शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय
विज्ञका कुरा

अति प्रशोधित खाना  स्वास्थ्यका लागि खतरा कि आधुनिक जीवनशैलीको अपरिहार्यता ?

आइतबार, ०४ फागुन २०८१, १२ : ०८
आइतबार, ०४ फागुन २०८१

हामीले खाने धेरै प्रकारका खाना प्रशोधन (प्रोसेजिङ) गरिएको हुन्छ । अल्ट्रा–प्रोसेस्ड (अति प्रशोधित) खानाले प्राकृतिक स्वरूप गुमाएको हुन्छ । यस्तो खानामा दीर्घकालीन रूपमा स्वास्थ्यलाई हानि पुर्‍याउने रासायनिक तत्त्वहरू समेत थपिएको हुन्छ । सामान्यतः खानाको स्वाद बढाउन र विभिन्न रङ दिनका लागि केमिकलहरूको प्रयोग गरिएको हुन्छ ।

खानालाई प्रशोधनका आधारमा चार प्रकारले वर्गीकरण गर्न सकिन्छ :
१) न्यूनतम प्रशोधित खाना
यी खाना प्राकृतिक रूपका उपलब्ध हुन्छन् । यिनमा कुनै पनि कृत्रिम तत्त्व थपिँदैन । जस्तो ः ताजा फलफूल, सागसब्जी, दूध, अन्नहरू, मासु, माछा, भटमास, आलस ।

२) प्रोसेस्ड कुलिनरी पदार्थहरू
यसमा खानालाई पकाउन वा तयार गर्न आवश्यक पर्ने प्राकृतिक पदार्थहरू पर्छन् । जस्तो ः तेल, नुन, मह, घिउ, अदुवा, बेसार, धनियाँ आदि ।

३)     प्रोसेस्ड खाना
यी खानाहरू सामान्यतः केही मात्रामा प्रशोधन गरिएका हुन्छन्, जसले तिनीहरूको स्वाद, बनावट वा म्याद बढाउँछ । जस्तो ः अचार, चिउरा, दही, पनिर, तिलको लड्डु, सुकुटी, गहुँको पिठो, घिउमा तारेका परिकार आदि ।

४) अल्ट्रा–प्रोसेस्ड खाना
अल्ट्रा–प्रोसेस्ड अर्थात् अत्यधिक प्रशोधन गरिएका खानामा कृत्रिम रसायन मिसाइएको मात्रै हुँदैन स्वस्थकर तत्त्वहरू हटाइएको हुन्छ । यस्ता खाना बजारमा सहज रूपमा उपलब्ध हुन्छन् । जस्तो ः चाउचाउ, चिप्स, कार्बाेनेटेड पेय पदार्थ (सोडा, कोला), प्याकेट बन्द बिस्कुट, क्यान्डी, ससेज, फ्रेन्च फ्राइज, ब्रेड स्प्रेड, तयारी नुडल्स, चकलेट आदि ।

अति प्रशोधित खानाको असर 
अति प्रशोधित खानाको अत्यधिक सेवनले मोटोपन, मधुमेह, रक्तचाप, मुटुरोग, क्यान्सर जस्ता रोग बढाउने प्रमाण भेटिएका छन् । यी खानामा हुने उच्च मात्राको चिनी, नुन, बोसो, कृत्रिम फ्लेबर आदिले शरीरलाई हानि पुर्‍याउने गर्छ ।

अल्ट्रा–प्रोसेस्ड (अति प्रशोधित) खानाले प्राकृतिक स्वरूप गुमाएको हुन्छ । यस्तो खानामा दीर्घकालीन रूपमा स्वास्थ्यलाई हानि पुर्‍याउने रासायनिक तत्त्वहरू समेत थपिएको हुन्छ ।

यस्ता खानाहरूमा चिनी र प्रशोधित कार्बाेहाइड्रेट धेरै हुने भएकाले शरीरमा बोसो जम्मा हुन्छ । जसले गर्दा मोटोपन र मधुमेहको जोखिम बढ्छ । यस्तै, यस्ता खाना अत्यधिक नुनयुक्त हुन्छन्, जसले उच्च रक्तचाप र मुटुरोग बढाउँछ । 

केही अति प्रशोधित खानामा हुने रसायनले क्यान्सरको समेत जोखिम बढाउँछन् ।  यस्ता खानामा फाइबर कम हुने हुँदा अपच, कब्जियत लगायत पेटका समस्या उत्पन्न हुन्छन् ।

योसँगै अत्यधिक प्रशोधित खानाले डिप्रेसन र चिन्ता बढाउन सक्ने अनुसन्धानहरूले देखाएका छन् ।

नियन्त्रणका उपाय
धेरै देशले अति प्रशोधित खानाको खपत घटाउन विभिन्न उपाय अपनाएका छन् । चिली, मेक्सिको, फ्रान्स लगायत देशमा यस्ता खानाको प्याकेटमा ‘स्वास्थ्य चेतावनी लेबल’ टाँसिएको हुन्छ ।

ब्राजिलले भने स्थानीय र प्राकृतिक खानाको प्रवर्धन गर्दै अति प्रशोधित खानालाई निरुत्साहित गर्ने नीति लिएको छ । युरोपेली देशहरूका विद्यालयमा त ‘जंक फुड’ बेच्न प्रतिबन्ध लगाइएको छ ।

अति प्रशोधित खानाको हकमा हालसम्म नेपालले कुनै ठोस नीति लिएको छैन । त्यसैले स्वास्थ्य अभियानहरू आवश्यक छन् ।

बालबालिका आकर्षित
रंगीन प्याकेट र आकर्षक विज्ञापनका कारण अति प्रशोधित खानातर्फ बालबालिकाको आकर्षण बढेको देखिन्छ ।

त्यसैले राज्यले नै यस्ता आक्रामक विज्ञापनलाई नियन्त्रण गर्न जरुरी छ । अति प्र्रशोधित खानाको असरबारे बुझाउन सरकारी तथा गैरसरकारी संस्थाहरूले सचेतना कार्यक्रम गर्नुपर्छ । अभिभावकलाई घरमै स्वस्थकर खाना बनाउन प्रेरित गर्न सकिन्छ । यस्तै, बालबालिकालाई विद्यालयमा पोषण शिक्षा दिइनुपर्छ । 

राज्यले जंक फुडमा उच्च कर लगाउने र स्वस्थ खानालाई सस्तो बनाउन सक्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. पार्थ गुरागाईं
डा. पार्थ गुरागाईं
लेखकबाट थप

छुटाउनुभयो कि ?