शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

संसदको रोस्टमको कुर्सीबाट प्रधानमन्त्रीले दिए प्रभु हजाराको प्रश्नमा यस्तो जवाफ

आइतबार, ०४ फागुन २०८१, १४ : ५६
आइतबार, ०४ फागुन २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद प्रभु हजाराले सोधेको प्रश्नमा जवाफ दिएका छन् । प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका क्रममा उनले छैटौँ प्रश्नको रूपमा आफ्नो जवाफ प्रस्तुत गरेका हुन् । 

संसद्को रोस्टममा उभिएका उनले आफ्नो खुट्टामा समस्या भएको भन्दै कुर्सीमा बसेर प्रश्नको जवाफ दिएका थिए । 
यस्तो छ सांसदको प्रश्नमा प्रधानमन्त्रीको जवाफ: 
प्रश्न नं. ६ को जवाफ

१.वीरगन्जस्थित ५ सय शय्याको नारायणी अस्पताल निर्माण गर्ने सम्बन्धमा सम्मानित सर्वोच्च अदालतमा मुद्दा परेकोले केही समय निर्माण कार्यमा ढिलाइ भएको हो।  अदालतको फैसला पश्चात् निर्माण कार्य अगाडि बढाउन आगामी आर्थिक वर्षमा कार्यक्रम तथा बजेट व्यवस्था गरिने विश्वास दिलाउन चाहन्छु।  

२.चालु खर्च घटाई पुँजीगत खर्च बढाउन सरकारले विभिन्न कदम चालेको छ।  साथै,  सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड, २०८१ नेपाल सरकारबाट स्वीकृत भई कार्यान्वयनमा ल्याइएको छ। पुँजीगत खर्च बढाउन गत आर्थिक वर्षको सिर्जित दायित्व रकमान्तर मार्फत भुक्तानी सहजीकरण गरिएको छ।  न्यून विनियोजन भएका, कम प्राथमिकताका, विकास नतिजाको हिसाबले कम महत्वका र पूर्व तयारी पुरा नभएका आयोजना तथा कार्यक्रमको कार्यान्वयन स्थगित गरी यस्ता आयोजना तथा कार्यक्रममा विनियोजित रकम उच्च प्राथमिकताका ठुला आयोजनामा रकमान्तर गर्ने विषयलाई सरकारले प्राथमिकता दिएको छ।  

३.राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय महत्वका प्राथमिकता प्राप्त आयोजना कार्यान्वयनमा स्रोतको अभाव हुन नदिने व्यवस्था मिलाइएको छ। साथै बहु वर्षीय आयोजनालाई व्यवस्थित गर्न आयोजनाको बहु वर्षीय ठेक्का सहमति सम्बन्धी मापदण्ड, २०८१ कार्यान्वयनमा ल्याइएको ब्यहोरा जानकारी गराउन चाहन्छु।

४.आगलागी र डढेलोबाट हुने सम्भावित जोखिमको विषयमा सरकार संवेदनशील रहेको छ। हिउँदे वर्षामा आएको कमी र बढ्दो तापक्रमका कारण विगत भन्दा चाँडै डढेलो तथा आगलागीका घटनामा भइरहेको वृद्धिलाई मध्यनजर गरी सकेसम्म यस्ता घटना हुन नदिने र भइहालेमा सो को नियन्त्रण र न्यूनीकरणका लागि सबै जिल्लामा डढेलो तथा आगलागी नियन्त्रण पूर्व तयारी तथा प्रतिकार्य योजना बनाई कार्य गर्न निर्देशन दिइएको छ। नियोजित रुपमा वन डढेलो लगाउने व्यक्तिलाई प्रचलित कानुन बमोजिम कारबाही समेत गरिनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप