बिहीबार, ०८ फागुन २०८१
ताजा लोकप्रिय

सुधार केन्द्रमा हत्या : फरार अभियुक्तलाई पक्राउ गर्न माग

सोमबार, ०५ फागुन २०८१, ०६ : ०९
सोमबार, ०५ फागुन २०८१

बारा । दुई साताअघि यहाँको कलैया उपमहानगरपालिका–१ बैंक रोडस्थित नवजन्म पुनर्स्थापना (सुधार) केन्द्रमा भर्ना गरिएका प्रदीपप्रसाद मण्डललाई निर्घात कुटपिट गरी हत्या गरी फरार अभियुक्तहरूलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ । 

कलैयास्थित बारा उद्योग वाणिज्य सङ्घको सभाहलमा परिवारजनद्वारा आइतबार गरिएको पत्रकार सम्मेलनमा कुटपिट गरी भाइको हत्या अभियुक्तमध्येका फरार दुई जनालाई चाँडोभन्दा चाँडो पक्राउ गर्न मृतकका दाजु श्यामप्रसाद धानुकले माग गरे । ‘दोषी नउम्कियोस् र निर्दोष नफसोस् भन्ने हाम्रो माग छ । माघ १७ गते नवजन्म पुनर्स्थापना (सुधार) केन्द्रमा भाइलाई राखेका थियौँ’,  श्यामप्रसाद धानुकले भने ।

 घटनासँग जोडिएका दुई फरार अभियुक्तलाई पक्राउ गर्न नदिन राजनीतिक चलखेल भइरहेको बताउँदै धानुकले भाइको हत्यामा संलग्न आरोपितलाई चाँडोभन्दा चाँडो पक्राउ गर्न माग गरे । पुनर्स्थापना केन्द्रका सञ्चालक कलैया–३ का साहेबबाबु मन्सुरसहित दुई जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । 

अनुशासन भङ्ग गरेको आरोपमा शारीरिक सजाय स्वीकार नगर्दा केन्द्रका परामर्शदातासहितले सामूहिक कुटपिट गर्दा कलैया उपमहानगरपालिका–९ का ३२ वर्षीय प्रदीप मण्डलको यही फागुन १ गते राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

‘मुक्काले अनुहारमा कुटपिट गरिएको सङ्कलित प्रमाणले प्रस्ट भएको छ’, बाराका प्रहरी प्रमुख सन्तोष तामाङले भने, ‘मध्यरातमा कोठाभित्र कुटपिट गरिएको रहेछ । मुर्गा बनाउन खोजिएको रहेछ, मुर्गा बन्न नमानेपछि कुटपिट गरिएको देखिन्छ ।’ मण्डललाई दुई साताअघि परिवारले पुनर्स्थापना केन्द्रमा राखेका थिए । पक्राउ परेका सात जनामाथि कर्तव्य ज्यान कसुरअन्तर्गत अदालतबाट सात दिनको म्याद थपको अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको बाराका प्रहरी प्रमुख तामाङले बताए । 

कुटपिट गरिरहेको सिसिटिभीको फुटेज प्रहरीले सुरक्षित राखेको छ । भिडियो फुटेजमा शारीरिक यातना दिन खोजिएको र मृतक ओछ्यानको झुलमा लुक्न खोज्दा तानेर कुटपिट गरिएको दृश्य देखिएको छ । 

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–१ का २४ वर्षीय अरुण सर्राफ, १९ वर्षीय सागर गुप्ता, वडा नं २ का २१ वर्षीय परमेश्वर साह, कलैया–३ का १९ वर्षीय सरफराज मन्सुरी, वडा नं ४ का २२ वर्षीय निरज सर्राफ र वडा नं ६ का २० वर्षीय महम्मद आँसु मियाँ वडा नं ३ का २९ वर्षीय तमन्ना मन्सुरल छन् । पुनर्स्थापना केन्द्रमा सञ्चालककोतर्फबाट रेखदेख गर्ने र परामर्शदाताबाहेक मण्डलसहित १४ जना बस्दै आएका थिए ।  

यसैबिच मृतकका परिवारजन र आफन्तले फरार अभियुक्तलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गर्दै कलैयामा प्रदर्शन गरेका थिए । मृतकलाई महिनाको रु १० हजार दिने सर्तमा सो सुधार केन्द्रमा पठाइएको थियो । मृतकको दुई छोरी र एक छोरा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप