बिहीबार, ०८ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ठुला बैठकमा छोरा बोकेर किन जान्छन् मस्क ?

आइतबार, ०४ फागुन २०८१, २१ : ००
आइतबार, ०४ फागुन २०८१

वासिङ्टन पोस्ट । सर्वसाधारणका छोराछोरी कहिले नपुग्ने ठाउँमा पछिल्ला केही दिनयता अमेरिकी खर्बपति व्यापारी एलन मस्कका छोराछोरी पुगिरहेका छन् । 

विदेशी नेताहरूसँगको भेटघाटदेखि स्पेसएक्स प्रक्षेपणको नियन्त्रण कक्षसम्म मस्कका छोराछोरीहरू प्रविधि, व्यवसाय र अहिले राजनीतिक क्षेत्रमा आफ्ना बुबासँग बारम्बार देखिने गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्राविधिक खर्बपति तथा टेस्लाका सह-संस्थापकलाई नयाँ सरकारी विभाग सरकारी दक्षता विभाग (डज) प्रमुख नियुक्त गरेदेखि नै मस्कका छोराछोरीहरू अमेरिकी राजधानीमा बारम्बार देखिन थालेका हुन् । 

बुधबार मस्कका चार वर्षीय छोरा लिटिल एक्स ओभल अफिसको रिजोल्युट डेस्कको कुनामा उभिएका थिए । बिहीबार मस्कले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रविधि र नवप्रवर्तनसँग सम्बन्धित मुद्दाहरूमा छलफल गरिरहेको समयमा लिटिल एक्स र उनका अरू दुई भाइबहिनीले भारतीय प्रधानमन्त्रीसँग उपहार साटासाट गरे । अमेरिकामा ट्रम्प प्रशासनको हिस्सा बन्नुअघि पनि मस्क प्रायः आफ्ना बच्चाहरूसँग देखिन्थे । 

Elon -modi

टर्कीका राष्ट्रपतिसँगको भेटघाट होस् आस्विट्ज यातना शिविरमा आयोजित स्मृति सभा । वा टाइम पत्रिकाले २०२१ मा मस्कलाई वर्ष व्यक्तिका रूपमा नामकरण गरेको समारोहमा होस् । मस्क प्रायः सन्तानसँग देखिन्छन् । तर, मस्क किन आफ्ना बच्चाहरूलाई यति महत्वपूर्ण ठाउँहरूमा लगिरहेका छन् ? 

‘धेरै सार्वजनिक कार्यक्रमहरूमा बालबालिकालाई समावेश गर्नु भनेको राजनीतिज्ञहरूले उनीहरूलाई अलि बढी मिलनसार देखाउन र जनताको नजरमा बढी मानवीय देखाउन गरेको राजनीतिक चाल हो,’ अमेरिकी विश्वविद्यालयका सार्वजनिक सञ्चारका प्राध्यापक कर्ट ब्राडक भन्छन् । 

सार्वजनिकस्थानमा किन लगे छोरा ? 

Elon Musk1

तर मस्कले आफ्नो कान्छो छोरालाई ओभल अफिसमा लैजाने निर्णय असामान्य भएको ब्राडक मान्छन् । ३० मिनेट लामो प्रेस ब्रिफिङमा लिटिल एक्स निकै दिक्क देखिन्थे । उनी कहिले आफ्नो बुबाको नक्कल गर्थे त कतिबेला भुइँमा फ््यात्त बसिरहेका हुन्थे । कुनै बेला उनी अमेरिकी राष्ट्रपतिलाई हेर्दै मुस्कुराइरहेका पनि थिए । एक पटक त उसले कसैलाई मुख बन्द गर्न भनेका थिए । 

यी सार्वजनिक कार्यक्रममा बालबालिकाहरूलाई जानाजान समावेश गरिएको ब्राडकले भन्छन् । यी सबै ध्यान भंग गर्न गरिएको उनी भन्छन् । यो मस्क र ट्रम्प दुवैका लागि फाइदाजनक भएको उनले बताए । ‘मलाई लाग्छ यसको पछाडि कुनै रणनीति छ । यसमार्फत केही कुरामा ध्यान खिच्ने र अन्य कुराबाट ध्यान हटाउने प्रयास भइरहेको छ,’ उनले भने । 

जोन हेबर एक रणनीतिक सञ्चार सल्लाहकार हुन् । उनले पाँच वटा राष्ट्रपति अभियानमा काम गरेका छन् र हार्बर्डमा अध्यापन गर्छन् । मस्कका बच्चाहरूको बारम्बार उपस्थिति र यसलाई भाइरल क्षण बनाउनु ट्रम्पका लागि फाइदाजनक भएको उनी भन्छन् । ‘यसले ट्रम्पलाई सकेसम्म धेरै अराजकता वा हंगामा सिर्जना गर्न मद्दत गर्छ,’ हेबरले भने । यसले वास्तवमा उनीप्रति कम ध्यान आकर्षित गर्ने उनको भनाइ छ । 

मस्ककी पूर्वप्रेमिका र लिटिल एक्सकी आमा ग्रिम्सले ओभल अफिसमा आफ्नो छोराको उपस्थितिको आलोचना गरेकी थिइन् । छोरा यसरी सार्वजनिक रूपमा हुनुहुँदैनथ्यो भन्ने उनको भनाइ छ । ‘तर मलाई खुसी छ कि उनी यस समयमा विनम्र थिए,’ उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेकी छिन् । 

आफ्नो छोरालाई चर्चामा देख्न मन नपराउने २०२२ मा ग्रिम्सले भ्यानिटी फेयरका लागि एक लेख लेखेकी थिइन् । ‘परिवारको साथमा जे भइरहेको छ, मलाई लाग्छ, बच्चाहरूलाई त्यसबाट टाढा राख्नुपर्छ र एक्स बस त्यहाँ थिए । मेरो मतलब उसले मूल रूपमा उनलाई आफ्नो उत्तराधिकारीको रूपमा हेर्छ र उनलाई जताततै लैजान्छ..... तर हो, मलाई थाहा छैन ।’ पोस्टमा मस्ककी श्रीमतीले लेखेकी छिन् । 

मस्क र उनका छोराछोरी

Elon Musk2

राजनीतिमा आउन्ु निकै अगाडि नै मस्कले साथमा छोराछोरी बोकेर हिँड्न थालेका हुन् । एक दशक अगाडि उनले आफ्नो छाप छोड्दै गर्दा उनी टेस्लाप्रति अरूको ध्यान आकर्षित गर्न उत्सुक थिए । यस्तोमा उनलाई धेरै कार्यक्रममा देख्नु सामान्य थियो । २०१५ मा विश्लेषक र पत्रकारहरूले सिलिकन भ्यालीमा टेस्लाको भव्य उद्घाटनका लागि पर्खिरहेका बेला मस्कका पाँच बच्चाहरू कम्पनीको क्याम्पस वरिपरि एकअर्कालाई हाँस्दै, चिच्याउँदै र बोलाउँदै दौडिरहेका देख्न सकिन्थ्यो । 

त्यहाँ उपस्थित मानिस घण्टौँसम्म पर्खन बाध्य भए, तर मस्कका बच्चाहरूको उपस्थितिले आरामदायी र खुसीको वातावरण बनाइदियो । कम्पनीहरूले सामान्यतया आयोजना गर्ने कडा र औपचारिक कार्यक्रमभन्दा धेरै फरक थियो, जहाँ संस्थापकका छोराछोरीहरू देखिनु अनौठो मानिन्छ । मस्कका तीन फरक महिला पार्टनरबाट १२ सन्तान छन् । 

सार्वजनिक रूपमा देखिने उनका छोराछोर एक्स, एई, ए–१२ र लिटिल एक्स हुन् । आफ्ना चार वर्षीय छोरालाई ‘भावनात्मक सहयोग प्रदान गर्ने व्यक्ति’ भनेर मक्सले भनेका छन् ।

मस्कको जीवनी लेख्ने वाल्टर आइज्याकसनले ‘द डायरी अफ अ सीईओ’ पोडकास्टमा भनेका छन्– मस्क आफ्ना बच्चाप्रति गहिरो रूपमा प्रतिबद्ध छन् । उनीहरूका लागि मस्क लगभग पागल भइसकेको उनी भन्छन् । ‘आफ्ना बच्चा, आफ्ना प्रेमिका, आफ्ना श्रीमतीका लागि उनी आफूले सक्ने सबै गर्छन्,’ आइज्याकसनले भने । ‘उनी सधैँ बच्चाहरू आफ्नो वरिपरि राख्न मन पराउँछन् । उनलाई आफ्नो साथमा सधैँ एक जना साथी राख्न मन पर्छ । तर, यसको मतलब यो होइन कि, उनलाई शान्ति मन पर्दैन,’ उनी भन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप