शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

कुकुरलाई खोप लगाउँदैमा रेबिज नलाग्ने हुँदैन : डा. मिलन बज्राचार्य

खोप नलगाएका व्यक्ति बाँचेको तथ्यांक नै छैन (भिडियो)
सोमबार, ०५ फागुन २०८१

काठमाडौँ । रेबिज भाइरसले गराउने संक्रमण रोग हो । यो रोग रेबिजबाट प्रभावित जनवारको टोकाइबाट सर्ने गर्छ । स्तनधारी जनावरले यो रोग सार्ने गर्छ । उनीहरूलाई रेबिज भएको खण्डमा मानिसलाई टोक्दा यो रोग सर्ने गर्छ ।

रेबिज प्राणघातक रोग हो । यो रोग पुष्टि भइसकेपछि बाँच्ने सम्भावना एकदमै कम हुन्छ । संसारमा रेबिज लागेर बाँचेको एउटा मात्रै केस छ । जुन हो, चमेरोबाट सरेको रेबिजको बिरामी । तर, यसरी बाँचेका मानिसले रेबिजविरुद्ध खोप लगाएका थिए । हालसम्म खोप नलगाएका व्यक्ति बाँचेको तथ्यांक नै छैन ।

डा. मिलन बज्राचार्य काठमाडौँ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कन्सलटेन्ट फिजिसियनका रूपमा कार्यरत छन् । उनीसँग रातोपाटीकर्मी सरिता थारूले गरेको गरेको कुराकानी :

  • कस्ता खालका जनावरबाट रेबिज सर्छ ?  

मुख्यतः जंगली जनावरले टोक्यो भने रेबिज रोग सर्न सक्छ । हाम्रो देशमा भने कुकुरको टोकाइबाट रेबिज बढी मात्रामा सरेको देखिन्छ । त्यसबाहेक बिरालो र बाँदरले टोक्दा र चिथोर्दा रेबिज संक्रमण भएको देखिएको छ । 

dr milan bajracharya (2)

  • के रेबिजबाट जोगिने एउटै उपाय खोप मात्रै हो त ?

हामी कुकुरलाई खोप लगाएका छौँ र रेबिज लाग्दैन भन्छौँ, तर यो पूर्ण सत्य होइन । खोप लगाइसकेपछि कुकुरको शरीरमा एन्टिबडी भन्ने तत्त्व उत्पादन भएको छ कि छैन भन्ने हुन्छ । खोप लगाएको कुकुरको शरीरमा आवश्यकताअनुसार एन्टिबडी छैन भने त्यस्तो कुकुर रेबिजबाट संक्रमित हुन सक्छ । र, यस्ता कुकुरले टोकेमा वा चिथोरेमा रेबिज रोग मानिसमा सर्न सक्छ । कुकुर वा जनावरले टोकिहाले एक पटक अस्पताल अनिवार्य पुग्नुपर्छ । चिकित्सकको सल्लाहअनुसार खोप लगाउनुपर्छ । 

  • कति समयमा रेबिजको लक्षण देखिन्छ ?

रेबिजको लक्षण देखिने ९ देखि ९० दिनलाई मानिन्छ । तर, कहिलेकाहीँ यो समयावधि फरक पर्न सक्छ । छोटो समयमा लक्षण देखिएको छ भने ५ देखि ६ दिन र वर्ष दिनपछि पनि रेबिजको लक्षण भएको भेटिएको छ । 

लक्षण देखिनु कुकुर वा जंगली जनावरको टोकाइ वा चिथोरेको शरीरको भागले पनि फरक पर्छ । मेरुदण्ड नजिक जनावरले टोके वा चिथोरे छिटो लक्षण देखापर्छ । 

dr milan bajracharya (1)

  • कस्ता लक्षण देखिन्छ ? 

पानीसँग डराउने, हावासँग डराउने रेबिज रोगका लक्षण हुन् । बेला बेला होस गुमाउने, हल्ला गर्ने, कराउनेजस्ता लक्षण पनि देखा पर्छन् । यस्ता लक्षण देखापरेको केही दिनमा बिरामीको मृत्यु हुने गर्छ । 

  • रेबिजबाट जोगिन के गर्ने ? 

सकेसम्म घरपालुवा वा समुदायमा बस्ने वा जंगली जनावरको टोकाइबाट जोगिनुपर्छ । यी जनावरको आक्रमणबाट कुनै पनि किसिमको घाउ भए तुरुन्तै अस्पताल जानुपर्छ । स्वाथ्यकर्मीको सल्लाहअनुसार खोप लगाउने र थप औषधि सेवन गर्नुपर्छ । 

  • जनावरले चिथोरेमा वा टोकेमा के गर्ने ?

कुकुर वा जनावरको टोकेको वा चिथोरेको भागमा सफा पानी र साबुनको प्रयोग गरी करिब १५ मिनेट धुनुपर्छ । त्यस्ता गाउँमा टाँका लगाउनु हुँदैन । कतिपयले बेसार, टुथपेस्ट लगाउने गरेका छन्, त्यस्तो कार्य गर्नु हुँदैन । जतिसक्दो छिटो अस्पताल जानुपर्छ र चिकित्सकको सल्लाहअनुसार खोप लगाउनुपर्छ । सरकारी स्वास्थ्य संस्थामा खोप निःशुल्क पाइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया