बुधबार, ०७ फागुन २०८१
ताजा लोकप्रिय
‘अनि देवराली रुन्छ’को क्यानभासबाट

सारङ्गीको तारले मेरो मनको गीत गाउँछ...

आइतबार, ०४ फागुन २०८१, १३ : ००
आइतबार, ०४ फागुन २०८१

निरोजस्तो निष्ठुर होइन म, रोम जलिरहँदा बाँसुरी बजाएर बस्ने ! समृद्ध नेपालमा सुखी नेपालीलाई सारङ्गीको पाश्र्व धुन सुनाउन लाग्दैछु म ।

‘म नै राज्य हुँ भन्ने लुइ चौधौँका सच्चा अनुयायी भन्न सुहाउने नेता हाम्रो मुलुकमा चौथोपटक प्रधानमन्त्रीका रूपमा सेवारत छन् । नेपाल र नेपालीको भाग्य बलियो रहेछ भने यी ‘धीरगम्भीर’ व्यक्तित्वलाई पाँचौँपटक पनि प्रधानमन्त्रीका रूपमा देख्न पाइनेछ ।

हुन त हाम्रो भाग्य यसै पनि बलियो छ । अब जसलाई प्रधानमन्त्री बनाउने चाँजोपाँजो मिलाइएको छ, उनी पाँचपटक मुलुक हाँकिसकेका ‘करिस्मेटिक’ व्यक्तित्व हुन् । समृद्ध नेपालमा सुखी नेपालीका लागि उनले गर्नुपर्ने खासै काम बाँकी छैन । आफ्नो ज्योतिषीको भविष्यवाणी सही साबित होस् भनेर मात्र, उनी छैटौँपल्ट प्रधानमन्त्री बन्दिने हो ।

हाम्रो भाग्य बलियो रहेको अरु पनि यथेस्ट आधार छन् । पार्टी निरन्तर खिइँदै गए पनि ३५–३६ वर्षसम्म त्यसको नेतृत्व अटल सम्हालिदिने र प्रधानमन्त्री बन्न जति पनि चलायमान हुन सक्ने ‘जादुगर’ व्यक्तित्व चौथोपल्ट प्रधानमन्त्रीका रूपमा हाम्रो सेवा गर्न आतुर छन् । अनि संयुक्त राज्य अमेरिकाजस्तो मुलुकमा कर छलीका आधा दर्जनभन्दा बढी मुद्दा खेपेको गौरवपूर्ण अनुभव सँगालेर ‘जान्नेलाई छान्ने’ भन्दै पश्चिमबाट झुल्केका ‘भौमान’ पनि हामीसँग नै छन् । अर्काथरी ‘स्वाभिमानी’ जमात पनि हामीसँग छँदै छ, जो मरेको बुढो बिरालो ब्युँताइ गोरस छेलोखेलो पार्न धामी झाँक्रीकहाँ धाएर साष्टाङ्ग दण्डवत् गर्दै छ ।

साँच्चै भन्दा यस्तो प्राप्ति भाग्यले जुराएको होइन, हाम्रै कर्मको फल हो । तपाईंहरू र मैले नै होइन र यी गौरवपूर्ण गजुरहरू ठड्याएको ?  

यस्तो सुखद् राष्ट्रिय परिदृश्यमा सारङ्गीको पाश्र्व धुन नसुनाए/नसुने कहिले सुनाउने ? कहिले सुन्ने, होइन ?!

०००

किन–किन मलाई नेपाली बाजामध्ये सारङ्गी औधी मन पर्छ । मलाई मात्र होइन, हामी धेरैजसो नेपालीलाई पनि सारङ्गी मन पर्दाे रहेछ । नत्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपाली चलचित्रको क्षेत्रमा कीर्तिमानको पर्यायवाची बन्न किन सफल हुन्थ्यो ? दशवटा सिनेमा हलमा १०० दिनसम्म प्रदर्शन अनि पौने अर्ब हाराहारीको कमाइ, अहो ! ‘पूर्णबहादुरको सारङ्गी’ले कमाइदेखि प्रदर्शनसम्म कायम गरेका अकल्पनीय कीर्तिमानहरू तोड्नु भनेको अब बन्ने नेपाली चलचित्रका लागि चानचुने चुनौती होइन ।

यथार्थमा ‘पूर्णबहादुरको सारङ्गी’ सानो बजेटमा निर्मित औसत नेपाली चलचित्र मात्र हो । तैपनि फलामलाई चुम्बकले ताने जसरी ‘पूर्णबहादुरको सारङ्गी’ हेर्न हलहरूमा दर्शक धुइरिए । यसका दुई प्रमुख कारण हुन सक्छ— रङ्गमञ्चमा खारिएर आएका कलाकार विजय बरालको बबाल अभिनय र पुत्रको प्रगतिका लागि पिताले गरेको पीडापूर्ण परिश्रम । भनिन्छ, प्रत्येक पिता ‘धृतराष्ट्र’ हुन्छन् र आफ्ना कमी–कमजोरी सन्तानबाट परिपूर्ति गराउन महाभारत मच्चाउन पनि पछि पर्दैनन् ! चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’का चरित्र नायक गरिब निरक्षर गन्धर्व पूर्णबहादुरले महाभारत नै त मच्चाएको छैन तर छोरालाई पढाएर डाक्टर बनाउन मैनबत्ती नियतिको मिहिनेत गरेको छ । अनि पूर्णबहादुरको भूमिकामा विजय बरालले गरेका छन् दर्शकको मन मथिङ्गल नै मथ्ने जीवन्त अभिनय ।

‘आँखा भित्रभित्रसम्म भासिएको चालिसेले छोएको गाइनेको लुगा झुम्रो छ । एउटा सानो झोलामा ओढ्ने–ओछ्याउने खाँदेर उसले काँधमा भिरेको छ । साथै उसको हलो कोदालो भने पनि, कलम मसी भने पनि मागी खाने भाँडो भने पनि एउटा सारङ्गी काँधमा भिरेको छ उसले । अन्धविश्वास र रुढीको रोग लागेको यस अँध्यारो समाजमा ऊ अझसम्म अस्पृश्यताको सिकार भएर बाँचेको छ । मानौँ गाइने भएर जन्मनु नै उसको सबभन्दा ठुलो र अक्षम्य अपराध हो ।’

यो वर्णन अहिलेको बहुचर्चित नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’का चरित्रनायक पूर्णबहादुरको भने होइन । वर्णन हो— ५२ वर्षअघि पहिलोपल्ट मञ्चन भएको नेपाली कालजयी नाटक ‘अनि देवराली रुन्छ’को गन्धर्व पात्र अन्तरेको ।

आजभन्दा ठिक ४८ वर्षअघि, २०३३ फागुन ४ गते हामी तीन काका–भतिजले तीन दिनको प्रयासपछि त्यो नाटक हेर्न पाएका थियौँ । परशुराम सिम्खडा, शैलेन्द्र सिम्खडा र म नयाँबजारमा ‘रुम पाटनर’ थियौँ । उहाँहरू दुवै नातामा मेरा काका ।

भारतको दार्जिलिङमा हुर्के बढेका मनबहादुर मुखियाकृत ‘अनि देवराली रुन्छ’ नाटकमा उनको आफ्नै जन्मभूमि दोलखा जिल्लाको कालिञ्चोक वरपरको भावभूमि उतारिएको छ । यो नाटक बिसको दशकको नेपाली समाजमा विद्यमान गरिबी, शोषण, अन्याय, षड्यन्त्र आदिका कारण घरबारविहीन भएर मुग्लान (दोर्लिङ अर्थात् दार्जिलिङ) भासिन विवश गाउँलेको करुण गाथा हो ।

‘पूर्णबहादुरको सारङ्गी’मा जस्तो ‘अनि देवराली रुन्छ’मा चरित्रनायक नै गन्धर्व पात्र होइन । ‘अनि देवराली रुन्छ’मा पनि गन्धर्व पात्र भने छ । अन्तरे गाइनेको भूमिका थोरै तर प्रभावकारी छ— तत्कालीन नेपाली ग्रामीण समाजमा रहेको गरिबी, छुवाछुत र अपमानको अवस्था प्रस्ट्याउन पर्याप्त ।

सौभाग्यवश, नेपाली नाटक र चलचित्रको इतिहासमा अत्यन्तै चर्चित यी दुवै सिर्जना हेर्न पाएको छु मैले । ‘पूर्णबहादुरको सारङ्गी’ धेरै हलहरूमा लागेकाले सहजै हेर्न पाइयो । ‘अनि देवराली रुन्छ’ हेर्न भने युद्ध जित्न जत्तिकै यत्न गर्नु परेको थियो, त्यो किस्सा म अलि अगाडि सुनाउनेछु ।

पहिले मेरो सारङ्गी मोह प्रस्ट्याउन केही कथा सुनाउनुपर्ने हुन्छ ।   

पारिजातको एउटा कथा छ— ‘मैले नजन्माएको छोरा’ । नजन्माएको तर देखेको र कल्पेको छोरामाथि लेखिएको छ कथा । त्यस्तै त्यस्तै छ, गन्धर्व बाजा सारङ्गीसँग मेरो सम्मोहन पनि । सारङ्गी थियो भन्ने सुनेको तर नदेखेको, सारङ्गीको मीठो धुन सुनेको तर नबजाएको ।

                                                                                                                                                                                                                               ०००

सानो छँदा, धादिङ दार्खाको हाम्रो घरमा गाइने दाइहरू आउँथे । चुरेटाहरूजस्तै उनीहरू पनि आफ्नो घर गोरखा बताउँथे । डोरीमा उनेका चुराको चाङ डोकोमा बोकेर आउँथे चुरेटाहरू । गाइने दाइहरू सारङ्गी भिरेर आउँथे । चुरेटा आउँदा आमा दिदीहरू खुसी हुन्थ्ये— नयाँ चुरा लगाउन पाइने भो भनेर । गाइने दाइ आउँदा हामी भुराहरू फुर्फुर ।

त्यतिबेला हाम्रो गाउँघरमा पनि छुवाछुत प्रथा बाँकी नै थियो । चुरेटासँग चुरा लगाइसकेपछि आमा दिदीबहिनीहरू पानीको छिटा हाल्नुहुन्थ्यो । गाइने दाइहरूले गीत गाउँदा हामी भुराहरू नजिक झुरुम्म झुम्मिन्थ्यौँ तर सकभर नछोइयोस् भन्ने हुन्थ्यो । छोइहाले पानीको छिटा हाल्नुपर्थ्यो। दुधे दाँत नफेरेका बालबालिकाहरूले भने त्यसरी छिटा हाल्नुपर्दैनथ्यो ।

गाइने दाइहरू सारङ्गी रेट्दै कुनै ठुलो घटनाको सवाई सुनाउँथे । हाम्रा पुर्खाको कर्खा सुनाउँथे । रेडियोमा बज्ने गीतहरू पनि जस्ताको तस्तै सुनाउँथे ।

नाटक शिरोमणि मनबहादुर मुखियालाई राज्यले गरेको उपेक्षा पनि खिन्नतापूर्वक हेरिरहेको छु । मनबहादुर मुखिया ‘फेरि इतिहास दोहोरिन्छ’, ‘असत्यं, अशिवं, असुन्दरं’, ‘क्रसमा टाँगिएको जिन्दगी’जस्ता नाटकहरू, ‘अँध्यारामा बाँच्नेहरू’ एकाङ्कीसङ्ग्रह तथा अनेकौँ गीत, कविता, कथाका पनि स्रष्टा हुन् । उनको ‘अनि देवराली रुन्छ’ नेपाली नाट्य क्षेत्रको ‘मुना–मदन’ नै हो ।

बुद्धि परियारको शब्द संकलन र स्वर रहेको एउटा गीत रेडियोमा त्यतिबेला खुब बज्थ्यो—

'हेर्दा राम्रो माछापुछ्रे मारी राम्रो माछा'
बैगुनीलाई गुनले मार्छु खोजि ल्याइदेउ कहाँ छ ?
दैलोमुनि तिते फापर खाए गाईले खाला,
लाको पिरती छोड्ने छैन गर्दन गए जाला ।’

रेडियोमा यो गीत बिचबिचमा बाडुल्की लाग्दा किक्क–किक्क भएजस्तै अड्केर बजेको सुनिन्थ्यो, गाइने दाइहरूले पनि हुबहु त्यसरी नै गाउँथे ।

उनीहरूले झलकमान गन्धर्वको ‘आमाले सोध्लिन् नि खै छोरा भन्लिन्’ बोलको गीत गाउँदा सुन्नेहरूको आँखा रसाउँथ्यो ।   

गाइने दाइहरू एउटै सारङ्गीबाट अनेक खाले धुन निकाल्न सक्थे । कतिसम्म भने सारङ्गीबाटै मादलको आवाज पनि निकालिदिन्थे । हामी छक्क पर्थ्यौं, गाइने दाइहरूको कला देखेर । 

हाम्रा पुर्खा जुम्लाबाट धादिङ आएको नालीबेली मैले पहिलोपल्ट गाइने दाइकै कर्खाबाट सुनेको हुँ ।

२०२४ फागुनमा आरुघाटमाथि खोर्लाबेसीमा सुक्खा पहिरो गएर बुढीगण्डकी नै केही दिन थुनिएको रहेछ । आरुघाट बजार लगायत बुढीगण्डकी किनारका बस्तीका बासिन्दाहरूमा पहिरोले बनेको बाँध फुट्यो भने बिचल्लीमा परिने भो भनेर हाहाकार मच्चिएको रहेछ । त्यसको सारा वृत्तान्त पनि गाइने दाइले सारङ्गी रेट्दै सुनाएका सवाईबाटै सुनेको हुँ मैले ।

०००

बाह्र वर्षमा खोला फर्किन्छ भनिन्छ होइन ? त्यो हिसाबले चारपल्ट खोला फर्कने समय बितेछ— नाटक ‘अनि देवराली रुन्छ’ हेरेको । 

आजभन्दा ठिक ४८ वर्षअघि, २०३३ फागुन ४ गते हामी तीन काका–भतिजले तीन दिनको प्रयासपछि त्यो नाटक हेर्न पाएका थियौँ । परशुराम सिम्खडा, शैलेन्द्र सिम्खडा र म नयाँबजारमा ‘रुम पाटनर’ थियौँ । उहाँहरू दुवै नातामा मेरा काका ।

दार्जिलिङमा वाहवाही कमाएको नाटक ‘अनि देवराली रुन्छ’ काठमाडौँमा मञ्चन गर्न ल्याइएको थियो । हामी तिनैजना त्यो नाटक हेर्न जाने भयौँ ।

फागुन २ गते दिउँसो ३ बजेतिर तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान कमलादी पुग्यौँ हामी । टिकट बिहानै भृकुटीमण्डपबाट बिक्री भइसकेको जानकारी पाइयो । हामी कोठामा फर्कियौँ ।

नाटककार, निर्देशक र कलाकार मनबहादुर मुखिया कोठामा एक्लै, कुर्सीमा बसेर टेबलमा केही लेखिरहनुभएको रहेछ ।

भोलिपल्ट बिहान ९ बजे भृकुटीमण्डप पुग्दा टिकट सबै बिक्री भएर काउन्टर बन्द भइसकेछ । हामी हिस्स परेर फर्कियौँ । 

फागुन ४ गते राति ३ बजे नै उठेर ठिहिरो झेल्दै भृकुटीमण्डप गयौँ । हामी पुग्दा दुइजना काउन्टर अगाडि लाइन बसिसकेका रहेछन्— परालको आगो ताप्दै । ६ बजे काउन्टर खुल्यो, टिकट लियौँ र बेलुका प्रज्ञा भवनमा नाटक हेर्न पुग्यौँ ।

भव्य रहेछ नाटक । सम्पूर्ण रूपमै बान्की मिलेको । कथा, निर्देशन, अभिनय कहीँ कतै खोट लाउने ठाउँ नै नभएको । नाटकको परिवेश दोलखा कालिन्चोक वरपरको भए पनि त्यो हाम्रै गाउँघरको कथा टपक्क उतारेको जस्तो लाग्ने । 

नाटक ‘अनि देवराली रुन्छ’को फिदा बन्यौँ हामी । त्यसैले नाटकका निर्देशक, कलाकारहरूलाई भेटेर बधाई दिनुपर्छ भनेर उनीहरू बस्ने ठाउँ पत्ता लगायौँ ।

भोलिपल्ट दिउँसो २ बजेतिर उनीहरू बसेको सुन्धारा लजमा पुग्यौँ हामी । धरहराको ठिक पश्चिमपट्टि थियो त्यो लज ।

नाटककार, निर्देशक र कलाकार मनबहादुर मुखिया कोठामा एक्लै, कुर्सीमा बसेर टेबलमा केही लेखिरहनुभएको रहेछ । हामीलाई खाटमा बसाएर चिनापर्जी गर्नुभयो । नाटक कस्तो लाग्यो भनेर सोध्नुभयो । हाम्रो अटोग्राफ भरिदिनुभयो ।

jiwendra sir 4.jpeg

‘अनि देवराली रुन्छ’को रङ्गमञ्चमा शोषक बुढा चुढानाथको चम्चा चतुरमान बनेका मनबहादुर मुखिया धूर्त विदुषक खलनायक थिए हिजो । आज हाम्रो सम्मुख रहेका मनबहादुर मुखिया भने अहो, कस्तो शालीन सज्जन नायक ! 

मुखियाप्रति आभार प्रकट गर्दै हामी अरु कलाकार बसेका कोठाहरूमा पुग्यौँ । बुढा चुढानाथको रूपमा रङ्गमञ्चमा देखिएका किरण ठकुरी नवयुवक पो रहेछन ! किरण ठकुरीका साथै त्यहाँ भेटिएका अन्य कलाकारहरू मेनुका योञ्जन, हेमन्तकुमार क्षेत्री, श्याम मुखियाले पनि अटोग्राफ भरिदिनुभयो । हामी गद्गद् हुँदै फर्कियौँ । 

jiwendra  sir 2.jpegjiwendra sir 1.jpegjiwendra sir 3.jpegjiwendra sir.jpeg

उखान छ— दुईवटा हात्तीले माया गाँसे पनि बाली नाश हुन्छ र झगडा गरे पनि बालीकै नाश हुन्छ ।

हिजो रङ्गमञ्चमा मनबहादुर मुखिया खलनायक चतुरमान बन्दा उनैको जालझेल र षड्यन्त्रमा परेर रणधोज आफ्नो थातथलो गुमाएर दोर्लिङ्ग (दार्जिलिङ) पलायन हुन विवश भएका थिए ।

चतुरमानको भूमिकामा कलाकार मनबहादुर मुखियाले के कस्ता कर्तुत गरेका थिए ? एकछिन ‘अनि देवराली रुन्छ’मा फर्काैं—

रणधोज र सन्तेलाई गाइने जदौ बिष्ट साहेब हो जदौ भन्दै दण्डवत गर्छ ।

रणधोज भन्छन्, ‘कसो ता अन्तरे, धेरै दिनपछि पो आइस् ता यसपालि ! हाम्रो माया मारिस् कि क्या हो ?’

गाइने विनम्र स्वरमा भन्छ, ‘किन माया मार्थे हजुर । जरोले तीन महिना थल्लिएँ र पो, अबेर भो । अब त गाउँदा गाउँदा सोर पनि सुकिसक्यो । तैपनि हजुरहरूको आँगन–आँगन नघुमेसम्म मुखमा माड जुट्दैन ।’

सन्ते गाइनेलाई भन्छन्, ‘अरुलाई त भोटको लडाइँ, राजाको दरबार, जङ्गबहादुर अनेक अनेकको कथा सुनाइ हिँड्छस् । तेरो आफ्नै चाहिँ के कथा छ सुनुँ न ।’

सङ्कोच मान्दै विनम्र हाँसेर गाइने भन्छन्, ‘हन काजी हजुरले पनि के कुरा गर्नु भाको ?’ जसले अरुको कथा सुनाइ हिँड्छ, उसको आफ्नो कथा हुन्छ र ! मु ता जाबो गाइने न ठहरिएँ । अरुलाई गीत सुनाइ हिँडे पनि आफ्नो जीवनको गीत चाहिँ ताल र सुर नै मिल्दैन ।’

सन्तेले कर गरेपछि गाइने हवस् हजुर भन्दै सारङ्गीको तार मिलाएर एक क्षण त्यसै र्‍याइँ–याइँ रेट्छन् । केहीबेर ख्याक्ख्याक्ति खोकेपछि सारङ्गीसँग नाटकीय वार्तालाप गर्छन् र गाउन थाल्छन्,

सारङ्गीको तारले मेरो मनको गीत गाउँछ

लेकदेखि बेशीसम्म गाइने मीत लाउँछ

मेरो स्वरमा झोपडी र दरबारको कथा

सुनाइ हिँड्छु लडाईं र पिरथीको कथा

फूल रोए शीत हुन्छ मैले रोए गीत

खुकुरीको खिया मात्रै नेपालीको जीत

रानीवनको डाँफे मुनालसँग झुलिहिँड्छु

सारङ्गीमा गाउँदै हिँड्दा मलाई माग्ने भन्छन्

नेपालीले नेपालीलाई नचिने झैँ गर्छन्।

गीत गाइसकेपछि अन्तरे गाइने आफ्नो आँखालाई रित्तो थैलो जस्तो बनाएर हेर्छन् । सन्ते र रणधोजले उसलाई पाँच पाँच पैसा दिन्छन् । उनको आँखाको थैलो तृप्त हुन्छ र भन्छन्, ‘जदौ हजुर हो ! गाइनेले मनमनै दिएको आशिष हजुरहरूलाई लागोस् ।’

यति नै बेला नेपथ्यमा चूढानाथ र चतुरमान कार्की गलल हाँसेको सुनिन्छ । र उनीहरू आँधीबेहरी जस्तै भएर रङ्गमञ्चमा आइपुग्छन् । सन्ते, रणधोज र गाइने जर्‍याकजुरुक उठेर चूढानाथ र चतुरमानलाई विनम्रतापूर्वक अभिवादन गर्छन् ।

चूढानाथसँग सन्ते श्रीमतीको उपचारका लागि र रणधोजले छोरीको विवाह गर्न ऋण लिन खोज्दै हुन्छन् ।

त्यहाँ पाँच जनाबिच संवाद हुँदै जाँदा गाइने भन्छन्, ‘हजुरहरूको दर्शन गरेर मेरो पनि आँखालाई गति पर्‍यो ।’

यो खबर सुनेपछि धादिङको काँस्वाराबाट हस्याङ–फस्याङ गर्दै हजुरआमा काठमाडौँ आइपुग्नुभयो । उहाँ साह्रै विरक्तिनुभएको थियो । छोरा त्यसरी बिच्किएर बिदेसिँदा कुन आमाको मन बुझ्थ्यो र  !

चूढानाथका चम्चा चतुरमान झर्केर गाइनेलाई हप्काउँछन्, ‘चुप ! तँ चाइने यहाँ किन मरेर बसिरछ, हँ ? गाउँतिर मर्न तेरो सुक्या घोक्रो फुलाउन । जाबो गाइने चाइने भएर यहाँ ठुल्ठुला मान्छे बस्या ठाउँमा मर्दाेरछ । अहिले यहाँ मालिकको शरीरमा चाइने तेरो छाया पर्ला । बजिया ।’

गाइने डरले थर्थराउँदै हात जोरेर भन्छन्, ‘बिराएँ हजुर माफी पाउँ !’ लगत्तै प्रस्थान गर्छन् उनी । यसपछि नाटकभर गाइने देखापर्दैनन् ।

रणधोजले चर्काे ब्याजमा चूढानाथसँग ऋण लिन्छन् । यही ऋण र चतुरमानले रचेका अन्य अनेक तिकडमबाट रणधोजको उठिबास हुन्छ र उनी छोरी जुनासहित मुग्लान भासिन विवश हुन्छन् ।

अनि यता, शालीन सज्जन नाटककार मानबहादुर मुखिया भेटेपछि परशुराम काकालाई कलाकार बन्न दार्जिलिङ जाने हुटहुटी जागेको छ ।

परशुराम काका थापाथली क्याम्पसमा मेकानिकल ओभर्सिएर पढ्दै हुनुहुन्थ्यो । ‘पढ्दा त ध्वाँसेमुसे हुनुपर्छ, जागिर नै खाँदा झन् के हालत होला ?’ यस्तो तर्क दिँदै उहाँले आफ्नो निर्णय सुनाउनु भयो, ‘यस्तो विषय पनि कोही पढ्छ ? हेर केटा हो, म अब दार्जिलिङ जाने हो, कलाकार बन्ने हो ।’ 

नभन्दै, परशुराम काकाले क्याम्पस हापिदिनुभयो । खर्चपर्च जोरजाम गरेर केही दिनमै उहाँ दार्जिलिङ हान्निनु भयो ।

यो खबर सुनेपछि धादिङको काँस्वाराबाट हस्याङ–फस्याङ गर्दै हजुरआमा काठमाडौँ आइपुग्नुभयो । उहाँ साह्रै विरक्तिनुभएको थियो । छोरा त्यसरी बिच्किएर बिदेसिँदा कुन आमाको मन बुझ्थ्यो र ! त्यसमाथि पनि उहाँको त एक मात्र सन्तान । 

नाटक शिरोमणि मनबहादुर मुखियालाई राज्यले गरेको उपेक्षा पनि खिन्नतापूर्वक हेरिरहेको छु ।

सोचेजस्तो हुन्न जीवन भनेजस्तै भयो । परशुराम काकाले दार्जिलिङमा गोर्खा दुःख निवारक सम्मेलनको सम्पर्कमा रहेर कलाकारिताका लागि तीन महिनाजति संघर्ष गर्नुभएछ । घरको न्यास्रोले सताएपछि उहाँ फर्किनुभयो । उहाँले फेरि क्याम्पस ‘ज्वाइन’ गर्नुभएन, गाउँमै गएर आमालाई खुसी पार्नुभयो । प्राइभेटबाटै आईए र बीए उत्तीर्ण गर्नुभयो । केही दशक ठमेलमा पर्यटन व्यवसायमा व्यस्त भएर अहिले म्हेपीस्थित घरमै आराम गरेर बस्नुभएको छ उहाँ ।     

बरु, ‘अनि देवराली रुन्छ’ हेरेको एकाध बर्षभित्रै शैलेन्द्र काका कलाकार बन्न सफल हुनुभयो । प्रज्ञा प्रतिष्ठानले प्रारम्भ गरेको नाटक प्रशिक्षणका लागि उहाँ छानिनुभयो । उहाँसँगै पहिलो ‘ब्याच’का नाट्य कलाकार प्रशिक्षार्थीमा सुनील पोखरेल, विजया गिरी, कुमार श्रेष्ठ थिए । प्रशिक्षण पूरा भएपछि उहाँ त्यहीँ कलाकार हुनुभयो । उम्दा कलाकारका रूपमा प्रतिष्ठित र नाटक विभागकै प्रमुख समेत हुनुभयो ।  

अनि म ? नाटकको दर्शक थिएँ, दर्शक छँदै छु !

नाटक शिरोमणि मनबहादुर मुखियालाई राज्यले गरेको उपेक्षा खिन्नतापूर्वक हेरिरहेको छु । मनबहादुर मुखिया ‘फेरि इतिहास दोहोरिन्छ’, ‘असत्यं, अशिवं, असुन्दरं’, ‘क्रसमा टाँगिएको जिन्दगी’जस्ता नाटकहरू, ‘अँध्यारामा बाँच्नेहरू’ एकाङ्कीसङ्ग्रह तथा अनेकौँ गीत, कविता, कथाका पनि स्रष्टा हुन् । उनको ‘अनि देवराली रुन्छ’ नेपाली नाट्य क्षेत्रको ‘मुना–मदन’ नै हो ।

अनि म मनबहादुर मुखियासँग पनि अपेक्षा गरिरहेछु । पुरानो नेपालको कथा भन्ने ‘अनि देवराली रुन्छ’ जस्तै नयाँ नेपालको कथा भन्ने उहाँको एउटा उत्कृष्ट नाटक हेर्ने सपना देखिरहेको छु । किनभने म नाटकको दर्शक थिएँ, दर्शक छँदै छु ।

र, यतिखेर भने म तपाईंलाई सारङ्गीका केही किस्सा जो सुनाइरहेको छु । 

०००

२०३४ सालको कात्तिकको अन्तिम साता ।

नौ वर्षअघि, गाइने दाइले बुढीगण्डकी थुनिएको सवाईमा सुनाएको आरुघाट पुगेका थियौँ हामी, गोरखाको मसेल जाने क्रममा । खोर्लाबेसीमा सुक्खा पहिरोले बनेको बाँध फुट्दा बगाएको झोलुङ्गे पुलको ठाउँमा नयाँ झोलुङ्गे पुल हालिसकेको रहेछ।

आरुघाट बजार कटेपछि इस्तुल खोला तर्‍यौँ र मोती खोलाको बगरैबगर, बिसौँपटक जङ्घार तर्दै कोयापानी र त्यहाँबाट घ्याम्पेसाल हुँदै मसेल पुग्यौँ हामी । हामी अर्थात् शैलेन्द्र सिम्खडा र म । उहाँ माइली दिदी तारा भट्ट र म साइँली फुपू इन्दिरा पुडासैनीको भाइ तिहारमा हात खाली नहोस् भनेर मसेल गएका थियौँ ।

भाइटीकाको भोलिपल्ट देवेन्द्र भट्ट भिनाजुले हामीलाई अश्राङ लिएर जानुभयो, श्याम पाण्डे र ईश्वर पाण्डेले लगाएको सुन्तला बगैँचा देखाउन । 

हामी मसेलको देवीस्थान उक्लेर मसेल खोला ओर्लियौँ । सिक्रेको उकालो चढेर ताप्लेको थाप्लोमा पुग्यौँ । साह्रै रमाइलो दृश्य देखिँदो रहेछ त्यहाँबाट । गणेश हिमालदेखि मनास्लु, बुद्ध हिमाल र अन्नपूर्ण हिमशृङ्खलासम्म लस्करै देखिने । त्यहाँ केहीबेर थकाइ मारेर हामी अश्राङको झिँगटी झर्‍यौँ ।  चुरेटा पनि भनिने पहाडी मुस्लिम समुदायको बस्ती रहेछ त्यो ।

देवेन्द्र भिनाजुले हामीलाई भन्नु भए अनुसार यी मुस्लिमका पुर्खालाई पृथ्वीनारायण नारायण शाहले हतियार बनाउन बनारसबाट लिएर आएका हुन् । झिँगटीमा त्यही मुस्लिम बस्तीनजिकै रहेछ ईश्वर पाण्डेको सुन्तला बगैँचा । तीन सय पचास बोट सुन्तला लहलह भएर हुर्कंदै रहेछन् ।

त्यसपछि हामी मोहरिया पुग्यौँ, श्याम पाण्डेको सुन्तला बगैँचा हेर्न । झन् ठुलो रहेछ बगैँचा । पाँच सय पचास बोट, केहीमा फल समेत लागेका । मनमोहक ।

कसले सुन्तला बगैँचा राम्रो बनाउने भन्ने प्रतिस्पर्धा रहेछ काका–भतिजा बिचमा । श्याम पाण्डे कान्छा, ईश्वर पाण्डे जेठाका छोरा । उहाँहरू हाम्रो नातेदार ।

श्याम पाण्डेसँग त्यतिखेर मेरो दुइटा साइनो लाग्थ्यो— मामा र भिनाजु । अहिले त बढेर चारवटा साइनो लाग्ने भएको छ । जे जे साइनो लागे पनि म उहाँलाई भिनाजु नै भन्थेँ, भन्छु ।

श्याम भिनाजुको सुन्तला बगैँचा घरनजिकै भएकाले हामी त्यहीँ बिछ्याइएको गुन्द्री र गलैँचामा बस्यौँ । केहीबेरमा सुभद्रा भान्जी दिदीले हाम्रा लागि खाजा ल्याउनुभयो । आलुको अचार र दहीसँग तात्तातो सेल रोटी स्वाद मानेर खाँदै थियौँ, श्याम भिनाजुले सारङ्गी ल्याउनुभयो र बसेर बजाउन थाल्नुभयो । खाजा झनै स्वादिष्ट भयो, सुनमा सुगन्ध पनि थपिएजस्तो । 

भिनाजुले केहीबेर मज्जाले सारङ्गी रेटेपछि रोकिँदै भन्नुभयो, ‘सिम्खडा बाबुहरूलाई थाहा छ कि छैन, यो सिम्खडाको सारङ्गी हो नि !’

शैलेन्द्र काका र मलाई उछिनेर देवेन्द्र भिनाजुले सोध्नुभयो, ‘हो र ? कसरी तपाईंकोमा आइपुग्यो त ?’

‘ठ्याक्कै यही त होइन सिम्खडाको सारङ्गी, तर त्यसकै प्रतिरूप हो ।’ श्याम भिनाजुले बेलिबिस्तार लगाउनुभयो ‘घ्याम्पेसालका गन्धर्व लालबहादुरले एक दिन कुरैकुरामा मलाई भने— सिम्खडाको घरको जस्तो सारङ्गी मैले कहीँ कतै देखेको छैन । तर के गर्नु त्यो सारङ्गी सत्र सालको लुटपाट काण्डमा कसले लग्यो ? कहाँ पुर्‍यायो ? अत्तोपत्तो छैन ।’

‘त्यसपछि लालबहादुरले जे जे जसरी जसरी भने त्यसरी नै यो सारङ्गी कुदेको हुँ,’ श्याम भिनाजुले कुरा प्रस्ट पार्नु भयो ।

सामान्यतया सारङ्गी खिर्रा, लाँकुरी, चाँपको काठको बनाइँदो रहेछ । यो पिपलको काठको रहेछ । सामान्य सारङ्गीहरूमा नाइलनको धागो टाँगिएको हुँदो रहेछ, उहाँले भने सारङ्गीमा रेशमको धागो र रेट्ने धनुमा घोडाको पुच्छरको रौँ टाग्नुभएको रहेछ । त्यो सारङ्गीको आहार अलि ठुलो थियो र पछाडिपट्टि हेर्दा नारी–पुरुषले अंकमाल गरेजस्तो देखिने, कलात्मक ।

हामी अश्राङबाट भोलिपल्ट फर्कियौँ ।

कालान्तरमा त्यो सुन्तला बगैँचाले श्याम भिनाजुलाई निकै चर्चामा ल्याएको थियो । सुन्तलाको फसलबाट उहाँले राम्रो आम्दानी गर्नुभयो भने कृषि प्रदर्शनी/प्रतियोगितामा पनि उहाँ पटकपटक पुरस्कृत हुनुभयो । उत्कृष्ट किसानको ख्यातिले नै श्याम भिनाजुलाई २०४४ सालमा नेपाल किसान सङ्गठन, गोरखा जिल्ला सभापति चुनिन सघायो ।       

श्याम भिनाजुको सुन्तला बगैँचा र सारङ्गी दुवै छैनन् अहिले । उहाँले मलाई टेलिफोनमा जानकारी दिनुभए अनुसार सुन्तला बगैँचाबाट २० वर्षसम्म मनग्य आम्दानी भयो । त्यसपछि सुन्तलाको बोटमा हाँगा सुक्दै जाने रोग लाग्यो । २०६० सालमा आइपुग्दा सुन्तला बगैँचा बिमाख नै भयो ।

र, सारङ्गी ?

श्याम भिनाजुले भन्नुभयो, ‘म बिमार भएर काठमाडौँ गएको थिएँ उपचार गर्न । छोराले बेचिदिएछ, धादिङतिरको खै कसलाई हो ।’

०००

अश्राङबाट फर्केको तीन महिनापछि काठमाडौँमा सारङ्गी किन्दै थिएँ म ।

प्याफलको कान्ति ईश्वरी माध्यमिक विद्यालय र नरदेवीको देसेमरु झ्या:को बिचमा रहेको यट्खाको बाजा पसलमा सारङ्गीको मोलमोलाई चलिरहेको थियो । साहुजी सात सय रुपैयाँबाट गलिरहेका थिएनन् । म भने ६ सय रुपैयाँसहित उनीतिर हात तेर्साइरहेको थिएँ । महेन्द्र रत्न क्याम्पसबाट फर्किनुभएका ठाकुर बडू भेनाले मलाई देख्नुभएछ ।

पसलभित्र पसेर एकछिन हाम्रो गलफती सुनेपछि मेरो हातबाट पैसा खोसेर उहाँले भन्नुभयो, ‘म गोरखाबाट ६ सयमै झिकाइदिन्छु केटा, योभन्दा राम्रो सारङ्गी ।’ उहाँको घर गोरखा मुच्चोक । महेन्द्र–रत्न क्याम्पस, ताहाचलमा आइएड पढ्नुहुन्थ्यो ।

रुविन कहिले गगन थापा दाइले किनिदिनुभएको ग्यास त छ, चामल किन्नुपर्नेछ भन्थे, कहिले के भन्थे । हामी उनलाई माया गर्थ्यौं। खै अहिले रुविन कता के गर्दै होलान् ? 

सानो काँठीको ठाकुर भेनामा ‘दादा’ नै हुँ भन्ने विश्वास वा भ्रम थियो । फागुनको काठमाडौँमा जाडो गइसकेको थिएन । उहाँ चैँ कपाल पूरै मुडेको खाली टाउको, सर्टको माथिल्लो तीनवटा टाँक खोलेर छाती फुलाउँदै हिँड्नुहुन्थ्यो । हाम्रो र उहाँको डेरा नयाँ बजारमा नजिक–नजिकै थियो । सँगसँगै डेरातिर आयौँ । 

भेनाले गोरखाबाट झिकाइदिने भनेको ‘राम्रो सारङ्गी’ काठमाडौँमा नआइपुग्दै उहाँ पढाइ सकेर घर फर्किनुभयो । गोरखाको ‘राम्रो सारङ्गी’ मेरो हातमा कहिल्यै आइपुगेन ।

दसकौँपछि, बरु गोरखाका एक गन्धर्व किशोर सारङ्गी बजाउँदै रानीवनस्थित हाम्रो घरमा आइपुगे ।  

ती किशोर हुन्, रविन गन्धर्व । केही महिनापछि, २०६२/६३ को जनआन्दोलनका बेला उनी सडकका एक नायक नै बने । बालाजु चोकमा डेरा लिएर बसेका रविन बरोबर हाम्रो घरमा आइरहन्थ्ये । मेरी श्रीमती परमाको माइती गोरखा । त्यसैले रुविन परमालाई दिदी भन्थे । आमा छोराजस्ता दिदी–भाइ गफिन्थे ।

रुविन कहिले गगन थापा दाइले किनिदिनुभएको ग्यास त छ, चामल किन्नुपर्नेछ भन्थे, कहिले के भन्थे । हामी उनलाई माया गर्थ्यौं । खै अहिले रुविन कता के गर्दै होलान् ? 

गणतन्त्र नेपालको पहिलो दसैँको छुट्टीमा म गोरखा पुगेको थिएँ । गोरखा बजारको बसपार्कमा ठाकुर भेनासँग जम्काभेट भयो । सर्ट–पाइन्ट, कोट र ढाकाटोपीमा उहाँ खुल्नुभएको थियो । 

सामान्य शिष्टाचार आदान–प्रदानपश्चात् भेनाले हाँस्दै सोध्नुभयो, ‘साँच्ची, सारङ्गी किन्यौ त तिमीले ?’

म फिस्स हाँसे मात्र ।

०००

श्रीमती परमा र म दशकौँपछि हलमा सिनेमा हेर्न गएका थियौँ । 

अस्टनारायण हलमा ‘पूर्णबहादुरको सारङ्गी’ हेरेर बाइपासतिर मोडिएका मात्र के थियौँ, एउटा पसलमा पूर्णबहादुरको सारङ्गीकै गीत घन्किरहेको रहेछ—

‘इष्टकोट आफ्नै काटी छोरालाई भोटो,

गरिबैको घरमा जन्म लिनु कर्मै खोटो ।

पढाइ–लेखाइ ठुलो मान्छे बनाउने रहर,

गाउँमै बित्यो आफ्नो जीवन पुगोस् छोरा सहर... ।’

‘रैयाँ चाँदीको’ बोलको गीत बढी चलेको भए पनि त्यहाँ चलचित्रको ‘थिम’ बोकेको गीत बजिरहेकाले म टक्क रोकिएँ । पसलतिर हेरेँ— मादल पसल रहेछ । म भित्र पसेँ । मोबाइलमा ‘स्पिकर’ जडेर गीत घन्काइएको रहेछ । 

धादिङ महादेवबेसीका राजन लामाको रहेछ मादल पसल, छोरा शौरभको नाममा खोलेको । राजन लामा चलचित्रको होइन, जीवनकै ‘पूर्णबहादुर’ बाबु लाग्यो मलाई ।

07c49318-ca59-433e-9a0a-5932e92f0f55

‘शौरभ मादल पसल’मा अरु अरु बाजा पनि रहेछन् । मोल मिलाएर एउटा सारङ्गी किनेँ ।

के मैले पनि श्याम पाण्डे भिनाजुले झैँ स्व–अभ्यासबाट सारङ्गी बजाउन सक्छु होला ?  

अनि जनताको विश्वासमाथि कुठराघात गर्ने हाम्रा नेताहरूका कर्तूतका गीत लेखेँ भने त्यसमा सारङ्गीबाटै सङ्गीत भर्न सकुँला ? 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

जिवेन्द्र सिम्खडा
जिवेन्द्र सिम्खडा

जिवेन्द्र सिम्खडा रातोपाटी डटकमका प्रधानसम्पादक हुन् ।

लेखकबाट थप