बिहीबार, ०८ फागुन २०८१
ताजा लोकप्रिय
जङ्गलबाट नयाँ संसारको यात्रा

कलिलो काँधमा चुनौतीका चाङ : राउटे समुदायबाट पहिलो डाक्टर बन्न चाहन्छिन् धना

सोमबार, ०५ फागुन २०८१, ११ : २२
सोमबार, ०५ फागुन २०८१

धनगढी । धना राउटे आफ्नो पुस्ताकी पहिलो व्यक्ति हुन्, जसले विद्यालयको ढोकामा प्रवेश पाइन् । अक्षर चिनेपछि उनले आफूलाई मात्र होइन, आफ्नो समुदायलाई पनि उज्यालोतर्फ डोर्‍याउने जिम्मेवारी लिएकी छन् ।

जङ्गलमा जन्मेकी, कन्दमूल खन्दै हुर्केकी धना अहिले पुस्तकका पानाहरूमा आफ्नोमात्र होइन, आफ्नो समुदायको समेत भविष्य खोजिरहेकी छन् ।

धनाकी आमा दुर्गादेवीलाई आफ्नो उमेर थाहा छैन । नागरिकता अनुसार उनी ५५ वर्षकी भइन्, तर उनले १२ वर्षअघि मात्रै जङ्गल छोडेकी थिइन् । दुर्गादेवीले आफ्नो आधा जीवन जङ्गलमै बिताइन् । उनले अक्षर नचिन्ने, ओडारमा रात बिताउने, खोलामा गएर पानी ल्याउने, रूखका फेदमा खाना पकाउनेजस्ता गतिविधिमा सीमित रहेर घुमन्ते जीवन बिताइन् ।

१२ वर्षको उमेरमै आफ्नो विवाह भएको कुरा उनलाई अरूको मुखबाट थाहा भयो । बिहेको दिन सम्झने कुनै आधार छैन । उनका लागि जीवन भनेको जङ्गलमा जिउने, जङ्गलकै उपज खाएर बाँच्ने, परिवार पाल्ने, र जङ्गलमै मर्ने थियो ।

‘जङ्गलबाहिर आएर यसरी जीवन बिताउँला भन्ने सोचेकै थिएन,’ दुर्गादेवीले भनिन् ।

धनाका पाँच दाजुभाइ दिदीबहिनी जन्मिए, तर पढ्ने अवसर कसैले पाएनन् । जब जङ्गल नै जीवन हो भने अक्षर किन चिन्ने ? जब भोक मेट्नै मुस्किल छ भने विद्यालय किन जाने ? दुर्गादेवीलाई आफ्ना सन्तानलाई पढाउन मन त लाग्थ्यो, तर प्राथमिकताचाहिँ पेट भर्नु नै हुन्थ्यो ।

१२ वर्षअघि सरकारले कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मटेलामा उनीहरूका लागि घर बनाइदियो । त्यसपछि दुर्गादेवीले जङ्गल छोडिन् । उनीहरूका लागि तीन वटा जस्ताका घर बने । परिवारका १२ जना त्यहीँ अटाए तर, घरमात्रै जीवन परिवर्तनका लागि पर्याप्त भएन ।

IMG_0018

रोजगारी छैन, आम्दानी छैन, खेत छैन, किनेर खाने सामर्थ्य छैन । जङ्गल छाडेर समाजमा आएका दुर्गादेवीहरूका सामु नयाँ खालका चुनौती खडा भए । जङ्गलमा खानका लागि कन्दमूल भए पनि समाजमा पैसाविना एक छाक पनि जुट्दैन ।

धनाका दाजुभाइ मजदुरी गर्छन् । बिहान खाए साँझ के खाने भन्ने चिन्ता दिनहुँको समस्या हो । बाबु ज्याला मजदुरी गरेर परिवार पाल्थे तर, अचानक बिरामी परे । पैसा अभावले उपचार सम्भव भएन र उनी बिते । श्रीमान् बितेपछि दुर्गादेवी अझै कमजोर भइन् ।

‘श्रीमानको सहारा टुटेपछि एक्लो छु, छोरीलाई धेरै पढाउने चाहना छ,’ दुर्गादेवीले भनिन् ।

अहिले उनकी कान्छी छोरी धनाको काँधमा ठुलो जिम्मेवारी छ । समाजमा शिक्षित भएर आफ्नो पहिचान बनाउने र त्यही पहिचानको आडमा आफ्नो समुदायमा प्रेरणा जागृत गर्न चाहन्छिन् उनी ।

कक्षा ८ मा पढीरहेकी धनालाई विद्यालय जानु अर्को संसारमा प्रवेश गर्नुजस्तै थियो । राउटे समुदायका बालबालिका अझै जङ्गलमै खेल्छन्, तर धना भने अक्षर चिनेर नयाँ संसार बनाउने यात्रामा लागिरहेकी छन् ।

‘आमाबाबुको जस्तो दुःख मैले गर्न नपरोस् । म डाक्टर भएर गरिब जनताको उपचार गर्न सकौँ,’ उनले भनिन् ।

dhana in home (1) (1)

तर, पढाइ सहज छैन । पढाइ खर्च जुटाउन धौ–धौ छ । जेनतेन गरेर विद्यालय खर्च चलिरहेको छ । बाँकी पढाइ कसरी अगाडि बढाउने भन्ने चिन्ता उनको परिवारलाई छ ।

‘विद्यालयमा पढ्दा त खासै पैसा चाहिँदैन तर पनि कपी, स्कुलड्रेस, झोला, कलम किन्नुपर्छ, अहिले यी चिज जुटाउन पनि गाह्रो छ । एसईईपछि कसरी पढ्ने ? अझ डाक्टर पढ्न त कति धेरै पैसा लाग्छ होला ! कसरी धान्ने होला ?’ धनाले प्रश्न गरिन् ।

डाक्टर बन्ने लक्ष्यका साथ पढाइतर्फ लागेकी धनाको मनमा आर्थिक अभावले आफ्नो सपना पूरा नहुने पो कि भन्ने शंका पनि छ ।

धनाका लागि यो संघर्ष केवल व्यक्तिगत मात्र होइन । यदि उनी डाक्टर बनिन् भने राउटे समुदायबाटै पहिलो डाक्टर कहलिनेछिन् । त्यो दिन राउटे समुदायका लागि एउटा ठुलो परिवर्तनको संकेत हुने राउटे समुदायका अगुवा हरिभान राउटेको भनाइ छ ।

हरिभानका अनुसार राउटे समुदाय जङ्गलबाट बस्तीमा आए पनि उनीहरूको जीवनशैली अझै जटिल छ । सरकारले बस्नलाई घर दियो तर रोजगारीको व्यवस्था गरेन । भत्ता दिइए पनि त्यो जीवनयापनका लागि पर्याप्त नहुने उनको भनाइ छ ।

‘धना डाक्टर बन्नेछिन् कि छैनन्, समयले बताउनेछ तर उनले अघि सारेको शिक्षा हाम्रो समुदायका लागि एक उज्यालो किरण हो, उनीजस्तै हाम्रो समुदायका हर बालबालिका शिक्षाको पहुँचमा पुर्‍याउन राज्यले पनि सहयोग गर्नुपर्छ,’ हरिभानले भने ।

Dhana with her mother

राउटे समुदाय, इतिहासलाई हेर्दा घुमन्ते जीवन बिताउने मानिस भनेर चिनिन्छन् तर, सुदूरपश्चिमको कञ्चनपुर र डडेल्धुराको भित्री मधेसमा बस्ने राउटे समुदाय भने अन्य समुदायसरह नै गाउँमा घरबास बनाएर स्थायी रूपमा बसोबास गरिरहेका छन् ।

सरकारले दिने भत्ताको सहारामा उनीहरूले परिवारको गुजारा चलाउँछन् । राउटे समुदायका पुरूषहरू काठको काम गरेर पनि खर्च चलाउँथे तर अहिले सामुदायिक वनबाट काठ निकाल्न उनीहरूलाई कठिन छ । काठ निकाले बापत पैसा तिर्नुपर्छ । महिलाहरू घाँस दाउरा गर्छन् । जमिन नहुँदा खेतीपातीको काम पनि गर्न नसकिने अवस्था रहेको स्थानीय गीतादेखि राउटेको भनाइ छ ।

‘जङ्गल त्यागेका सबैको घर छैन, धेरै समस्या छ । अझै पनि अन्य समुदायभन्दा हामीलाई बालबालिकाको पढाइ खर्च जुटाउन, परिवारको खर्च चलाउन मुस्किल पर्छ,’ गीताले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप