पार्टी एकताको ‘होमवर्क’ ः गुरुङ, पुन, भुसाल र हमाल सक्रिय
![पार्टी एकताको ‘होमवर्क’ ः गुरुङ, पुन, भुसाल र हमाल सक्रिय](https://npcdn.ratopati.com/media/news/unity_5UhQA92oUf.jpg)
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिन यता पार्टी एकताको रटान लगाइरहेका छन् । माघ २९ गते मंगलबार कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेका अध्यक्ष प्रचण्डले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपासँग चाँडै एकता हुने दाबी गरे ।
‘पार्टी एकता गर्न समाजवादी मोर्चा बनेको हो, मोर्चाभित्र विश्वासको वातावरण बनाएर पार्टी एकतामा जाने योजना रहेकाले एकता चाँडै पनि हुनसक्छ’, प्रचण्डले सुर्खेतमा भनेका थिए ।
सुर्खेत पुग्नुअघि चितवन पुगेर प्रचण्डले एकीकृत समाजवादीसँग पार्टी एकता हुने बताएका थिए ।
माघ १९ गते चितवनमा एकीकृत समाजवादीका स्थानीय नेतालाई पार्टी प्रवेश गराउँदै प्रचण्डले भनेका थिए, ‘यो प्रवेशले माधवजीसँगको सम्बन्धलाई कुनै असर पर्ने छैन । अहिले माधवजी र हामी मिलेर समाजवादी मोर्चामा नयाँ ढङ्गले काम गर्न खोजिरहेका छौँ ।’
प्रचण्डले भनेको नयाँ ढङ्गको कामको अर्थ पार्टी एकता नै भन्ने बुझाउँथ्यो । त्यस क्रममा उनले माओवादी केन्द्र र एकीकृत समाजवादीबिच पार्टी एकताको आधार बन्दै गएको दाबीसमेत गरेका थिए ।
‘साथीहरूको पार्टी प्रवेशले माओवादी र एकीकृत समाजवादीबिचको पार्टी एकताको आधार बन्दैछ भन्ने मेरो बुझाइ छ’, प्रचण्डको भनाइ थियो ।
अध्यक्ष प्रचण्डमात्रै होइन, नेता वर्षमान पुनले पनि एकीकृत समाजवादीसँग पार्टी एकता हुने भन्दै आएका छन् । फागुन १ गते बिहीबार ३० औँ जनयुद्ध दिवसका अवसरमा खोटाङ पुगेर वर्षमानले एकीकृत समाजवादी र माओवादी कार्यदिशामा धेरै कुरामा समानता रहेको बताए ।
‘एकीकृत समाजवादीसँग हाम्रो कार्यनीतिक रूपमा धेरै कुरा मिल्छ, ढिलोछिटो हामी एकै ठाउँमा हुने हो’, नेता पुनले भने, ‘युद्ध होइन, शान्तिपूर्ण प्रतिस्पर्धाबाटै जान तयार भए वैद्यजी, विप्लवजीहरूसँग पनि एकता हुन्छ । हिजो सँगै लडेका र जनयुद्धको विरासत बोकेका सबै समूहसँग एकताका लागि हामी खुला छौँ ।’
प्रचण्ड र पुनको यो भनाइबाट पनि दुई पार्टीबिच एकताको गृहकार्य भइरहेको भन्ने बुझ्न सकिन्छ । नेताहरूका अनुसार प्राविधिक विषय मिल्न बाँकी रहे पनि वैचारिक तथा सैद्धान्तिक रूपमा दुवै पार्टीका शीर्ष नेता एकताका लागि सहमत नै छन् । तर, दुवै पार्टीले फागुन–चैत महिनामा गर्ने आ–आफ्ना आन्दोलन र त्यसले दिने परिणामका आधारमा एकताको निर्णय गर्न थप सहज हुने उनीहरूको बुझाइ छ ।
- चार नेतालाई गृहकार्यको जिम्मा
माओवादी केन्द्र र एकीकृत समाजवादीबिच एकताको गृहकार्य दुवै पार्टीका दुई–दुई गरी चार जना नेताले गरिरहेका छन् । त्यसमा माओवादीका तर्फबाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन खटिएका छन् । त्यस्तै, माधव नेपाल नेतृत्वको पार्टीबाट नेताहरू डा. बेदुराम भुसाल र प्रमेश हमालले एकताको गृहकार्य गरिरहेका छन् ।
‘चार जना नेताहरूबिच पछिल्लो पटक विभिन्न चरणमा छलफल भइसकेको छ’, एकीकृत समाजवादीका एक पदाधिकारी भन्छन्, ‘छलफलमा सहभागी नेताहरूले गरेको ब्रिफिङ अनुसार सैद्धान्तिक, वैचारिक कुरामा कुनै मतभेद छैन । प्राविधिक विषय कसरी मिलाउने भन्नेमा दोहोरो छलफल भइरहेको छ ।’
ती नेताका अनुसार पार्टी एकताका लागि सैद्धान्तिक रुपमा दुवै पक्ष सहमत भए पनि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल हतारमा पार्टी एकता गर्ने पक्षमा छैनन् । तत्कालीन समयमा एमाले र माओवादीबिच भएको एकता टिक्न नसकेका कारण नेपाल हतारमा हुने एकताको विपक्षमा उभिएका हुन् ।
पार्टी स्थायी कमिटी र सचिवालय बैठकमा समेत नेता नेपालमाथि हतारमा पार्टी एकता गर्न नहुने दबाब परेको सो पार्टीका नेताहरू बताउँछन् ।
‘पहिला सहकार्य गरेर एक अर्काप्रति कार्यकर्ता तहमै विश्वासको वातावरण बनाउने, त्यसपछि बल्ल एकता गर्नुपर्छ भन्ने अध्यक्ष नेपालको भनाइ छ’, माधव नेपाल निकटका अर्का नेता भन्छन्, ‘प्रचण्डजी अलि हतारो गरिरहनुभएको छ र एकता हुन्छ भनेर बोलिरहनुभएको छ ।’ तर नेपाल ‘पर्ख र हेर’को अवस्थामा रहेको ती नेताको भनाइ छ ।
उनका अनुसार अध्यक्ष नेपाललाई अहिले नै माओवादीसँगको एकता चर्चा गर्दा आफ्ना पार्टीका नेता–कार्यकर्ता एमालेमा जालान् भन्ने त्रास देखिन्छ ।
- दुवैतर्फका नेता भन्छन् : शीर्ष नेताले टुङ्ग्याउँछन्
माओवादीका तर्फबाट पार्टी एकताको गृहकार्यमा जुटेका महासचिव देव गुरुङ दुई पार्टीका विभिन्न तहका नेताबिच कुराकानी भएको बताउँछन् । तर निर्णयमा पुग्न बाँकी रहेको उनको भनाइ छ ।
‘नेताहरूबिच छलफल र संवाद त हुने नै भयो तर निर्णयमा पुग्न शीर्ष नेताले नै पहल गर्नुपर्ने अवस्था छ’, गुरुङले रातोपाटीसँग भने, ‘अहिले समाजवादी मोर्चा क्रियाशील छ । त्यसबाटै अघि बढ्दै जाने पहिलो प्रयास हुनेछ ।’
वैचारिक राजनीतिक प्रश्नहरूमा थप छलफल बढाउन आवश्यक रहेको भन्दै गुरुङले शीर्ष नेताको व्यस्तताका कारण त्यो काम घनिभूत रूपमा हुन नसकेको बताए ।
‘नेताहरू अलि व्यस्त हुनुभएकाले छलफल कम भएको छ । अब नेताहरू छलफलमा बसेर परिणाममुखी बनाउनतिर लाग्नुभयो भने पार्टी एकता गर्न समस्या हँुदैन ।’
एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल पनि समाजवादी मोर्चा गठनको एउटा उद्देश्य भविष्यमा पार्टी एकताका लागि पनि भएको बताउँछन् ।
‘सैद्धान्तिक रूपमा कम्युनिस्टहरू जहिलेदेखि विभाजन हुन थाले, त्यही बेलादेखि नै पार्टी एकताको कुरा प्रमुख बनेको छ । त्यसमा सबैले जोड दिने गरेका छन्’, महासचिव भुसालको भनाइ छ ।
भुसालले मोर्चामार्फत राम्ररी काम गरेपछि मात्र एकताको ढोका खुल्ने बताए ।
‘आजको अवस्थामा हामी समाजवादी मोर्चामा छौँ । त्यहाँ छलफल पनि गरिरहेका छौँ । मोर्चा गठनको उद्देश्य कुनै दिन वामपन्थी समाजवादी पार्टीहरू एक ठाउँमा उभिने भन्ने नै हो’, भुसालले रातोपाटीसँग भने, ‘तर यसमा हामीले राम्ररी काम गर्न सकेका छैनौँ ।’
भुसालले मोर्चामार्फत पहिला सहकार्यलाई नै बलियो बनाउनुपर्ने बताए ।
‘किनभने समाजवादी मोर्चाको नाम र भावनाका हिसाबले सहकार्य नै राम्रो भइसकेको छैन, त्यसअर्थमा पहिला सहकार्यलाई बलियो बनाउने चरणमा हामी छौँ । त्यसपछिको स्टेपमा अघि नबढ्ने भन्ने हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफ्रिकन स्वाइन फिभरले भटाभट बङ्गुर मरेपछि ओसारपसारमा रोक
-
रातोपाटी ब्रिफिङ : ६ महिनाको अवधिमा सरकारको काम जम्मा ४.२ प्रतिशतदेखि यूएईले पाँच हजार नेपाली घरेलु कामदार लैजानेसम्म
-
दिल्लीको मुख्यमन्त्रीमा महिला, रेखा गुप्ता बनिन् दलको नेता
-
ट्रम्पले भने– हामीले युक्रेनलाई अर्बौं डलर दियौँ, बदलामा केही पाएनौँ
-
‘विद्यार्थी विदेश जाने अवस्था अन्त्य हुनुपर्छ’
-
झलनाथ खनालको आक्रोश : यस्तो तरिकाले पार्टी चल्दैन, जनसङ्गठन पनि चल्दैनन्