अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल आजदेखि

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप–२०२५’ सोमबारदेखि दशरथ रंगशालामा सुरु हुँदैछ । यो अन्तर्राष्ट्रिय प्रतियोगिता फागुन १४ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालसहित किर्गिस्तान, म्यानमार र लेबननको सहभागिता रहेको छ ।
एसियाली फुटबल महासंघ (एएफसी) महिला एसिया कप र विश्व फुटबल महासंघ (फिफा) महिला विश्वकपको तयारीका क्रममा यो प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिता फिफा इन्टरनेशल विन्डोअन्तर्गत सञ्चालन हुन लागेको हो ।
प्रतियोगिताको उद्घाटन खेल सोमबार म्यानमार र लेबनानबिच खेलिने छ । उक्त खेल नेपाली समय अनुसार, दिउँसो १४ः०० बजे सुरु हुनेछ । सोमबारको दोस्रो खेलमा आयोजक नेपालले किर्गिस्तानको सामना गर्नेछ । नेपाल र किर्गिस्तानबिचको खेल साँझ १८ः०० बजे सुरु हुनेछ ।
प्रतियोगितामा सहभागी टोलीमध्ये म्यानमार सबैभन्दा बलियो छ । फिफाद्वारा सार्वजनिक गरिएको पछिल्लो महिला वरीयतामा म्यानमार ५५औँ स्थानमा आसीन छ । अन्य तीन राष्ट्र भने एक सयभन्दा तलको वरीयतामा छन् ।
वरीयतामा नेपाल १०३औँ, किर्गिस्तान १२८औँ र लेबनान १३४औँ वरीयतामा छन् । प्रतियोगितामा सहभागी हुन तीनवटै विदेशी टोली नेपाल आइसकेका छन् । सहभागी टोलीहरूले पनि प्रतियोगिताका लागि आफूहरू तयार रहेको बताएका छन् ।
प्रतियोगिताका खेलहरू राउन्ड रोविन लिगका आधारमा हुने एन्फाले जनाएको छ । त्यसपछि अंक तालिकाको शीर्ष स्थानमा रहने दुईवटा टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछन् । फाइनल बाहेक प्रतियोगिताका सबै खेल दिउँसो १४ः०० बजे र साँझ १८ः०० बजे खेलाइने छन् ।
फागुन ८ गते किर्गिस्तानले म्यानमारसँग र नेपालले लेबनानसँग आफ्नो दोस्रो खेल खेल्नेछन् । लिग चरणको अन्तिम खेल फागुन ११ गते किर्गिस्तान र लेबनान तथा आयोजक नेपाल र म्यानमारबिच खेलिने एन्फाले जनाएको छ ।
लिग चरणको समाप्तिपछि अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल फागुन १४ गते साँझ १८ः०० बजे दशरथ रंगशालामा खेलिने छ ।
आयोजक एन्फाले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको छ । प्रतियोगितामा सहभागी हुन राष्ट्रिय टोलीकी गोलरक्षक एवम् कप्तान एन्जिला तुम्बापो सुब्बा पनि स्वदेश फर्किसकेकी छन् । उनी ग्रिसको क्लब निस एत्रोमितोउबाट व्यावसायिक फुटबल खेल्छिन् ।
यसै गरी, प्रतियोगिताका लागि राष्ट्रिय टोलीकी प्रभावशाली खेलाडी रेखा पौडेल पनि दुबईबाट स्वदेश फर्किएकी छन् । अर्की प्रभावशाली खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ भने फ्रान्सबाट फागुन ५ गते नै स्वदेश आइपुग्ने पनि एन्फाले जनाएको छ ।
एन्फाले प्रतियोगिताका लागि अन्तिम टोलीको घोषणा पनि गरिसकेको छ । टोलीमा गोलरक्षकको भूमिकामा अञ्जली तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर र उषा नाथ छन् । रक्षापंक्तिमा अमृता जैसी, गिता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे, विमला चौधरी र मनमाया दमाई रहेका छन् ।
यसै गरी, मध्यपंक्तिमा अनिता बस्नेत, रेणुका नगरकोटे, प्रिती राई, सरु लिम्बु, सविता राना मगर, रेणुका हमाल र सुष्मा तामाङ रहेका छन् । अग्रपंक्तिमा भने सावित्रा भण्डारी, रश्मि कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल रहेका छन् । नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङ हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण आरोहण सुरु, एकै दिन ३२ आरोही चुचुरोमा
-
सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूको धर्ना जारी, तस्बिरहरू
-
आम्दानी नभएपछि चितवनका उद्योग बन्द
-
इङ्लिस प्रिमियर लिग फुटबल : ‘डेब्यू’ खेलमा किन फरक जर्सी लगाएर मैदानमा ओर्लिए लेस्टर सिटीका १५ वर्षीय जेरेमी ?
-
आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि सरकारले माग्यो सुझाव
-
प्रहरी प्रमुख त युवासंघको सहअध्यक्ष पो रहेछ : अध्यक्ष लिङ्देन