तुत गरे ।
अहिले नेताहरूको कार्यविभाजन आगामी निर्वाचनलाई लक्षित गरी सहर केन्द्रित बनाइएको पोखरेलको भनाइ छ ।
पोखरेलले २०८४ मा माओवादीको वैभव फर्काउने १० आधारसमेत प्रस्तुत गरेका छन् ।
पहिलो आधार- हुलाकी राजमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने । वैशाखतिर हिमाली क्षेत्रको अभियानसँगै यस सम्बन्धी जनतासँग जोडिने ।
दोस्रो आधार- अभियानलाई चलाउन आधाभूत संगठनात्मक काम सम्पन्न गर्ने । वडा र पालिका सम्मेलन गर्दै अहिलेसम्म वितरण गरेका सदस्यता वितरणसम्बन्धी संगठनात्मक कामलाई व्यवस्थित गर्ने ।
तेस्रो आधार- कांग्रेस र एमाले ओरालो लागेको देखिन्छ । रास्वपा विचलित अवस्थामा छ । विगतको सरकारको भूमिका अहिलेको अडान र प्रतिपक्षको भूमिकाका कारण माओवादी उकालो अवस्थामा छ । वामपन्थी धु्रवीकरण अगाडि बढाउने ।
चौथो आधार- अध्यक्ष प्रचण्ड नेतृत्वको लोकप्रिय सरकार ढलेपछि ओली नेतृत्वको गठबन्धन सरकार अलोकप्रिय बन्दै गएको छ । रास्वपा विचलित अवस्थामा छ । विगतको माओवादी सरकारको भूमिका, अहिलेको अडान र प्रतिपक्षको भूमिकाका कारण माओवादी उकालो अवस्थामा छ ।
पाँचौँ आधार- वामपन्थी धु्रवीकरण, एकता र समायोजनलाई प्राथमिकताका साथ अगाडि बढाएको छ ।
छैटौँ आधार- समाजवादी मोर्चालाई व्यवस्थित गर्ने पक्षमा लैजाने । अब पार्टीहरूबिच दुई पक्षीय सम्बन्ध र बहुपक्षीय सम्बन्ध अगाडि बढाएर मोर्चालाई सोही ढंगले अगाडि बढाउने ।
सातौँ आधार- पछिल्लो केन्द्रीय समिति बैठकले सामुदायिक समाजवादी वा समुदायमा आधारित भएको समाजवादको अवधारणा ल्याएको छ । आठौँ महाधिवेशनले २१ औँ शताब्दीको नेपाली विशेषताको समाजवाद भनेको थियो । पछिल्लो केन्द्रीय समिति बैठकसम्म आइपुग्दा हाम्रो बुझाइ सुमदायमा आधारित भएको समाजवादमा गयो । यसलाई कार्यान्वयन गर्नेगरी अहिलेको प्रतिवेदनमै प्रवेश गरिसकेकाले त्यसमाथि छलफल प्रारम्भ भएको छ । यस हिसाबले समाजवादीको आधार तयार गर्ने दिशामा अगाडि बढेको ।
आठौँ आधार- आर्थिक रूपमा अहिले महाअभियान चलाउनुपर्ने, देशभित्र युवाहरूलाई टिकाउन उत्पादन, उद्यमशीलतामा आधारित भएर लैजाने । देशभित्र उत्पादनको अभियान चलाउने, आर्थिक रुपान्तरणको महाअभियान चलाउने र परिवर्तनको अनुभव दिलाउने गरी काम गर्ने ।
नवौँ आधार- युवा पुस्तालाई प्राथमिकता सहित अगाडि बढाउने । त्यसलाई ध्यानमा राखेर ‘युवा विद्यार्थीसँग माओवादी अभियान’ ल्याएको छ । युवा पंक्तिलाई पार्टीमा व्यापक ढंगले ल्याउने, उनीहरूसँग सम्वाद गर्ने विषय दस्तावेजमै ल्याएको छ ।
दशौँ आधार- प्रविधिमैत्री पार्टी बनाउने । आइसीटीलाई जीवन पद्धतिमा ढाल्ने । अहिले डिजिटलाईजेसनको प्रक्रियासँग पनि पार्टीलाई जोड्ने ।
- के छ प्रचण्डको दस्तावेजमा ?
केन्द्रीय समिति बैठकबाट पारित भएको अध्यक्ष प्रचण्डको राजनीतिक दस्तावेजमा निर्वाचनलाई महत्त्वपूर्ण पाटोको रूपमा प्रस्तुत गरिएको छ । पार्टीले अवलम्बन गरिरहेको क्रान्तिको शान्तिपूर्ण बाटो शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा भएको दस्तावेजमा उल्लेख छ ।
‘त्यसैले निर्वाचनको प्रतिस्पर्धामा राम्रो परिणाम हासिल गर्ने योजनालाई पनि हामीले हाम्रो कार्य योजनाको एउटा महत्त्वपूर्ण अङ्ग बनाउनुपर्छ । निर्वाचनको उम्मेदवारी नामाङ्कन गर्ने दिनको अघिल्लो घडीमा उम्मेदवार तय गर्ने हाम्रो कार्यशैली परिवर्तन गर्नै पर्दछ । उम्मेदवारसहित समग्र तयारीको प्रक्रिया समयमा नै योजनाबद्ध रूपमा अघि बढाउनु पर्दछ । स्थानीय निर्वाचन हुन करिब अढाइ वर्ष र संघ तथा प्रदेशको निर्वाचन हुन करिब तीन वर्ष बाँकी रहेको अवस्थामा अहिले नै उम्मेदवार तय गर्नु उपयुक्त र संभव दुवै छैन तर यहाँ जोड दिन खोजिएको कुरा हो, निर्वाचनमा प्रतिस्पर्धा हाम्रो मूल कार्यनीतिको एउटा मुख्य पक्ष भएकाले हाम्रो राजनीतिक कार्ययोजना निर्माण गर्दा यसलाई समेत महत्त्वका साथ ध्यान दिनु पर्दछ’, दस्तावेजमा उल्लेख छ ।
- पार्टीको पछिल्लो अवस्थाबारे प्रचण्डले प्रस्तुत गरेको ८ बुँदाः
१. नेपाली कांग्रेस–नेकपा एमाले गठबन्धनप्रति जनताको असन्तोष प्रकट भएको छ भने नेकपा (माओवादी केन्द्र)लाई वैकल्पिक शक्तिका रूपमा स्वीकारेको देखिएको छ ।
२. हाम्रो पार्टीले ‘एक्लै चुनाव लडन सक्दैन’ भन्ने कांग्रेस–एमालको प्रचार र यसले स्थापित गर्न खोजेको मनोविज्ञानमा पनि क्रमभंग भएको छ । मतदाताले अब राजनीतिक परिदृश्य यथावत रहेमा माओवादी एक्लै चुनाव लडनुपर्छ भन्ने जनादेश दिएका छन् ।
३. हाम्रो पार्टीले आफनो स्वतन्त्र राजनीतिक धार र एजेण्डामा चुनाव लड्नुपर्छ र आफ्नै शक्तिमा भर पर्नुपर्छ भन्ने सन्देश पाएको छ ।
४. कांग्रेस–एमालेप्रति जनतामा घट्दो विश्वास र माओवादीप्रति आकर्षण र विश्वास बढ्दो छ । विगतको निर्वाचनमा देखिएको जनमतको लगातार घट्दो क्रम रोकिएर क्रमशः उकालो ग्राफ देखिएको छ ।
५. स्थानीय तहमा अन्य पार्टीभन्दा फरक एजेण्डा र शैलीमा जनताको सेवामा केन्द्रित हुनु पर्दछ अन्यथा आफूले जितेका क्षेत्र वा तहहरू गुम्छन् भन्ने शिक्षा निर्वाचन परिणामले दिएको छ ।
६. आगामी २०८४ को निर्वाचनका लागि अहिलेदेखि नै वडा केन्द्रित संगठन निर्माण, जिम्मेवारी बाँडफाँट, जनताको बिचमा अन्य आवश्यक तयारी गर्ने शिक्षा र प्रेरणा मिलेको छ ।
७. विगतमा पार्टी कमजोर भएका नयाँ ठाउँहरूमा जनताले वैकल्पिक शक्तिका रुपमा खोजेको र जनाधार विस्तारको नयाँ सम्भावना देखिएको छ ।
८. हाम्रो पार्टीको बलियो जनाधार भएको ठाउँमा कांग्रेस–एमाले मिलेर विगतमा पनि हामीलाई हराउने प्रयत्न गरेका थिए र फेरि पनि त्यसै गर्नेछन् भन्ने शिक्षा मिलेको छ । यसअनुसार आफ्नो जनाधार मजबुत भएको क्षेत्रलाई थप सुदृढ गर्न आवश्यक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्प भन्छन्-अतिरिक्त महसुलको धम्कीले ब्रिक्स तितरबितर भयो
-
तस्बिरमा हेर्नुहोस् नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक
-
ईभीका लागि टाटा मोटर्ससँग ‘कम्प्लिट इकोसिस्टम’ बनाएका छौँ : राजनबाबु श्रेष्ठ
-
भारत–पाकिस्तान भिडन्तमा सर्वाधिक शतक प्रहार गर्ने ब्याट्सम्यानहरु
-
विदेशी सिम र रिचार्ज कार्ड अनुमति लिएर मात्रै बिक्री वितरण गर्ने प्राधिकरणको निर्देशन
-
जीडीपी अनुपातमा सार्वजनिक ऋण ४५ प्रतिशत नाघ्यो