दिल्लीमा जयशंकर भेट्न नपाएकी आरजुले ओमनमा भेटिन्, के भयो कुराकानी ?

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय विदेश मन्त्री एस जयशंकरबिच ओमनमा भेटवार्ता भएको छ । आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहेका उनीहरूबिच आइतबार साइडलाइन भेटवार्ता भएको हो ।
यसअघि परराष्ट्रमन्त्री राणा भारत जाँदा समेत जयशंकरलाई भेट्न पाएकी थिइनन् । त्यतिबेला परराष्ट्रमन्त्री राणाको निकै आलोचना समेत भएको थियो ।
लामो युरोप भ्रमणपछि गत पुस ४ गते भारत भ्रमणमा जाँदा परराष्ट्रमन्त्री राणासँग भारतीय पक्षका कुनै पनि नेता तथा अधिकारीहरूले भेट्न मानेका थिएनन् । त्यतिबेला परराष्ट्रमन्त्री राणाले विदेशमन्त्री जयशंकरसँग भेट्ने प्रयास गरेपनि उनले भेट्न मानेका थिएनन् । तर आइतबार ओमनमा भएको भेटमा उनीहरूबिच दुई देशको सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको छ ।
यस्तै भेटमा दुई देशबिचका द्विपक्षीय भेटवार्ता, भ्रमण आदानप्रदान तथा आपसी सहकार्यका विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री राणाको सचिवालयले जनाएको छ । हालै काठमाडौँमा सम्पन्न वाणिज्य सचिवस्तरीय तथा भारतको नयाँ दिल्लीमा भएको उर्जासम्बन्धी बैठक र तिनको प्रगतिका विषयमा पनि उनीहरूबिच कुराकानी भएको छ ।
भेटमा मन्त्री राणाले भारतसँग भएको ऊर्जा व्यापारसम्बन्धी सम्झौताले नेपालबाट भारत तथा भारत भएर बंगलादेश विद्युत् निर्यात प्रवर्द्धनमा सहयोग पुर्याएको भन्दै भारत सरकारलाई धन्यवाद ज्ञापन गरेकी थिइन् । साथै पछिल्लो समयमा दुई देशबिचको ट्रेड ट्रान्जिट तथा जलस्रोत विकासका क्षेत्रमा भएको प्रगतिका बारेमा उनीहरूबिच कुराकानी भएको थियो ।
नेपाल–भारत–बंगलादेशबिचको त्रिपक्षीय विद्युत् व्यापार सम्झौता नेपालको ऊर्जा क्षेत्रका लागि एउटा ठूलो उपलब्धि रहेको भन्दै त्यसका लागि भारतले प्रदान गरेको सहजीकरण उल्लेखनीय रहेको मन्त्री राणाको भनाई थियो ।
भेटमा क्रस बोर्डर विद्युत् व्यापार निर्माणको मोडालिटीका विषयमा भएको प्रगतिका बारेमा पनि कुराकानी भएको थियो । साथै नेपाल र भारत बिचको व्यापार सन्धिको पुनरावलोकन, यही जनवरीमा काठमाडौँमा भएको नेपाल–भारत इन्टर गभर्मेन्टल कमिटी बैठकमा धेरै क्षेत्रमा भएका उत्पादनमूलक छलफल र निर्णयका साथै धम्रा र मुन्द्रा थप बन्दरगाहको सञ्चालनका विषयमा पनि कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटमा भारतीय तर्फबाट अतिरिक्त बन्दरगाहहरु सञ्चालनका लागि भएको प्रगति र यसले सीमा पूर्वाधारको विकास र व्यापार प्रवर्द्धन तथा दुई देशबिचको कनेक्टिभिटीमा सुधार ल्याउने भन्दै मन्त्री राणाले प्रशंसा गरिन् ।
पञ्चेश्वर बहुउद्देश्यीय परियोजनासँग सम्बन्धित प्रमुख प्राविधिक समस्याहरू समाधान भइसकेको तथा हालै भएको दुवै देशको मन्त्रीस्तरीय बैठकबाट यसलाई सकारात्मक रूपमा अघि बढाउने समझ्दारी भएको विषयमा उनीहरूबिच छलफल भएको छ ।
भेटमा माथिल्लो अरुण परियोजना अघि बढेकोमा भारतीय विदेशमन्त्रीले धन्यवाद व्यक्त गरेका थिए । साथै विदेशमन्त्री जयशंकरले बिमस्टेक संगठनलाई सबै मिलेर अगाडि बढाउनुपर्ने धारणा पनि राखेका छन् ।
मन्त्री राणाले नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्त्व दिँदै आएको र आगामी दिनमा पनि दुवै देशको साझा हितका लागि भारतसँग सहकार्य गर्न नेपाल सदैव इच्छुक रहेको भारतीय विदेशमन्त्रीसमक्ष बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफ्रिकन स्वाइन फिभरले भटाभट बङ्गुर मरेपछि ओसारपसारमा रोक
-
रातोपाटी ब्रिफिङ : ६ महिनाको अवधिमा सरकारको काम जम्मा ४.२ प्रतिशतदेखि यूएईले पाँच हजार नेपाली घरेलु कामदार लैजानेसम्म
-
दिल्लीको मुख्यमन्त्रीमा महिला, रेखा गुप्ता बनिन् दलको नेता
-
ट्रम्पले भने– हामीले युक्रेनलाई अर्बौं डलर दियौँ, बदलामा केही पाएनौँ
-
‘विद्यार्थी विदेश जाने अवस्था अन्त्य हुनुपर्छ’
-
झलनाथ खनालको आक्रोश : यस्तो तरिकाले पार्टी चल्दैन, जनसङ्गठन पनि चल्दैनन्