शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

पाइप फुटेर बबरमहल जलमग्न हुनु विकास मोडेलको ‘असफलता’

आइतबार, ०४ फागुन २०८१, १५ : २३
आइतबार, ०४ फागुन २०८१

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा बबरमहलमा मेलम्ची खानेपानीको पाइप फुट्दा सडक जलमार्गमा परिणत हुनु हाम्रो विकास मोडेलको असफलता र समन्वयको चरम अभाव भएको भन्दै आलोचना भएको छ । आजको बैठकको शून्य समयमा नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले मुलुककै प्रशासनिक केन्द्रको मुटुको पाइप फुट्नुमा असफलता र समन्वयको चरम अभाव भएको बताइन् ।

‘चार दिनअघि सिंहदरबारको दक्षिण ढोका नजिक बबरमहलमा मेलम्ची खानेपानीको पाइप फुट्दा सडक जलमार्गमा परिणत मात्र भएन। मुलुककै प्रशासनिक केन्द्रको मुटुमा एउटा पाइप फुट्ने विषय हाम्रो विकास मोडेलको असफलता र समन्वयको चरम अभावको ज्वलन्त उदाहरण हो,’ सांसद गौतमले भनिन् । 

सरकारी निकायले एक अर्कासँग समन्वय नगर्दा यस्तो घटना घटन पुगेको उनले बताइन् । ‘सडक विभागले बाटो बनाउँछ, खानेपानी विभागले ढल खन्छ, विद्युत् प्राधिकरणले पोल गाड्छ— तर एकले अर्कासँग समन्वय नगर्ने परिपाटीको फलस्वरूप, बानेश्वर–माइतीघर मुख्य मार्ग अवरुद्ध मात्र भएन कि हाम्रो विकासको ढाँचा नै धराशायी देखियो,’ सांसद गौतमले भनिन् । 

तीन तहका सरकारबिच समन्वयका लागि अन्तर सरकार समन्वय ऐन २०७७ भए पनि अन्तर मन्त्रालय समन्वयको कानुनको खाँचो देखिएको सांसद गौतमले बताइन् । 

अब यस्तो लापरबाही कहिल्यै नहुने कडा कानुनी दायरासहितको प्रभावकारी संरचना निर्माण प्रणाली आवश्यक रहेको उनको भनाइ छ । दोषारोपण गरेर होइन, समाधान खोजेर अघि बढ्नुपर्ने सुझाव उनले दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप