आईसीसी पुरुष क्रिकेट वर्ल्ड कप लिग–२ : नामिबियालाई हराउँदै तालिकाको दोस्रो स्थानमा उक्लियो ओमान

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गत आइतबार खेलिएको खेलमा ओमानले नामिबियालाई दुई विकेटले हराएको छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको नामिबियाले ३३.१ ओभरमै अलआउट हुनुअघि ९६ रनमात्र बनाउन सक्यो ।
जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली ओमानले भने २२.४ ओभरमै आठ विकेट गुमाएर एक सय रन बनाउँदै विजयलक्ष्य पार ग¥यो । घरेलु टोली ओमानको जितमा ओपनर आमिर कलिमले २१ रनको योगदान गरे ।
विनायक शुक्लाले पनि टोलीको खातामा १८ रन थपे । कप्तानसमेत रहेका ओपनर जतिन्दर सिंहले १४ रन बनाए । वसिम अलीले पनि १० रन बटुले । ओमानले अतिरिक्त रुपमा पनि १८ रन पाएको थियो । नामिबियाका बलर जेरहार्ड एरास्मसले पाँच विकेट लिए पनि टोलीलाई जितसम्म डोर्याउन सकेनन् ।
त्यसअघि, पहिले ब्याटिङ गरेको नामिबियाका लागि माथिल्लो क्रमका ब्याट्सम्यानहरुले निराशाजनक प्रदर्शन गरेका थिए । छैटौँ नम्बरमा क्रिज समाल्न आएका जन निकोल लफ्टी–एटनले सर्वाधिक ३० रन बनाएका थिए ।
यसका अतिरिक्त, कप्तान जेरहार्ड एरासमस (१५ रन) र रुबेन ट्रम्पलम्यान (१४ रन) ले मात्र दोहोरो अंकमा रन बनाउन सके । प्रारम्भदेखि नै नामिबियाका ब्याट्सम्यानहरु घरेलु टोलीका बलरसामु निरीह देखिएका थिए ।
ओमानका बलर सकिल अहमद एक्लैले चार विकेट लिए । उनले नौ ओभरमा दुई मेडन राख्दै केवल २५ रन खर्चिए । जे ओडेड्राले दुई विकेट हात पारे । आमिर कलिमले पनि दुई विकेट कुम्ल्याए । नामिबियाले अतिरिक्त रुपमा सात रन पाएको थियो ।
लिग–२ प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहेको छ । आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ प्रतियोगिता सहभागी टोलीहरुका लागि निकै महत्त्वपूर्ण छ । यो प्रतियोगिता सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोटको आधारका रुपमा पनि रहेको छ ।
सन् २०२७ को एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा संयुक्त रुपमा आयोजना हुँदैछ । लिग–२ प्रतियोगिताको समाप्तिपछि अंक तालिकाको माथिल्लो चार स्थानमा रहने राष्ट्र सिधै सन् २०२७ को एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् ।
लिग–२ तालिकाको अन्तिम चार स्थानमा रहने राष्ट्रले भने विश्वकप क्वालिफायरको प्ले–अफ चरण खेल्नु पर्नेछ । यसका अतिरिक्त, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट सन् २०१८ मा प्राप्त एकदिवसीय मान्तयता जोगाउन पनि यो प्रतियोगिताको भूमिका रहन्छ ।
हाल आईसीसीबाट अस्थायी रुपमा एकदिवसीय मान्यता पाएका नेपालसहितका एसोसिएट्स सदस्य राष्ट्रको उक्त मान्यता सन् २०२६ को विश्वकप छनोटसम्म कायम रहने छ । यो सूचिमा स्कटल्यान्ड, यूएई, नेदरल्यान्ड्स, नामिबिया, ओमान, अमेरिका र क्यानडा पनि रहेका छन् ।
त्यसैले यसपटक पनि लिग–२ प्रतियोगिता निकै महत्त्वपूर्ण छ । यसपटक लिग–२ तालिकाको माथिल्लो चारभित्र पर्न सके नेपाल सिधै विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछ । अन्यथा नेपालले छनोट चरणमा प्रवेश गर्न प्ले–अफ खेल्नु पर्नेछ ।
हालसम्म लिग–२ प्रतियोगितामा १५ खेल खेलेको अमेरिका १० जितबाट २० अंक बटुल्दै तालिकाको पहिलो स्थानमा आसिन छ । १५ खेल खेलेको ओमान १८ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । १२ खेल खेलेको क्यानडा १६ अंकसहित तेस्रो स्थानमा झरेको छ ।
यसैगरी, १२ खेल खेलेको नेदरल्यान्ड्स १४ अंकसहित चौथो र ११ खेल खेलेको स्कटल्यान्ड १४ अंकसहित पाँचौँ स्थानमा आसिन छन् । १६ खेल टुंग्याएको नामिबिया १२ अंकसति छैटौँ, १२ खेल खेलेको नेपाल ६ अंकसहित सातौँ र ११ खेल सकेको यूएई चार अंकसहित आठौँ स्थानमा छन् ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग फुटबलमा आर्सनल विजयी
-
चैती छठ अन्तर्गत आज दोस्रो दिन खरना मनाइँदै
-
विदेशी मुद्राको विनिमयदर, कसको मूल्य कति ?
-
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी