शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय
आईसीसी च्याम्पियन्स ट्रफीको इतिहास

चिरप्रतिद्वन्द्वी भारतमाथि कीर्तिमानी जित हासिल गर्दै पाकिस्तानले उपाधि चुमेको आठौँ संस्करण

सोमबार, ०५ फागुन २०८१, ०८ : ०९
सोमबार, ०५ फागुन २०८१

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको आठौँ संस्करण इङ्ल्यान्ड र वेल्समा संयुक्त रूपमा आयोजना भएको थियो । च्याम्पियन्स ट्रफी कुनै पनि दुई राष्ट्रले संयुक्त रूपमा आयोजना गरेको यो दोस्रो पटक थियो । यसअघि सातौँ संस्करण पनि इङ्ल्यान्ड र वेल्सले नै संयुक्त रूपमा आयोजना गरेका थिए । 

इङ्ल्यान्डले च्याम्पियन्स ट्रफी आयोजना गरेको भने यो तेस्रो पटक थियो । त्यसअघि सन् २००४ मा पनि इङ्ल्यान्डले च्याम्पियन्स ट्रफीको सफल आयोजना गरिसकेको थियो । प्रतियोगिताको आठौँ संस्करण पनि जुनमै आयोजना गरिएको थियो ।

प्रतियोगिता सन् २०१७ को जुन १ देखि १८ तारिखसम्म आयोजना गरिएको थियो । च्याम्पियन्स ट्रफीको इतिहासमा जुनमा प्रतियोगिता आयोजना भएको यो दोस्रो पटक थियो । यसअघि सातौँ संस्करण पनि जुनमै आयोजना गरिएको थियो । 

264637

सुरुमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले च्याम्पियन्स ट्रफीको आठौँ संस्करण आयोजना नगर्ने बताएको थियो । आईसीसीले सन् २०१७ देखि च्याम्पियन्स ट्रफीको सट्टामा आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिप आयोजना गर्ने जनाएको थियो । 

तर, राष्ट्रिय क्रिकेट बोर्डहरूसँगको छलफलपछि च्याम्पियन्स ट्रफीलाई पुनः निरन्तरता दिने निर्णय आईसीसीले लिएको थियो । आईसीसीले सन् २०१४ को जनवरीमा च्याम्पियन्स ट्रफीलाई निरन्तरता दिने निर्णय लिएको थियो । 

च्याम्पियन्स ट्रफीको आठौँ संस्करणका लागि सुरक्षा व्यवस्था पनि निकै कडा पारिएको थियो । आठौँ संस्करण सुरु हुनुअघि म्यानचेस्टरमा आतंकवादी आक्रमण भएकाले च्याम्पियन्स ट्रफीको सुरक्षा निकै बढाइएको थियो । आईसीसीका पदाधिकारीहरूले पटक–पटक सुरक्षा व्यवस्थाको निरीक्षण गरेका थिए ।

प्रतियोगितामा आठवटा टोलीले सहभागिता जनाएका थिए । सन् २०१५ को सेप्टेम्बर ३० तारिखसम्म आईसीसी एकदिवसीय च्याम्पियनसिप वरीयताको माथिल्लो आठ स्थानमा रहेका टोलीलाई प्रतियोगितामा सहभागी गराइएको थियो ।

आठौँ संस्करणको अर्को रोचक पक्ष पनि थियो । पहिलो संस्करणदेखि नै सहभागी हुँदै आएको वेस्ट इन्डिज पहिलो पटक च्याम्पियन्स ट्रफीमा छनोट हुन असफल भएको थियो । त्यसैले सन् २००४ को च्याम्पियन वेस्ट इन्डिज आठौँ संस्करणमा सहभागी थिएन ।

यसैगरी, आठौँ संस्करणमा बंगलादेशले भने पुनरागमन गरेको थियो । सन् २००६ पछि बंगलादेशी टोली पहिलो पटक च्याम्पियन्स ट्रफीमा फर्किएको थियो । अघिल्लो संस्करणमा जस्तै यसपटक पनि सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको थियो ।

प्रतियोगिताको समूह ‘ए’ मा इङ्ल्यान्ड, बंगलादेश, अस्ट्रेलिया र न्युजिल्यान्ड रहेका थिए । उक्त समूहबाट ६ अंकसहित इङ्ल्यान्ड पहिलो र तीन अंकसहित बंगलादेश दोस्रो हुँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेका थिए । 

दुई अंक जोडेको अस्ट्रेलिया र एक अंक बटुलेको न्युजिल्यान्ड भने समूहगत चरणबाटै घर फर्किएका थिए । दुई पटकको च्याम्पियन अस्ट्रेलिया लगातार दोस्रो पटक समूहगत चरणबाटै बाहिरिन बाध्य भएको थियो । 

272740

उक्त समूहको इङ्ल्यान्ड र बंगलादेशबिचको खेलमा एउटा कीर्तिमान पनि बनेको थियो । त्यो खेलमा बंगलादेशले दिएको तीन सय ६ रनको लक्ष्य इङ्ल्यान्डले ४७.२ ओभरमा केवल दुई विकेट गुमाएर पुरा गरेको थियो । च्याम्पियन्स ट्रफीको इतिहासमा पहिलो पटक कुनै पनि टोलीले तीन सयभन्दा बढीको विजयलक्ष्य पार गरेको थियो ।

सोही समूहको बंगलादेशविरुद्धको खेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियाले खेलेको नौ सयौँ खेल थियो । सोही खेलमा डेभिड वार्नर अस्ट्रेलियाका लागि सबैभन्दा छिटो चार हजार रन पुरा गर्ने ब्याट्सम्यान बनेका थिए । त्यो उनले खेलेको ९३औँ एकदिवसीय अन्तर्राष्ट्रिय खेल थियो ।

सोही समूहको न्युजिल्यान्ड र बंगलादेशबिचको खेलमा बंगलादेशका महमुदुल्लाह र सकिब अल हसनले दुई सय २४ रनको साझेदारी गरेका थिए । एकदिवसीय क्रिकेटमा बंगलादेशी ब्याट्सम्यानले कुनै पनि विकेटका लागि गरेको त्यो सबैभन्दा ठुलो साझेदारी थियो । 

यसैगरी, भारत, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका प्रतियोगिताको समूह ‘बी’ मा परेका थिए । उक्त समूहबाट भारत चार अंकसहित पहिलो र पाकिस्तान पनि चार अंकसहित दोस्रो हुँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका थिए । 

264616

समान दुई–दुई अंक बटुलेका दक्षिण अफ्रिका र श्रीलंका भने समूहगत चरणबाटै बाहिरिएका थिए । उक्त समूहको श्रीलंकाविरुद्धको खेलमा दक्षिण अफ्रिकी ब्याट्सम्यान हासिम अमलाले एउटा कीर्तिमान बनाएका थिए । उनी सबैभन्दा कम पालीमा २५ शतक प्रहार गर्ने खेलाडी बनेका थिए । एकदिवसीय खेलको एक सय ५१ पालीमा यस्तो उपलब्धि हासिल गरेका थिए ।

सोही समूहको भारत र पाकिस्तानबिचको खेलमा पाकिस्तानी बलर वाहव रियाजको नाममा एउटा खराब कीर्तिमान लेखिएको थियो । उनले ८७ रन खर्चिए पनि कुनै विकेट लिन सकेनन् । च्याम्पियन्स ट्रफीको इतिहासमा त्यो सबैभन्दा खराब बलिङ थियो । 

सोही समूहको जुन ७ तारिखमा खेलिएको दक्षिण अफ्रिकाविरुद्धको खेलमार्फत पाकिस्तानी खेलाडी फाखर जामनले एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ गरेका थिए । सोही समूहको भारत र श्रीलंकाबिचको खेल पनि अविस्मरणीय थियो ।

264633

जुन ८ तारिखमा भारत र श्रीलंकाबिच खेलिएको खेल एकदिवसीय क्रिकेटमा यी दुई टोलीबिच भएको एक सय ५०औँ भिडन्त थियो । त्यो खेलमा भारतले दिएको तीन सय २२ रनको लक्ष्य श्रीलंकाले ४८.४ ओभरमा केवल तीन विकेट खर्चिएर पुरा गरेको थियो । च्याम्पियन्स ट्रफीको इतिहासमा कुनै पनि टोलीले हासिल गरेको यो सबैभन्दा ठुलो विजयलक्ष्य थियो ।

साही समूहको जुन १२ तारिखमा खेलिएको श्रीलंकाविरुद्धको खेलमार्फत पाकिस्तानी खेलाडी फाहिम असरफले एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ गरेका थिए । 

प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा पाकिस्तानले इङ्ल्यान्डलाई आठ विकेटले र दोस्रो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई नौ विकेटले हराएका थिए । जुन १४ तारिखमा खेलिएको इङ्ल्यान्डविरुद्धको सेमिफाइनल खेलमार्फत पाकिस्तानी खेलाडी रुमान रइसले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए ।

पाकिस्तानी टोली पहिलो पटक च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको थियो । यसका अतिरिक्त पाकिस्तान सन् १९९९ पछि पहिलो पटक आईसीसीद्वारा आयोजित कुनै पनि ठुलो प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भएको थियो । 

यसैगरी, बंगलादेशका लागि पनि च्याम्पियन्स ट्रफीको आठौँ संस्करण विशेष थियो । बंगलादेशी टोलीले पहिलो पटक च्याम्पियन्स ट्रफीको सेमिफाइनल खेलेको थियो । आईसीसीले आयोजना गर्ने सिनियर स्तरको प्रतियोगितामा बंगलादेशको यो सबैभन्दा ठुलो उपलब्धि पनि थियो । 

यसैगरी, बंगलादेशविरुद्धको सेमिफाइनल खेल भारतीय खेलाडी युवराज सिंहका लागि तीन सयौँ एकदिवसीय अन्तर्राष्ट्रिय सहभागिता पनि थियो । सोही खेलमार्फत भारतका विराट कोहली एकदिवसीय क्रिकेटमा सबैभन्दा कम पालीमा आठ हजार रन पुरा गर्ने ब्याट्सम्यान पनि बनेका थिए । उनले एक सय ७५ पालीमा यस्तो उपलब्धि हासिल गरेका थिए ।

प्रतियोगिताको फाइनलमा चिर प्रतिद्वन्द्वी भारतलाई एक सय ८० रनको विशाल अन्तरले हराउँदै पाकिस्तानले उपाधि चुमेको थियो । पाकिस्तानी टोलीले आईसीसी च्याम्पियन्स ट्रफीको उपाधि उचालेको यो पहिलो पटक थियो ।

यही फाइनल खेलमा पाकिस्तानी ब्याट्सम्यान फखर जामनले आफ्नो पहिलो एकदिवसीय शतक पनि प्रहार गरेका थिए । पाकिस्तानको जित आईसीसीले आयोजना गर्ने कुनै पनि प्रतियोगिताको फाइनलमा सबैभन्दा फराकिलो रन अन्तरको जित पनि थियो । 

आठौँ संस्करणमा सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यानको सूचिमा भारतका शिखर धवन (३३८ रन) पहिलो, भारतकै रोहित शर्मा (३०४ रन) दोस्रो, बंगलादेशका तामिम इक्वाल (२९३ रन) तेस्रो, इङ्ल्यान्डका जो रुट (२५८ रन) चौथो र भारतका विराट कोहली (२५८ रन) पाँचौँ स्थानमा थिए ।

यसैगरी, सर्वाधिक विकेट लिने बलरको सूचिमा पाकिस्तानका हसन अली (१३ विकेट) पहिलो, अस्ट्रेलियाका जस हेजलउड (९ विकेट) दोस्रो, पाकिस्तानका जुनैद खान (८ विकेट) तेस्रो, इङ्ल्यान्डका लियाम प्लुनकेट (८ विकेट) चौथो र इङ्ल्यान्डकै आदिल रसिद (७ विकेट) पाँचौँ स्थानमा रहेका थिए ।

आठौँ संस्करण सकिएपछि घोषणा गरिएको टिम अफ दि टुर्नामेन्टमा भारतका शिखर धवन, पाकिस्तानका फाखर जामन, बंगलादेशका तामिम इक्वाल, भारतका विराट कोहली, इङ्ल्यान्डका जो रुट, इङ्ल्यान्डकै बेन स्टोक्स, पाकिस्तानका सरफराज अहमद (कप्तान), इङ्ल्यान्डका आदिल रसिद, पाकिस्तानका जुनैद खान, भारतका भुवनेश्वर कुमार, पाकिस्तानका हसन अली र न्युजिल्यान्डका केन विलियम्सन रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप