बिहीबार, ०८ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रदेश

भ्रमण वर्ष घोषणाले पोखराका पर्यटन व्यवसायी उत्साही

आइतबार, ०४ फागुन २०८१, २० : ३९
आइतबार, ०४ फागुन २०८१

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य हरेक सार्वजनिक कार्यक्रममा भन्छन्, ‘पर्यटनको राजधानी घोषणाले के फाइदा भयो भन्छन् । एसियाली विकास बैंक र ग्रीन क्लाइमेट फण्डले पर्यटनको राजधानी घोषणा गरेकै कारण इ मोविलिटी परियोजनामा पोखरालाई छनोट गर्‍यो ।’

महानगर र एसियाली विकास बैंकबिच परियोजनामा पहिलो हस्ताक्षर भइसकेको छ । करिब १ सय मिलियन अमेरिकी डलरको उक्त परियोजना केही अनुदान र केही सहुलियत ऋणमा प्राप्त गर्न लागेको हो । घोषणा मात्रै गर्ने तर थप्नुपर्ने परियोजनाबारे वास्ता नगर्ने गुनासो धेरैको छ । पर्यटनको राजधानी घोषणा गरेको एक वर्षपछि पोखरा महानगरपालिकाले पोखरा भ्रमण वर्ष घोषणा गरेको छ । घोषणा अनुसार पर्यटकको सङ्ख्या थपिनेमा पर्यटन व्यवसायीहरू नै प्रष्ट छैनन् ।

तर घोषणा मात्रै हुँदा पनि पोखराको प्रचार अन्तर्राष्ट्रिय बजारमा पुग्ने भएकोले उनीहरू उत्साही छन् । ‘यही वर्ष लक्ष्य अनुसार पर्यटक आउँछन् भन्ने त होइन । तर घोषणा गरिसकेपछि केही लगानी पर्यटनमा बढ्छ । निजी क्षेत्रबाट पनि बढ्छ, सरकारी क्षेत्रबाट पनि बढ्छ,’ पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी भन्छन्, ‘अहिलेको प्रचार प्रसारले २०२६ राम्रो हुन्छ । घोषणा मात्रै पनि ठुलो कुरा हो ।’ महानगरले यो वर्ष २० लाख पर्यटक पोखरा भित्र्याउने लक्ष्य लिएको छ । हाल पोखरामा १० लाख हाराहारी मात्रै पर्यटकले भ्रमण गर्ने गरेको अनुमानित तथ्यांक छ । लक्षित पर्यटकको सङ्ख्या पुर्याउन अहिले आइरहेका भन्दा दोब्बर आवश्यक हुन्छ ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी भ्रमण वर्ष व्यवसायीकै माग भएको बताउँछन् । ‘राजधानी घोषणापछि केही उत्साह थपिएको छ । भ्रमण वर्षले झनै खुसी छौँ,’ उनले भने, ‘भ्रमण वर्ष व्यवसायीको माग थियो । अब गतिविधि थप्नुपर्छ ।’ पोखरामा मात्रै पर्यटन क्षेत्रको लगानी ७ खर्ब हाराहारी रहेको अनुमान छ । सन् २०२० मा सरकारले भ्रमण वर्ष घोषणा गरेपछि लगानी अत्यधिक थपिएको थियो । तर कोरोना संक्रमणका कारण भ्रमण वर्षका कार्यक्रम अघि बढेनन् । ठ्याक्कै तथ्यांक नभएपनि पोखरामा कोभिडपछि पर्यटकको सङ्ख्या बर्सेनि बढिरहेको व्यवसायीहरू बताउँछन् ।

राज्यले चुनौती हुने ठाउँहरूमा गाँठो फुकाइदिए लक्ष्य पूरा गर्न सकिने भ्रमण वर्ष अन्तर्गत कार्यसम्पादन समितिका संयोजक गोपी बहादुर भट्टराईको दाबी छ । ‘चुनौती छ । सबैभन्दा पहिला राज्यले कनेक्टिभिटीलाई प्राथमिकताका साथ सम्पन्न गर्नुपर्छ । राज्यको तर्फबाट गाँठो फुकाइयो भने लक्ष्य पूरा हुन्छ,’ उनले भने, ‘निजी क्षेत्रको भन्दा राज्यको दायित्व बढी छ ।’ पोखराबाट नेपालका प्रमुख सहरहरूमा हवाई उडान हुनुपर्ने र सडक मार्गको स्तरोन्नति छिटो सक्नुपर्ने उनको सुझाव छ । पोखरा आउने ८० प्रतिशत पर्यटक अहिले आन्तरिक छन् । अहिले महानगरले गरेको लगानी तत्कालै प्रतिफलका रूपमा नआएपनि आगामी वर्ष सङ्ख्या थपिने व्यवसायीहरूको विश्वास छ ।

‘भ्रमण वर्ष भनिरहँदा पर्यटकलाई पोखराले के दिने हो ? आजै खाऊँ, आजै भोग गरौँ भन्दा पनि अहिलेको लगानीले अर्को वर्ष प्रतिफल आउन सक्छ,’ भट्टराईले अघि भने, ‘भइरहेको प्रडक्टलाई मार्केटिङ गर्ने र नयाँ गन्तव्य खोजी गर्ने हो । हाम्रा प्याकेज लिएर देशदेखि विदेशसम्म पुग्छौँ ।’ पोखरा महानगरले भ्रमण वर्षकै दौरान अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने तयारी गरेको छ । लामो समय थलिएको पर्यटन भ्रमण वर्ष घोषणाबाट उठ्ने विश्वास व्यवसायीको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप