सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यसकारण च्याम्पियन्स ट्रफी खेल्न पाएनन् पूर्वविजेता श्रीलंका र वेस्ट इन्डिजले

आइतबार, ०४ फागुन २०८१, १३ : ५८
आइतबार, ०४ फागुन २०८१

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफी सुरु हुन अब तीन दिनमात्र बाँकी छ । प्रतियोगिताको नवौँ संस्करण आगामी बुधबारदेखि पाकिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) मा सुरु हुँदैछ ।

यसपटक प्रतियोगितामा आठवटा टोलीले सहभागिता जनाएका छन् । तर, विश्व क्रिकेटका दुई हस्ती राष्ट्र वेस्ट इन्डिज र श्रीलंका भने च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा सहभागी छैनन् । 

श्रीलंका र वेस्ट इन्डिज दुबै च्याम्पियन्स ट्रफीको पूर्वविजेता पनि हुन् । श्रीलंकाले सन् २००३ मा सम्पन्न तेस्रो संस्करणको उपाधि जितेको थियो । 

फाइनल खेल वर्षाले बिथोलिएपछि श्रीलंका र भारतलाई संयुक्त विजेता घोषित गरिएको थियो । पहिलो दिन फाइनल सम्भवन भएपछि दोस्रो दिन सारिएको थियो । दोस्रो दिन पनि खेल सम्भव भएको थिएन् ।

वेस्ट इन्डिजले भने सन् २००४ मा च्याम्पियन्स ट्रफीको उपाधि चुमेको थियो । उक्त संस्करणको फाइनलमा क्यारेबियन टोलीले आयोजक इङ्ल्यान्डलाई दुई विकेटले हराएको थियो । 

यी दुवै पूर्वविजेता नवौँ संस्करणमा सहभागी छैनन् । अखिर किन त ? यसपटक च्याम्पियन्स ट्रफीमा वेस्ट इन्डिज र श्रीलंकाको स्थान बंगलादेश र अफगानिस्तानले लिएका छन् ।  प्रतियोगितामा सहभागी हुने आठवटै टोलीको टुंगो च्याम्पियन्स ट्रफीभन्दा अगाडि आयोजित आईसीसी एकदिवसीय विश्वकपबाट लगाइएको हो । त्यसैले यी दुवै टोली च्याम्पियन्स ट्रफीमा सहभागी छैनन् ।

सन् २०२३ मा खेलिएको आईसीसी विश्वकपमा माथिल्लो आठ स्थानभित्र रहेका टोलीले च्याम्पियन्स ट्रफी खेल्ने अवसर पाएका हुन् । उक्त विश्वकपमा सेमिफाइनलमा पुग्ने चार टोली स्वतः छनोट भए । सन् २०२३ को विश्वकपमा भारत, अस्ट्रेलिया, न्युजिल्यान्ड र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेका थिए । त्यसैले यी चारवटै टोली सजिलै च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा छनोट भए ।

पाकिस्तान भने आयोजक राष्ट्रको हैंसियतले च्याम्पियन्स ट्रफीमा सहभागी भएको हो । पाकिस्तान सन् २०२३ को विश्वकपमा पनि अंक तालिकाको पाँचौँ स्थानमा थियो ।  यसैगरी, उक्त विश्वकपमा अफगानिस्तान छैटौँ, इङ्ल्यान्ड सातौँ र बंगलादेश आठौँ भएका थिए । त्यसैले यी तीन टोलीले पनि च्याम्पियन्स ट्रफीको नवौँ संस्करण खेल्ने अवसर पाए । 

उक्त विश्वकपमा श्रीलंका नवौँ र नेदरल्यान्ड्स दशौँ स्थानमा रहेका थिए । वेस्ट इन्डिज भने सन् २०२३ को विश्वकपमा छनोट नै भएको थिएन । त्यसैले यी राष्ट्रले च्याम्पियन्स ट्रफी खेल्न पाएनन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप